आँखुखोला जलविद्युत कम्पनीले एक वर्षमा कमायो २२ करोड बढी
काठमाडौं । आँखु खोला जलविद्युत कम्पनीले एक वर्षमा २२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०२२ मा सो आम्दानी गरेको हो । २०२० मा कम्पनीले १९ करोड ४० लाख आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी १४.९४ प्रतिशतले बढी हो । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र रहेको यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा रहेको छ । कम्पनीले आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ । आयोजनाको कूल लागत २४२.७३ करोड रहेको थियो । जसको प्रतिमेगावाट लागत २८.८९ करोड रहेको छ । कम्पनी दोस्रो बजारमा पनि सूचिकृत छ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीले जलविद्युत उत्पादन गरि थोक तथा खुद्रा बिक्री गर्ने तथा विद्युत प्सारण लाइन, वितरण, सव स्टेशन निमार्ण तथा सञ्चालन गर्ने, विद्युत उत्पादनका लागि आवश्यक सामाग्रीको आयात निर्यात गर्नेसम्मको उदेश्य राखेको छ । कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ कर्जा लिनका लागि रेटिङ गराएको छ । कम्पनीले ए ४ को रेटिङ पाएको छ । कम्पनीको अध्यक्ष राम श्रेष्ठ हुन् भने उत्सब बराल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
भाटभटेनीमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट
काठमाडौं । दशैं लक्षित गर्दै स्मार्ट क्युआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा छुट अफर सार्वजनिक गरेको छ । यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्युआरमा आवद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् । दशैंमा हुने किनमेल कारोबारमा स्मार्ट क्युआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार
ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन् । दशैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बागलुङ बजार आइपुगेका हुन् । बागलुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० भेडा बाँकी थिए । साठी भेडा १५ गतेभित्र बेची सकेर गाउँ फर्कने विचारमा छन् दुवै जना । करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दशैँका लागि सामान किनमेल गरेर जाने सुरमा छन् । नन्दबहादुर भन्छन्, ‘आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा विक्री भइसके । अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दशैँका लागि खर्चपर्च लिएर जाने हो, अब तीन–चार दिनमा सबै बेचीसक्नुपर्छ ।’ नन्दबहादुरले एक हजार दुई सय भेडापालन गरेकामा अब गोठमा आठ सय भेडा बाँकी रहेको बताए । ती भेडालाई गोठालो खोजेर हेरचार गर्न छाडेर आफूहरू बजार झरेको उनको भनाइ छ । उनले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्की सक्ने बताउँछन् । ‘मैले एक हजार दुई सय भेडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको अब गोठमा अझै आठ सय छन्, गाउँको एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठा हुर्की सक्छन्, भेडापालन गर्न निकै दुःख छ, बजारतिर आउँदा कमाइ पनि राम्रै हुन्छ’, नन्दबहादुरले भने । नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेडालाई सहजरूपमा बागलुङ बजारसम्म ल्याउन सकेको बताए । यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उनको भनाइ छ । बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नुपरेको उनले सुनाए । ‘यस वर्ष त बाटोमा भेडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लोपटक आउँदा तीन भेडा गर्मीले बाटामै मरेका थिए, केही बिरामी भए, अहिले बाटो राम्रो बनेको रहेछ, अलिकति पानीले समस्या बनायो । सजिलैसँग आइयो बागलुङ बजार’, उनले भने । नन्दबहादुरका भतिज तीर्थबहादुरले यस वर्ष भेडाको मूल्य बढेको बताए । आफूहरूले ल्याएको बथानमा न्यूनतम २० हजार रुपैयाँ देखि अधिकतम ३५ हजार रुपैयाँ सम्मका भेडा रहेको उनको भनाइ छ । तीर्थबहादुरले हालसम्म तीन सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताए । आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको तीर्थबहादुरको भनाइ छ । ‘अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरु सामानको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो, हामीले यही भेडा बेचेर जीविका चलाउने हो’, तीर्थबहादुरले भने, ‘ग्राहकले खासै गुनासो गरेका छैनन्, व्यापार राम्रै भइराखेको छ ।’ तीर्थबहादुरले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई खुसी पारेको बताए । दशैँको खर्च व्यवस्थापनका लागि आफूहरू भेडा बेच्न यति टाढा आएको उहाँको भनाइ छ । तीर्थबहादुर भेडा बेचिसकेर दशैँ मनाउन गाउँ जाने बताउँछन् । ‘भेडा त अरु बेला पनि बेच्न बजारतिर झर्ने गर्छौँ, यो बेला चाडपर्व पनि आयो, यसो परिवारलाई मीठो–मसिनो खुवाउनुप¥यो, एक सरो राम्रो कपडा किनिदिनुप¥यो’, उनले भने, ‘अरु खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नुपर्ला, कपडा यही अलि सस्तोमा पाइएला यतैबाट लगेर जानु पर्ला ।’ बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा ल्याउने गरिएको छ । मुस्ताङबाट ल्याइने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सिमानादेखि ल्याएका भेडाको मूल्य केही कम भएको पाइएको छ । बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको तुलनामा रोल्पाबाट ल्याइएका भेडाको मूल्य कम भएको बताए । उनले भेडा व्यापारीले मनपरी मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो गरे । थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गरे । ‘मुस्ताङबाट ल्याइएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट ल्याइएको भेडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन्’, उनले भने । रासस
राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो । दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसका रुपमा नगद वा जिन्सी नदिन, सार्वजनिक भोजभतेरको आयोजना नगर्न आयोगले निर्देशन दिएको छ । रासस
पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न क्यान्सर रोगीको निःशुल्क उपचार गर्ने
बनियानी । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन शाहीले अर्थाभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताए । ‘विपन्न नागरिकले उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ’, उनले भने, ‘जो उपचारको पहुँचभन्दा टाढा छन्, उनीहरूको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो ।’ अस्पतालका डा निराजन प्रसाईँले फाउण्डेशनमार्फत सिफारिस भएर आउने बिरामीको ७० लाख रुपैयाँ सम्म निःशुल्क उपचार गरिने जानकारी दिए । क्यान्सर रोगविरुद्ध लामो समयदेखि आफूहरूले काम गर्दै आएको र सामाजिक उत्तरदायित्वअन्तर्गत अनुप्रस्था फाण्डेशनसँग निःशुल्क उपचारको सम्झौता गरिएको उनले बताए । आफ्नै ब्याण्ड रहेको अनुप्रस्थाले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा साङ्गीतिक प्रदर्शनीका क्रममा अस्पतालको प्रचार–प्रसार गर्ने र अस्पतालले एक वर्षमा अनुप्रस्थामार्फत सिफारिस भएर आएका विपन्न क्यान्सर रोगीको निःशुल्क उचपार गर्ने सम्झौतापत्रमा उल्लेख भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । अस्पतालले हालसम्म एक हजार तीन सय नौ क्यान्सर रोगीको पहिचान गरी उपचार सहुलियतका लागि सिफारिससमेत गरेको उनले बताए ।
एनसीसी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपको २० वटा होटल तथा रेस्टुरेन्टमा छुट
