सुपर लघुवित्त समस्याग्रस्त घोषणा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको स्थलगत विशेष निरीक्षणबाट सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको हुँदा समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले जनाएको छ । ‘२०७८ असोज मसान्तको वित्तीय विवरणको सुपर लघुवित्त वित्तीय संस्थाको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खड़ा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको छ,’ राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ । साथै, लघुवित्तको प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशत ऋणात्मक भएको हुँदा २०७८ चैत्र २ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो । संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख) (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
संघीय शिक्षा ऐन विधेयक मन्त्रिपरिषदबाट पास
काठमाडौं । लामो समयदेखि अगाडि बढ्न नसकेको संघीय शिक्षा ऐन सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पास भएको छ । संसदीय समितिमा छलफल प्रारम्भ गर्ने गरी मन्त्रिपरिषदबाट पास भएको शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्र पौडेलले जनाएका छन् । उक्त विधेयक तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलकै समयमा निर्माण भएको थियो । नयाँ संविधान र नयाँ व्यवस्था बमोजिम शिक्षा क्षेत्रको व्यवस्थापन, सञ्चालन र नियमन गर्ने गरी निर्माण भएको उक्त विधेयक लामो समयदेखि अगाडि बढ्न सकेको थिएन् । ऐनको अभावमा शिक्षा सम्बन्धी धेरै क्षेत्र नयाँ व्यस्थासँगै अलमलको अवस्थामा रहिरहेका थिए । संघीय शिक्षा ऐन निर्माण भएमा शैक्षिक क्षेत्रले नयाँ व्यवस्थाअनुरुप मुर्तता प्राप्त गर्न सजिलो हुने अनुमान गरिएको छ ।
प्राधिकरणलाई बालेनको जवाफ : नियमसंगत कर उठाउँछौं, महसुल पनि भुक्तानी गर्छौं
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकाले नियमसंगत तरिकाले कर उठाउने र वैद्यानिक कागजातसहित आएका महसुल चुक्ता गर्ने बताएका छन् । काठमाडौं महानगरलाई कर नबुझाउने नेपाल विद्युत प्राधिकरणको भनाइ आएपछि शाहले मंगलबार आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमा लेख्दै महानगरले उठाउने कर र प्राधिकरणले उठाउने महशुल एकअर्कामा सापटी गर्न नमिल्ने समेत बताएका छन् । हेर्नुहोस बालेनल सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ । १. काठमाडौ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ । २. नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो । ३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ । ४. सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छररहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ । ५. सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ । योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।
बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा, आत्मनिर्भर पनि भइने
काठमाडौं । अब बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा पाइने भएको छ । बजाजको एकमात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजनाअन्तर्गत उक्त अफर दिने भएको हो । ‘यसपालीको चाड, उपहारसंगै स्वरोजगार’ नामक यो योजना अन्तर्गत बजाजको म्याक्सिमा सी (सामान बोक्ने अटो) वा बजाज आरई बीएस६ (मान्छे बोक्ने अटो) किन्दा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ एफ२२ स्मार्ट फोन पाइने छ । ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ, उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो, यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाजको म्याक्सिमा सी वा बजाज आरई बीएस६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।’ हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जानकारी गराएको छ ।
अब ३० मिनेटमै बाइक वा स्कुटर किन्न सकिने, यामाहाले ल्यायो ह्याट्रिक योजना
काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ । कम्पनीले दशैं(तिहार र छठ, २०७९ लाई लक्षित गर्दै विभिन्न योजनाहरु ल्याएको हो । भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागु हुनेछ । कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् । यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ । कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छ । ‘चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं, र, आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ,’ उत्साहित हुँदै यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी गराएको छ ।
प्रशोधन केन्द्र बनाउन असफल चिनिया कम्पनीसँगको ठेक्का रद्द, बैंकको ४९ करोड धरौटी जफत
काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिसेस् (होल्डिङ) इंकसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता अन्त्य गरेको छ । साफबोन वाटरसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो । तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि नबढाएको र तोकिएको समयमा निर्माण सम्पन्न गर्न पीआईडीबाट बारम्बार ताकेता गरिनुका साथै पाँच पटकसम्म म्याद थप गरी पछिल्लो पटक यही सन् २०२२ को जुलाई ३१ सम्म समय दिँदा समेत सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेका कारण साफबोन वाटरसँगको सम्झौता अन्त्य गरिएको हो । फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको छ । तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएकोमा उक्त कम्पनीले सम्झौता बमोजिम बैंक ग्यारेन्टीस्वरुप राखेको करिब ४९ करोड धरौटी रकम जफत गरिएको छ । उक्त कम्पनीले थपिएको अवधि समेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशत मात्र काम गरेको छ भने करिब ७७ करोड २७ लाख रुपैयाँ भुक्तानी लगेको छ । अब, तीनवटै फोहोरपानी प्रशोधन केन्द्रहरुको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढंगले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।
पाथीभरा मन्दिरलाई सनराइज बैंकको सहयोग
काठमाडौं । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरेका छन् । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो । भक्तजनहरुको ठूलो आस्थाको केन्द्र पाथीभरामा वर्षभरीमा लाखौं भक्तजनहरु आउने गर्दछन् । मन्दिर पुग्नको लागि करिब ५/६ घण्टाको उकालो हिड्नु पर्ने हुन्छ । उक्त बाटोमा भक्तजनहरुलाई शौचालयको सुविधा पुर्याउने उद्देश्य साथ तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले बताए । साथै, मन्दिर यात्राको क्रममा सामाजिक सुचना दिन सहज होस् भन्ने हतुले डिजिटल स्क्रोलिङ बोर्ड पनि हस्तान्तसण गरिएको हो । साथै, बैंकले डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा मन्दिर, चारआली, मेचीनगर १३, झापामा समेत उपलब्ध गराएको छ । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रोविनकुमार नेपाल र पाउ पाथीभरा उत्तर गंगा पर्यटन प्रर्बन्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बैंकका पदाधिकारीहरुको उपस्थितिमा डिजिटल स्क्रोलिङ घडीको उद्घाटन संयुक्त रुपमा गरेका थिए ।
प्रभु बैंकका ग्राहकलाई जनकपुरको बाबा फुड्समा विशेष छुट
काठमाडौं । प्रभु बैंक र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्रोको तर्फबाट प्रबन्ध निर्देशक बिशाल साहले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले बाबा फुड्स एण्ड रेस्ट्रोद्धारा सञ्चालित “फुड” र ‘वेभरेज’ सेवामा ७ प्रतिशत छुट पाउने छन् । सो रेष्ट्रोमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उक्त सेवाहरुमा छुट पाइने छ ।