समृद्धि फाइनान्सको इटहरी शाखा कार्यालय उद्घाटन
काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार इटहरी शाखा कार्यालयको उद्घाटन गरेका छन् । फाइनान्सले चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनि उद्घाटन गर्ने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबन्ध अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई दिए २२ करोडको सैनिक सामग्री र ४ घोडा
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उनले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । समारोहमा उनले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति प्रभुराम शर्मासँग उनले भेटवार्तासमेत गरे । पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो । उनले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गरेका थिए । आज अपरान्ह राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति रहने जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो । विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गरेका थिए । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन् । यस्तो छ उनको भ्रमण तालिका पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै अपरान्ह ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ । उहाँले शनिबार साँझ हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष पाण्डेले बुधबार मुक्तिनाथको दर्शन गर्ने तथा पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले सोही दिन वसन्तपुरस्थित दरबार स्क्वायरको समेत भ्रमण गर्नेछन् । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उनी स्वदेश फर्कने जनाइएको छ ।
कुश्मामा ज्ञादी झोलुङ्ले पुलले खोलेको पर्यटनको ढोका
कुश्मा । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ । यस झोलुङ्ले पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदियो । नेपालकै अग्लो तथा लामो झोलुङ्गे पुलका रुपमा देशभरि चर्चा बटुल्न पनि सफल भएको छ । ‘उनताका दूध बेच्न कुश्मा बजार आइन्थ्यो, बडगाउँबाट घाँस काटेर घर फर्कनुपथ्र्यो’, शङ्करपोखरकी ७२ वर्षीया उमाकुमारी तिवारीले भनिन्, ‘बिहान घरबाट हिँडेको फर्कदा तीन/चार बज्थ्यो, छोटो दिनमा त रातै हुन्थ्यो ।’ अहिले उनको लागि कुश्मा र घर पानीपँधेरो जस्तै लाग्छ । गाउँमा यातायातको सहज पहुँच थिएन । सरकारी कामको लागि घण्टौ हिँडेर कुश्मा धाउनुपर्ने हुन्थ्यो । सामान्य घरायसी सामग्री खरिदका लागि पनि कुश्मा नै धाउनुपर्ने बाध्यता थियो । ‘हामी स्कुलको पोशाक सिलाउन, किताब किन्न, चलचित्र हेर्न र घरमा चाहिने सामान किन्न धेरैपटक कुश्मा आउने जाने गथ्र्यौं’, ‘पीपलटारी घर भई अहिले कुश्मा बजारमा व्यवसाय गर्दैै आएका राजु पौडेलले भने’ । कुश्मा–ज्ञादी झोलुङ्गे पुल नेपाली इञ्जिनीयरले बनाएको अग्लो तथा लामो झोलुङ्गु पुल पनि हो । एउटा डाँडाबाट ३४४ मिटरको दूरीमा पर्ने अर्को डाँडा त्यो पनि मोदी खोलादेखि १३५ मिटर माथिको उचाइमा पुल बनाउने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । दुई डाँडालाई जोडन सकिन्छ र जोडेरै देखाउछु भन्दै दिनरात लागि परेका इन्जिनीयर सूर्यप्रकाश पौडेलको अठोट र विश्वासका कारण नै पुल निर्माण सम्भव भएको थियो । पौडेलसँगै पुल निर्माणमा जोडिएका पत्रकार भवानीप्रसाद शर्माले भने, ‘त्यतिबेला उहाँलाई स्थानीयवासीले त पागल नै भन्थे । तत्कालीन जिल्ला विकास समितिले पनि उनको कुरालाई हाँसोका रुपमा लिएको थियो ।’ धेरैका लागि असम्भव लाग्ने कुश्मा–ज्ञादी झोलुङ्गु पुल २०६७ सालमा निर्माण सम्पन्न भयो । यस झोलुङ्गे पुल पर्वतका लागि एउटा कोसेढुङ्गाका रुपमा स्थापित हुन पुग्यो । यो झोलुङ्गे पुल हेर्न र तर्नका लागि देश, विदेशका पर्यटक यहाँ आउने गर्दछन् । यस पुल निर्माणपछि यसकै सिको गरेर अग्ला तथा लामा झोलुङ्गे पुल एकपछि अर्को थपिँदै गएका छन् । बागलुङलाई पर्वतसँग जोड्न कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरियो । लगत्तै त्यसको छेउमै कुश्मा–मुडिकुवा झोलुङ्गे पुल थपियो । फेरि मुडिकुवा नै जोड्ने गरी अर्को मुडिकुवा–बलेवा झोलुङ्गे पुल बन्यो भने सदरमुकाम कुश्मालाई जोडने गरी खरेहामा कुश्मा–अधिकारी फाँट झोलुङ्गे पुलको निर्माण गरिएको छ । कुश्मा–ज्ञादी झोलुङ्गे पुलले केबलकार मोडलको यान्त्रिक पुल सञ्चालनका लागि पनि सम्भावनाको बाटो देखाइदियो । कुश्माको व्यवसाय ठप्प जस्तै भएका बेला ५०० बढी व्यवसायी तथा स्थानीयवासीले यान्त्रिक पुलको सुरुआत गरेका थिए । कालीगण्डकी खोँचले छुट्याएको बागलुङ र पर्वतलाई यान्त्रिक पुलले जोडने काम गरेको छ । दक्षिण बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा आइपुग्छन् भने खाद्यान्नका सामान कुश्माबाट बागलुङतर्फ जाने गर्छन् । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ भने स्वास्थ्य, शिक्षा, रोजगारीमा पनि यसले सहजता प्रदान गरेको छ । पछिल्लो समय पर्वतको पहिचानका लागि कुश्मामा सञ्चालनमा रहेको साहसिक खेल बञ्जीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वकै अग्लो स्विङ र दोस्रो बञ्जी ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि २२८ मिटर उचाइमा बञ्जी र स्विङ पिङका लागि जम्प गर्ने स्थानको निर्माण गरिएको छ । बागलुङ र पर्वतलाई जोडेर बञ्जीका लागि झोलुङ्गे पुलको निर्माण गरिएको छ । बन्जीले पर्वतका व्यवसायलाई गति दिने काम गरेको छ । हिजो बाँदर लड्ने भिरपाखामा होटल तथा रेष्टुरेन्ट धमाधम निर्माण भइरहेका छन् । द क्लिफ प्रालिले सञ्चालन गरेको बञ्जी, स्विङ पिङ लगायतका साहसिक खेल जेजति बनेका छन् ती सबै कुश्मा–ज्ञादी झोलुङ्गे पुलको नै देन भएको तत्कालीन पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए । पौडेलले केही साथीहरु मिलेर सबैभन्दा पहिले कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा बन्जी गराउन सकिन्छ भनेर सम्भाव्यता अध्ययनका लागि भोटेकोसी गएको बताए । ‘हामी पर्वतका सांसद, उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायी मिलेर भोटेकोसी गएर बञ्जी ग¥यौँ’, उनले भने, ‘त्यहाँबाट प्राविधिक ल्याएर सम्भाव्यता अध्ययन पनि गरेका थियौँ तर केही साथीले सार्वजनिक पुलमा बञ्जी गराउन मिल्दैन भनेर विरोध गरेपछि रोकियौँ ।’ द क्लिफका मुख्य सञ्चालक राजु कार्कीसहितको समूहले सबैभन्दा पहिले कुश्मा–कैया झोलुङ्गे पुलमा बञ्जी गराउन लागिपरेको थियो । ‘कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि अर्को ठाउँमा कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरेर सार्वजनिक निजी साझेदारीमा बन्जी गराउन सकिन्छ भनेर लागेका थियौँ ।’, द क्लिफका अर्का सञ्चालक नेत्र पराजुलीले भने, ‘तीन वर्ष लागि पर्दासमेत पुलमा बञ्जी गराउने कुरा नमिलेपछि जग्गा खोज्ने क्रममा चाकलेको डिलमा पुगेर आफ्नै निजी झोलुङ्गे पुल निर्माण गरी बञ्जी सञ्चालन गरेका हौँ ।’ कुश्मामा पछिल्लो समय साहसिक पर्यटकलाई लक्षित गरेर जीपलाइन सञ्चालनमा आएको छ । कुश्मा आउने पर्यटकलाई यसले थप मनोरञ्जन दिन सफल भएको छ । कालीगण्डकी नदीको खोँचमा रहेको सुपरम्यान शैलीको यो जीपलाइनको लम्बाइ एक हजार ४०० मिटर छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुआती गति प्रतिघन्टा १३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ । रासस
