अन्नपूर्ण पदमार्ग: यात्रा छोटियो तर सास्ती घटेन
मनाङ । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ । यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरु यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले भने उनीहरुको यो तालिका फरक भएको छ । तय गरिएको तालिकाभन्दा पहिले नै यात्रा सकिने गरेको छ । लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने पदमार्गको यात्रा छोटो समयमा पूरा गर्न सकिने भएको छ । अब बेँसीसहरबाट चामे–खाङ्सारसम्म यात्रालाई छोटो बनाउँदै जीपको माध्यममार्फत पुग्न सकिने र तोकिएको समयभन्दा छिटो नै यात्रा पूरा गर्न सकिनेगरी अन्नपूर्ण पदमार्गको यात्रा छोटिएको छ । काठमाडौँ वा पोखराबाट एकै दिनमा मनाङ पुगेर अन्नपूर्ण पदमार्गको यात्रा तय गर्न सकिने पर्यटकको भनाइ छ । विश्वका पर्यटकको रोजाइमा मनाङ ङिस्याङ गाउँपालिका–८ थोराङ्ला भञ्ज्याङ पर्दछ । विगतमा थोराङ्ला पार गर्न १८ दिन लाग्थ्यो । तर अहिले यो यात्रा सडक सञ्जाल विस्तारसँगै छोट्टिएको छ । मनाङ सडक सञ्जालसँग जोडिएसँगै पदमार्गको दूरी पनि घटेको हो । माथिल्लो मनाङ, खाङ्सारसम्म सवारीमार्फत सहजरुपमा एकै दिनमा पुग्नसक्ने भएपछि पदमार्गको यात्रा छोटिएको स्थानीय बताउँछन् । अहिले माथिल्लो मनाङसम्म सवारीमा यात्रा गरेपछि तीन दिनमा थोराङ्ला पार गर्न सकिन्छ । यसरी यात्रा गर्दा लेक लाग्ने सम्भावना भने बढी हुने गरेको उनीहरु बताउँछन् । कम उचाइबाट एकसाथ आएका पर्यटक उच्च स्थानमा अक्सिजनको अभावले लेक लाग्ने गरेको उनीहरु बताउँछन् । यात्रा सहजरुपमा सक्ने लक्ष्यसहित बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताउँछन् । लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लालाई एउटै मार्गले फूलको माला झैँ गरी जोडेको छ । यसै मार्गलाई गन्तव्य बनाएर आउने बाह्य पर्यटकले १८ दिनमा पूरा गर्ने पदमार्गको दूरी अहिले घटेको छ । सडक सञ्जालले जोडिएसँगै केही स्थानमा पर्ने यो पदमार्ग नै देखिँदैन । सडकले जोडिएकाले कतिपय मार्गमार्फत् हिँड्नुपर्ने अवस्था नै रहँदैन । कहीँ मोटरेवल सडक सञ्जालले पदमार्गमा हिँड्न अप्ठ्योरो पनि पर्ने गरेको छ । यसले गर्दा पनि पदमार्ग छोटिन थालेको हो । पदमार्गसँगै सडक सञ्जाल सञ्चालन हुँदा पदयात्रीले सास्ती भने बेहोर्नु परेको छ । यसले गर्दा पदयात्री सवारीको प्रयोग गर्न बाध्य भएका छन् । पदमार्ग र सडक सञ्जाल फरक भएमा मात्र पदयात्रीलाई सहज हुने पर्यटकको भनाइ छ । लामो तालिका बनाएर अन्नपूर्ण पदमार्गको यात्रामा आएकी फिनल्याण्डकी नागरिक निया बताउँछिन्, ‘सडक सञ्जाल विस्तार भएको राम्रो हो । पदमार्ग मासिनु हँुदैन । पदयात्रा गर्न आउने पर्यटकलाई साँघुरो सडक सञ्जाल त्यसैमाथि पदमार्ग जोडिदा यात्रा गर्न कठिन हुने रहेछ । यसलाई मनाङवासीले ध्यान पु¥याउँदै संरक्षण गर्नुपर्छ’, नियाले भनिन् । पदमार्गमार्फत् हिँड्ने क्रममा सडकमा धुलो र हिलोले गर्दा सास्ती बेहोर्नु परेको उनको अनुभव छ । सडक र पदमार्गलाई फरक तवरबाट संरक्षण गर्न सकिएमा सहज हुने र यात्रीलाई पनि आनन्दले यात्रा गर्ने वातावरण बन्ने पर्यटकको भनाइ छ । मुस्ताङ जिल्लाबाट भने थोराङ्ला जाने केही तल्लो भागसम्म सडक सञ्जाल विस्तार गरिसकिएको छ । उता मनाङपट्टिको भागमा भने पदयात्रा गर्नुपर्ने अवस्था कायमै छ । मनाङतर्फभन्दा मुस्ताङले छिटो थोराङ्ला