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत देशका विभिन्न स्थानमा होटल एवम् रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरु रहेका छन् । सिद्धार्थ होटल न्यु आनन्द महेन्द्रनगर, सिद्धार्थ होटल टिकापुर कैलाली, सिद्धार्थ होटल नेपालगंज, सिद्धार्थ कटेज एण्ड होटल बुटवल, सिद्धार्थ होटल वाटर टावर नुवाकोट, सिद्धार्थ होटल ग्राण्ड सिटी विर्तामोड, सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौं, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ रिसोर्ट चिसापानी कैलाली, सिद्धार्थ लुम्बीनी ग्रिन रिसोर्ट चन्द्रौटा, सिद्धार्थ इन्टरनेशनल होटल भैरहवा, सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङ्टार चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट नेपालगंज, सिद्धार्थ कटेज रेस्टुरेन्ट धोविघाट ललितपुर, सिद्धार्थ कटेज रेस्टुरेन्ट बुटवल, सिद्धार्थ कटेज रेस्टुरेन्ट पुरानो वानेश्वर, सिद्धार्थ कटेज रेस्टुरेन्ट तिनकुने काठमाडौँ , एस क्याफे कोहलपुर, एस क्याफे नेपालगंज र एस क्याफे सुविधानगर तिनकुने गरी देशभर रहेका २० वटा स्थानबाट तोकिएको छुट सुविधा प्राप्त गर्न सकिने भएको छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै
लमजुङ । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो । यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।’ विगतमा मासिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेकाले उनले यतिबेला आम्दानी मनग्य हुन थालेको सुनाए । अहिले उनले दैनिक १० देखि २० हजार रुपैयाँ सम्म आम्दानी गर्न थालेका छन् । त्यस्तै लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढ्दा खुसीयाली छाएको भएको पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताए । पर्यटन व्यवसायबाटै परिवारको गुजारा चलाउँदै आएको र पर्यटक नआउँदा चिन्ता र आउँदा खुसी हुने उनको भनाइ छ । उनीहरू मात्र नभई खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङ्ग गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय फस्टाउँदै गएका छन् । पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ । पर्यटकीय याम गत भदौबाटै सुरु भए पनि विगतका जसरी पर्यटक नआएको र आउने अपेक्षामा रहेको उनीहरूको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । सबैभन्दा बढी इजरायली पर्यटक आउने गरेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यस पदमार्गमा सन् २०२२ को हालसम्म सात हजार दुई सय १३ विदेशी पर्यटकको आगमन भएको छ । तीमध्ये महिला चार हजार आठ सय ३४ र पुरुष दुई हजार तीन सय ७९ छन् । सन् २०२२ को हालसम्म आएकामध्ये सबैभन्दा बढी इजरायली पर्यटक एक हजार १७, फ्रान्सका सात सय ७१, जर्मनीका सात सय छ, बेलायतका पाँच सय ७८ छन् । हालसम्म ९६ देशका नागरिक यस वर्ष यहाँ आएका छन् । त्यस्तै सन् २०२१ मा यस पदमार्गमा दुई हजार तीन सय ७३ मात्र विदेशी पर्यटक आएका थिए । सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । त्यस्तै केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक आएका केन्द्रले जनाएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । यतिबेला मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेषगरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्घार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । विदेशी पर्यटककै हाराहारीमा यतिबेला आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटक विषेशगरी मनाङका विभिन्न स्थानमा पुगेर फर्किने गर्दछन् । त्यहाँ जाने अधिकांश आन्तरिक पर्यटक युवायुवती छन् ।
ठूला बैंकले समान हैसियत दिँदा सानालाई मालामाल, कसले बसाल्यो ट्रेण्ड ?