बसपार्क साँघुरो हुँदा बुर्तिबाङ बजार अस्तव्यस्त
बागलुङ । दैनिक हजारौँ मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार । बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ । भर्खरभर्खर विकास गति दिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ । भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षितरुपमा विकास भएका हुन् । तीनवटै बजारमा तीव्रगतिमा बस्ती विस्तार भइरहेको छ । दिनदिनै अव्यवस्थितरुपमा भएको बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । बढी चुनौती त पार्किङमा छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि सहरका रुपमा विकास भएका हटिया र बुर्तिबाङमा ठूलाठूला घर भवन निर्माण भइरहेका छन् । यसले गर्दा खुला ठाउँ कत्ति पनि छैन । दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने तथा रोकिने बुर्तिबाङ र गलकोटमा व्यवस्थित बसपार्क छैन । बुर्तिबाङ बजारमा बसपार्क भए पनि गलकोटमा भने छैन । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा बसपार्क भए पनि निकै साँघुरो छ । साँघुरो बसपार्कमा २० वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । त्यसले गर्दा चालकले जथाभावीरुपमा गाडी रोक्दा बजार नै अस्तव्यस्त बनेका छन् । त्यसमाथि पनि व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या थपिएको छ । ‘बजार साँघुरो छ, गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिड्ने ?, बसपार्क पनि यति सानो छ, व्यापारीले पनि सडकमै ल्याएर सामान राखेका छन्,’ स्थानीयवासी जगत घर्तीले भने, ‘एकातिर गाडीले बाटो छेकेको छ, अर्कोतिर व्यापारीका सामानले, पैदल यात्रु कहाँबाट हिँड्ने ?’ उनले १२ वर्ष अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताए । ‘आजभन्दा १२ वर्ष अगाडि बुर्तिबाङ बजार सुनसान थियो, घर थोरै थिए, अहिले जताततै भरिए, खाली ठाउँ कतै पनि छैन’, उनले भने, ‘विकास हुनु राम्रो हो त यसरी अस्तव्यस्तरुपमा भएको विकासले नागरिकले दुःख पाउँछन् ।’ ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले अहिले सञ्चालनमा आएको बसपार्क निकै साँघुरो हुँदा बजार व्यवस्थापनमा समस्या भएको बताए । नयाँ सहरी विकास आयोजनासँग सहकार्य गरेर वडा नम्बर १ को खप्तरीबाङमा खरिद भएको जग्गामा व्यवस्थित बसपार्क निर्माणका गरिने उनले बताए । ‘बसपार्क निर्माणका लागि दुई वर्ष अगाडि नै खप्तरीबाङमा जग्गा खरिद भइसकेको छ, अहिले सञ्चालनमा रहेको बसपार्क निकै साँघुरो छ, यहाँ धेरै गाडी राख्न मिल्दैन, यसले गर्दा बजार व्यवस्थापनमा निकै चुनौती छ, यसको व्यवस्थापनमा नगरपालिका गम्भीर भएर लागेको छ’, उपप्रमुख कायतले भने, ‘नयाँ सहरी विकास आयोजनाले पनि बसपार्कका लागि जग्गा खोजिरहेको छ, अब आयोजनासँग समन्वय गरेर बसपार्क निर्माण गर्ने र अहिले भएको बसपार्कलाई कार्यक्रम स्थल बनाउने र अन्य गतिविधिका लागि प्रयोग गर्ने गरी योजना बनाएका छौँ ।’ उपप्रमुख कायतले लोकमार्ग कालोपत्र भएपछि यातायातको चाप निकै बढेको हुँदा बजार व्यवस्थापनमा समस्या परेको बताए । बुर्तिबाङ बजार नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार भएको हुँदा ढोरपाटन जाने पर्यटकका कारणले पनि यहाँ गाडी व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । अस्तव्यस्त सवारी साधनको पार्किङले बजारलाई नै कुरुप बनाएको भन्दै केही समयमा यो समस्याको समाधान गर्ने बताउँछन् । ‘बुर्तिबाङ पर्यटकीय क्षेत्र ढोरपाटनको ढोका हो, यहाँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्छन्, उनीहरुले चढेर आएका गाडी यहाँ पार्किङ हुन्छ, त्यो बाहेक यहाँ सवारीको चाप बढ्नुका कारण लोकमार्ग राम्रो बन्नु हो, पहिले सडक राम्रो थिएन, टाढाटाढाबाट मान्छे आउँदैनथे’, उनले भने, ‘अहिले सेवासुविधाको हिसाबले बुर्तिबाङ विकास भयो, सडक राम्रो भयो, जताततै घरहरु भरिए, खाली ठाउँ भएन, त्यसले गर्दा समस्या आएको हो, यो समस्याको समाधानका लागि हामी प्रयास गरिरहेका छौँ ।’ बुर्तिबाङ बजार निसीखोला, भुजीखोला र तमाखोलाको सङ्गमस्थल हो । जिल्लाकै दोस्रो ठूला व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ तीनवटै क्षेत्रका बासिन्दा किनमेलका लागि बुर्तिबाङ झर्ने गर्छन् । अझ अहिले त मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाको किनमेल गर्ने ठाउँ बुर्तिबाङ बजार बनेको छ । बुर्तिबाङ बजारदेखि हरेक दिन दर्जनौँ गाडी देशका विभिन्न सहरमा पुग्ने गर्छन् । मध्यबागलुङमा पर्ने गलकोटको हटिया बजार पनि एक दशक अगाडिसम्म सुनसान थियो । मध्यपहाडी लोकमार्गले जोडिएपछि बजारमा परिणत भएको छ । दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो छ । यहाँ पनि गाडी र मान्छेको चाप उस्तै हुँदा बजार व्यवस्थापनमा निकै चुनौती छ । गलकोटमा लोकमार्गमा सञ्चालन हुने तथा बजारदेखि ठूला सहर र ग्रामीण क्षेत्रमा चल्ने गाडीले बजार अस्तव्यस्त बनाएको छ । सवारीसाधनको चाप बढेपछि गलकोट क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको आवश्यक परेको स्थानीय बासिन्दा थम्मन थापाले बताए । गलकोटमा एक दशकअघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरुले भरिएको उनले बताए । बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको थापा बताउँछन । ‘तीव्र बजारीकरणका कारण गलकोटमा बसपार्कको अतिआवश्यक छ, सानो ठाउँ छ, धेरै मान्छे र सवारी साधान छन्, बजारको जता हे¥यो त्यतै गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ’, उनले भने, ‘खुला ठाउँ भएको भए गाडी व्यवस्थापन गर्न पनि सजिलो, किनमेल गर्न बजार आउने मान्छेलाई फुटपाथमा हिँड्न पनि सजिलो हुन्थ्यो, अहिले त मान्छे उहीँ, गाडी उहीँ, यसले गर्दा दुर्घटनाको जोखिम त निकै बढायो ।’ उनले कुनै समय ठूलो कार्यक्रम गर्दा मान्छेहरु राख्न नसक्ने होटल अभाव हुने गलकोटमा अहिले सुविधा सम्पन्न होटल रेष्टुरेन्ट बनिरहेको भन्दै बाहिरी मान्छेसमेत यहाँ घुम्न आउने गरेको बताए । यहाँ जनसङ्ख्या बढ्नु र बाहिरी मान्छेको आगमनमा समेत वृद्धि हुँदा बजार व्यवस्थापनमा थप चुनौती थपिएको थापाले बताए । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटमा बजार विस्तार भएको हुँदा बसपार्कको अतिआवश्यक परेको बताए । बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिरहेको उनको भनाइ छ । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको प्रमुख गैरे बताउनुहुन्छ । ‘जनघनत्व बढी भयो, सवारीसाधन पनि बढे, त्यस कारण यहाँ बसपार्क अनिवार्य भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ, तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खासै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ”, नगर प्रमुख गैरेले भन्नुभयो, “हामीले निकै प्रयास गरेका छौँ, जग्गा व्यवस्थापन हुँदासाथ प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गछौँ ।’ अहिले बजार क्षेत्रको सडकलाई एकतर्फीरुपमा सञ्चालन गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए । गैरेले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा होर्डिङ बोर्ड राख्ने तथा साना सवारी साधनलाई खुला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताए । यता जिल्ला सदरमुकाम बागलुङ बजारमा भने बसपार्क नभएका होइनन् । यहाँ दुई वटा बसपार्क छन् । वडा नं ३ मा चिप्लेटी बसपार्क र वडा नम्बर ४ उपल्लाचौरमा नयाँ आधुनिक बसपार्क निर्माण भएको छ । चिप्लेटी बसपार्क साँघुरो भएको हुँदा उपल्लाचौरमा नौ करोड लागतमा बसपार्क निर्माण गरिएको हो । निर्माण भएको एक वर्ष बितिसक्दा पनि यो बसपार्क सञ्चालनमा आउन सकेको छैन । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क सञ्चालनमा आउन सकेको छैन । करिब २० वर्षअघि बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भए पनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ । विसं २०७५ मा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम तीनपटक म्याद थपेर काम सकिएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ र ग्यारेज निर्माणको भएका छन् । नगर विकास कोषले नौ करोड चार लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बस राख्न पुगेको छैन । उक्त बसपार्क निर्माण भएकाले लामो तथा छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिन्थ्यो । निर्माण भएको बसपार्क रित्तो छ तर बजारमा भने सवारीको चापले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाएको छ । बजारको मुख्य सडक जीपपार्कदेखि ट्राफिक चोकसम्म दैनिक साना ठूला सवारीसाधनको चाप हुने गरेको छ । सवारी साधनलाई एकतर्फी भए पनि निरन्तर सञ्चालनका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए । उनले बजार साँघुरो र त्यसमाथि ग्रामीण क्षेत्रबाट आउने गाडी र बजारदेखि लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । उनले पार्किङका लागि बागलुङ नगरपालिकासँग छलफल गरिरहेको बताए । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उपल्लाचौरमा बनेको नयाँ बसपार्क सञ्चालनका लागि कार्यदल बनाएको भन्दै यहाँ भएका समस्या समाधान गरी छिटै सञ्चालनमा ल्याउने बताए । उनले निर्माण भएको बसपार्क रित्तो हुने तर बजारमा सवारी साधनको भीड हुने गरेको बताउँदै केही समयमै यसलाई सञ्चालनमा ल्याउने दाबी गरे । ‘बसपार्क सञ्चालनमा केही समस्या रहेछन्, त्यसको समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले कार्यदल गठन गरेको छ’, नगर प्रमुख श्रेष्ठले भने । कार्यदलले यहाँ भएको समस्या समाधान गर्दा बित्तिकै बसपार्क सञ्चालनमा ल्याउने तयारी भएको छ । रासस
पर्यटन भिसाको नयाँ कार्यविधी खारेज गर्न व्यवसायीको माग
काठमाडाैं । पर्यटन भिसामा विदेश प्रस्थान अनुमति सम्बन्धि ल्याइएकाे कार्यविधि तत्काल खारेज गर्न नेपाल एशाेशियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) सरकारसँग माग गरकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै नाट्टाले नयाँ कार्यविधीले पर्यटन व्यवसायलाई प्रत्यक्ष र गम्भिर असर पार्ने बताउँदै तत्काल खारेज गर्न माग गरेकाे हाे । कार्यविधीले नेपाली पर्यटकहरुको स्वतन्त्रता पुर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकार समेतलाई चुनौति दिएको नाट्टाकाे भनाइ छ । ‘वैदेशिक रोजगार व्यवसायी, श्रम विभाग तथा अध्यागमनका कर्मचारीहरुबाट मात्र सम्भव हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्नुको साटो भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यावसायीहरुलाई निषेध र हतोत्साहीत गर्ने नियतका साथ ल्याईएको छ,’ विज्ञप्तिमा भनिएकाे छ । नाट्टाले सरोकारवाला व्यवसायी तथा संघ र संस्थासँग सामान्य छलफल समेत नगरी एकतर्फी ढङगबाट पुन: यस प्रकारको गैर जिम्मेवार काम अगाडी बढ्नु दुखद रहेको बताएकाे छ । नयाँ कार्यविधि अनुसार नेपाली पर्यटक गन्तव्य देश जानु पुर्व कम्तीमा २ ओटा देशको भ्रमण गरेको हुनुपर्ने, गन्तव्य मुलुकको होटलको वेबसाइटमा खुल्नेगरि होटेल बुकिङको प्रमाण पेस गर्नु पर्ने, ट्राभल एजेन्सीहरुले तोकिएको मुलुकमा पर्यटक भिसामा भ्रमणका लागि जाने नेपाली पर्यटकको टिकट व्यवस्थापन गर्नु पुर्व अध्यागमन विभागबाट स्वीकृति लिनु पर्ने, आफ्नो एजेन्सी मार्फत पर्यटन भिसामा गएका नेपाली पर्यटकलाई तोकिएको मितिमा नेपाल फर्काउने र त्यसको प्रतिवेदन अध्यागमन विभागमा पेश गर्नुपर्ने व्यवस्था छ ।
