विकासन्युज

ट्राफिक प्रहरीले शुरु गर्यो नयाँ अपरेसन, एकैदिन कारवाहीमा परे साढे ७ सय सवारी चालक

फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ २१ गतेदेखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ब्ल्याक एण्ड ह्वाइट नामक अपरेसन शुरु गरेको छ । उक्त अपरेसन अनुसार मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको हो । चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९ जना , तिव्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकहरु कारवाहीमा परेका छन् । भाडाका सवारी साधनहरुमा धेरै यात्रुहरुले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरुले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटना हुन गई धेरै जनधनको क्षती हुने सम्भावना रहेकोले सम्भाबित दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । साथै, आगामी दिनमा पनि यो अपरेसनले निरन्तरता पाउने प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ छ ।

सिटिजन्स बैंकका कार्डबाहकलाई नेसनल प्याथ ल्याबमा १७ प्रतिशतसम्मको छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । समझदारीसँगै बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । साथै, सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ । बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

बैंकर्सले हेप्दा बीमकलाई साढे ७ अर्ब नोक्सान, ब्याजदर बढाउन बीमा क्षेत्रबाट दवाव

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल बीमक संघको मिलोमत्तोमा संस्थागत निक्षेपकर्तालाई दिने ब्याजदर घटाउँदा बीमा कम्पनीहरुलाई वार्षिक साढे ७ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको छ । बैंकर्सले संस्थागत निक्षेपकर्ताप्रति गरेको हेपाह प्रवृतिले बीमितहरुलाई नोक्सान पुगेको भन्दै बीमा क्षेत्रले ब्याजदर वृद्धि गर्न दवाव सिर्जना गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंक व्यक्तिगत निक्षेपकर्तालाई भन्दा संस्थागत निक्षेपकर्तालाई १ प्रतिशत कम ब्याज दिनु पर्ने नीतिगत व्यवस्था गरेको छ । त्यसमा बैंकर्सहरुले समर्थन जनाउँदै व्यक्तिगत निक्षेपकर्तालाई ११.०३ प्रतिशत ब्याज दिँदा संस्थागत निक्षेपकर्तालाई १०.०३ प्रतिशत ब्याज दिँदै आएका थिए । गत साउन मसान्तमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले संस्थागत निक्षेपकर्तालाई थप एक प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गर्यो । त्यसपछि वाणिज्य बैंकहरुले संस्थागत निक्षेपकर्तालाई ९.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । वाणिज्य बैंकहरुको सिण्डिकेट पूर्ण निर्णयलाई नेपाल राष्ट्र बैंकले मौन समर्थन जनाएको छ । यसबाट बीमा कम्पनीहरुले मात्र वार्षिक ७ अर्ब ५९ करोड रुपैयाँ नोक्सान बेहोर्नु परेको छ । बीमा समितिका अनुसार गत असार मसान्तसम्ममा बीमा कम्पनीहरुले ३ खर्ब ७९ अर्ब रुपैयाँ मुद्दती खातामा राखेका छन् । त्यसको २ प्रतिशतले ७ अर्ब ५९ करोड रुपैयाँ हुन्छ । जीवन बीमा कम्पनीहरुले ३ खर्ब १९ अर्ब रुपैयाँ निक्षेपमा राखेका छन् । निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ५९ करोड रुपैयाँ मुद्दती खातामा राखेका छन् । २ पुर्नबीमा कम्पनीहरुले २० अर्ब ८ करोड रुपैयाँ मुद्दतीमा लगानी गरेका छन् । राष्ट्र बैंकको नीति र बैंकर्सको कार्यशैलीले बीमा क्षेत्रलाई नराम्रो असर परेकोले त्यसमा परिवर्तन गराउन आफूले काम गरिरहेको बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘मैले गत साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर संस्थागत निक्षेपकर्तालाई कम ब्याज दिने नीतिमा परिमार्जन गर्न सुझाव दिएको छु, उहाँले पुनर्विचार गर्छु भन्नु भएको छ’ उनले विकासन्युजसँग भने । सर्वसाधारण मानिसले बीमा गर्दा बुझाएको बीमाशुल्क जम्मा गरेर बीमा कम्पनीहरुले बैंकको मुद्दतीमा लगानी गरेको र त्यसको प्रतिफल कम हुँदा बीमितको बोनसदर घट्न जाने, बीमाप्रति विकर्षण बढ्ने जोखिम भएको विषय आफूले गभर्नरसँग राखेको अध्यक्ष सिलवालले बताए । नेपाल लाइफ इन्स्योरेन्सको मात्र ९२ अर्ब २२ करोड रुपैयाँ बैंकको मुद्दतीमा लगानी रहेको छ । बैंकहरुले २ प्रतिशत ब्याज कम दिने वित्तिकै नेपाल लाइफलाई १ अर्ब ८४ करोड घाटा हुन्छ । १ अर्ब ८४ करोड रुपैयाँ आम्दानी घट्दा सबैभन्दा बढी बीमितको बोनसमा असर गर्छ । बीमामा कम्पनीको नाफाबाट १० प्रतिशत मात्र सेयरधनी खातामा जाने, ९० प्रतिशत बीमितको खातामा जाने नियम बीमा समितिले लागू गरेको छ । बीमा कम्पनीको नाफा घट्दा लगानीकर्ताले पाउने लाभांशभन्दा बढी बीमितले पाउने बोनसदरमा बढी असर पर्ने अध्यक्ष सिलवालले बताए । बीमा कम्पनीहरुले बैंकमा राख्ने निक्षेपको व्याजदर कम गर्ने नीति हटाउन सरकारलाई पटक पटक सुझाव दिएको जीवन बीमक संघको अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए । ‘बजेट बनाउने बेलामा अर्थमन्त्रालयलाई र मौद्रिक नीति बनाउने बेलामा राष्ट्र बैंकलाई समान व्याजदर कायम गर्न माग गरेको थियौं, तर हाम्रो माग सुनुवाई भैरहेको छैन’ श्रेष्ठले भने । बैंकर्स संघले ९.०३ प्रतिशत मात्र व्याज दिने निर्णय गरेपछि असन्तोष जनाउँर्दै जीवन बीमक संघले बीमा समिति र राष्ट्र बैंकलाई पत्र लेख्न लागेको रिलायवल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बताए । ‘हामी आन्तरिक छलफल गर्दैछौं, यस विषयमा बीमा समिति र राष्ट्र बैंकलाई औपचारिक पत्र गर्ने, बीमा क्षेत्रलाई परेको असर बुझाउने र व्याजदर बढाउने तर्फ हाम्रो ध्यान केन्द्रीत भएको छ’ उनले भने । बीमा कम्पनीहरुले दुर दराजबाट बीमितबाट थोरै थोरै बीमाशुल्क संकलन गरी बैंकमा मुद्दतीमा राख्ने भएकोले यस रकमलाई संस्थागत निक्षेपको रुपमा लिनु नहुने उनको भनाई छ । नेपाल बीमक संघका अध्यक्ष चंकी कुँवर क्षेत्रीले पनि बैंकहरुले संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने नीतिले बीमा कम्पनीहरुलाई ठूलो असर परेको बताए । ‘बीमा कम्पनीले छरिएर रहेको रकम एक ठाउँमा ल्याउने र दीर्घकालिन बचत परिचालन गर्ने भएकोले विदेशमा बीमा कम्पनीहरुलाई व्यक्तिगत निक्षेपकर्तालाई भन्दा बढी ब्याज दिइन्छ, नेपालमा भने उल्टो भएको छ’ क्षेत्रले भने । पछिल्लो समय कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले पनि अर्थसचिवलाई भेटेर संस्थागत निक्षेपकर्तालाई कम ब्याजदर दिने राष्ट्र बैंकको नीति खारेज गर्न माग गरेको छन् । ‘पैसाको स्वामित्व जसको भएपनि मूल्य एउटै हुन्छ, त्यसको प्रतिफल पनि समान हुनुपर्छ’ नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमणकुमार नेपालले भने । पैसाको मूल्यमा विभेद नीति ठिक नभएकोले खारेज हुनुपर्ने उनको तर्क छ ।