काठमाडौं । स्वाप रेसियो नमिलेको भन्दै लामो समयसम्म मर्जरको प्रक्रियामा रहेका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले अन्तिम समयमा आएर मर्जर भाँडे । हिमालयन बैंकको साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकलाई बराबरीको हैसियतमा मर्जर गर्न नसकिने भन्दै अन्तिम आवरमा आएर मर्जर भाडयो । मर्जर प्रक्रिया भाँडिएपछि यी दुवै बैंकहरुलाई अर्काे कुनै बैंकलाई मर्जरका लागि पाटर्नर खोज्नु पर्ने दबाब सिर्जना भयो । चाँडै मर्जर प्रक्रिया अगाडि नबढाए राष्ट्र बैंकको कारवाहीमा पर्ने डरले दुवै बैंक मर्जरका लागि पाटर्नर खोज्नतर्फ लागे । त्यसलगत्तै नबिल बैंकले नेपाल बंगलादेश(एनबी)लाई १००ः ४३ को स्वाप रेसियोमा प्राप्ति गर्यो । यसलाई पनि नबिल बैंकका सेयरधनीले एनबीलाई बढी नै स्वाप रेसियो दिएको गाइँगुईं बैंकिङ बजारमा नसुनिएको होइन । यही बिचमा अर्थात् गत जेठ अन्तिम साता नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरको सम्झौता गर्याे । नेपाल इन्भेष्टमेन्ट र मेगाबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भयो । यो मर्जर सम्झौताले पनि बैंकिङ क्षेत्रमा एक किसिमको बहस सिर्जना गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएपछि मेगाले धेरै मूल्य पाएको सन्देश बैंकिङ बजारमा प्रवाह भयो । त्यसपछि मर्जरको सम्झौता भयो ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच । पुँजीका हिसाबले नेपालको नम्बर वान बैंकका रुपमा चिनिएको ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूसँग १ः१ को अनुपातमा मर्जरको प्रारम्भिक सम्झौता गरेपछि एक किसिमको तरंग नै मच्चियो । प्रारम्भिक सम्झौतामा ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई समान हैसियत दियो । पूँजी ठूलो बनाउनका लागि भएपनि ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूसँग १ः१ को स्वाप रेसियोमा प्रारम्भिक समझदारी गरेको हुन सक्ने धेरैको बुझाइ छ । ग्लोबलले बैंक अफ काठमाण्डूलाई समान हैसियत दिएपछि अन्य साना बैंकले पनि एक किसिमको आड पाए । र, मर्जरका लागि आउने ठूला बैंकसँग समान तथा सम्मानित हैसियत खोज्न थाले । आफूसँग मर्जर प्रक्रिया रद्द भएको नेपाल इन्भेष्टमेन्ट बैंकले अर्काे पार्टनर खोजेको र ग्लोबलले समान हैसियतमा बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता गरेपछि हिमालयन बैंकलाई ठूलो दबाब सिर्जना भयो । अन्ततः गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८१ को स्वाप रेसियोमा गाभ्ने प्रारम्भिक सम्झौता गर्याे । त्यसअघि सिभिल बैंकले आफूले मागे अनुसार स्वाप रेसियो हिमालयनले दिन नमानेपछि मर्जर सम्झौता कार्यक्रम रद्द नै गरेको थियो । यस्तै, गत साउन १५ गते प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच पनि १ः१ को अनुपातमा नै मर्जर सम्झौता भयो । हाललाई दुबै बैंकबीच १ः१ अनुपातको स्वाप रेसियोमा मर्ज हुने प्रारम्भिक सम्झौता भए पनि डिडिए रिपोर्ट अनुसार नै अघि बढ्ने सहमति भएको छ । प्रभुले पनि सेञ्चुरीलाई समान हैसियत दिएपछि त झन साना बैंकले ठूलासँग महत्वाकांक्षी अपेक्षा राखेको र ठूला बैंकहरु पनि दबाबमा रहेर समान हैसियत दिन बाध्य भएको बुझ्न सकिन्छ । सोमबार मात्रै कुमारी बैंक र एनसीसी बैंकबीच भएको मर्जरले पनि बैंकिङ क्षेत्रमा यही सन्देश प्रवाह भएको छ । नाफा लगायत सूचकमा अगाडि रहेको एनसीसी बैंकले कुमारी बैंकसँग १ः१ को स्वाप रेसियोमा मर्जर गरेर नाम पनि कुमारी नै राख्ने सहमति भएको छ भने नयाँ बन्ने बैंकको सीईओ भने एनसीसीका रमेश अर्याल हुनेछन् । ठूला बैंकहरुले साना बैंकहरुलाई समान हैसियतमा मर्जर सम्झौता गर्न थालेपछि बैंकिङ क्षेत्रमा एक किसिमको संसय सिर्जना भएको छ । अहिले धेरैले साना बैंकलाई समान हैसियतको स्वाप रेसियो दिने थालनी ग्लोबल आइएमई बैंकले गरेको धारणा राख्न थालेका छन् । तर, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव महाप्रबन्धक महेश शर्मा ढकाल भने ग्लोबल आइएमई बैंक र बिओके बैंकबीचको स्वाप रेसियो ठिकै भएको बताउँछन् । मर्जरका लागि सहज वातावरण सिर्जना गर्न समान हैसियत दिनु परेको उनको भनाइ छ । ठूला बैंकले साना बैंकलाई बराबर हैसियत दिँदा अन्य साना बैंकले पनि ठूलो भाग खोज्ने गरेको उनको भनाइ छ । ‘मर्जर सहज बनाउन दुवै संस्थाबीचको बुझाइलाई सकारात्मक गर्न लचकता अपनाइएको हो, समान हैसियत दिँदा साना बैंकले पनि ठूलो भाग खोज्ने गरेका छन्, साना बैंकमा यस्तो देखिएपनि १० प्रतिशतभन्दा माथि हुँदैन, भविष्यमा मर्जरबाट हुने फाइदाका लागि पनि लचकता अपनाउँछन्,’ उनले भने, ‘ग्लोबल आइएमई बैंक र बिओकेबीचको स्वाप रेसियो ठिकै हो, भ्यालुसेनमा १० प्रतिशतभन्दा बढी फरक पर्दैन भनेको छ, फरक पर्ने अवस्था पनि छैन, डिडिए रिपोर्ट आउन बाँकी रहेको छ, आएपछि मात्रै थाहा हुन्छ, तैपनि १० प्रतिशतभन्दा बढी फरक आउने देखिन्न ।’ राष्ट्र बैंकले डिडिए रिपोर्टमा १० प्रतिशत भन्दा बढी स्वाप रेसियो फरक देखायो भने समान हैसियतमा मर्ज गर्न दिँदैन । एउटा बैंकको ९१ र अर्काे बैंकको १०० आयो भने बराबर रेसियोमा मर्ज गर्न सकिन्छ । यदि १० प्रतिशत भन्दा बढीले फरक पर्याे भने फरक गरेर नै जाने उनले बताए । यस्तै, मेगा बैंककी कायमुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) रविना देशराज श्रेष्ठले वाणिज्य बैंकहरुको मर्जर बिग मर्जरका रुपमा लिएको हुँदा स्वाप रेसियो समान भएको हुन सक्ने बताइन् । बैंकहरुको मर्जरमा स्वाप रेसियो डिडिएले निर्धारण गर्ने भएकोले कतिमा मर्ज हुने भनेर डिडिएमै निर्भर हुने उनको धारणा छ । ‘वाणिज्य बैंकहरुको मर्जर बिग मर्जर हो, बिग मर्जर भएका सबै बैंकहरु आफैमा सक्षम बैंकहरु हुन्, स्वाप रेसियो डिडिएले निर्धारण गर्ने भएकाले कुन बैंकलाई कतिमा मर्जर गर्ने भनेर डिडिएमा निर्भर हुन्छ, समान वर्गका बैंकबीच मर्ज हुने भएकाले डिडिए रिपोर्टसमान आएको हुन सक्छ,’ उनले भनिन् । यसरी कुनै ठूला बैंकले साना बैंकलाई समान हैसियतमा मर्जर सम्झौता गर्दा अन्य साना बैंकले पनि मर्जरमा बार्गेेनिङ गर्ने गरेको बैंकर्सहरु बताउँछन् । पूँजी वृद्धि गराएर आफूलाई एक नम्बर बनाउन स्वाप रेसियो समान दिएपनि अन्य बैंकलाई भने ठूलो दबाव पर्ने गरेको उनीहरुको धारणा छ । सिद्धार्थ बैंकका पूर्व सीईओ सम्भुनाथ गौतम तत्कालका लागि सहजता कायम गर्न समान हैसियतमा सम्झौता गरे पनि डिडिए रिपोर्टमा फरक आएमा कम मूल्य भएका बैंकले नमान्दा मर्जर टुट्ने गरेको बताउँछन् । समान किसिमका बैंकहरुमा १ः१ अनुपातमा मर्जर सम्झौता गरेको उनको बुझाइ छ । ‘प्रारम्भिक सम्झौतामा १ः१ मा मर्ज गर्ने भनेपनि डिडिए रिपोर्टमा १० प्रतिशत बढीको फरक आयो भने सोही फरक अनुसार मर्ज गर्नुपर्ने हुन्छ, डिडिएमा १० प्रतिशतभन्दा कम आयो समान स्वाप रेसियो कायम गर्न सकिन्छ, समान किसिमका बैंकहरुमा १ः१ मा सम्झौता हुन्छ, कुमारी बैंक र एनसीसी बैंक समान किसिमका बैंक हुन्,’ उनले भने, ‘समान हैसियत नभएका नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई कम स्वाप रेसियोमा गाभेको हो, समान रेसियो हुनु स्वभाविक हो तर अन्य बैंकहरुमा डिडिए गर्दा फरक आयो भने फरक हुन्छ, यसरी फरक आउने भएकाले फरक नमान्दा मर्जर तोडिएका छन्, डिडिए रिपोर्टमा कुराहरु फरक पर्छन, मूल्य कम हनु गएमा जुन बैंकको कम हुने हो त्यो बैंकले नमानेपछि मर्जर टुट्छ, यसको उदाहरण हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक हुने ।’ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जिवी नेपाल समान हैसियतका लागि बैंकका सञ्चालकबीच मन मिल्नु पर्ने बताउँछन् । बैंकहरुका सञ्चालकबीचमा कुरा मिल्यो भने समान हैसियतमा मर्जर गर्न सकिने उनको धारणा छ । बैंकहरुमा एक नम्बर बैंक बन्ने होड चलेका कारण पनि स्वाप रेसियो समान गरेको उनले बताए । ‘बैंकहरुमा स्वाप रेसियोको विषयमा आ–आफ्नो बुझाइ पनि हन्छ, बैंकहरुबीच कुरा मिल्यो समान हैसियतमा मर्ज हुन सक्छन्, सञ्चालकहरुले गर्छन् भने कुरा नै सिद्दियो, केन्द्रिय बैंकले डिडिए रिपोर्ट हेर्ने हो,’ उनले भने, ‘राष्ट्र बैंकको चाहना बैंकहरु मर्ज होस् भन्ने छ, मेरै पालामा १२/१५ बैंक हुनु पर्छ भनेको थिएँ, अहिले पनि राष्ट्र बैंकले १५ वटा बैंक भए हुन्छ भनेको छ, बैंकहरुमा आफूलाई एक नम्बर बनाउन प्रतिस्पर्धा छ ।’