२४ घण्टामा इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका(२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको हो । सूचनामा इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन भनिएकाे छ। महानगरले हाल मापदण्ड विपरित राखिएको संरचनाहरु हटाइरहेको छ ।
राम बहादुर रम्बा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश ‘क’ बाट समानुपातिकमा राम बहादुर रम्बा सर्वसम्मत रुपमा सिफारिस भएका छन् । रम्बा नेपाली कांग्रेश काठमाडौंले सर्वसम्मत रुपमा सिफारिस गरेको हो । रम्बाले लामो समयदेखि आफूलाई समाजसेवामा सक्रृय बनाउँदै आएका छन् । समाज सेवामा सकृय आउँदै आएका रम्बा चुनावी क्षेत्रमा मतदातामा लोकप्रिय रहेका छन् । रम्बाको उम्मेदवारी पार्टीले सदर गरेमा उक्त क्षेत्रमा नेपाली कांग्रेशको समानुपातिकतर्फको मत थप वृद्धि हुने र प्रत्यक्ष तर्फ उठ्ने उम्मेदवारलाई पनि थप सहयोग पुग्ने अनुमान गरिएको छ ।
अक्सिजन बिनै हिमाल चढ्दै पूर्णिमा श्रेष्ठ, नेपाल लाइफले गर्यो सहकार्य
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल आरोहरणम गर्न लागेकी ओरोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने निर्णय गरेको छ । सो सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि सगरमाथासहित नेपालको ८००० मिटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढी सकेकी श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नु गरे । र, ओरोही पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् ।
धमाधम कारबाहीमा पर्दै राजमार्गका होटलहरु
मलेखु । एक त नागढुङ्गा-नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुर्व्यवहार । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । खाना सफा भएनभन्दा होटलका सञ्चालक र मजदुरले दुर्व्यवहार गर्नुका साथै धम्क्याउने गरेका छन् । केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गरेकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम मागिन्, तर खान सकिनन् । खान मिल्ने नै थिएन । खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिएकी अधिकारीले भनिन्, ‘मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो । मुखमा हाल्नसक्ने नै थिएन । गुनासो गर्दा होटलवालाले उल्टै थर्काउँदो रहेछ ।’ हुन त राजमार्ग आसपासमा सञ्चालन हुने होटलमा यात्रु ठगिने र गुणस्तरहीन खाना खुवाउने विषय नौलो होइन । वर्षौंदेखि सर्वसाधारण यात्रुले भोग्दै आएको समस्या हो यो । राजमार्ग आसपासमा हजारौंको सङ्ख्यामा होटल सञ्चालन भएका छन् । सरकारले मूल्यसूची अनिवार्यरूपमा राख्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन । गुणस्तरअनुसार खानेकुरा महँगो भयो भनेर सञ्चालकलाई सुनाउँदा प्रायः सबैले धम्क्याइ खेप्नुपर्छ । खाना गुणस्तरीय भएन, महँगो भयो भनेर जसले सुनाउँछ उसले सञ्चालक वा मजदुरबाट खानाको साटो मुखभरिको जवाफ र दुर्व्यवहार सहनुपर्छ । व्यवसायीले आफूखुसी खानाको मूल्य निर्धारण गरी यात्रुसँग चर्को मूल्य असुल्दै आएका छन् । यात्रुहरूले महँगो मूल्य तिरेर पनि बासी खाना खानुपर्ने बाध्यता छ । गाडी सञ्चालक र होटल व्यवसायीको मिलेमतोमा सार्वजनिक सवारीमा आवतजावत गर्ने यात्रु यसरी ठगिँदै आएका छन् । दार्चुलाबाट काठमाडौं आउँदै गरेका तारादत्त भट्ट चढेको गाडी पृथ्वीराजमार्गको खयरघारीस्थित कान्तिपुर होटलमा रोकियो । भट्टले खाना मगाए, तर दुई गाँस पनि खान सकेनन् । सार्वजनिक यातायात चढेर यात्रामा रहेका उनलाई बस जहाँ रोकिन्छ त्यहीँ खाना खानुको विकल्प पनि थिएन । भोको पेट भर्नकै लागि खाना खाँदा प्रायजसो चिसो भइसकेको गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता आइपर्ने भट्टले गुनासो गरे । ‘प्रायजसो बासी खाना भेटिन्छ । महँगो पैसा तिरेर गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता छ । रु १० पर्ने चियालाई रु ३० सम्म लिन्छ,’ उनले भने । ‘खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको खाना दुई चम्चा पनि खान सकिएन, होटलवालासँग बोल्यो कि कुटुम्ला जस्तो गर्दोरहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र जाऊ भन्दै उल्टै थर्काउँछ,’ अर्का यात्रु अम्बिका श्रेष्ठले सुनाए । होटलमा पसेर खानेकुरा खाँदा आफूहरु ठगिनु परेको, खानाबारे सोधपुछ गर्दा उल्टै दुव्र्यवहार सहनुपरेको तीतो यथार्थ अधिकांशले कुनै न कुनै बेला भोग्नुपरेकै छ । ‘सधैँ यहीँ बाटो हिँडिराख्नुपर्छ, माइक्रो यहीँ रोक्छ । होटलवालालाई महँगो भयो ? खाना चिसो रहेछ ? भनेर सोध्नसमेत हुँदैन खानाको साटो गाली खाइन्छ,’ श्रेष्ठ भन्छन्, ‘कहिले जामले रोकिन्छ कहिले पहिरोले छेकिएर समयमा गन्तव्य पुगिँदैन, जतिसुकै पैसा तिरेर जस्तोसुकै खाना भए पनि भोक मेटाएर हिँड्नु राजमार्गका यात्रुको बाध्यता हो ।’ राजमार्गका होटल तथा रेस्टुराँ अन्यत्रभन्दा महँगा भएको स्वयं होटल सञ्चालकले नै स्वीकार्ने गरेका छन् । यात्रु ल्याउने गाडीलाई भत्ता दिनुपर्ने र तीन/चार वटा खाना चालक सहचालकलाई निःशुल्क दिनुपर्दा खानाको मूल्य बढी लगाउनुपरेको होटल सञ्चालक कुमार घिमिरेले बताउँछन् । होटल सञ्चालकको मिलेमतोमा बस तथा माइक्रोबस चालकले २० मिनेटमात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठ्यारोमा पार्ने गरेका छन् । ‘बीस मिनेटमा शौचालय जान, हातमुख धुन र खाना, खाजा खान भ्याइँदैन । एउटै होटलमा एकैपटकमा दसौँ गाडी र सयौँ यात्रु हुनेहुँदा शौचालय, धारो र टेबलमा समेत पालो पाउन गाह्रो पर्छ,’ काठमाडौँ आउँदै गरेकी राधिका अधिकारीले भनिन्, ‘खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइँदैन ।’ पृथ्वीराजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन थालेको छ । अनुगमनमा परेका अधिकांश होटल फोहरी भेटिएका छन् । बाहिरबाट टिलिक्क पारिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताले गुनासो गरेका छन् । होटलले भान्छा र भाँडा माँझ्ने ठाउँ एकै ठाउँमा चलाएकोसमेत भेटिएको छ । ‘बाहिर सरसफाइ छ तर खानामा गुणस्तर छैन । मूल्यसूची राखेको छ । आफ्नै मनोमानीमा तयार गरेकोसमेत भेटियो,’ घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले भने, ‘किराना पसल होटलले दोब्बरसम्म मूल्य लिएको गुनासो आयो । त्यही गुनासोका आधारमा अनुगमन गर्दा ६० प्रतिशतसम्म बढी मूल्य लिएको पाइएको छ ।’ जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धादिङले पृथ्वीराजमार्गअन्तर्गतको धादिङको चरौँदी, बेनिघाट, सलाङघाट, धार्के, नौबिसे क्षेत्र आसपासका होटल तथा खाजाघर र किराना पसलमा शनिबार पनि अनुगमन गरेको छ । गुणस्तरहीन खाना दिने गरेको गुनासोपछि धादिङका सरकारी निकाय अनुगमनका लागि निस्किएका हुन् । होटल अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बेच्ने, गुणस्तरहीन खानेकुरा बेच्ने होटललाई कारबाही पनि गरिएको छ । स्थानीय नागरिक तथा यात्रुको गुनासोलाई ध्यान दिएर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । अनुगमनका क्रममा सरसफाइ नगर्ने, मूल्यसूची नराख्नेलाई पनि कारबाही र सचेत गराइएको छ । मूल्यसूची नराख्नेलाई सात