विकासन्युज

बैंकहरुमा निक्षेप बढेसँगै घट्यो सीडी रेसियो

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले भदौ तेश्रो सातामा ११ अर्ब रुपैयाँले निक्षेप बढाएका हुन् । भदौको दोश्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो सातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो । त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि एक अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.२५ प्रतिशतमा झरेको छ । अघिल्लो साता उक्त रेसियो ८८.४२ प्रतिशत थियो ।

खप्तड लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने ?

काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्थाकाे आइपिओ बाँडफाँड सम्पन्न भएकाे छ । साेमबार  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले सर्वसाधरणकाे लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा एक लाख २३ हजार ४०० कित्तकाे लागि १८ लाख ८३ हजार ११८ वटा आवेदन परेकाे थियाे । आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४९३ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १७ लाख ८३ हजार ७४ जना थिए । जस मध्येबाट १२ हजार ३४० जनालाई १०-१० कित्ता परेकाे छ । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने छ ऽ

सिद्धार्थ बैंकबाट सेयर भर्दा सि-आश्वा शुल्क नलाग्ने

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अब आइपीओ भर्दा सि-आश्वा शुल्क नलाग्ने भएको छ ।बैंकका अनुसार अबदेखि लगानीकर्ताले बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क नलाग्ने भएको हो । नेपाल धितोपत्र बोर्डले सि-आश्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् । यस अघि बैंकले आस्वावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । यसअघि राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकहरुले सि-आश्वा शुल्क नलिने घोषणा गरिसकेका छन् ।

पूर्व अर्थमन्त्री पाण्डेसँग अर्थशास्त्री वाग्ले र पौडेलको ‘ब्याटल’, जित्ने सम्भावना कसको बढी ?

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति निर्धारण गरेको छ । चुनावमा विशेष गरेर काँग्रेस, माओवादी र एकिकृत समाजवादी लगायत दल सम्मिलित गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीतिका साथ अहिले सबै दल जनताकोमाझ जान थालिसकेका छन् । यही बिचमा चितवनको निर्वाचन क्षेत्र नम्बर एकमा पनि ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । चितवन एक नम्बर क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र काँग्रेसबाट अर्थशास्त्री डा.स्वर्णिम वाग्ले या काँग्रेसबाटै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । चितवन क्षेत्र नम्बर एक सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट काँग्रेसका स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस भएको छ । नेता पाण्डे सो क्षेत्रका लोकप्रिय नेता हुन् । काँग्रेसबाट दुई जना अर्थशास्त्रीको नाम सिफारिस भएपछि माहाेल रोचक हुने अनुमान गर्न सकिन्छ । हुनत नेपाली काँग्रेसबाट चितवन क्षेत्र न‍ं. एकका लागि प्रत्यक्षबाट ६ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस भएको छ । काँग्रेसका नेता उमेश श्रेष्ठ, त्रिभूवन विश्व विद्यालयका पूर्व उपकुलपति डा.तीर्थ खनिया, राजेन्द्रप्रसाद बुर्लाकाटी, भीमप्रसाद थपलियाको नाम जिल्लामा सिफारिस भएकाे हाे । काँग्रेसका केही नेताहरुका अनुसार ६ जना मध्ये राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेल, अर्थशास्त्री डा. वाग्ले र २०७४ सालको निर्वाचनमा एमालेका नेता पाण्डेसँग नै पराजित भएका बुर्लाकोटीले चुनावका लागि टिकट पाउने सम्भावना प्रवल छ । डा. वाग्ले र डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ । उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय याेजना आयोगकाे उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् भने अर्थशास्त्री डा. वाग्लेको पनि ठूलो संख्यामा प्रशंसक छन् । त्यसैले पनि काँग्रेसबाट पौडेल या वाग्ले जो जाेसुकैले टिकट पाएपनि उनीहरुको प्रतिस्पर्धा एमालेका नेता पाण्डेसँग हुनेछ । हुन त केही दिनअघि पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा अमेरिका र बेलायतका अर्थशास्त्रीहरु चुनाव लड्न आएपनि फरक नपर्ने अभिव्यक्ती दिएका थिए। उनले भनेका छन्, ‘म अहिले पनि आफ्नो निर्वाचनमा मतदाताकै माझमा छु, महिनाको चार पटक निर्वाचन क्षेत्रमा नै हुन्छु, काठमाडौँ हुँदा पनि निरन्तर टेलिफोनमा नागरिकसँग सम्पर्कमा नै रहन्छु,। मैले अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता लगभग पूरा गरेको छु, त्यसैले जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न पनि तयार छु ।’ यो अभिव्यक्तिले पनि उनी आफु जित्नेमा ढुक्क देखिन्छन् । त्यो उनको आफुले गरेको काम र जनताप्रतिको उनको विश्वास पनि हुन सक्छ । तर, गठनबन्धन र त्यसमाथि पनि लोकप्रिय अर्थशास्त्री नै उनीसँग प्रतिस्पर्धा गर्न आउँदा उनीमाथि भारी मात्रै होइन उनको निर्वाचन क्षेत्र नै नखोसिएला भन्न सकिँदैन । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवन नेताहरु लागि चर्चित क्षेत्र पनि हो । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र रहेको चितवनमा हारजितले नेताहरुलाई धेरै ठूलो प्रभाव पर्छ । त्यसैले पनि अहिले चितवन सबैको केन्द्रबिन्दु बन्न पुगेको हो । गठबन्धन चितवन १ मा पनि कायमै रहेमा पाण्डेलाई चुनाव जित्नमा भने सकस पर्ने देखिएको छ । तर, एमालेलाई राप्रपाले पनि सघाउने आन्तरिक तयारी भइरहेको बुझिएको छ । यसले भने पाण्डेलाई केही सहज हुने देखिन्छ । तर, चितवन १ मा गठबन्धन कायम नभए एमालेका पाण्डेले जित्ने निश्चित प्रायः नै छ । तर, दुई जना चर्चित अर्थशास्त्री उनका लागि ठूलो जोखिम बन्न सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत सफल र प्रखर अर्थशास्त्रीका रुपमा परिचित वाग्ले र पौडेलले नयाँ एजेण्डाका साथ जनतामाझ जान सकेमा एमालेको विरासत चितवन १ बाट खोसिने सम्भावना पनि प्रवल छ । किनकी सो क्षेत्रमा पाण्डे पटक–पटक निर्वाचित भइसकेका छन् । पाण्डे २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् थिए भने वि.स २०६४ मा समानुपातिक तर्फबाट सभासद् बनेका थिए । तर, उनले २०७४ को चुनावमा भने वाम गठबन्धनको सहयोग पाएर जितेको चर्चा पनि अहिलेे चल्न थालेको छ । एमालेले कुनै पार्टीको सहयोग नपाएमा र अरु दलहरुको गठबन्धन हुन सकेमा पाण्डे स्वतः पराजित हुने आँकलन धेरैको छ । तथ्यांकले के भन्छ ? चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए । राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियाे । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ । २०७४ को स्थानीय तहको चुनावमा भने राप्ति नगरपालिकामा एमालेकी प्रभा बराल विजयी भएकी थिइन् । त्यतिबेला उनले ११ हजार ६१३ मत प्राप्त गरेकी थिइन् । उनीसँग नेपाली कांग्रेसका किरण भुषण ओली पराजित भएका थिए भने उनले ७ हजार २९२ मत प्राप्त गरेका थिए । यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ । चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ । चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए ।

