विकासन्युज

असोजको पहिलो सातामा निक्षेप र कर्जा दुबै बढ्यो, सीडी रेसियो कति ?

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढेको छ । नेपाल बैंकर्स संघको अनुसार असोजको पहिलो सातामा बैंकहरुको निक्षेप २६ अर्ब र कर्जा ४ अर्बले बढेको हो । असोज ७ गतेसम्ममा बैंकहरुमा ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन भदौको अन्तिम सातामा ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले भदौको अन्तिम सातामा ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८७.२१ प्रतिशत पुगेको छ ।

डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो । एशोसिएसनले डा। पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै प्रदान गर्न निर्णय गरेको हो । एशोसिएसनले नेपाल स्थित संस्थाको प्रतिनिधिको उपस्थितिमा आउदो पुस ७ गते डा. पुनलाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।  

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

ढाका । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ ।बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो । त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताएका छन् । अधिकारीहरुले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन् । यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । सो दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको बताएका छन् । पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको बताउँदै सोमबार रातिसम्ममा यहाँ बेपत्तामध्ये थपको शव भेटिएको र सोमबार रातिसम्म ५१ जनाको मृत्यु भएको जानकारी दिएका थिए । सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको थियो । अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको ती प्रहरी प्रमुखले जानकारी दिएका छन् । प्रहरीले डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको बताएको छ । बङ्गलादेशमा यसरी क्षमताभन्दा बढी व्यक्ति बोक्दा डुङ्गा दुर्घघटना हुने गरेका समाचारहरु आइरहन्छन् । रासस/सिन्ह्वा

दशैंमा कुन कुन दिन खुल्छ सेयर कारोबार ?

काठमाडौं । दशैंको समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दिनमात्रै खुल्ने भएको छ । १५ दिनसम्म मनाईने दशैंमा सेयर कारोबार भने ३ दिन खुल्ने भएको हो । सामान्यतः दशैं घटस्थापनाको दिनदेखि नै शुरु हुन्छ । यो वर्षको दशैं असोज १० गते सोमबारदेखि शुरु भएको छ । सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार पनि बन्द भएको थियो । यससँगै अब मंगलबार, बुधबार र बिहीबार अर्थात (असोज ११, १२ र १३ गते) लगातार सेयर कारोबार खुल्ने छ । त्यसपछि भने असोज २२ गतेसम्म सेयर कारोबार रोक्का हुने छ । र, असोज २३ गते कोजाग्रत पूर्णिमा देखि सेयर कारोबार पुनः खुल्ने छ ।

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुन : सुरु

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट उडान पुुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि १५ हजार रुपैयाँ र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ । रासस

बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइयो : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनित डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताएकी छिन् । मंगलबार दशैँ लक्षित बजार अनुगमनमा निस्किएकी डंगोलले यस्तो बताएकी हुन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताइन् । ‘कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानूनी कारबाही गर्नेछौँ, बेच्ने मान्छे मात्र नभइ किन्ने मान्छे पनि खाद्य र अखाद्यको पहिचान गर्न नसकेको हामीले पायौँ,’ उनले भनिन् । कारबाही भन्दा पनि सचेतना जगाउनका लागि अनुगमन गरेको बताइन् । उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने बताउँदै बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने बताइन् । उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको सिपिएफ कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् ।अष्ट्रियामा जारी उक्त कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क सीपीएफमा हस्तारक्षर गरेका हुन् । हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएइए मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी तथा वातावरण, ऊर्जा तथा उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग मिल्नेछ । सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएइएको ६६ औँ महासभालाई पनि सम्बोधन गरे । सम्बोधनका क्रममा उहाँले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि वा महासन्धिको पक्ष राष्ट्रमध्ये नेपाल हस्ताक्षरकर्ता पनि भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए । विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको चर्चा गर्दै मन्त्री पौडेलले आणविक विज्ञान र प्रविधिलाई आइएइको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपालले जोड दिँदै आएको प्रष्ट पारे.। उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि चर्चा गरे । सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५०औँ वार्षिकोत्सवमा पनि सहभागिता जनाए । उनले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएइए र आरसीएको सहयोग महत्वपूर्ण रहेको बताए । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजना र आरसीए परियोजनामार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको मन्त्री पौडेलको भनाइ थियो । रासस

एनसीसी र कुमारी बैंककाे सेयर कारोबार राेक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरिएको छ । सोमबार (असोज १० गते) एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएसँगै असोज ११ गते मंगलबारदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरिएको हो । मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम एनसीसी र कुमारी बैंकको सेयर रोक्का गरिएको हो । यससँगै अब मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार भएपछि मात्रै मर्जरपछि बन्ने कम्पनीको नामबाट दोश्रो बजारमा कारोबार खुल्ने छ