दशैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत–सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने उनले सुनाए । नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवी भागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडादशैँ बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेषरूपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्छ । रासस
सामान किन्दा समस्या आयो ? अब टोल फ्री नम्बरमा फोन गर्नुहोस्
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा असोज ११ गतेदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ । टोलीले आज प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार र त्यस क्षेत्रका मासु पसलको अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री वितरणको अवस्था हेरिएको थियो । अनुगमनका क्रममा खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा म्याद गुज्रिन लागेको चामल भटिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनले कुनै पनि सामग्री खरिद समयमा केही समस्या परे कामपाको हटलाइन नम्बरमा फोन गरी गुनासो टिपाउन आग्रह गरिन् । रासस
कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा पाएपछि महावीर पुनले भने : चिठ्ठा परे जस्तै भयो
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित स्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएका छन् । उक्त कारखाना पुनः सञ्चालनकालागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गत ३१ भदौको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालन सम्झौता गरेको हो । आर्थिक वर्ष २०७९र८०को बजेटमा बन्द तथा रुग्ण रहेका कारखानाहरू पुनः सञ्चालन गरिने घोषणा अनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको अर्थमन्त्री जनार्दन शर्माले बताए । ‘चालु आर्थिक वर्षको बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन भन्ने मूल नीति लिएको छ, त्यस नीति अन्तर्गत हामीले मुख्यगरी कृषि र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेको कुरा सबैलाई अवगत छ’, उनले भने, ‘यसै अनुरूप कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिइएको छ ।’ मन्त्री शर्माले २१ जेठमा वीरगञ्ज पुगेर कारखानाको स्थलगत निरीक्षण गरेका थिए । सोही बेला उनले कारखना पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका थिए । यसैगरी सम्झौतापछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिठ्ठा परेको जस्तो महसुस भएको बताए । ‘नेपाल सरकार र अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर सोचको पनि थिएन’, उनले भने, ‘आशा नगरेको चिजको जिम्मेवारी आएकोले यसलाई चिठ्ठा नै परेको भन्छु ।’ उनले सम्झौता राम्रो कामको लागि भएको समेत बताए । साथै, आफूहरूको ज्ञान र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता पनि जनाए । सम्झौताअनुसार आविष्कार केन्द्रले कारखानाको सञ्चालन जिम्मा १० वर्षका लागि पाएको छ । योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका कामसहित आविष्कार केन्द्रले १० वर्षसम्म सञ्चालनको जिम्मा पाएको हो । कारखानाको मर्मत सम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलोपटक सरकारले गर्नेछ । यस्तै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ । औजार बिक्रीबाट कर पश्चातको रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ भने बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।
बैंकहरुलाई दिगो बनाउन ब्याज बढायौं, परिवर्तित ब्याजदरमा बानी बसालौं : अध्यक्ष उपाध्याय
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक मात्रै ब्याजदर बढाएको बताउँदै यो बीचमा पनि दुई महिनाको समय अवधि दिएर बढाएको स्पष्ट पारे । उनले व्यवसायीहरुको पनि तयारी हुने गरी ब्याज बढाउँदै आएको जिकिर गरे । उनले अहिले डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवासायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए । अध्यक्ष उपाध्यायले बजारमा तरलताको अभावको कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको जनाए । चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन गरेको बताउँदै उनले ४० अर्ब निक्षेप गर्न पनि सरकारको ९० प्रतिशत योगदान गरेको बताए । उपाध्यायले बैंकहरुमा ३.५ प्रतिशतको आधार दर र मार्जिनमा ३ प्रतिशतको बोटल रेटमा बैंकहरु दिगो बनाउन नसकिने बताए । उनले कर्जाको ब्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्नसक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको बताए । उनका अनुसार अहिले अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि ब्याजदर वृद्धि गरेका छन् । ‘गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको छ, गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार मात्रै ५८ प्रतिशत रहेको छ, वाणिज्य बैंकहरुलाई मुद्दतीको भार अघोसित ६० प्रतिशत रहेको छ, बैंकहरुलाई मुद्दतीको भार १२ प्रतिशत बढेको छ, उनले बताए । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले बैंकिङ कर्जाको ब्याज उच्च हुँदा उद्यमशीलता हराउने बताए । उनले कुनै व्यवसायमा लगानी गर्ने भन्दा बैंकमा रकम राख्दा ब्याज बढी पाउने भएपछि उद्योगमा लगानी गर्ने सोच कम हुनसक्ने बताए । अहिले बढेको बैंकको ब्याजदर लामो समयसम्म रहन नहुने बताउँदै अहिले कर्जाको माग र ब्याजको असन्तुलनलाई सन्तुलनमा ल्याउनको लागि अझै केही समय लाग्ने भन्दै व्यवसायीहरुलाई धैर्य गन आग्रह गरे । निर्देशक भट्टराईले बैंक कर्जा लिनु भनेको उच्च जोखिमको काम भएको बताए । व्यवसायीहरुले कर्जाको लागि विकल्प निकालेर पुँजी बजारमार्फत पुँजी परिचालन गर्न सक्नुपर्ने बताउँदै उनले बजारमा तरलता अभावको समस्या हल गर्न निर्यात बढाउने वा रेमिट्यान्स बढी भित्र्याउनुपर्ने बताए ।
‘तीन वटा जहाज कुर्दा मुस्किलले आठ विदेशीलाई स्वागत गर्न पाइयो’
काठमाडौं । ‘१० जना विदेशी पर्यटकको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा जहाज कुर्नुपर्यो, मुस्किलले आठ विदेशीलाई स्वागत गर्न पाइयो,’ ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले भने । नेपाल पर्यटन बोर्डको सभाहलमा विश्व पर्यटन दिवसको औपचारिक कार्यक्रममा टानका अध्यक्ष बास्तोलाले दिएको यो अभिव्यक्तिले पर्यटन व्यवसायीलाई झस्कायो । दिवसका अवसरमा विमानस्थलमा आउने पहिलो विदेशी पाहुनालाई स्वागत गर्न बास्तोलासहित पर्यटन व्यवसायीहरु गएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, मन्त्रालयका अन्य उच्च अधिकारी, पर्यटन विभाग र बोर्डका कर्मचारी एवम् पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा टानका अध्यक्षको भनाइले उपस्थित सबैलाई सोचमग्न बनायो । सबैको नजर बास्तोलातिर मोडियो । मुख्य पर्यटकीय सिजनमा विदेशी पर्यटक आगमनको सुस्तताले पर्यटन क्षेत्रमा अझै सकस कायमै छ भन्ने छनक दिएको छ । बिहान सबेरै विमानस्थल पुगेको व्यवसायीको टोलीले करिब चार घण्टा विमानस्थलमा पाहुना कुर्नुपरेको थियो । तीन उडानबाट क्यानडा, स्विट्जरल्यान्ड र साउदी अरेबियाका नागरिक आएको अध्यक्ष बास्तोलाले बताए । ‘टर्किज एयरलाइन्सको उडानपछि रहेछ सायद चाडपर्व नजिकिएर हो कि बिहान ५ः३० देखि १० बजेसम्म विमानस्थलमा बस्नुपर्यो तीनवटा एयरलाइन्स कुर्दा आठजना मात्रै विदेशी पाउनु भनेको पर्यटनमा गम्भीर विषय हो,’ बास्तोलाले भने । टानको अगुवाइमा बिहान विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो । पर्यटन व्यवसायीसमेत रहेका बास्तोलाले मुख्य सिजनमै विदेशी पर्यटक कम आउनु गम्भीर विषय भएको बताए । विमानस्थलमा व्यवसायीले झेलेका समस्या सुनाउँदै बास्तोलाले पर्यटन सूचना केन्द्र र पर्यटक सेवा काउन्टर बसेका भवनमा अहिले कुनै निजी व्यापारीले व्यापार गरिरहेको गुनासो गरे । विमानस्थलको आगमन कक्षमा बनाइएको भवनमा पर्यटक सूचना केन्द्रसमेत हटाउन लागिएकामा व्यवसायीको विरोध छ । बास्तोलाले भने, ‘विमानस्थलको सेवा व्यवसायी र पर्यटनमैत्री हुनुपर्छ, दिवसका दिन खादा र माला पहिर्याएर मात्र पर्यटन क्षेत्रले गति लिन सक्दैन अर्को वर्षका लागि नीतिगत र कार्ययोजनाका साथ अघि बढ्दा मात्रै दिवस मनाउनुको सान्दर्भिकता बढ्छ ।’ यो सिजनमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउँछन् । सफा मौसम, दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्व पर्ने भएकाले विदेशीका साथै गैरआवासीय नेपाली पनि उत्तिकै आउँछन् । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि यो उपयुक्त सिजन पनि हो । मुख्य याममा पनि विदेशी पर्यटक किन आएनन् भन्ने जिज्ञासामा होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तुलनात्मक रुपमा विदेशी पर्यटक आगमन झिनो रहेको तर, पर्यटकीय सिजन भर्खरै सुरु भएको र मनसुन पनि सकिन लागेकाले पदयात्रा र पर्वतारोहणका लागि विदेशी आउने सम्भावना रहेको बताए । ‘विदेशीहरू फाट्टफुट्ट आएका छन् समग्रमा २५ प्रतिशत होटल बुकिङ छ, विगतमा यो सिजनमा ७० प्रतिशतसम्म बुकिङ हुने गरेको थियो ।’ ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाइरहँदा कोभिडपछिको पर्यटनलाई कसरी चलायमान बनाउने भन्नेतर्फ सरकारी निकाय र निजी क्षेत्रका व्यवसायीलाई सोचमग्न तुल्याएको छ । पर्यटनको विद्यमान परम्परागत ढाँचालाई बदलेर नवीनतम् सोच र नयाँ तौरतरिकाले पर्यटनको बजारीकरण र प्रवद्र्धन गरिनुपर्ने उनीहरुको जोड छ । पर्यटन मन्त्रालयका सचिव अधिकारीले कोभिडपछि खस्किएको पर्यटनलाई चाँडो पुनरुत्थानका लागि पर्यटनलाई नयाँ सोच र बजार रणनीति परिवर्तन गरेर जानुको विकल्प नरहेको बताए । उनले भने, ‘पर्यटन प्रवद्र्धनमा रिथिङ्किङ गर्न जरुरी छ । पर्यटन व्यवसायलाई अझ फरक दृष्किोणबाट सञ्चालन गर्न सबै सरोकारवाला क्षेत्रको माग पनि रहेको छ, निजी क्षेत्रसँगको समन्वय र साझेदारितामा मन्त्रालयले छलफल गरेर योजना अघि बढाउनेछ ।’ सचिव अधिकारीले विमानस्थलमा व्यवसायीले भोगेका समस्या समाधानतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताए । व्यवसायीलाई परेका समस्याको छलफल र समाधान गर्न मन्त्रालय सदैव तत्पर रहेको उनले उल्लेख गरे । प्रवद्र्धनमा नयाँ तौरतरिका अनिवार्य पर्यटन सचिव अधिकारीले परम्परागत ढङ्गको पर्यटन प्रवद्र्धनमा अब नयाँपन अवलम्बन गर्न जरुरी रहेको भन्दै सरकारले हालै घोषणा गरेको नेपाल भ्रमण दशक (सन् २०२३ देखि ३२) लाई सफल बनाउन सरकार र निजी क्षेत्र एकापसमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भ्रमण दशकको छिट्टै कार्ययोजना सार्वजनिक गरिने पनि जानकारी दिए । ‘नेपालको पर्यटन भनेको हिमाल, पदयात्रा, सम्पदा, अनि गन्तव्य भनेको काठमाडौं, पोखरा र लुम्बिनी मात्रै हैन यहाँका सम्भावना भएका पर्यटकीय वस्तुको पहिचान र प्रवद्र्धन गरेर पर्यटन प्रवद्र्धनको तौरतरिका बदल्न जरुरी छ,’ पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले भने । कोभिडपछिको पर्यटनलाई नयाँपन दिएर चलायमान बनाउन दिवसको नाराले सबैमा नयाँ सोच दिन प्रेरित गर्ने बताए । सोही अनुरुप बोर्डले अन्तर्राष्ट्रिय बजारीकरण नयाँ ढङ्गले अघि बढाउने नीति लिएको उनले जानकारी दिए । टानका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको नयाँ ढङ्गले बजारीकरण र प्रवद्र्धन गर्न नीतिगत सुधारका साथै सेवामा विविधीकरण र सुदृढीकरण गरिनुपर्नेमा जोड दिए । उनले पर्यटन पूर्वाधारमा पनि रिथिङ्किङ गर्न जरुरी भएको बताए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्यटन क्षेत्रमा साँच्चिकै नयाँ तरिकाले सोच्नुपर्ने अवस्था आएको औँल्याए । विगतबाट शिक्षा लिएर अब कसरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने भन्नेतर्फ सबैले ध्यान दिन जरुरी रहेको बताए । अध्यक्ष शेर्पाले नीतिगत सुधार, व्यवस्थापन र सेवा गुणस्तर आदिको समीक्षा गरेर पर्यटन विकासमा जुट्नुपर्ने उनको सुझाव छ । त्रिचालिसऔं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो । कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । दिवसका अवसरमा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । रासस
नेपाली काँग्रेसले संविधान बचायो, राजनीतिलाई ठिक ठाउँमा पुर्यायो : उद्योगमन्त्री बडू
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् । मंगलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले तत्कालित सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए । मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको काँग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको बताउँदै उनले काँग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने जिकिर गरे । ‘खतराबाट बाँचेका छौं हामी । यो संविधान बाँचेको छ । यसलाई अझ बचाउनु पर्छ । त्यसकारण बन्यो गठबन्धन । त्यसकारण यो बन्नुपर्ने भइराखेको छ । हामी त प्रतिपक्षमा छँदै थियौँ । हामीले हो र भत्काएको यो ? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्यो है कहाँ छ काँग्रेस ? भनेर खोज्नु परेन ? फेरि लिड गर्यो । र हामी बचाउँदै छौँ । हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद, प्रादेशिक संसद तयार हुँदैछ । यो संविधान बाँच्छ । यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ ।’ उनले भने । उनले नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्याएको बताए । नेपाली काँग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको भनाई छ ।
पोखरामा सम्पन्न भयो एनओजी राइड
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत असोज ८ गते शनिबार पोखराबाट निर्मलपोखरी स्थित एलिट रिसोर्टसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै, सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राविधक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
विदेशिन बाध्य नेपालीलाई नेपालमै राम्रो आयसहितको रोजगारी दिलाऔं : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन आग्रह गरेका छन् । मंगलबार विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यक्रममा अध्यक्ष अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताए । विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । नेपाल उद्योग परिसंघको उपाध्यक्ष समेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए । नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उनले बताए । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरे । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइनेछ । कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संस्था, नेपालस्थित राजदूत एवं विकास साझेदार प्रतिनिधिहरु, उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।