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी गर्दै कैलालीवासी

भजनी । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी छिन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ । ‘पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ, धेरै भएपछि बिक्री पनि गर्छौं,’ उनले भनिन्, ‘सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।’ उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताइन् । बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा वर्षाको फुर्सदको समयमा थारु महिला दिउँसोको खानासमेत लिएर माछाको खोजिमा जाने थारु महिलाका लागि एक परम्पराजस्तै बनिसकेको छ । दिनभर माछा मार्ने र साझ त्यहीँ माछा तरकारीको रुपमा थारु समुदायले प्रयोग गर्दै आएका छन् । बढी भएको झिङ्गे माछा सुकाएर राम्रो मूल्यमा बिक्रीसमेत हुँदै आएको सुवर्ण चौधरीले बताए । केही हिउँदको महिनाको लागि समेत जोहो गर्दै आएका छन् । बर्सातको समयमा मारेका झिङ्गे माछा सुकाएर हिउँदमा समेत खाने गरेको भजनी नगरपालिका वडा नं ६ कि कृष्णी थारुले बताइन् । ‘थोरै भए आफैँलाई ठिक्क हुन्छ, बढी भए बिक्री गर्छौं, बिक्री भएन भने सुकाएर राख्छौँ,’ उनले भनिन्, ‘हामीले मारेको माछा खेर जाँदैन, घरका प्रायः सबै जना दिनभर माछा मार्न भनेर हिँडेका हुन्छौँ ।’ घरका पाँच जना सदस्यले अलिअलि गरे पनि एकदुई केजी झिङ्गे माछा साँझको समयमा सङ्कलन हुने गरेको उनले बताए । बर्सातको समयमा थारु महिला मात्रै नभएर पुरुष पनि माछा मार्ने जाल लिएर खोला तथा पोखरीमा व्यस्त हुने गरेको देख्न सकिन्छ । ‘खासमा धान खेती तयार नहुँदासम्म काम केही हुँदैन, त्यो समयको सदुपयोग गरेका हौँ,’ सुवर्णले भने, ‘खाली बस्नुभन्दा केही न केही काम गर्नुपर्छ भन्ने मानसिकता हाम्रो हुन्छ, त्यही भएर पनि बर्सातको समयमा माछा मारेर बित्छ ।’ माछा मार्नका लागि महिलाले हेल्काको प्रयोग गर्छन् भने पुरुषले जालको । ठूला माछाभन्दा पनि झिङ्गे माछाको खोजिमा थारु महिला व्यस्त रहने गरेको भजनी–६ कि बिन्द्रा चौधरीले बताइन् । ‘लामो समयदेखि खाल्डाखुल्डीमा पानी जमेको भए हेल्का हाल्यो भने झिङ्गे माछा आइहाल्छन् । त्यस्तै परेको दिनमा एक केजीभन्दा बढी झिङ्गे माछा पनि भेटाउन सकिन्छ । त्यसैअनुसार घोंगी पनि,’ उनले भनिन्, ‘त्योभन्दा रमाइलो भनेको साथीहरूसँगै हुने रमाइला कुराहरू दिन बितेको थाहै हुँदैन ।’ महिला समूहमा माछाको खोजिमा जाने गर्दछन् । समूहमा गएका महिला काम भने सामूहिक गर्दैनन् । पानी जमेको खाल्डाखुल्डीमा होस वा अन्य कुनै कुला नहरमा माछा मार्नको लागि जाँदा जोखिम पनि उत्तिकै छ । फोहोर पानीमा दिनभर रहँदा त्यसबाट छालासम्बन्धी रोगको जोखिम छ भने किरा फट्याङ्ग्राको जोखिम उत्तिकै छ । पहिलेदेखि नै यस्तै अवस्थामा हुर्केका कारण होला कुनै डर त्रास नलाग्ने गरेको भोजराज चौधरीले बताए । ‘डर हुन्छ तर पनि साथीहरूसँगै हुँदा त्यस्तो कुनै महसुस नै हुँदैन,’ उनले भने, ‘घरका लागि तरकारी, बजार बिक्री गरेपछि पैसा आउने भएपछि अलिकति जोखिम त मोल्नुपनी पर्छ ।’ बजारमा अहिले घोंही प्रतिकेजी एक सयमा बिक्री हुने गरेको छ । झिङ्गे माछा प्रतिकेजी पाँच सयमा बिक्री हुन्छ । टीकापुर –८ मा रहेको जितु कटेजका सञ्चालक जितबहादुर चौधरीले होटलमा माछा बिक्री गर्न महिला आफैँ आउने गरेको बताए । उनले महिलाले माछा मार्ने कामलाई रोजगारीको रुपमा लिएको बताए । ‘खेतीपातीको काम सकिएपछि हिउँदको समयमा मजदुरी गर्ने महिला बर्सातको समयमा माछा मार्न व्यस्त हुन्छन्,’ उनले भने, ‘बर्सातको समयमा मजदुरीको काम नपाइने भएकाले पनि थारु समुदायका लागि माछा मार्न काम आकर्षणमा परेको हो ।’ थारु महिलाका लागि यो क्रम कार्तिक महिनासम्म चल्ने जनाइएको छ । रासस

