विकासन्युज

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारको पहुँचमा जोडिन नसकेको भन्दै गुनासो गर्न थालेका छन् । एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका ३० भन्दाबढी सेवाग्राहीले यो सेवा पाउन नसकेको बताइएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा काम परे पहिलेकै जस्तो मानिस पठाएर खबर आदान–प्रदान गर्नुपर्ने अवस्था सिर्जना भएको चङ्खेली गाउँपालिका–६ का बेलसरा तामाङ बताउँछन् । यसबाट गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का २५ बस्तीका बासिन्दा समस्यामा परेका छन् । मोबाइल सेवा अवरुद्ध भएपछि गाउँपालिकामा सम्पर्क गर्नसमेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । गाउँपालिकाले नेपाल टेलिकमलाई समयमै टावरमा आएको खराबीबारे जानकारी गराए पनि हालसम्म सुनुवाइ हुन नसकेको गाउँपालिकाले जनाएको छ । सहज रूपमा प्राविधिक पुुग्ने अवस्था नरहेका कारण टावरमा आएको खराबीको मर्मत कहिलेसम्म हुने हो टुङ्गो छैन । दसै‌को समयमा टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर रहेका आफन्तसँग सम्पर्कमा जोडिनलाई समेत समस्या बनाएको यहाँका स्थानीयवासीको गुनासो छ । रासस

नेप्सेमा छायो हरियाली, सर्वाधिक कारोबारमा रिडी पहिलो, दोश्रोमा नबिल

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको परिसूचक आज दोहोरो अंकले उकालो लाग्दा बजारमा हरियाली छाएको हो । मंगलबारको परिसूचक १५.९२ अंकले उकालो लागेर १८३१.०५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढी हो । बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबारको तुलनामा मंगलबारको सेयर कारोबार ४० करोड रुपैयाँले घटेको छ । आइतबार एक अर्ब ७ करोडकोे सेयर कारोबार भएको बजारमा मंगलबार ६६ करोड ३० लाख रुपैयाँमा सीमित छ । सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । कम्पनीको एकैदिन २ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४८६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले बढी हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता ७७० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा १७.१० रुपैयाँले बढी हो । बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ । दोहोरो अंकले बढेको बजारमा टप लुजरको शीर्ष स्थानमा गरिमा डिबेन्चर २०८५ रहेको छ । जसको भाउ १० प्रतिशत अर्थात ९०.१० रुपैयाँले घटेर प्रतिथान ८१०.९० रुपैयाँ पुगेको छ । यता क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५४ अंकले बढेर ३५८.१४ बिन्दुमा पुगेको छ ।

भिडोल लुब्रिकेन्ट्सको विरगंजमा ‘इन्डष्ट्रियल मिट’ सम्पन्न

काठमाडौं । भिडोल लुब्रिकेन्ट्सको विरगंजमा ‘इन्डष्ट्रियल मिट’ सम्पन्न भएको छ । नेपालका उद्योगहरुलाई भिडोल लुब्रिकेन्ट्सको सहि प्रयोगको तरिकाहरु तथा त्यसबाट पाउन सकिने लाभहरुको बारेमा जानकारी गराउन उक्त सम्पन्न भएको हो । इन्डष्ट्रियल मिटमा ४० वटा भन्दा बढि उद्योगबाट १०० भन्दा बढि प्राविधिक, पर्चेज हेड तथा प्रबन्धकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा लुब्रिकेन्टको प्रविधि बारेमा जानकारी गराइएको थियो । टाईड वाटर आयल कम्पनी, लुब्रिकेन्टसहरुको बजारमा प्रख्यात नाम हो । अटोमोटिभ तथा ईन्डस्ट्रीयल बजारहरुमा टाईड वाटर आयलले आफ्ना उत्पादनहरु सप्लाई गरिरहेको छ । टाईड वाटर आयलले आफ्ना उत्पादनहरु भिडोल लुब्रिकेन्टस्को ब्राण्ड अन्तर्गत बजारीकरण गर्दै आएको हो । यसको रजिस्टर्ड कार्यालय कोलकतामा छ । यस कम्पनीका भिडोल ब्रान्डेड प्रोडक्टहरु हाल ७० भन्दा बढी देशहरुमा बिक्री वितरण भइरहेको छ । भिडोल लुब्रिकेन्ट्सको नेपालको लागि आधिकारिक वितरक भिजी ल्युब हो । भिजी ल्युबले सन् २०१६ जुलाई देखि नेपालमा भिडोल लुब्रिकेन्टसलाई प्रतिनिधित्व गर्दै आएको छ ।

असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट हुने

काठमाडौं । नेपालमै पहिलोपटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ (एनएचजीएस) आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता समिट हुने भएकाे हाे । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीटको आयोजना गर्न लागेका हुन् । ताहाचलस्थित होटल सोल्टीमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ । नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण हुने आयाेजकले जनाएकाे छ । आयाेजककाे अनुसाार सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन गर्ने सम्मेलनकाे मुख्य उद्देश्य रहेकाे छ । त्यस्तै,  नेपालमा हरित अमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने, अन्तराष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी दिने आयोजकले जानकारी दिएकाे छ । हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु मैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने, उर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने उद्देश्य सहित नेपाल ग्रीन हाइड्रोजन समिट गर्न लागिएकाे बताइएकाे छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रुपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले जल विद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभुति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हाे । सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका छन् । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।  

एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त

काठमाडौं ।  एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । उनी यस अघि एफवान ग्रुप अन्तरगतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रुपमा र इसेवा मनि ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए । आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै डाइरेक्टर श्रेष्ठले भने, ‘ एफवानसफ्ट अन्तरगतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र ग्रुप लेभल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ’। स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङ्गमा एमबीएसम्म अध्ययन गर्नुभएका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ । सफट्वेयरको क्षेत्रमा एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलिोजिज, बससेवा लगायतका स्थापित कम्पनी रहेका छन् । नेपालका अधिकांस बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्ग लगायसका सोलुसन प्रयोग हुँदै आएका छन् । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको रुपमा कार्य गर्दै आएको छ । नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पारित, एकीकृत कारोबारलाई खुल्यो बाटो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सानिमा जनरल इन्स्योरेन्सको मंगलबार बसेको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै अब दुई कम्पनीलाई एकीकृत कारोबार गर्नको लागि बाटो खुला भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न सभाले मर्जरको प्रस्तावसहित कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिको अनुमोदन गर्नुका साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, आजै सम्पन्न जनरल इन्स्योरेन्स कम्पनी नेपालको विशेष साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको छ । उक्त सभाले कम्पनीको सभाले मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावलाई समेत पारित गरेको छ ।

व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकको मौलिक संस्कृतिको प्रवद्र्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा राखे । उनले पर्यटक गन्तव्यस्थलको विकास गर्न ठोस् योजना र डिपिआर तयार गर्ने कार्य सरकारले गरिरहेको जानकारी दिनुहुदै पर्यटन प्रवद्र्धनमा घरबास, होटल तथा पर्यटन व्यवसायी तथा एजेन्सीलाई कामगर्दा आइपर्ने बाधा एवं अवरोध हटाउन आवश्यक ऐन कानुनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले यस क्षेत्रको पर्यटन विकासमा सहयोग गरिरहनुभएका पर्यटन व्यवसायी, होटल, घरबास सेवा प्रवाह गर्ने संस्थाको दर्ता नवीकरण गर्ने कार्य अव अनलाइनमार्फत सेवा प्रदान गरिएकोले कुनै कठिनाइ नहुने धारणा राखे । कार्यक्रममा स्वास्थ्यमन्त्री जयराम यादवले नेपालमा आउने भारतीयले थोरै रकमबाट यस क्षेत्रका धेरै स्थानमा भ्रमण सकिने र यहाँ कुनै किसिमको कठिनाइ नहुने भएकाले सम्पूर्ण परिवार एवं साथीभाइसँग आउन आग्रह गरे । सो अवसरमा मुख्यमन्त्री राईले भारत पश्चिम बङ्गालबाट आएका ३० जना पर्यटक, विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई, झापा विर्तामोडका होटल व्यवसायी देवीभक्त श्रेष्ठ, सामुदायिक घरवासका उपाध्यक्ष एकराज घिमिरे र नेपाल पत्रकार महासङ्घका प्रदेशका सभापति लीलाबल्लभ घिमिरेलाई सम्मान गरे । यसैगरी मुख्यमन्त्री राईले होटल व्यवसायी, पर्यटन व्यवसायी र घरवासको दर्ता, नवीकरणको अनलाइन प्रणालीको समेत शुभारम्भ गरे । रासस