थुनामा रहेको सुरक्षागार्डलाई रविले भने : धन्यवाद
काठमाडाैं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुभन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । साेमबार अध्यक्ष लामिछानेले सुरक्षागार्ड गुरुङसँग भेटेकाे सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । कानुन सबैकाे लागि बराबर हाे भन्दै आफुले गुरुङलाई भेटेर धन्यवाद दिएकाे उनले बताएका छन् । ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु, कानुन सबैलाई बराबर हुन्छ, शेरजंग जी भन्नु हुन्छ,’गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन, मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो,’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्, दण्डित होइन पुरस्कृत गरियोस्, नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ उनले लेखेका छ्न् । ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरेपछि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङ आइतबार पक्राउ परेका थिए ।
जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौँ : मन्त्री यादव
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु सङ्कटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका हुन् । उनले भने, ‘जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ । नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ । नेपालमा जलवायु सङ्टकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको छ । हामी यसको तयारीमा छौँ ।’ यसैगरी मन्त्री यादवले उक्त विषयमा सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु सङ्कटमा पुगेको घोषणा गरिने जानकारी पनि दिए । उनले सङ्कटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताए । उनले भने, ‘जलवायु सङ्कटकाल र जलवायु सङ्कट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ ।’ जलवायु परिवर्तन भइरहेको र यसका कारण उत्पन्न समस्या एवं असरका बारेमा सबै जानकार नै रहे पनि जलवायु सङ्कट तथा सङ्कटकाल घोषणा गर्न के कसरी मिल्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको उनको भनाइ थियो । उनले यसै विषयमा केन्द्रित रहेर मन्त्रालयले गृहकार्य थालेको जानकारी दिए । रासस
यी हुन् १२ पासपछि बैंकर, उद्यमी र व्यवस्थापक बन्न खोज्नेले पढ्ने विषय
काठमाडौं । कक्षा १२ को परिक्षाको नतिजा आएसँगै उत्तिर्ण भएका विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा अध्ययनको लागि ढोका खुलेको छ । आ–आफ्नो अनुकुलतामा विभिन्न विषय लिएर अध्ययन गरेका र उमेरका हिसाबले श्रम बजारमा प्रवेश गर्न योग्य भैसकेका व्यवस्थापन संकायका विद्यार्थीहरुले कुन विषय लिएर पढ्दा व्यवहारिक हुनसक्छ ? नेपालको बजारमा वा विदेशी बजारमा व्यवस्थापनको क्षेत्रमा कुन विषय लिएर पढेका जनशक्तिको माग रहेको छ ? नेपालमा कुन विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा कस्ता विषयहरु पढाइरहेका छन् ? विद्यार्थीले जीवनउपयोगी विषय कसरी रोज्ने ? यी र यस्तै विषय विद्यार्थीहरुकाे जीवनका लागि पनि महत्वपूर्ण हुन्छन् । नेपालमा सञ्चालनमा रहेका अधिकांश कलेजहरुले मुख्यतः