विकासन्युज

कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालन गर्न भदौ २३ गते परिक्षण गरिँदै

जनकपुरधाम । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिनुभयो । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको इञ्जिनीयर साहले बताउनुभयो । रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने उहाँको भनाइ छ । बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ । “जग्गा मुआब्जाको समस्यालगायतका कारण बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो, “कतिपय ठाउँमा व्यावहारिकरुपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।” उहाँका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरुसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गरिरहेका कारण रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ । आफूहरुले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेको महाप्रबन्धक झाले बताउनुभयो । उहाँले भन्नुभयो, “मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिवाससम्म रेल चल्न थाल्छ, मुख्यतः हामीलाई रेलमार्ग निर्माणका लागि अहिलेदेखि ठूलो समस्या यही नै हो ।” रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार सन् २०११ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनिले जनाएको छ । महाप्रबन्धक झाका अनुसार नेपाललाई रेल सञ्जालमा जोड्ने सरकारको नीतिअनुरुप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य भइरहेको छ । यस्तै निजगढ–काठमाडौँ रेलसेवा सञ्चालनका लागि रेलमार्गको डिपिआर तयारी भईरहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको विकास समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा समितिका सदस्यको टोलीले निर्माणाधिन सो रेलमार्गको निरीक्षण गर्नुभएको थियो । महोत्तरीको बर्दिबासदेखि भारतको जयनगरसम्मको रेलमार्गको निरीक्षण गरी टोलीले कुर्थादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवाद र समाधानका उपायबारे प्रदेशसभाका सदस्य, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेलमार्गमा पर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किमी निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किमी रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेलसेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेलसेवाको उद्घाटन गर्नुभएको थियो । त्यसयता रेलसेवा दैनिक दुई पटक सञ्चालन भइरहेको छ ।

पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था छैन : सांसद

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसद कृष्णप्रसाद दाहालले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका छन् । उनले नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएकाले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका हुन् । सांसद दाहालले कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको अवस्थामा अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले नयाँ ल्याउनुभन्दा पनि हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्ने बताए ।    

धौलागिरि अस्पतालमा पहिलो पटक दुरविनमार्फत एपेन्डिक्सकाे सफल शल्यक्रिया

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो । बोलनको डाक्टर साजन कुँवर, डाक्टर सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा केसी लगायतको टिमले सफल शल्यक्रिया गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिए । अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’हुँदै आएकामा अबदेखि दुरविन यन्त्रमार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताउनुभयो । गण्डकी प्रदेशभित्रका अस्पतालमध्ये सबैभन्दा पहिले धौलागिरि अस्पतालमा यो यन्त्रमार्फत शल्यक्रिया सुरु भएको डाक्टर विकले बताए । यो यन्त्रमार्फत हर्निया, एपेन्डिक्स र पित्तथैलीको पत्थरी शल्यक्रिया गर्न सकिने डाक्टर कुँवरले जानकारी दिए । ‘दुरविन यन्त्रमार्फत शल्यक्रिया गर्दा अस्पतालमा बसाइ छोटिन्छ, बिरामी घर छिटो फर्किन सक्छन्, त्यसले गर्दा अस्पतालमा बिरामीको चाप पनि बढ्दैन, ओपन सर्जरी जस्तो, ठूलो घाउबनाउनु पर्दैन, यो आधुनिक प्रविधियुक्त विधि हो,’ डाक्टर कुँवरले भने । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले अब हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौं जान नपर्ने बताए । उनले अहिलेसम्म अस्पतालमा शल्यक्रिया ‘ओपन सर्जरी’मार्फत गरिँदै आएको बताए । उनले भने, ‘औजार उपकरण र दक्षजनशक्ति भएपछि आधुनिक प्रविधिको प्रयोग गरेर उपचारलाई थप सहज बनाएका छौँ, यहाँ आवश्यकपर्ने औजार उपकरण सरकारसँग माग ग¥र्यौं र प्राप्त ग¥र्यौं, अब उपचार थपप्रभावकारी हुने अपेक्षा लिएका छौँ ।’ रासस

