विकासन्युज

३४ वर्षदेखि म्याग्नेसाइट उद्योग संचालनमा आएन, करोडौंको पाटपुर्जा चोरी

चौतारा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले बताए । पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा करोडाैं मूल्य बराबरको उद्योगको सामान कवाडीका रुपमा थन्किएको र पाटपुर्जा चोरी भइसकेको जनाइएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो । प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न २० लाख बजेट विनियोजन गरेका थिए । उनले भने , ‘बजेट व्यवस्था गरिएको भए पनि उद्योग सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष हो ।’ ओरियन्ट म्याग्नेसाइटको विश्वबजारमा उच्च माग हुँदाहुँदै पनि भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन् ।

काठमाडौं क्षेत्र नं ७ प्रदेश १ बाट वस्ती उम्मेदवारमा सिफारिस

काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ प्रदेश नम्बर १ बाट गोकुल वस्ती उम्मेदवारमा सिफारिस भएका छन् । आइतबार बसेको नेकपा (एमाले जिल्ला कमिटिको बैठकले वस्तीलाई पहिलो प्राथमिकतामा राखेर उम्मेदवारमा सिफारिस गरेको हो । वस्तीसँगै अन्य तीनजनालाई पनि पार्टीले उम्मेदवारको लागि सिफारिस गरेको छ । जसमा पार्टीको जिल्ला सदस्यहरुमा गोपाल माली, दीपा थिङ, र विश्वराम सापकोटा रहेका छन् । लामो समयदेखि सामाजिक तथा राजनीतिक रुपमा सक्रिय रहँदै आएका वस्तीले सोही क्षेत्रको पार्टीको प्रदेश कमिटिको नेतृत्व गर्दै आएका छन् । पार्टी र आममतदातामा आफ्नो बलियो प्रभाव रहेकाले पार्टीले आफुलाई प्राथमिकतामा राखेर सिफारिस गरेको वस्तीको भनाइ छ ।

प्रतिनिधि र प्रदेशसभाको कार्यकाल लम्ब्याउने विधेयकमा निर्वाचन आयोगको असहमति

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल नयाँ हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गरेपछि पनि कायम रहनु उपयुक्त नदेखिने जनाएको छ । नेपाल सरकारले अर्को निर्वाचन भई नयाँ सदस्यसहितको पहिलो बैठक भएपछि हालका सांसद्को कार्यकाल सकिने गरी प्रतिनिधिसभाका केही ऐन संशोधनमार्फत विधेयक प्रस्तुत गरेका सन्दर्भमा आज आयोगले असहमतियुक्त औपचारिक प्रतिक्रिया जनाएको हो । केही नेपाल ऐन संशोधन गर्ने कममा ऐनको माध्यमबाट प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा हाल कायम रहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको कार्यकाल सम्बन्धमा व्यवस्था गरी सङ्घीय संसद्मा विधेयक पेश भएको विषयमा आयोगले ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ मा भएको व्यवस्था बमोजिम आयोगको परामर्शमा नेपाल सरकारले विसं २०७९ मङ्सिर ४ गते निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा गरेको र सो बमोजिम आयोगले निर्वाचन कार्यक्रम निर्धारण गरी निर्वाचनको तयारी गरिरहेको अवस्था छ । नेपालको संविधानको धारा २४६ मा आयोगले संविधान र सङ्घीय कानुनको अधिनमा रही निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने र आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि सङ्घीय कानुन बमोजिम हुने प्रावधान रहेको सन्दर्भमा कानुन निर्माण तथा संशोधनको प्रक्रियामा आयोगसँग परामर्श गर्ने अभ्यास रहँदै आएको पनि स्मरण गराएको छ । आयोगले सङ्घीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग परामर्श गरी जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सो आचारसंहितामा माथि उल्लिखित सिद्धान्त, अभ्यास तथा प्रतिनिधिसभा तथा प्रदेशसभाका सभामुख र उपसभामुखको पद बहाल सम्बन्धमा भएको संवैधानिक व्यवस्थाको आधारमा सङ्घीय संसद्को सदस्य, प्रदेशसभा सदस्य, गाउँसभाको सदस्य वा नगरसभाको सदस्य पदमा बहाल रहेको व्यक्ति सङ्घीय संसद्को सदस्य वा प्रदेशसभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त हुने व्यवस्था गरिएको जनाएको छ । नेपालको संविधानको धारा ८५ तथा धारा १७७ मा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल पाँच वर्ष हुने व्यवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६१ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन परिणाम प्रकाशन भएको मितिलाई तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलको उम्मेदवार निर्वाचित भएको घोषणा भएको मितिलाई सम्बन्धित उम्मेदवार निर्वाचित भएको मानिने व्यवस्था छ । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरकफरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएकोले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधिको अवधि गणना गर्नु व्यावहारिक र निर्विवाद हुने देखिएकाले सोही आधारमा आयोगले परामर्श दिई निर्वाचन मिति घोषणा गरेको छ ।’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल गणना गर्ने आधार खुलाइ आयोगले दिएको परामर्शको आधारमा निर्वाचन मिति तोकी तयारीको कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधिसभा तथा प्रदेशसभाको कार्यकालका सम्बन्धमा अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय देखिँदैन ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (क) तथा धारा १८२ को उपधारा (६) को खण्ड (क) मा प्रतिनिधिसभा वा प्रदेशसभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख अर्को निर्वाचनको मनोनयन गर्ने मिति भन्दा अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था गरेबाट निर्वाचनको लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेशसभाका अन्य सदस्य सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गर्ने मिति पछिसम्म कायम रहने गरी कानुन संशोधन गर्नु उपयुक्त नदेखिने जनाएको छ । नेपालको संविधानको धारा २९६ को उपधारा ९१० मा संविधानसभाबाट व्यवस्थापिका–संसद्मा रुपान्तर भएको सदनको कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म कायम हुने व्यवस्था गरेको भए तापनि सोही उपधाराको प्रतिबन्धात्मक वाक्यांशले कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभाको निर्वाचन हुने भएमा मनोनयनपत्र दाखिला हुने अघिल्लो दिनसम्म व्यवस्थापिका-संसद् कायम रहने व्यवस्था भएको आधारमा संवत् २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीबमोजिम उम्मेदवारको बन्दसूची पेश हुने अघिल्लो दिनसम्म मात्र व्यवस्थापिका-संसद कायम रहेको विगतको अनुभव रहेको आयोगले स्मरण गराएको छ । ‘सभालाई प्रतिस्थापन गर्ने गरी अर्को निर्वाचन हुने अवस्थामा निर्वाचनमा उम्मेदवारी पेश हुने अघिल्लो दिनसम्म मात्र साविकको सभा कायम रहने सिद्धान्तलाई ग्रहण गरी सोही बमोजिम विगतमा अभ्यास समेत गरिसकेकोले समान अवस्थामा फरक किसिमको अभ्यास गर्ने कार्य उचित देखिएन ।’ आयोगले भनेको छ । उल्लिखित सैद्धान्तिक अवधारणा, संविधानमा भएको व्यवस्था तथा विगतको अभ्यास समेतका आधारमा थप र पृथक व्यवस्था गरी आयोगको सहभागिता वा परामर्शबिना विधेयकको मस्यौदा पेश भएको बुझिएकोले कार्यकाल सम्बन्धमा गरिने नयाँ व्यवस्थाबाट थप अन्योल उत्पन्न हुने आयोगको भनाइ छ । रासस