दिनभित्र राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ । सरकारी निकायले अनुगमन नियमित नगर्ने गरेको गुनासो पनि सुनिन्छ तर सरकारी निकायले भने कर्मचारीको कमी, छोटो समयमा कार्यालय प्रमुख तथा कर्मचारीको सरुवा, भौगोलिक जटिलता लगायतका कारण बजार अनुगमन नियमित हुन नसकेको बताउँदै आएको छ । प्रत्येक दिन अनुगमनमै खटिने जनशक्ति नभए पनि आवश्यकताअनुसार अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालको दाबी छ । पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरमा अनुगमनका क्रममा २० वटा होटल तथा खाजा घर, छ वटा सप्लायर्स र किराना पसल गरी जम्मा २६ वटा फर्मको जिल्ला अनुगमन टोलीद्वारा अनुगमन गरिएको छ । करिब एक लाख एक हजार ५०० रुपैयाँ बराबरको म्याद गुज्रेका र सडेगलेका प्रयोग गर्न अयोग्य सामग्री जफत गरी नष्ट गर्नुका साथै अनुगमनका क्रममा कैफियत भेटिएका १५ वटा फर्मलाई नगद जरिवानासमेत गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए । अनुगमनकै क्रममा भेटिएका यात्रुले यस्ता होटल सञ्चालकलाई सरकारले नै कडाइपूर्वक अनुगमन गरेर नै ठेगान लगाउन सुझाव दिने गरेका छन् । रासस
दमकका लघुउद्यमीले पाए ५८ वटा मेसिन
झापा । दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आइतबार एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले धिमाल जातिको पेटानी बुन्ने मेसिन, लुगा तथा जुत्ता सिलाउने मेसिन, केक बनाउने मेसिन, बङ्गुरको दाना बनाउने मेसिन वितरण गरेको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई र सामाजिक विकास समिति सभापति शारदा सापकोटाले ती वितरण गरेका थिए । नगर प्रमुख थापाले दमकमा उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग पुर्याउने बताए । दमक नगरपालिकाले दुईदेखि तीन महिना तालिम लिएकालाई सङ्घीय सरकारअन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा मेसिन वितरण गरेको हो । रासस
कुमारी बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिकमा विशेष छुट, कुनमा कति ?
काठमाडौं । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स-रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । कुमारी बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यभार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् । उनलाई भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । साथै, बैंकले सांग्रिला कस्टुमर केयर शुभारम्भ गरेको जानकारी गराएको छ । बैंकले हाल ११२ शाखा कार्यालयहरु र ३१ एटीएम मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।
हिमालयन बैंकले फेरि पायो ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस’ अवार्ड
काठमाडौं । हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस २०२२ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनले आयोजना गरेको कार्यक्रमबीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन् । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । अन्य बैंकमध्ये हिमालयन बैंकले मात्रै विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गरेको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पीओएस तथा इ कमर्श गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ । बैंकले यहि महिना भित्र डिनर तथा डिस्कभर ब्राण्डको स्वीकार्य थप गरिने जानकारी गराएको छ । हाल बैंकले १५३ वटा एटिएम, ५५०० भन्दा बढि पीओएर तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।