ठुला विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपालका मुख्य विश्वविद्यालयहरुमध्ये त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन गर्ने शैक्षिक कार्यक्रमको विषयमा यहाँ चर्चा गरिएको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा १० वटा विषयहरुको सञ्चालन गर्ने गरेको छ । जसमा बिबिएम, बिबिएस, बिएचएम, बिआइएम, बिएमटिएम, बिएमएस, बिपिए, बिटिटिएम, बिबिए र बिबिएफ रहेका छन् । काठमाडौं विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत ५ वटा विभागीय विषयहरुमा कोर्षहरुको विकास गरेको छ । जसमा वित्त, अर्थशास्त्र र लेखा, मानव स्रोत तथा साधारण व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, सूचना तथा विज्ञान र बजार तथा रोजगार रहेका छन् । जसमा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत बिबिए, बिबिआइएस र बिएचएम विषयको अध्यापन सञ्चालन गर्ने गरेको छ । पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत ६ वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । जसमा व्यवसायिक प्रशासन, बैंक तथा बीमा प्रशासन, कम्प्युटर सूचना प्रणाली, होटल व्यवस्थापन र स्वास्थ्य हेरचाह व्यवस्थापन रहेका छन् । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले बिबिए, बिबिए बैैंकिङ एण्ड इन्स्योरेन्स, बिबिए ट्राभल एण्ड टुरिजम, बिसिआइएस, बिएचएम र बिचसिएम कोर्ष सञ्चालन गर्ने गरेको छ । कुन विषय पढ्दा कुन क्षेत्रमा सम्भावना बढी ? काठमाडौं मोडेल कलेजका प्राध्यापक प्रदिप पराजुली बिबिएम कोर्ष पढेर विद्यार्थीहरुले आफुलाई उद्यमी बन्न र विभिन्न क्षेत्रमा रोजगार प्राप्त गर्नको लागि योग्य हुने बताउँछन् । उनले सेमेस्टर प्रणालीमा पढाई हुने ४ वर्षे बिबिएम कोर्ष पढेपछि विद्यार्थी आँफै उद्यमी बन्न सक्ने वा मध्यम तहको व्यवस्थापक सम्म बन्न सक्ने उनको भनाइ छ । पोखरा विश्वविद्यालयले तयार गरेको बिबिए–बिआई कोर्ष ८ सेमेस्टरमा पढाइ हुने गर्दछ । यो मल्पी इन्टरनेशनल कलेज काठमाडौंका प्राध्यापक प्रतिक शर्माकाअनुसार बिबिए–बिआई कोर्षको ३ सेमेस्टरसम्मको विषय बिबिएसँग मिल्छ, त्यसपछिका सेमेस्टरमा भने बीमा र बैंकिङ क्षेत्रलाई जोड दिइएको हुन्छ । बिबिए–बिआई अध्ययन गरेपछि बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा काम गर्नको लागि सो विद्यार्थी सक्षम हुने प्राध्यापक शर्माले बताए । विश्वविद्यालयहरुले सञ्चालन गर्दै आएको वाणिज्य शास्त्रको सट्टामा विकास भएको नयाँ कोर्ष हो बिबिए । बिबिए कोर्षलाई सबै विश्वविद्यालयहरुले सेमेस्टर प्रणालीमा सञ्चालन गर्ने गरेका छन् । ८ सेमेस्टरमा पढाइ हुने बिबिएमा विद्यार्थीहरुले ४० वटा विषय पढ्नुपर्ने हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्राध्यापक अमित गुप्ता बताउँछन् । जुनसुकै संकायबाट कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीले पढ्न पाउने सो विषय पढेपछि विद्यार्थी जुनसुकै फिल्डमा काम गर्न जानको लागि योग्य हुने उनको भनाइ छ । स्नातक तहमा अध्यापन हुने बिएचएम विषय सबै विषय पढेका विद्यार्थीहरुले पढ्न सक्ने विषय हो । जसमा किचन, सर्भिस, हाउसकिपिङ, फ्रन्टअफिस, आदि लगायतका विषयहरु पर्दछन् । होटलमा खाना कसरी बनाउने, कसरी गेष्टहरुलाई सर्भिस दिने, रुमहरुको व्यवस्थापन कसरी गर्ने, गेष्टहरुलाई आतिथ्यता कसरी टक्र्याउने, आदि लगायतका व्यवहारिक विषयहरु विएचएम लेभलमा अध्ययन गरिन्छ । मुलतः जसले भोकेस्नल कोर्षहरु सिक्न खोजिरहेको हुन्छ वा सैद्धान्तिक भन्दापनि प्राक्टिकल बेसमा बसेर काम गर्ने रुची भएको विद्यार्थीका निमित्त निकै उपयोगी र व्यवहारिक विषय मानिन्छ । होटल