विकासन्युज

नेप्से परिसूचक ४.२९ अंकले गिरावट, कारोबार रकम करोडमा झर्यो

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तबार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ । सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवारको कारोबारमा १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ । सोमवार नेप्सका १३ उपसमूह मध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ । तर यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ । सोमवार नेप्से सामान्य अंकले घटेपनि मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४३ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमबार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल ट्रष्टले भन्यो : भाडा नतिर्दासम्म कर तिर्दैनौं, महानगरकै कारण १७ करोड घाटा भयो

काठमाडौं । अहिले काठमाडौं महानगरपालिकाले कर नतिर्ने संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गरेको छ । महानगरले लामो समयदेखि कर नतिर्ने २३ भन्दा बढी संस्थाहरुलाई कर तिर्नका लागि पत्राचार गरिसकेको छ । यही बीचमा महानगरले नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजालाई पनि कर तिर्न पत्र पठाएको छ । तर, नेपाल ट्रष्टले भने कर नतिर्ने बताएको छ । ट्रष्टले काठमाडौं प्लाजाको हालसम्म कर महानगरलाई बुझाएको छैन । महानगरलाई ट्रष्टले प्लाजाको भाडा बुझाउनु पर्ने नीति नरहेकोले काठमाडौं प्लाजाको कर नतिर्ने बताएको छ । ट्रष्टको कार्यालयकी सूचना अधिकारी सरस्वती पौडेलले काठमाडौं प्लाजाको कर तिर्न आवश्यक नभएको बताइन् । सूचना अधिकारी पौडेलका अनुसार नेपाल ट्रष्टको घरबहाल कर तिर्ने निति नै नभएको कारण काठमाडौं प्लाजाको पनि कर नतिर्ने स्पष्ट पारिन् । ‘नेपाल ट्रष्ट सरकारको पूर्ण संयुक्तमा रहेको संस्था हो, सरकारी निकायका भवनहरूलाई कर नलाग्ने भन्ने नीति छ, यस्तो नीति भएपछि कर तिर्नु पर्ने बाध्यता भएन,’ उनले विकासन्युजसँग भनिन् । काठमाडौं प्लाजा अहिले २ वर्षदेखि खाली अवस्थामा छ । महानगरपालिका सो प्लाजामा आफ्नो कार्यालय सञ्चालन गर्ने तयारीमा थियो । नेपाल ट्रष्टले काठमाडौं महानगरलाई भाडामा राख्नैका लागि यसअघि भाडमा बसेकोलाई हटाएको थियो । तर, महानगर अहिलेसम्म सरेको छैन । महानगरले अब काठमाडौं प्लाजामा नसर्ने मनसाय गरेको पनि बुझिएको छ । काठमाडौं महानगरले बस्ने भनेर खाली गरिएको प्लाजा अहिलेसम्म महानगर बस्न नसक्दा करिब १७ करोड रुपैयाँ घाटा भएको पौडेलले बताइन् । ‘हाम्रो घरको भाडा हामीले लिनु पर्याे, महानगरले गर्दा २ वर्षदेखि प्लाजा थन्किएर बसको छ, पहिले महानगरले काठमाडौं प्लाजाको भाडा तिरोस्, अनि सम्पत्ति, बहाल कर तिर्नु परे पनि तिरौंला तर तिर्नुपर्ने भन्ने व्यवस्था छैन,’ उनले भनिन् । खाली घरको कसरी कर तिर्ने भन्ने विषयमा अहिले ट्रष्ट दुबिधामा छ । ‘हामीले मन्त्रिपरिषद् बाट स्वीकृत पनि गरिसकेका थियौं, त्यो कुरामा मात्र सीमित भयो, निर्वाचन पश्चात् नयाँ नेतृत्व आउँछ, त्यो बेला कुरा गरौं भन्यो, नयाँ नेतृत्व पनि आयो, हामीले पुनः पत्र पठायौं, उनीहरूले सो ठाउँमा पार्किङको पर्याप्त नभएको कारणले बस्न नसक्न भन्ने जानकारी दिए, हामीले पुनः पत्र पठाएका छौं,’ उनले भनिन् । ट्रष्टसँग गोकर्णस्थित गोकर्ण फरेस्ट, लाजिम्पाटमा स्ट्यान्डर्ड चार्टड, टेकुमा बिजनेस पार्क, तहाचलको सोल्टी आउटर, कम्प्लेक्स र बन्दै गरेको दरबार मार्ग स्थित ट्रष्टको जग्गामा निमीर्त कम्प्लेक्स लगायत ट्रष्टले लिजमा दिएको छ । तर सो ठाउँको पनि कर नबुझाएको ट्रष्टले जानकारी दिएको छ । ‘आगामी दिनमा कस्तो नीति बन्छ, त्यो दुवै पक्ष बसेर छलफल गर्ने कुरा हो, सोही अनुसार प्रक्रिया अगाडि बढ्ला, त्यो आगामी कुरा हो, अहिलेसम्म निति नभएको कारण ट्रष्टले कर बुझाएको छैन,’ उनले भनिन् । यस्तै, काठमाडौं महानगरपालिकाले ३ वर्ष अगाडि नै काठमाडौं प्लाजाको कर तिर्नको लागि पत्राचार गरको पनि बताएको छ । घर भाडामा नदिए पनि सम्पत्ति कर तिर्नु पर्ने महानगरको दाबी छ । प्लाजासँग महानगरले बहाल करभन्दा पनि सम्पत्ति कर मागेको हो । उक्त भवनको सम्पूर्ण विवरण तथा आवश्यक कागजात नआईकन कति कर बुझाउनु पर्छ भन्ने विषय थाहा नभएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