निर्वाचनका लागि तोकियो १० हजार बढी मतदानस्थल

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको हो । सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको छ । एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको साथै २८ मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका मतदानस्थलको सङ्ख्या १० हजार आठ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको छ । मतदानस्थल पुनरावलोकन भएपश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगले गरेको छ । रासस

टिभीएसको मोटरसाइकल तथा स्कुटर किन्नेले पाँच पटकसम्म उपहार पाउने

काठमाडौं । टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ । ‘कायापलट’ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिने छ । साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नेछन् । विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

एनसेलले ल्यायो तीनवटा मोबाइलमा मात्रै चल्ने भोल्टे सेवा, कुन कुनमा ?

काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् । भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६ गते बिहीबार देखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो । हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि यसको फाइदा लिन सक्छन् । एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स१७२०१ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ । उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ । व्यावसायिक रुपमा भोल्टे सेवा संचालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।

कुमारी क्यापिटलको सभाले पारित गर्यो २ करोड रुपैयाँ बराबरको नगद लाभांश

काठमाडौं । कुमारी क्यापिटलको प्रस्तावित नगद लाभांश पारित भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको वार्षिक साधारण सभाले प्रस्तावित ५ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै, लगानीकर्ताले ४० करोड चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २ करोड रुपैयाँ बराबरको नगद लाभांश (करसहित) पाउने छन् । क्यापिटलको चौथो वार्षिक साधारणसभा टंगालस्थित कुमारी बैंकको केन्द्रिय कार्यालयमा सम्पन्न भएको थियो । उक्त सभामा कम्पनिको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भयो । सभामा कम्पनीले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनिय योगदान पुर्याउने विश्वास दिलाएको छ ।

वाइवाइको ब्रान्ड एम्बासडर बनिन् पर्वतारोही पूर्णिमा श्रेष्ठ

काठमाडौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । आइतबार आयोजित एक समारोहबिच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् । यसअघि सगरमाथासहित नेपालको आठ हजार मिटरभन्दा माथि उचाईका ७ ओटा हिमालहरु चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छन् । सो कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तब्य स्थलतिर लागिसकेकी छिन् । सो कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराइने उनले बताए । ‘चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा निकै उत्साही भएको छु,’ श्रेष्ठले भनिन् । गोर्खाको आरुघाट ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकार हुन् ।