झापामा निःशुल्क डायलासिस, पालो कुर्नुपर्दैन

झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहनु भएको छ । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन ।विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउँछन् । निजी अस्पताल भए पनि सरकारले मिर्गौलाको डायलासिस निःशुल्क गराएको हँुदा उनले शुल्क तिर्नुपरेको छैन । झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् । जिल्लामा मिर्गौलाका बिरामीको सङ्ख्या यसको दोब्बर रहेको अनुमान गरिए पनि अरुहरुले झापा बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोवेल मेडिकल कलेज र भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट डायलासिस सेवा लिइरहेको पाइएको छ । उपकरणको सङ्ख्या थोरै भएका बेला केहीवर्ष अघिसम्म निःशुल्क डायलासिसको पालो पाउन अर्को बिरामीको मृत्यु कुर्नुपर्ने दुःखदायी अवस्था थियो तर अहिले डायलासिस उपकरण पर्याप्त मात्रामा थपिएका कारण पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको हो । यसबाहेक विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले रोटरी क्लब अफ मिडटाउनको सहकार्यमा सात वटा डायलासिस उपकरण एक वर्षदेखि सञ्चालनमा ल्याइरहेको छ । निःशुल्क सेवा प्रदान गर्ने अस्पतालको सूचीमा दर्ताको प्रक्रिया चलिरहेका कारण हाल यहाँबाट सरकारले तोकिदिएकै दुई हजार रुपैयाँ पाँच सयमा डायलासिस सेवा दिइरहेको विर्तामोडस्थित रोटरी क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताउँछन् । झापामा सबैभन्दा धेरै १६ वटा उपकरण राखेको ओमसाई पाथिभरा अस्पतालमा नियमित एक सय पाँच बिरामीले निःशुल्क डायलासिस सेवा प्राप्त गरिरहेका छन् । ‘अन्य अस्पतालले दिनको दुई चरणमा सेवा दिइरहेका छन्, हामीले नियमित दैनिक तीन चरणमा सेवा दिइरहेका छौँ,’ ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल भन्छन्–’यहाँ कुनै पनि बिरामीले पालो कुर्नुपर्दैन । कसै–कसैले हप्तामा तीन पटकसम्म सेवा लिइरहेका छन् ।’ उक्त अस्पतालले निकट भविष्यमा दमक, इटहरी, लहान र बर्दिबासमा शाखा सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई निःशुल्क डायलासिस सेवा दिने योजना बनाइरहेको उनी बताउँछन् । विसं २०७१ सालदेखि उक्त अस्पतालमा डायलासिस सेवा उपलब्ध छ । सरकारी स्वामित्वको मेची प्रादेशिक अस्पतालमा १३ वटा उपकरण राखेर मिर्गौलाका बिरामीको डायलासिस भइरहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउँछन् । उनका अनुसार अस्पतालमा नियमितरुपमा ६० जनाले डायलासिस सेवा लिइरहेका छन् । विगत केही वर्षदेखि काठमाडौँको बिराङ हेल्थ केयर नामक निजी संस्थासँगको व्यवस्थापकीय सहकार्यमा डायलासिस सेवा सञ्चालन भइरहेकामा गत महिनादेखि साझेदार हटाएर अस्पताल आफैले सेवा प्रदान गरिरहेको छ । मेची अस्पतालमा पनि डायलासिस सेवा लिन बिरामीले पालो कुर्नुपर्ने विगतको जस्तो अवस्था अहिले नभएको र बिरामीले सबै सेवा निःशुल्क प्राप्त गर्ने सूचना अधिकारी मनोज पोखरेल उल्लेख गर्छन् । अस्पतालको सङ्ख्या धेरै भएको जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पताल मात्र निःशुल्क डायलासिस सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्वास्थ्य मन्त्रालयमा सूचीकृत छ ।हाल उक्तअस्पतालमा पाँच वटा डायलासिस उपकरण छन् । नियमित डायलासिस गराउने बिरामीको सङ्ख्या २७ पुगेको छ । अस्पताललाई निकट भविष्यमा नयाँ भवनमा सर्ने र त्यहाँ थप उपकरण राखेर सेवा बढाउने अस्पतालको तयारी रहेको व्यवस्थापन पक्षले जनाएको छ । विर्तामोडमा बीएन्डिसी, कनकाई, सञ्जीवनीलगायत निजी अस्पताल सञ्चालनमा छन् तर मनमोहन सामुदायिक अस्पतालले रोटरीसँगको सहकार्यमा सरकारी दररेटमै डायलासिस सेवा दिइरहेको छ । अरु अस्पतालले शुल्क लिएर मात्र डायलासिस सेवा प्रदान गर्दै आएका छन् । सातामा तीन पटक डायलासिस गराइरहेका अर्जुनधाराका भुपिन राई दुई पटकको निःशुल्क र शुक्रबार एक पटकको भने चार हजार रुपैयाँ तिरिरहेको बताउँछन् । “दुई पटकको मात्र पैसा लाग्दो रहेनछ, एक पटकको हप्तैपिच्छे तिर्दै आएको छु,” उनी भन्छन्, “आर्थिक अभावले मिर्गौला प्रत्यारोपण गर्न सकिएन, यही डायलासिसले आठ वर्षदेखि बाँचिरहेको छु।” सरकारले डायलासिस निःशुल्क गरिदिएपछि विपन्न मिर्गौलाका बिरामीका लागि सहज भएको राई बताउँछन् । चन्दा सहयोगले पनि नपुगेपछि मिर्गौला उपचारकै लागि बिरामी अवस्थामा लामो अवधिसम्म अटोरिक्सा चलाउनु भएका उनको स्वास्थ्य खस्किँदै गएकाले हाल रिक्सा चलाउन छाडेको उल्लेख गर्छन् । निःशुल्कका लागि कागजपत्र नबनाउँदाको अवस्थामा नयाँ बिरामीले एक पटक डायलासिस गर्दा सेवा शुल्क दुई हजार पाँच सय रुपैयाँ देखि चार हजार रुपैयाँ सम्म अस्पताललाई बुझाउनुपर्ने हुन्छ । नयाँ बिरामीले डाइलेटर, फिल्टरलगायत आवश्यक सामान किन्नुपर्ने हुन्छ तर सरकारबाट निःशुल्क सेवा पाउने पत्र पाइसकेका बिरामीले फिस्टुला बनाउँदा बाहेक कुनै शुल्क तिर्नु नपर्ने ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल बताउँछन् । मिर्गौलाले काम नगर्ने भएको चिकित्सकको प्रतिवेदनका आधारमा स्थानीय तहले सिफारिस दिने र सोही सिफारिस स्वास्थ्य मन्त्रालयमा दर्ता गराएपछि बिरामीले निःशुल्क डायलासिस सेवा पाउने व्यवस्था छ । पछिल्लो समय सरकारले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई औषधि उपचार र जीविकाका लागि मासिक पाँच हजार रुपैयाँ दिने नीति लागू गरेको छ । निःशुल्क डायलासिस र मासिक उपचार सहयोगले मिर्गौला बिरामीको जीवन बचाउन ठूलो मदत पुगेको छ । रासस