कर्मचारी सञ्चय कोषसहित १७ ठूला कम्पनीलाई महानगरले काट्यो पत्र, कर बुझाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालित १७ वटा कम्पनी तथा संस्थानलाई १० दिनभित्र कर तिर्न पत्र पठाएको छ । महानगरले मंगलबार १७ वटा कम्पनी तथा संस्थानलाई पत्र पठाउँदै १० दिनभित्र सम्पत्ति कर तिर्न ताकेता गरेको हो । महानगरले कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण लगायतका विभिन्न कम्पनीलाई सम्पत्ति कर बुझाउन पत्र काटेको हो । जसमा खाद्य संस्थान, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आर बि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल र डेन्टल कलेज रहेका छन् । महानगरका अनुसार यी कम्पनीले भदौ ३१ गतेभित्र सम्पत्ति कर बुझाउनु पर्ने छ । सो अवधिमा कर नबुझाए कारवाही गरिने चेतावनी दिएको छ ।

सर्लाहीको हरिवन नगरपालिकामा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं। १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगैं बैंकको कुल शाखा संख्या १४७ पुगेको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । २०७९ असार मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको देशभर १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

कर्मचारी सञ्चय कोषको सञ्चालकमा बीमा समितिका पौडेलसहित दुई जना नियुक्त

काठमाडौं । कर्मचारी सञ्चय कोषको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र डा. हरि अधिकारी नियुक्त भएका छन् । पाैडेल र अधिकारीलाई मन्त्रिरिषदको बैठकले कोषको सञ्चालकमा नियुक्त गरेकाे हाे ।  

द भ्वाइस अफ नेपालको भोटिङ र टिकटिङ्ग पार्टनर बन्यो ‘खल्ती’

काठमाडाैं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’सँग भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल’ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै ‘द भ्वाइस अफ नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् । ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस अफ नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो ।

अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

बारा । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह टङ्की निर्माणको काम अघि बढाएको छ । हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो । निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो । जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दसँैपछि भण्डारण गृह निर्माण काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिए । हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किमी लामो पाइपलाइनमार्फत डिजेल आयात गर्दै आएको छ । अब निर्माण हुने पेट्रोल भण्डारण गृह ट्याङ्की मध्ये प्रतिट्याङ्की चार हजार एक सय किलोलिटर क्षमताको हुनेछन् । नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल आयात गर्न थप सहज हुनेछ । पेट्रोल सङ्कलन गर्ने दुई वटा भण्डारण ट्याङ्की निर्माणपश्चात् निगमलाई पेट्रोल आयातमा प्रतिलिटर करिब एक रुपैयाँ ५० पैसा ढुवानी खर्च सस्तो पर्ने आँकलन गरिएको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । करिब तीन अर्ब २६ करोड रुपैयाँको लागतमा निर्माण हुने दुई वटा पेट्रोल भण्डारण ट्याङ्की निर्माणको कार्य आगामी सन् २०२४ को जनवरीसम्म सम्पन्न हुने लक्ष्य रहेको छ । हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ । तर पेट्रोलका लागि भारतबाट ट्याङ्करमार्फत आयात भइरहेको छ । रासस