जग्गा खरिद गरेको १५ वर्षपछि भोजपुरमा रंगशाला निर्माणको काम अगाडी बढ्यो

टक्सार (भोजपुर) । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए । विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा पनि चिनिन्छ । भौतिक पूर्वाधारका अभावमा पनि यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा भाग लिएका छन् । उचित भौतिक संरचनाको निर्माण कार्य भने नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टनका खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी पनि जिल्लाकै हुन् । जिल्लामा व्यवस्थित रङ्गशाला अभावमा भने हरेक खेलकुद प्रतियोगिता प्रभावित हुँदै आइरहेका छन् तर पछिल्लो समयमा आएर जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि सदरमुकाममा रङ्गशालाका साथै ग्रामीण क्षेत्रमा समेत खेल मैदान बन्नेक्रममा छन । खेलकुद क्षेत्रमा अहिले हुँदै आएको परिवर्तन भने सह्रानीय भएको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवाल बताउँछन् । अन्तर्राष्ट्रियस्तरका गोल्डकपसमेत सञ्चालन हुने जिल्लामा रङ्गशाला र खेल मैदान निर्माणले सबै उत्साहित बनेका छन् । अध्यक्ष सुवाल प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचनासमेत बन्ने चरणमा रहेकाले अबको केही वर्षभित्रमा खेलकुदका गतिविधिसमेत जिल्लामा अझै बढ्ने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म त भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था छ, भोजपुर नगरपालिका–७ को कोदारमा निर्माण भइरहेको रङ्गशाला निर्माणको अन्तिम चरणमा पुगेको छ, यो पूरा भएमा प्रतियोगिता सञ्चालनमा सहजता हुन्छ, ठूला प्रतियोगितासमेत जिल्लामा नै सञ्चालन गर्न सकिन्छ ।’ प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा सो रङगशाला निर्माणाधीन छ । आगामी २०८० सालसम्ममा निर्माण अवधि रहे पनि अवको केही समयभित्रमा काम सम्पन्न हुने निर्माण व्यवसायी श्याम श्रेष्ठले जानकारी दिए । तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माणको काम गरिरहेको छ । करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले जिल्लावासीलाई थप उत्साहसमेत जगाएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितासमेत भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेल मैदानको समस्या दीर्घकालीनरुपमा समाधान हुने खेल अभियन्ता विनम श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘खेल मैदान सानो हुँदा ११ खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, फुटबल मात्र होइन जिल्ला तहमा हुने अन्य खेलसमेत प्रभावित बनेका थिए ।’ जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनिरहेको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङसमेत भरेको छ । मापदण्डअनुसारका खेल मैदान नहुँदा सोचेजस्तो खेलाडीको वृत्तिविकाससमेत हुन सकिरहेको थिएन । सदरमुकाममा मात्र होइन अहिले स्थानीयतमा पनि साना ठूला रङ्गशाला बन्दै छन् भने कतिपय ठाउँमा बन्ने चरणमा छन । दुर्गम गाउँमा जन्मिएर विश्वमा समेत नाम कमाउन सफल अल्ट्रा धाविका मीरा राईको सम्मानमा पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा ‘मीरा राई रङ्गशाला’को निर्माण कार्यसमेत थालिएको छ । पौवादुङमा गाउँपालिकाले ५६ करोडको लागत रहेको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको हो । अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रङ्गशाला निर्माणमा आफु लागि परेको गाउँपालिकाका अध्यक्ष किरण राईको भनाइ छ । उनी भन्छन्, ‘हामीले सवैको साथ सहयोग लिएर रङ्गशाला निर्माणको काम पूरा गर्ने लक्षका साथ काम अगाडि बढाएका छौँ ।’ यसलाई पूरा गर्न जिल्लावासीका साथै सबै पक्षको साथ सहयोग आवश्यक छ । खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्दै आइरहेकाकाले जिल्लामा पछिल्लो समयमा स्थानीय तहहरुमा समेत खेल मैदानसहित खेल क्षेत्रको विकास सुरु भएको छ ।