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी

चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकैजनामै र रत्ननगरमा दुई जनाको परीक्षणमा एक जनामा सङ्क्रमण देखिएको हो । साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको हो । यहाँ परीक्षण गर्दा नमूनामा शङ्कास्पद देखिएपछि नमूनालाई काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंकाे अनुसार सङ्क्रमितमध्ये जटिल अवस्थाका दुई जनाको भरतपुर अस्पतालको सघन उपचार उपचार भइरहेको छ । माडीमा एक वृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन् । अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको भए पनि अहिलेसम्म रोगका कारण मृत्यु हुन नपाएको उनले जानकारी दिए । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको प्रमुख चापागाईंले बताए । हाल उक्त रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् । देशभर सङ्क्रमितको सङ्ख्या ४५ छ । उनका अनुसार बागमती प्रदेशमा यो सङ्ख्या १८ पुगेकामा नौ जना चितवनमा देखिएको हो । सन् २०२० र २०२१ मा जिल्लामा यो सङ्ख्या एक एक जना थियो । सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । प्रमुख चापागाईंले भने, ‘सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।’ सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानीज इन्सेफ्लाइटिसको बिरामी देखिँदा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा दुई हजार सात सय जनामा सङक्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको उहाँको भनाइ थियो । स्वास्थ्य सङ्गठनले कुनै निश्चित भूगोल, समुदाय र समयमा अनुमानितभन्दा बढी जापानीज इन्सेफ्लाइटिसका बिरामी देखिएमा त्यसलाई महामारी भन्ने गरेको छ । नेपालको इतिहासमा सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो । सन् २००४ मा देशव्यापी रुपमा खोजपडताल अभियान गरिएको थियो । सन् २००६, सन् २०११ र २०१६ मा राष्ट्रिय रुपमा अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम (क्याम्पियन) गरिएको थियो । सन् २००९ देखि नियमित रुपमा १२ महिना पुगेका बालबालिकालाई खोप लगाइँदै आइएको छ । रोग देखिएका बिरामीमध्ये एक तिहाईको निको हुने, एक तिहाई अपाङ्ग हुने र एक तिहाइको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ । यो रोग अप्रिल/मे देखि सेप्टेम्बर/अक्टुबरसम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए । क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा सुङ्गुर, बङ्गुर र हाँस पालिएको ठाउँ वरिपरी रहँदा विशेष ख्याल गर्न र रोगको आशङ्का भएमा तत्काल उपचार गर्न आग्रह गरे । कार्यालयले बिरामीको सङ्ख्या एकाएक बढेपछि अस्पताल र पालिकाका स्वास्थ्य प्रमुखसँग आज छलफल गरी तत्काल तथ्याङ्क कार्यालयमा पठाउने व्यवस्था मिलाउन र आशङ्का देखिएका बिरामीलाई उपचारको प्रबन्ध मिलाउने विषयमा छलफल गरेको छ । सो अवसरमा विश्वस्वास्थ्य सङ्गठनका यस क्षेत्रमा कार्यरत कर्मचारीको पनि उपस्थिति थियो । स्वास्थ्य सङ्गठनले पछिल्ला दिनमा रोग देखिएका बिरामी र तीनका परिवारलाई भेटघाट गरी अवस्था बारेमा बुझ्ने काम गरिरहेको छ । जापानीज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावरलाई व्यस्थित ढङ्गले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । रासस