पुग्नसक्ने बनाएको छ । पदमार्गको केही स्थानमा बाढी र पहिराले क्षति पु¥याएकाले संरक्षण, मर्मत तथा नयाँ ट्र्याक निर्माण गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्याप का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘हिमपातमा पनि पर्यटक आउँछन् । पर्यटकलाई सहज बनाउन एक सय मिटर दूरीमा खम्बा राखिएको छ । सडक सञ्जालको नजिक रहेका पदमार्गलाई सहज बनाउन स्थानीय तहसँग समन्वय गरी व्यवस्थापनको तयारीमा छौँ’, गौतमले भने । पदमार्गमा फालिएका फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहहरुले ठाउँ–ठाउँमा खाल्डो बनाएको छ । यात्राका क्रममा पर्यटकलाई दिसापिसाब लाग्दा सहज होस् भनेर स्थानीय तहले मनाङका बस्तीबाहेकका क्षेत्रमा शौचालयको व्यवस्थापनसमेत गरेको छ । तिलिचो ताल, थोराङ्ला भञ्ज्याङलगायतका पर्यटकीय क्षेत्रमा शौचालयको व्यवस्थापन गरिएको छ । यस पदमार्गमा अनावश्यक फोहरमैला नहुने भएकाले त्यस क्षेत्रको जलवायु संरक्षण हुनेछ । रासस
शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासो १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्न लागिएको जानकारी दिए । शाखामार्फत् खगोल र अन्तरिक्ष विज्ञान विषयमा काम गर्ने संस्थालाई एकीकृत गरी काम गरिने उनको भनाइ थियोे । नेपालमा खगोल विज्ञानलाई प्रवद्र्धन गर्न नासोले विद्यालय एवं महाविद्यालय तहका विद्यार्थीबीचमा विभिन्न गतिविधि गर्दै आएको छ । कक्षा आठदेखि खगोल विज्ञानसम्बन्धी ओलम्पियाड प्रतियोगिता, चित्रकला, वक्तृत्वकलालगायत कार्यक्रम गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो । यसलेगर्दा खगोल विज्ञानका विषयमा विद्यार्थीमा जिज्ञासा बढाएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य डा दीनेशराज भुजुले खगोल विज्ञानका विषयमा धेरै विद्यार्थी, अभिभावक र जनसाधारणको पनि ध्यानाकर्षण गराउन नासो सफल भएको बताए । नासोले नेपालमा विज्ञान र संस्कृतिलाई अघि बढाएको उल्लेख गँर्दै उनले अबका वैज्ञानिक सांस्कृतिक वैज्ञानिक हुने पनि सुनाए । नासोका अध्यक्ष सुरेश भट्टराईले नेपाललाई वैज्ञानिक संस्कृतितिर अघि बढाउने उद्देश्यले नै १५ वर्षअघि त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्ने विद्यार्थीको समूहले काम सुरु गरी संस्था स्थापना गरेको बताए । पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनारायण श्रेष्ठले अन्तरिक्ष विज्ञान विश्वव्यापी बनिरहेका बेला नेपालले पनि काम सुरु गरेको जानकारी दिए । कार्यक्रममा नास्टका इञ्जिनीयर रोशन पाण्डे, अभिभावक पङ्कजकुमार कर्ण, विज्ञान शिक्षिका सरिता शाक्य प्रधान र रुपा मानन्धरलगायतले नेपालमा खगोल एवं अन्तरिक्ष विज्ञानका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने वातावरण बनाउन माग गरेका थिए ।कार्यक्रममा नासोले विभिन्न समयमा आयोजना गरेका गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । नासोले मन्त्रालय, नास्टलगायत विज्ञानका विषयमा काम गर्ने सरकारी एवं गैरसरकारकारी संस्थासँग सहकार्य गरी आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । रासस
नेप्सेको पारदर्शितामाथि प्रश्न, लगानीकर्ता असन्तुष्ट