बागलुङमा ४१८ नयाँ उद्योग थपिए

गलकोट । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा जिल्लामा उद्योगतर्फ एक सय ५० र वाणिज्यतर्फका दुई सय ६८ उद्योग तथा व्यवसाय दर्ता दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिइन् । शर्माका अनुसार जिल्लामा एक सय ५० साना तथा घरेलु उद्योगले वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने गरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा दुई सय ६८ वस्तुको खरिद तथगा बिक्री, प्याकेजिङलगायतको कामका लागि दुई सय ६८ उद्योग दर्ता भएका हुन् । खासगरी बागलुङवासीले निजी तथा कृषि प्रवद्र्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाइ । शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नवीकरण, ठाउँसरीबापत गत आवमा कार्यालयले २६ लाख ९४ हजार पाँच सय २५ राजस्व रकम सङ्कलन गरेको छ । यस्तै उद्योगतर्फ नौ लाख ६३ हजार छ सय ५०, वाणिज्यतर्फ राजस्व १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित वस्तु बिक्रीबाट ५० हजार राजस्व सङ्कलन भएको छ । ‘जिल्लामा खासगरी कृषिजन्य क्रियाकलाप, उत्पादन र बजारीकरण गर्ने, फर्निचर उद्योग सञ्चालन गर्ने र सिलाइबुनाइ पसल सञ्चालन गर्दै उद्योग बढी दर्ता भएका छन्’, उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा उद्योग नै नगरी सञ्चालनमा आएका उद्योगसमेत सचेतनाका कारण धमाधम दर्ता भइरहेका छन्, हामीले उद्योग दर्ता, नवीकरण लागतको कामसँगै पदमार्ग, चौतारी र पार्कलगायतका संरचना ८१ लाखको लागतमा निर्माण सम्पन्न गरेका छौँ ।’ यस्तै गत आवमा दुई सय ६८ उद्योगको नवीकरण, पाँच सय १३ वाणिज्यतर्फका उद्योगको नवीकरण, ३८ उद्योगको नामसरी, २० वाणिज्यतर्फको उद्योगको नामसरी, चार उद्योगको ठाउँ सरी, तीन वाणिज्यतर्फका उद्योगको ठाउँसरी, २१ उद्योगको लगत कट्टा, ९५ वाणिज्य उद्योगको लगत कट्टा, पाँच उद्योगको नाम परिवर्तन, २१ वाणिज्य उद्योगको नाम परिवर्तन, १४ उद्योगलाई प्रतिलिपि, वाणिज्यतर्फका २६ उद्योगलाई प्रतिलिपि, १५ उद्योगको पुँजीवृत्ति र ५७ वाणिज्यतर्फका उद्योगको पुँजी वृद्धि गरिएको छ । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले ३९ स्थानमा पार्क तथा पदमार्ग निर्माण गरिएको कार्यालयको भनाइ छ । गत आवमा कार्यालयले पदमार्ग, चौतारो तथा पार्क बनाउने, कोरोना प्रभावितलाई उपकरण, उद्यमशीलता विकास तालिम, कुशन बनाउने तालिम, क्रिष्टलका गहन बनाउने तालिम, झोला बनाउने तालिम, खेलौना बनाउने तालिम, प्लम्बिङ तालिम र सिलाइबुनाइ तालिम सञ्चालन गरिएको कार्यालय सूचना अधिकारी विष्णप्रसाद शर्माले जानकारी दिए । कार्यालयले सहरमा मात्रै नभएर गाउँमा समेत पुगेर विभिन्न उद्योग तथा व्यवसायको विकास गर्नका लागि तालिम दिँदै आएको छ । रासस

मनकामना केबलकार भदौ २५ गतेदेखि सुचारु हुने

काठमाडौं । मनकामना केबलकारको सेवा भदौ २५ गतेदेखि पुन: सुचारु हुने भएको छ । साउन २३ गतेदेखि स्तरोन्नतिको  लागि बन्द भएको केबलकार पुन: सुचारु हुने भएको हो । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने क्रममा चार सातादेखि केबलकार बन्द गरिएकाे थियाे । स्तरोन्नतिको लागि ५ देखि ६ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको थियाे । तर साेचेभन्दा १ हप्ताअघि नै केबलकार सञ्चालन हुन लागेकाे कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । एनलगबाट डिजिटल सिस्टममा स्तरउन्नति भएपछि केवलबार सेवा अझ सहज र प्रभावकारी हुने कम्पनीले जनाएकाे छ ।