पर्यटनमा आयाम थप्दै बन्दीपुर,पाँच तारे होटल सहितको केबलकार निमार्ण कार्य तिब्र गतिमा

दमौली । बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो । कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्यका रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जोसुकैको मन लोभिन्छ गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । सुन्दर हिशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्दछ । तर संरचना विकासमा नेपाल सरकारले खासै ध्यान नदिएको भन्दै बन्दीपुरेले नयाँनयाँ कार्यक्रम छनोट गरेका छन् । अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यको खोजी चलिरहेको र पर्यटकलाई होमस्टे घरबास र सुविधा सम्पन्न होटेलको व्यवस्था पनि बन्दीपुरेले गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न बन्दीपुरमा सुविधा सम्पन्न होटेल रहेका छन् । बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् । ‘दुई\तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन्’, उनले भने । बन्दीपुर घुम्न मात्रै आउनेमध्ये अधिकांश पर्यटक पनि कम्तीमा एक रात बास बस्ने गरेको प्रधान बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिले बन्दीपुरको प्रचारका लागि बेलाबेला महोत्सवकोसमेत आयोजना गर्दै आइरहेको छ । कोभिड–१९ को बन्दाबन्दीका बेला सुस्ताएको बन्दीपुरको पर्यटन अहिले तङ्ग्रिने प्रयासमा छ । कोभिडका बेला बन्दीपुर ठप्पै भयो । विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहने यहाँ त्यसबेला विदेशी त के नेपाली पर्यटकको पनि चहलपहल भएन । ‘कोभिडले पर्यटन व्यवसाय र यहाँका व्यवसायीलाई नराम्ररी प्रभावित बनायो, अहिले बिस्तारै तङ्ग्रिने प्रयास गरिरहेको छ’, उनले भने, ‘अहिले फाट्टफुट्ट मात्रै पर्यटक छन्, बिस्तारै राम्रै होला ।’ अब सिजन सुरु हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन् । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ । बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । मौलिकताको नमुना सहर बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउँछन् । काठका बुट्टा कँुदिएका झ्याल तथा ढोकाहरु, इट्टाबाहिर देखिने प्यागोडाशैलीका घर बन्दीपुरको मुख्य आकर्षणका रुपमा रहेको थापाको भनाइ छ । अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको उनले बताए । गाउँपालिकाले बन्दीपुर रिङरोडभित्र र रिङरोड बाहिर पाँच सय मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियम पालना गर्नुपर्ने थापाले बताए । ‘बन्दीपुरको प्राचीनकला तथा संस्कृति झल्किने घरको कारणले नै आज बन्दीपुर विश्वभर प्रख्यात भएको छ । बन्दीपुरको मौलिकता जोगाउन आधुनिक घर निर्माणमा रोक लगाएका छौँ’, उनले भने । बजार क्षेत्रमा प्राचीन कला तथा संस्कृतिको संरक्षण हुनेगरी घर निर्माण गर्दा गाउँपालिकाले नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्थासमेत गरेको छ । बजार क्षेत्रभित्र बनिसकेका घरको अगाडिको भाग प्राचीनशैलीमा निर्माण गर्न स्थानीयवासीलाई गाउँपालिकाले अनुरोधसमेत गरेको छ । उपक्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैली एवं आकारप्रकार काठका झ्याल, ढोका पसलको कवलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभिर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गारोमा प्लाष्टर नगरी प्रष्टसँग इँटा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा स्लोप छाना हुनुपर्नेलगायतका नियम बनाइएको छ । कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा, स्मारक वा स्मारकको कम्पाउण्डको वरिपरिका पहिलो पङ्क्तिका घर स्मारक भन्दा होचो हुनेगरी निर्माण गर्नुपर्नेछ । ‘देशकै मध्यभागमा पर्ने, यातायातको सुविधा पुगेको र गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बन्दीपुर विकास भइरहेको छ’, थापाले भने, ‘प्रदूषण र कोलाहल नभएकाले पनि बन्दीपुरमा पर्यटक आउन रुचाउँछन् ।’ सुविधा सम्पन्न होटल खुल्दै बन्दीपुरमा पर्यटकको आगमन वृद्धि हुन थालेपछि व्यवसायीलेसमेत सुविधा सम्पन्न होटल स्थापना गरेका छन् । विसं २०५६ मा सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा स्वीकृति दिएपछि यस क्षेत्रमा होटल निर्माण सुरुआत भएको थियो । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले करोडौँ लगानीमा बन्दीपुर माउन्टेन रिसोर्ट स्थापना गरेपछि यस ठाउँले गति लिन थालेको थियो । विसं २०५७ मा श्रेष्ठले पहिलोपटक रिसोर्ट स्थापना गरेको बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकैपटक एक हजार तीन सयदेखि एक हजार चार सय पर्यटकले रात बिताउनसक्ने बताइएको छ । पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले केही वर्ष अगाडि मात्रै रु आठ करोडको लागतमा होटल सञ्चालनमा ल्याउनुभएको छ । बन्दीपुरमा कोभिड–१९ को प्रभाव अगाडि पनि नयाँ नयाँ होटल सञ्चालनमा आइसकेका छन् । बीस वर्षे गुरुयोजना गाउँपालिकाले बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ । विश्वभर प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षलाई समेटेर गुरुयोजना बनाइएको गाउँपालिकाले जनाएको छ । काठमाडाँै, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, सम्वद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने अध्यक्ष थापाले बताए । पाँचतारे होटलसहितको केबलकार आकर्षण बन्दीपुरमा पाँच तारे होटल सहितको केबलकार निर्माण तीव्र गतिमा भइरहेको छ । कोभिडका कारण केही समय काम प्रभावित भए पनि अहिले उक्त कामले गीत लिएको छ । बन्दीपुरको पर्यटनलाई थप प्रवद्र्धन गर्ने माध्यम केबलकार पनि बन्न सक्ने विश्वास गरिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । ‘दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो’, उनले भने, ‘त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।’ उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताए । ‘विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ, केबलकारको टावर जडान सुरु भएको छ’, उनले भने । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसअघि केबलकारको क्षमता प्रतिघण्टा ३०० रहेकामा त्यसलाई बढाएर ५०० पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्युटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र सजावटको काम बाँकी रहेको शर्माले बताए । कम्पनीले केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरेको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेन्टुरेन्ट सञ्चालन हुनेछ । एक घण्टाको २५ हजार रुपैयाँ शुल्क तिरेपछि १०\१५ हजार रुपैयाँ बराबरको खानाको सुविधा पनि दिइने जनाइएको छ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । रासस