म्यानेजमेन्टको अध्ययन गरिसकेपछिको उपयोगिताको क्षेत्र धेरै नै बृहत रहेको छ । पहिलो त होटलमा धेरै भूमिकामा काम गर्न सकिन्छ । ट्राभल एण्ड टुरिजम क्षेत्रमा टिकेटिङ अफिसर, दोभासेलगायतको काम गर्न सकिन्छ । त्यस्तै एयरलाइन्सको क्षेत्रमा प्लेनभित्र किचनको काम गर्ने, यात्रुहरुलाई खानाको सर्भिस गर्ने लगायत कामहरुमा होटल म्यानेजमेन्ट अध्ययनको आवश्यकता र महत्व रहेको छ । फिटनेस सेन्टरहरुमा डाइटिसियनको रुपमा पनि काम गर्न सकिन्छ । न्युट्रेसन क्षेत्रमा, खाना तथा खाजाहरुको मेनुमार्फत् सन्तुलित भोजन निर्माण गर्ने कुरामा यसको महत्वपूर्ण भुमिका रहेको हुन्छ । स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट ४ वर्षे शैक्षिक कार्यक्रम हो । यो कार्यक्रम व्यवसायिक हेल्थ केयर जनशक्ति उत्पादनको लागि डिजाइन गरिएको हो । यो कोर्षमा स्वास्थ्य योजना निर्माण, वृहत अर्थशास्त्र, व्यवसायिक सूचना, अस्पताल योजना, स्वास्थ्य प्रणाली र नीति तथा कार्यक्रम निर्माण सम्बन्धी अध्ययन गरिन्छ । अंग्रजी विषयमा राम्रो क्षमता भएका कक्षा १२ अध्ययन सकेका विद्यार्थीहरुले यो विषय अध्ययन गर्न सक्छन् । स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट अध्ययन गरिसकेपछि ती विद्यार्थीहरुले सार्वजनिक तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुको व्यवस्थापकीय नेतृत्व वा सञ्चालनमा सहभागी भएर काम गर्न सक्छन् । नोवेल कलेज व्यवस्थापन संकायका प्रमुख ज्ञानेन्द्र चौलागाईंका अनुसार यो विषय पढेपछि विद्यार्थीहरु अस्पताल मात्रै नभएर एनजिओ, आइएनजिओ र डब्लुएचओ लगायतले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रममा समेत सहभागी भएर काम गर्ने क्षमता राख्दछन् । बिपिएच अर्थात् ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी मुख्यत हस्पिटालिटी उद्यमसँग सम्बन्धित विषय हो । काठमाडौं युनिभर्सिटीले सञ्चालन गरेको यो कार्यक्रम सीमित कलेजहरुले मात्रै सञ्चालन गरेका छन् । गर्दै सिक्दैमा आधारित यो कोर्ष कक्षा १२ पास भएका विद्यार्थीले पढ्ने व्यवहारिक विषय हो । ८ सेमेस्टरमा अध्यापन हुने यो विषय पढिसकेपछि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित पर्यटन क्षेत्रका धेरै विधाहरुमा काम गर्न सक्छन् । पछिल्लो समय नेपालमा हस्पिटालिटी क्षेत्रको विस्तार हुने क्रम रहेको छ । बिपिए अर्थात् ब्याच्लर अफ पब्लिक एडमिनिस्ट्रेसन त्रिभुवन विश्वविद्यालले विकास गरेको ४ वर्षे कार्यक्रम हो । ८ सेमेस्टरमा पढाइ हुने यो कोर्ष सार्वजनिक क्षेत्रमा प्रशाशन तथा व्यवस्थापकीय काम गर्नको लागि तय गरिएको हो । बिपिए पढिसकेपछि सार्वजनिक क्षेत्रको व्यवस्थापन तथा अनुसन्धान, सार्वजनिक सेवाको नेतृत्व र विभिन्न संस्थाहरुको नेतृत्वमा रहेर काम गर्न सकिन्छ । नेपालमा सार्वजनिक, सार्वजनिक निजी र निजी क्षेत्रको स्वामित्वमा सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रहरुको विस्तार भइरहेको छ । बिआइएम अर्थात् ब्याचलर अफ इन्फर्मेसन आइटी र म्यानेजमेन्टको समायोजन गरेर अध्ययन गरिने विषय हो । यो कोर्षमा व्यवसायिक प्रशासन तथा निर्णय प्रकृयामा सूचना तथा सञ्चार प्रणालीको मिश्रण गरे(र अध्ययन गरिन्छ । सूचना व्यवस्थापन कोर्षमा आधारभूत रुपमा अर्थशास्त्र, कम्प्युटर विज्ञान, र व्यवस्थापनका प्रविधि, विधि र सैद्धान्तिक कुराहरुलाई विश्लेषण गरेर अध्ययन गरिन्छ । पछिल्लो समय सेवा, उद्यम तथा व्यवसायको सम्पूर्ण क्षेत्र आधुनिक व्यवस्थापनमा आधारित हुँदै गएकाले बिआइएम अध्ययनको महत्व बढ्दै गएको छ । यो कोर्षलाई नेपालका विभिन्न विश्वविद्यालयहरुले विभिन्न नाम दिएर सञ्चालन गर्ने गरेको पाइन्छ ।