काठमाडौं । केही दिन अघि एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल इन नेपालका अध्यक्ष मनोज शाहीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइटमा गएर केही तथ्यांक खोज्ने प्रयास गरे । उनले भेटाउन सकेनन् । त्यसपछि उनले पुनः नेप्सेको आम्दानी र खर्च पनि थाहा पाउन प्रयास गरे । तर, लामो समय प्रयास गर्दा पनि उनले नेप्सेको खर्च आम्दानी तथा खर्चको विवरण भेटाउन सकेनन् । ‘नेप्सेमा केही विवरण खोज्ने प्रयास गरेँ तर मैले खोज्न नजानेको होकि त्यसमा नभएको हो, भेट्टाउन सकिनँ, नेप्सेले कति आम्दानी गर्छ, कति खर्च थाहा छैन्, मैले पत्ता लगाउन सकिन,’ उनले विकासन्युजसँग भने । उनले नेप्सेको मात्रै नभएर नेप्सेमा सूचीकृत कम्पनीहरुको आधिकारिक तथ्याङ्क नै पाउन गाह्रो भएको धारणा राखे । नेप्से आफैले सूचीकृत कम्पनीहरुको विवरण माग्दा आफ्नो सूचना पनि सर्वसाधारणलाई नदिएको गुनासो उनको छ । सरकारी संस्था भएर पनि नेप्सेको आम्दानी र खर्च कति छ भन्ने विषय सर्वसाधारण तथा लगानीकर्तालाई नहुनु विडम्वना भएको उनको धारण छ । लगानीकर्ताले नेप्सेमा राखिएको तथ्याङ्कका आधारमा नै लगानीको गणना गर्ने भएकाले सबै विवरण वेवसाइटमा राख्नुपर्ने उनको माग छ । ‘लिस्टिङमा गएपछि सानो हरफ छ, त्यहाँ केही पनि सूचना छैन्, केही विवरण पनि राखिएको छैन, विवरण नभएपछि कसरी इन्डेक्स क्याल्कुलेसन गर्ने ? इन्डेक्सको बारेमा केही पनि छैन, नयाँ प्रविधिमा गएको नेप्सेको सेवा किन सुस्त ? मैले नेप्सेको धेरै कमजोरी देखेँ,’ उनले भने । नेप्सेको नयाँ वेवसाइटमा एक वर्षभन्दा बढी अवधिको तथ्याङ्क नै नभएको उनको भनाइ छ । नयाँ वेवसाइट पूर्ण रुपमा नै व्यवस्थित नभई सञ्चालन गरेको नेप्सेले पुरानो तथ्याङ्क हेर्नको लागि पुरानै वेवसाइटमा जानु परेको उनको भनाइ छ । ‘अहिले आएको नयाँ साइटमा एक वर्षको भन्दा बढीको डाटा पाउन सकिन्न, पुराना तथ्यांक हेर्न पुरानो साइटमा जानु पर्छ, नयाँ साइटमा कुनै पनि विवरण नै भेटिदैनन,’ उनले भने । उनले नेप्सेमा ‘ट्रेडएबल इन्डेक्स’ नभएको बताए । ‘भोलिका दिनमा नेप्से टेन या नेप्से फिफ्टी बनाइयो भने इन्डेक्स प्रडक्टहरु बनेपछि काम छैन, ती प्रडक्टहरुलाई आवश्यक गरेको बेलामा खरिद बिक्री गर्न नसकेमा त्यसको महत्व हुँदैन,’ उनले भने । लगानीकर्ता विष्णु बस्यालले नेप्सेले लगानीकर्तालाई आवश्यक पर्ने जरुरी सूचना समेत उपलब्ध नगराएको गुनासो गरे । आफूले बारम्बार सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत् नेप्सेलाई झक्झक्याउँदा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । उनले व्यक्तिगत पहुँचका आधारमा मात्रै नेप्सेले सूचना उपलब्ध गराउने गरेको उनको भनाइ छ । ‘नेप्सेले लगानीकर्तालाई अत्यन्त जरुरी सूचना समेत उपलब्ध गराएको छैन, बारम्बार सामाजिक सञ्जालमार्फत् सूचना उपलब्ध गराउनुपर्याे भनेर झकझक्याएको छु, त्यसको सुनुवाइ नै भएन,’ उनले भने, ‘ब्यक्तिगत सम्बन्धका आधारमा सूचना मागे पनि आम लगानीकर्ताले भने प्राप्त गर्न सकिरहेका छैनन्, नेप्सेले पहुँच भएकालाई मात्रै सूचना प्रदान गरिरहेको हुन्छ तर आम लगानीकर्ताको पहुँच हुँदैन, सूचनामा पहुँच हुन पब्लिक गर्नुपर्छ, तथ्याङ्क माग्नलाई सम्बन्ध किन प्रयोग गर्ने, तथ्याङ्क पाउनेहक अधिकार हो ।’ नेप्सेले सिस्टममा सुधार गरेर बजार सहभागिताको लागि नभई नहुने सूचनाहरु सार्वजनिक गर्नुपर्ने उनले बताए । उनले सबै सूचना उपलब्ध गराउन नसक्दा नेप्से असफल भएको समेत धारणा राखे । उनको पनि नेप्सेले लगानीकर्ताका लागि इन्भेष्टमेन्ट र ट्रेडिङ निर्णय गर्न जरुरी पर्ने सूचना नदिएको आरोप छ । नेप्सले आफ्नो सूचना बिक्री गर्न सक्ने भएपनि त्यो गर्न नसकेको उनको धारणा छ । ‘नेप्सेसँग भएको तथ्याङ्क आफ्नो सम्पत्ति भएकाले कुनै पार्टिकुलर कम्पनीलाई बिक्री गर्न पाउने अधिकार छ तर त्यो तथ्याङ्क बिक्री गर्न पाउने भनेर नीति बनाए पनि तथ्याङ्क बिक्री गर्ने व्यवसायिक कम्पनी, वेवसाइट वा समाचार पोर्टलबाट अनाधिकृत रुपमा लिनु परेको छ, बजारमा तथ्याङ्कको माग बढ्दो छ तर नेप्सेले आफ्नो सम्पत्तिबाट पैसा कमाउन सक्ने भएप नि कमजोर बनेको छ, नेप्सले आधिकारिक रुपमा सूचना दिन सकेको छैन्, उल्टै तथ्याङ्क अनधिकृत रुपमा बजारमा आइरहेको छ,’ बस्यालले भने, ‘नेप्सेले बेलाबेला तथ्याङ्क अनाधिकृत रुपमा प्रयोग गरेकानुनी कारवाही गर्ने चेतावनी दिन्छ ।’ बस्यालले नेप्सको दुई वटा वेवसाइटको औचित्य नभएको धारणा राखे । दुइटा वेवसाइट हुँदा लगानीकर्ता दुविधमा परेको उनको बुझाइ छ । एउटा वेवसाइट बनाउन पनि वर्षाैं लागेकोप्रति उनले आक्रोस पोखे । नेप्सेले डिलिस्टेड भएका कम्पनीको बारेमा लगानीकर्तालाई सूचीकृत गराउन पनि कञ्जुस्याईं गरेको उनको आरोप छ । ओभरल इन्डेक्समा कयौं वर्षसम्म डिलिस्टेड भएका कम्पनीको पनि बजार पूँजीकरणमा गणना गरिएको प्रति उनले आपत्ति जनाए । ‘ट्रेड नभएका कम्पनी बजार पूँजीकरण गणना गर्दा इन्डेक्समा फरक पर्छ, यो अवैज्ञानिक भएकाले नेप्सेले सुधार गर्नु पर्छ, हरेक सूचना पारदर्शी हुनुपर्छ, लगानीकर्तालाई अधिकतम दिने नियत राख्नुपर्छ तर यहाँ सूचना लुकाउने नियत बढी देखिन्छ, सकेसम्म सूचना दिन नपरोस भन्ने खालको नियत छ,’ लगानीकर्ता बस्यालले भने । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई सूचना तथा तथ्याङ्क उपलब्ध गराउन नसक्दा लगानीकर्ता मर्कामा परेको गुनासो गरेका छन् । नेप्सेसँग लगानीकर्तालाई लगानी गर्न र ट्रेड गर्न आवश्यक पर्ने तथ्याङ्क नहुँदा समस्या परेको लगानीकर्ताको गुनासो छ । यस्तै, नेप्सले उपलब्ध गराई रहेका सूचना पनि फरक फरक वेवसाइटमा आउँदा अलमलमा पर्ने गरेको उनीहरु बताउँछन् । अधिकांश लगानीकर्ताले नेप्सेको तथ्याङ्कका आधारमा विश्लेषण गरेर नै लगानी र ट्रेडिङ गर्छन् । तर, नेप्सेको वेवसाइटमा आवश्यक पर्ने तथ्याङ्क नहुँदा लगानीकर्ताहरु समस्यामा परेका हुन् । नेप्सेका सीईओ कृष्ण कार्कीले लगानीकर्ताका लागि सबै तथ्याङ्क लाइभ गर्ने गरेको बताए । उनले लगानीकर्तालाई आवश्यक पर्ने सूचना उपलब्ध गराइ रहेको दाबी समेत गरे । उनले नेप्से आफ्नो वित्तीय विवरण सम्बन्धित निकायमा पेश गर्नुपर्ने भएकाले सार्वजनिक गर्नुपर्छ भन्ने नभएको तर्क दिए । ‘लगानीकर्तालाई सबै सूचना प्रदान गरिरहेको छौं, नेप्सेको वित्तीय विवरण सार्वजनिक नगरेपनि सम्बन्धित निकायमा पेश गरिन्छ, नेप्सेको अडिट हुने भएकोले शंका गर्नु पर्दैन,’ उनले भने, ‘सर्वसाधारणलाई दिनुपर्ने सूचना लाइभ गर्ने र लाइभ नगर्ने अर्काे गरी २ वटा सूचना छन्, नेप्सेसँग हजारौं सूचना भएकाले राख्नु पर्ने राख्छौं, कतिपय गोप्य पनि हुन्छन्, लगानीकर्ताका लागि सूचीकृत कम्पनीको तथ्याङ्क सबै वेवसाइटमा राखिएको छ ।’ नयाँ वेवसाइटमा पुराना तथ्याङ्क माइग्रेसन गर्न बाँकी रहेको उनको भनाइ छ । नयाँ वेवसाइटमा डाटा माइग्रेसन गरेर पुरानो वेवसाइट बन्द गर्ने उनले बताए । ‘सबै तथ्याङ्क एउटै ठाउँमा राखिन्छ, सबै प्रक्रियामा छ, पुरानो वेवसाइटबाट नयाँ वेवसाइटमा ट्रान्सफर्मर गर्न बाँकी छ, सार्वजनिक सूचनामा हामीले बञ्चित गर्दैनौं,’ उनले भने ।
बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन
भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी हुन् । प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन् । ‘विद्युत नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत पुर्याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत आपूर्तिका लागि काम गरिरहेका छौं, यसका साथै बूढीगण्डकी लगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गरिने छ,’उनले भनिन्, ‘खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँसको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिचाइमा विद्युत प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ ।’ यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने अवस्था बनेको बताए । बुटवल सबस्टेसनमात्र विद्युत आपूर्ति दिंदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अब यस क्षेत्र विद्युत हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए । ‘लोडसेडिङ अन्त्य एउटा काम थियो, अब वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्ति, उद्योगलाई मागजति विद्युत दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ, अहिले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत दैनिक रुपमा झण्डै १० करोड रुपैयाँको निर्यात गरिरहेका छौं,’ उनले भने । बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत आपूर्ति दिइएको आयोजना प्रमुख हरी पाण्डेले बताए । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ । १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।
अध्यक्ष दाहालद्वारा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवन शिलान्यास
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको वर्दिबास– ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको आज शिलान्यास गरेका छन् । कोरियाली सरकारको एक अर्ब पाँच करोड रुपैयाँ सहयोगमा उक्त शिक्षालयको शैक्षणिक भवन निर्माण हुन लागेको हो । सिटिइभिटीबाट सञ्चालित मधेस प्रदेशस्तरीय शिक्षालयको नयाँ चार वटा भवनको दाहालले शिलान्यास गरेका हुन् । कोरियाली सरकारको सहयोगमा निर्माण हुने शिक्षालयका चार वटा भवन अत्याधुनिक हुने शिक्षालयका प्रमुख रमण मेहेताले बताए । विसं २०७५ मा स्थापना भएको शिक्षालयमा अहिले देशभरिका २८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । प्राविधिक विषय अध्यापन हुने शिक्षालयले अहिले सात वटा कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस
खुकुरी रमको प्रायोजनमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को प्रिमियर शो सम्पन्न
काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो । खुकुरी रमकै प्रायोजकत्वमा यो फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार हुँदैछ भने धरानमा आगामी बुधबार गर्ने कार्यक्रम रहेको छ । निर्माण पक्षका अनुसार ‘गोर्खा : बिनिथ द ब्रेभरी’ च्यारिटी मुभी हो । यो मुभीको शोहरुबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ । खुकुरी रम प्रमोसनल पार्टनरको रुपमा रहेको यो फिल्म भदौ २४ गतेदेखि प्रदर्शनमा आउनेछ । यो चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यही कथा चलचित्रमा देख्न पाइन्छ । काठमाडाैंको विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ थियो । काठमाडाैंमा भएको ‘शो’मा कुलवीर थापाका छोरा, बुहारी तथा नातिहरु उपस्थित थिए । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए । चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायाङ्कन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको युके, अमेरिका, ब्रूनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो । नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।
भदौ २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने
काठमाडौं । बैंकहरुले सर्वसाधारणलाई दसैँ, तिहार र छठका लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरेपछि बैंकहरुले सर्वसाधरणको लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको हो । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् भने बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।
रुपन्देहीमा ५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण
रुपन्देही । स्थानीय तह निर्वाचनका लागि फरकफरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रुपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम तिलोत्तमा नगरपालिकाको जेठ १३ गते घोषणा भएको थियो । सोही मितिलाई आधार मान्दा पनि असार १३ गतेभित्र जिल्लाका सबै उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने हो । रुपन्देहीमा रहेका पाँच हजार ११ उम्मेदवारमध्ये ५१ जनाले मात्र निर्धारित समयमा खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । निर्धारित समयपछि कूल छ सय ४९ जनाले खर्च फाँटबारी बुझाए पनि त्यसको कुनै औचित्य नरहेको उनको भनाइ छ । रुपन्देहीका प्राय उम्मेदवारले आफूले निर्वाचन आयोगको यो कानूनी व्यवस्थाबारे जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख पदमा उम्मेदवार भई विजयीसमेत हुनुभएका उमाकान्त चापाईले उक्त व्यवस्थाबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो । रुपन्देही मात्र हैन धेरै स्थानीय तहमा निर्वाचन खर्च विवरण पेश नगरेका उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण दिने अधिकांश उम्मेदवारले बिरामी भएका कारण खर्च विवरण बुझाउन नपाएको खुलाएका छन् । यही भदौ १ गतेदेखि ७ गतेसम्म स्पष्टीकरण बुझाउने म्याद रहेको थियो । भदौ १ गते सूचना प्रकाशित गर्दै आयोगले उम्मेदवारी दिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने र तोकिएको अवधि समाप्त भएपछि निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई तोकिएको समय अवधिभित्र केकति कारणले खर्च नबुझाएको हो र खर्च विवरण नबुझाएकामा किन कारवाही गर्नु नपर्ने भनेर त्यसको स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । सो सूचनाअनुसार जिल्लाका एक हजार छ सय २१ जनाले स्पष्टीकरण बुझाएको निर्वाचन कार्यालय प्रमुख भण्डारीले बताए । एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानिय तह रहेको रुपन्देहीमा पराजित र विजयीसमेत गरी पाँच हजार ११ जनाले उम्मदवारी दिएका थिए । खर्च विवरण विजयीले मात्र नभई पराजय भएका उम्मेदवारले पनि बुझाउनुपर्ने व्यवस्था रहेको छ । रासस