गोर्खाज फाइनान्सका अध्यक्ष राईले लिए शपथ

काठमाडौं । गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले शपथ लिएका छन् । मंगलबार वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टसँग उनले शपथ लिएका हुन् ।  । फाइनान्सका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पदबाट राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले निर्वतमान अध्यक्ष गौरव बुढाथोकीको प्रस्तावमा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । गोर्खाज फाइनान्सले हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा संचालन गरिरहेको छ ।

बागलुङमा विद्युत्को पहुँचले ढिकी, जाँतो र पानीघट्टको प्रयोग हराउँदै

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ । गाउँलेले पिसानी अन्न पिस्ने कामका लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ । तर जिल्लाको अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुले पँच वर्ष अगाडिसम्म पानी घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घर्तीमगरको भनाइ छ । उनले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको जनाउँदै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको बताए । उनले घट्टको विकल्पमा अरु माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भित्रिएको बताए । ‘पहिले हामीले कुटानी पिसानी गर्ने ढिकी, जाँतोबाहेक अरु केही थिएन, कि घरमै जाँतोमा आटो पिठो पिस्नु पथ्र्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानु पथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन’, उनले भने, ‘अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टलेभन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दोरहेछ ।’ पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक वीरबहादुर सुनारले बताए । गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उनको भनाइ छ । ‘घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन’, सञ्चालक सुनारले भने, ‘यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरु नै पेशा गर्नुपर्ने अवस्था आएको छ, डेढ वर्षभन्दा बढी भयो मेरो घट्टमा मान्छे नआएको, त्यसभन्दा पहिले मान्छेहरु फट्टफुट्ट आउने गर्थे । रासस