होण्डको बाइक तथा स्कुटर किन्दा ७ लाखसम्मको क्यासब्याक पाइने

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले स्क्याच कुपन मार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । साथै, ७ प्रदेशबाट एक एक जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यसका साथै  होण्डा टू व्हीलर्स इजी फाइन्यान्सको पनि सुविधा राखेको छ । कम्पनीको अनुसार यो योजना भदौ २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ ।

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए । महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उहाँको भनाइ छ । मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपाकिाले गरेको काम सराहनीय भएको बताए । ‘मित्रनगर क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ’, उनले भने । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो ।

बाँकेमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा

बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग हेल्थ केयर प्रालीले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो । वीरङ्ग हेल्थ केयरका व्यवस्थापक शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए । गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षको भदौसम्मको गरी करिब दुई करोड रुपैयाँ नपाएको र उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो शाहले बताए । शाहका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको दुई हजार पाँच सय रुपैयाँका दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबापत सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । रासस

केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक एक अर्ब ६० करोड रुपैयाँ, ख वर्गका बैंकले ३० करोड रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो । बैंकले यही भदौ २२ गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायतका शर्त राखिएको छ । केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाइले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । रासस

काठमाडौं महानगरले ३ महिनामा सबै हार्डिङ बोर्ड हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सबै होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले ३ महिनाभित्र काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन लागेको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख  राजु पाण्डेले जानकारी दिए । उनको अनुसार महानगरले ३ महिनाभित्र मापदण्ड विपरीत राखिएका काठमाडौंको सबै होर्डिङ बोर्ड हटाइसक्ने योजना बनाएको छ ।

बैंकको एक गल्तिले खातामा ७० लाख अमेरिकी डलर पुगेपछि…

काठमाडौं । थेवामानोगरी मनीवेलको बैंक खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो । तर, अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ । साथै उक्त रकमको ब्याज र कानुनी कारबाहीका क्रममा लागेको खर्च पनि अर्को पक्षलाई तिर्न भनेको छ । सन् २०२१ मा क्रिप्टो डटकमले मनीवेलको खातामा अस्ट्रेलियाली डलरमा कारोबार गरेपछि यो विवाद सुरु भएको थियो। त्यसबेला दक्षिणपूर्वी अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने मनीवेलको खातामा जम्मा १०० डलर भुक्तानी हुनुपर्ने थियो। तर उनको खातामा लगभग ७० लाख अमेरिकी डलर जम्मा भयो। अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार मानवीय गल्तीले त्यस्तो भएको थियो। पैसा पठाउँदा रकम राख्नुपर्ने ठाउँमा मनीवेलको खाता नम्बर राखिदिँदा उक्त समस्या उत्पन्न भएको विवरणमा जनाइएको छ। गल्तीको अनुभूति मनीवेल क्षणभरमै करोडपति बनिन्। र उनीसँग उक्त रकमलाई व्यवस्थापन गर्न समयको कुनै अभाव थिएन। त्यसपछिका केही महिना उनले आफ्नो खातामा आएको रकमको ठूलो हिस्सा आफ्ना साथीहरूको संयुक्त खातामा पठाइन्। ती साथीले करिब तीन लाख डलर आफ्नी छोरीको खातामा पठाइन। उनले मेलबर्नको उत्तरमा एउटा घर समेत खरिद गरिन्। मलेशियामा रहेकी आफ्नी बहिनीको नाममा मनीवेलले घर किनेकी थिइन्। चार कोठा, चार बाथरुम, सिनेमा हल, जिम र दुइटा ग्यारेज भएको उक्त भवनको क्षेत्रफल ५०० वर्गमिटर थियो र त्यो साढे १३ लाख डलरमा किनिएको थियो। क्रिप्टोकरेन्सी कम्पनीलाई आफ्नो यो गल्ती थाहा पाउन कैयौँ महिना समय लाग्यो। अस्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित सर्वोच्च अदालतका न्यायाधीश जेम्स एलियटले अघिल्लो शुक्रवार भने, “यस्तो लाग्छ कि निवेदकलाई आफ्नो यत्रो ठूलो गल्ती थाहा पाउन नै सात महिना समय लाग्यो।“ अदालतको फैसला अदालतले निवेदकको पक्षमा फैसला सुनाउँदै पूरै रकम मात्र नभएर त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ। अदालतले मनिवेलको बहिनीको नाममा किनिएको घर बिक्री गर्नुपर्ने निर्णय सुनाउँदै गल्तीले आएको रकमबाट उक्त सम्पत्ति खरिद् गरिएको साबित भएको उल्लेख गरेको छ। क्रिप्टोकरेन्सी कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा कानुनी कारबाही सुरु गरेको थियो। त्यसक्रममा मनीवेलसँग जोडिएका खाता रोक्का गर्न उक्त कम्पनी सफल भएको थियो। तर ती खाता रोकिँदासम्म अधिकांश रकम अन्य खातामा ट्रान्सफर भइसकेका थिए। मनीवेलको सम्पत्ति फ्रिज भएको दुई हप्तापछि उनकी बहिनी नयाँ घरको मालिक बनेकी थिइन्। उक्त कम्पनीले उनको पनि खाता फ्रिज गर्न माग गरेको थियो। तर अहिले अदालतले उनको घर पनि बेच्न आदेश दिएको छ। बीबीसी