शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै
काठमाडौं । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो । शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ । संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा हालसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ । विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल सावित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो बरियतामा छ । विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनामा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेवनानमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ । विश्वका कयौँ द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ । संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ । सेनाका सकल दर्जाले प्राप्त जिम्मेवारीलाई उच्च मनोबलकासाथ कार्यसम्पादन गरेकै कारण राष्ट्रसघबाट पटक–पटक पुरस्कार, कदरपत्र र सम्मानसमेत प्राप्त भएको छ । द्वन्द्वग्रस्त मुलुकमा खटिएका सेनाका बीचमा नेपाली सेना स्थानीयवासीको रोजाइमा पहिलो नम्बरमा पर्दै आएको छ । नेपालको शान्ति र असंलग्नता नीतिप्रतिको प्रतिबद्धता, नेपाली सेनाको अनुशासन र कर्तव्य परायणका कारण संयुक्त राष्ट्रसङ्घ र स्थानीयको रोजाइमा पर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए । नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो । द्वन्दका कारण शान्ति सुरक्षा र आर्थिक अभावमा छटपटाइरहेका स्थानीयवासीलाई मानवीय सहायता प्रदान गर्दै उनीहरूलाई विश्वासमा लिएर शान्ति कायम गर्ने अभियानमा नेपाली सेना अभूतपूर्व सफलता हासिल गर्दै आएको छ । हाल नेपाली शान्ति सेना सिरिया, पश्चिम सहारा, माली, कङ्गो, सेन्ट्रल अफ्रिका, लेबनान, इराक, इजरायल, यमन, सुडान, दक्षिण सुडान र लिवियास्थित शान्ति मिसनमा तैनाथ छ । पछिल्ला वर्षमा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सेनाको फोर्स कमाण्डको जिम्मेवारीसमेत नेपाली सेनालाई लगातार उपलब्ध हुँदै आएको छ । यसअघि सात जनाले उक्त जिम्मेवारी सफलताकासाथ पूरा गरिसकेका छन् । संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारले आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जाहेर गरिसकेको छ । शान्ति सेनामा खटिएवापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ । हाल उक्त कोषमा रहेको यथार्थ सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाखको मुख्य स्रोत भनेकोे शान्ति मिसन नै हो । उक्त कोष शान्ति सेनामा सहभागी भएवापत संयुक्त राष्ट्रसङ्घबाट प्राप्त एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना गरिएको थियो । कोषको रकमको ब्याजबाट सेनाले आफ्ना १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत र सीप एवं स्वरोजगारका लागि सहयोग प्रदान गर्दै आएको छ । शान्ति सेनामा नेपालको प्रभावकारी उपस्थितिकै कारण काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शान्ति सेना खटाउने मुलुकका सेनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका तालिमसमेत सञ्चालन हुँदै आएको छ । शान्ति कार्यमा लामो अनुभव हासिल गरेको सेनाले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ हुँदा अपनाउनुपर्ने सुरक्षा सजगता र कार्यसम्पादनबारे अरु राष्ट्रका सेनालाई तालिम प्रशिक्षण दिनसमेत सक्षम रहेको दाबी गर्दै आएको छ । हाल शान्ति मिसनमा सशस्त्र प्रहरी बलका एक सय ९५ र नेपाल प्रहरीका ३० जनासमेत कार्यरत रहेको जानकारी दिइएको छ । शान्ति मिसनमा महिला सैनिकको सङ्ख्या वृद्धि गर्ने कार्यमा पनि गृहकार्य भइरहेको छ । सेनाले मिसन इलाकामा वातावरणीय प्रभाव न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय कार्यक्रममार्फत नवीकरणीय ऊर्जाको प्रयोग गर्न तथा शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । रासस
सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा १ ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो । आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिए । मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् । बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेको गाडी दुर्घटनामा परेको हो । जिपमा आठ पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सल्यान अस्पताल लगिएको छ । दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस
असोज १५ गतेदेखि लुम्बिनीमा निःशुल्क विद्युतीय गाडी सञ्चालन हुने
भैरहवा । लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो । मंगलबार मात्र गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा राखिएका बस सञ्चालन गर्न निर्देशन दिएका थिए । पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई उनले बुधबार बिहान साढे ९ बजे सर्वपक्षीय बैठक बोलाई ११ बजेभित्र बस सञ्चालनसम्बन्धी निर्णय लिन कडा निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनपछि लुम्बिनी विकास कोष पनि सक्रिय भएको छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले प्रेस विज्ञप्ति जारी गर्दै असोज १५ गतेदेखि ५ दिनसम्म अफिसियल परीक्षण हुने गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दसैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीको मेशिनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ । बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरिएको छ । कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाएको थियो । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोषले दशैंमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो । घटस्थापनाको समय गुज्रेपछि आलोचना बढ्नु स्वाभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई पत्रद्वारा हस्तान्तरण गरे पनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ । ‘हामीले एक महिनाअघि देखि प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनका लागि निवेदन पेश गरेका थियौँ । पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ’, कोषाध्यक्ष भट्टराईले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएकाे छ, ‘यातायात कार्यालयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस सञ्चालन गरिनेछ ।’ बस तथा भ्यानको तेस्रो पक्षको बीमा गरेपछि अफिसियल परीक्षण र परीक्षण सञ्चालन गरिने कोषले जनाएको छ । प्रधानमन्त्री कार्यालय, गृहमन्त्री खाण र प्रदेश पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीको चासोलाई कोषले सकारात्मकरूपमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । एसियाली विकास बैंक ९एडिबी० को सहयोगमा लुम्बिनीमा आउने पर्यटकको सुविधाका लागि कोषलाई १४ विद्युतीय भ्यान र पाँच विद्युतीय बस प्राप्त भएको थियो । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड भन्सार शुल्क बेहोरेको छ । लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन् । अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छ । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन् । एक पटक फूल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ । रासस
विराटनगरको कञ्चनबारीमा साथीमार्टको ११३ औं आउटलेट
काठमाडौं । साथीमार्टको नयाँ आउटलेट विराटनगरको कञ्चनबारीमा खुलेको छ । कुल एक हजार स्क्वायरफिटमा फैलिएको उक्त आउटलेट बलराम केसीले सञ्चालनमा ल्याएका हुन् । आउटलेट सञ्चालनमा ल्याउनुको मुल उद्देश्य स्मार्ट सपिङ कल्चरलाई व्यवस्थित तरिकाबाट परिचालन गर्नु नै रहेको बलरामले बताए । आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध रहेको उनले जानकारी दिए । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको साथीमार्टले जनाएको छ । साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझै व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।
मनाङ भित्रिन थाले पर्यटक
मनाङ । करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहलिो सातासम्म कुल तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए । सो अवधिमा सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रिएका छन् । अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेको उनले बताए । चालु आर्थिक वर्षको असोज पहिलो सातासम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनीका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका एक सय २२, अमेरिकाका एक सय आठ र अन्य देशका आठ सय ७३ पर्यटक मनाङ घुम्न आएका छन् । गत आवमा सो अवधिमा कुल सात हजार २० बाह्य पर्यटक मनाङ आएका थिए । पर्यटकलाई स्वागत यसैबीच मनाङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ र आयोजनाको अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट धारापानीले ४३औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार इलाका संरक्षण कार्यालयमा पर्यटकलाई स्वागत गरिएको हो । पर्यटकलाई मनाङका आमा समूहले सांस्कृतिक परम्परा तथा परम्परागत पहिरन लगाएर खादासहित स्वागत गरेका थिए । ‘पर्यटनमा पुनर्विचार’ नाराका साथ मनाइएको सो दिवसमा धारापानीमा ४१ (पुरुष २४ र महिला १७) बाह्य पर्यटक, नेपाली पथप्रर्दशक तथा भरिया नौ र मनाङ चेकपोष्टमा कुल ४० (पुरुष २२ र महिला १८) बाह्य पर्यटक र नेपाली पथप्रर्दशक तथा भरिया आठ जनालाई स्वागत गरिएको मनाङ आमा समूहकी अध्यक्ष सीता गुरुङले जानकारी दिए । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्ष, संरक्षण क्षेत्र व्यवस्थापन समिति टङ्की–मनाङका अध्यक्ष सगर गुरुङ, पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष कर्मा गुरुङ र मनाङ ङिस्याङ युवा क्लबले पर्यटकलाई स्वागत गरेको हो । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र एउटा प्रसिद्ध पर्यटकीय क्षेत्र एवं पदमार्ग हो । यहाँ घुम्नका लागि उपयुक्त धेरै ठाउँ छन् । यस क्षेत्रअन्तर्गत घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, दामोदर कुण्ड क्षेत्र, लोमान्थाङ, मर्दी हिमाल, धम्पुस, मनाङ, तिलीचो ताल, नार, फुलगायत स्थान पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको पर्यटकीय क्षेत्रका रूपमा ताल, धारापानी, चामे, लमजुङ हिमाल, बेस क्याम्प, माथिल्लो मनाङ, नार, फु, तिलीचो ताल, आइसलेक, मिलेरेपा गुम्बा, पोचो गुम्बा, मनाङ गाउँलगायत रहेका छन् । रासस
नबिल बैंकका ग्राहकलाई भारतको म्याक्स हेल्थमा १२ प्रतिशत छुट
काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकहरुले ओपीडी र आइपीडी सेवा लिँदा यो सुविधा पाउने छन् । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । उनले छुटलाई वृद्धि गर्न प्रयास गर्ने पनि जानकारी दिए । कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मृगौला, लिभर, बोन म्यारोको प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे । अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेमा उनले सधैँ तत्पर रहने जनाए ।
म्याग्दीमा ३५ करोड लगानीमा ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालन
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब ३५ करोड लगानीमा सो होटल सञ्चालनमा ल्याउनुभएको हो । करिब आठ रोपनी क्षेत्रफलमा तीन वर्ष लगाएर छ तलाको भवन निर्माण गरिएको हो । घटस्थापनादेखि औपचारिकरूपमा होटल सञ्चालनमा आएको सो होटलमा ५७ कोठा छन् । होटलमा एकैपटक झण्डै दुई सय जनालाई राख्न सकिने सञ्चालक हमाल बताउँछन् । ‘आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएका हौँ,’ उनले भने । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । लगानी, पूर्वाधार र क्षमताको हिसाबले उक्त होटल धवलागिरि क्षेत्रकै ठूलो भएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए । ‘म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि स्तरीय होटल आवश्यक छ,’ उनले भने । सो होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारका साना–ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सकिनेछ ।