दशैं आयो : सडकमा नयाँ नोटको व्यापार (फोटोफिचर)
काठमाडौं । विजया दशमी अर्थात् दशैंको मुख्य दिन आउन अब ७ दिन मात्रै बाँकी छ । मानिसहरु दशैंका लागि नयाँ–नयाँ लुगा तथा अन्य सामान खरिद गर्न व्यस्त छन् । साथै दशैंका लागि नयाँ नोट साट्नेहरुको पनि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भीड छ । अहिले बैंक तथा वित्ती संस्थाहरुमा मात्रै भीड नभएर सडकमा पनि नयाँ नोट साट्नेहरुको पनि संख्या ठूलै छ । काठमाडौंको रत्नर्पाक, असन, बसन्तपुर, नयाँ बसपार्क लगायत क्षेत्रमा नयाँ नोट दिएर पुराना नोट फिर्ता लिदे व्यापारीहरुको संख्या पनि ठूलो छ । उनीहरुले नयाँ नोट साट्नका लागि केही निश्चित रकम कमिसनका रुपमा लिएर नयाँ नोट साटिरहेका छन् । उनीहरुले नयाँ नोट साटेवाफत ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेका छन् । नेपाल राष्ट्र बैंकहरुबाट एक पटकमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ ।
लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएको छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएकाे छ । यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानामा
काठमाडौं । एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा सरेको छ । पहिला बिर्तामोड नगरपालिका वडा नं। ५ शनिश्चरे रोडमा रहेको शाखा उक्त स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै सरेको हो । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा करिब १२ लाख ग्राहकहरु रहेका छन् । बैंकले देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे रु एक सय जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ । कामपाका प्रमुख बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगरप्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने बताए । सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ –नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिवना गर्ने बताइएको छ । कामपा नगरसभाको ११ औँ अधिवेशनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ । रासस
प्राधिकरणले महानगरलाई १९ करोड कर तिर्नु पर्ने, २१ संस्थाबाट साढे ४ करोड संकलन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरलाई १९ करोड रुपैयाँ कर बुझाउनु पर्ने भएको । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कर तिर्नका लागि प्राधिकरणलाई निरन्तर दबाब दिँदै आएका छन् । महानगरलाई १९ करोड २६ लाख रुपैयाँ सम्पत्ति कर बुझाउनु पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न व्यापार व्यवसाय तथा संस्थाहरुबाट कुल ४ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । काठमाडौं महानगरपालिकाका राजश्व प्रमुख शिवराज अधिकारीका अनुसार महानगरले सम्पत्ति कर, घरवहाल कर, मनोरञ्जन कर र व्यवसाय अन्तर्गत विभिन्न २१ वटा व्यवसायिक संस्था तथा सार्वजनिक संस्थाहरुबाट राजश्व संकलन गरेको छ भने अझै धेरै संस्थालाई कर तिर्नका लागि पत्राचार गरेको छ । महानगरपालिकाले घरबहाल कर अन्तर्गत ८० लाख ३६ हजार, मनोरञ्जन कर अन्तर्गत ८६ लाख ४५ हजार, व्यवसाय कर १९ लाख र सम्पत्ति कर अन्तर्गत २ करोड ५१ लाख २७ हजार रुपैयाँ राजश्व असुलेको अधिकारीले बताए । [pdf id=355340]
केएस डिजिटल विकका दुई विजेताले पाए स्मार्टफोन
काठमाडौं । कामना सेवा विकास बैंकले संचालन गरेको केएस डिजिटल विकको विजेता घोषणा गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्धन गर्ने उद्देश्यका साथ भदौ १९ गतेदेखि २४ गतेसम्म केएस डिजिटल विक संचालनमा ल्याएको थियो । विभिन्न अफर मध्ये एफवानसफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस मोबाइल एप मार्फत कुनैपनि तीन वटा फरक कारोबार गरेका दुई जनालाई स्मार्टफोनको व्यवस्था गरेको थियो । लक्की ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका पर्फेक्ट सलुसन सेन्टरले उक्त स्मार्टफोन जितेको छ । उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखले उनीहरुलाई स्मार्टफोन हस्तान्तरण गरेका थिए ।
दलदले–कुमसोत सडक दुई लेनमा विस्तार गरिँदै
त्रिवेणी । नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रूपमा लिइने यस खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । पहाडी क्षेत्रको बुलिङटार, बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही क्षेत्रका बासिन्दा सदरमुकाम आउने मुख्य बाटोका रूपमा रहेको दलदले–कुमसोत सडकखण्डलाई फराकिलो बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बर्ताए । नवलपुरसहित पाल्पा र तनहुँका कालीगण्डकी नदी आसपासका क्षेत्रका लागि समेत यही बाटो हुँदै यातायात सञ्चालन हुने गर्दछन् । पहाडी क्षेत्रबाट आवतजावत गर्ने मुख्य बाटो भए पनि साँघुरो हुँदा समस्या पर्दै आएकाले यसको विस्तारको काम हुनलागेको नगरप्रमुख न्यौपानेले बर्ताए । ‘यो पहाडी क्षेत्रको आवतजावत गर्ने मुख्य बाटो हो, तर साँघुरो हुँदा सवारी सञ्चालनमा कठिनाइ छ’ नगरप्रमुख न्यौपानेले भने, ‘कम्तीमा दुई लेनको बनाएपछि यातायात सञ्चालनमा सहजता हुने छ ।’ पहाडी क्षेत्र मुख्य प्रवेशद्वारसँगै पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको देवचुलीको कुमसोतका कारण यस खण्डमा सवारी चाप बढ्दै गएको छ । बाटो दुई लेनमा विस्तारले दुर्घटना न्यूनीकरणका लागि समेत सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए । दलदले–मुण्डे हुँदै कुमसोतसम्मको करिब १० किलोमिटर सडकखण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत करिब १० किलोमिटर सडकखण्ड विस्तारको काम अघि बढाउन लागिएको हो । बाटो विस्तारका क्रम सुरु गर्न लागिएकाले बाटोको अधिकार क्षेत्रभित्रका संरचना हटाउन नगरपालिकाले सूचनासमेत जारी गरेको छ । जिल्लास्तरीय सडकका रूपमा रहेको यस खण्ड विस्तारको काम अघि बढाउन लागिएकाले बाटो अधिकार क्षेत्रका संरचना हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आग्रह गरेको छ । सडक विस्तारका लागि बोलपत्र प्रक्रियामा गएकाले चाँडै काम सुरु हुने नगर प्रमुख न्यौपानेले बताए । दलदले–कुमसोत सडकखण्ड विस्तारका लागि हाल दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस
कामना सेवा बैंकको कार्डमा इकर्मश सुविधा
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले डेबिट तथा क्रेडिट कार्डमा इकर्मश सुविधा समावेश गरेको छ । कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान खरिद गर्दा आफ्नो इकर्मश सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले असोज १० गते सोमबार देखि यो सुविधा लागू गरेको हो । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इकर्मशसक्रिय कार्ड मार्फत सस्तोडिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा २ हजारसम्मको नगद छुटको लाभ लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ ।