साढे ४८ करोडमा खुम्चियो बुधबारको सेयर कारोबार
काठमाडौं । बुधबारको सेयर कारोबार साढे ४८ करोड रुपैयाँमा खुम्चिएको छ । मंगलबार ६६ करोड बढीको कारोबार भएको बजारमा बुधबार भने ४८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । कारोबार घटेपनि नेप्से परिसूचकमा भने सुधार देखिएको छ । बजारमा परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ । बुधबार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएका छन् । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन २ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । हाइड्रोको सेयर ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ । टप लुजरको अग्रस्थानमा ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ रहेको छ । जसको इकाई मूल्य १० प्रतिशतले घटेर प्रतिइकाई ९ रुपैयाँमा झरेको छ । बजारमा चार समूह बाहेक सबै समूह हरिया देखिएका छन् । फाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । माइक्रोफाइनान्स समूह भने सबैभन्दा बढी अंकले बढेको छ ।
सिभिल मलमा सपिङ गर्दा बम्परमा टिभिएसको स्कुटर जित्न सकिने
काठमाडौं । सिभिल मलले दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत दशैंतिहारमा सिभिल मलमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार प्राप्त गर्नेछन् । मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यो उपहार योजना असोज ८ गतदेखि कात्तिक २६ गतेसम्म लागू हुनेछ । चाडपर्वलाई लक्षित गरी मल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । मलमा सपिङ गर्ने एक जना उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर पाउने सिभिल मलका मार्केटिङ म्यानेजर ठकुरीले बताए । सिभिल मल टिकटक च्यालेन्जमा साप्ताहिक रुपमा आकर्षक पुरस्कारहरू पनि प्रदान गरिने उनले बताए । मलले हरेक वर्ष दशैं र तिहारको अवसर पारेर उपहार योजनाहरु ल्याउने गर्छ ।
बाढी पहिरो प्रभावितलाई युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपिएले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ । दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री आरएच किट्स प्रदान गरेको युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । प्रजनन स्वास्थ्य सामग्रीमा यौनजन्य सङ्क्रमणको उपचार गर्न, सुत्केरी गराउन र प्रसूतिसम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधि तथा सामग्री समावेश गरिएको जनाइएको छ । राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सीका रुपमा कार्यरत युएनएफपिएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का प्रभावित महिला तथा किशोरीहका लागि चार सय ६२ डिग्निटी किट्स र दुई सय ७० किशोरी किट्स वितरण गरेको विज्ञप्तिमा उल्लेख छ । गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरुको महिनावारीलगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चतताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको हो । उक्त किट्सहरुमा विपत्का बेला महिला तथा किशोरीका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखिएका छन् । उक्त सामग्रीहरु वितरणसँगै युएनएफपिएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथामसम्बन्धी सन्देश तथा त्यससम्बन्धि सेवा प्रवाह गर्ने निकायहरुको नाम, टेलिफोन नम्बर तथा जानकारीसमेत प्रदान गरेको जारी विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य सामग्रीमा परिवार नियोजनका साधनसमेत समेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट डा आदर्श लिम्बूले सामग्री ग्रहण गर्दै विपत्का बेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन युएनएफपिएको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा युएनएफपिएका नेपाल प्रतिनिधि योङ होङले भने, ‘मानवीय विपत्का बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुन्छन् । अझ प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ । सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालाहरुलाई तयारी अवस्थामा रहून् भनेर सुनिश्चित गर्न युएनएफपिए प्रतिबद्ध छ ।’ विज्ञप्तिमा मानवीय विपत्का बेला महिला तथा किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवा निरन्तर रुपमा पाइरहून् भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरु पहिचानगर्नका लागि सरकारलाई सहयोग पु¥याउन युएनएफपिए साझेदार संस्थाहरुसँग कार्य गरिरहेको जनाइएको छ । युएनएफपिएले मानवीय विपत्लाई प्रभावकारी रुपमा सम्बोधन गर्न अष्टेलिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री आर एच किट्स् एवं १० हजारभन्दा बढी डिग्निटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखेको छ । रासस
हाइवेमा दुई दिन फ्रि चेकअप क्याम्प गर्दै नेपाल ल्युब आयल
काठमाडौं । नेपाल ल्युब आयलले दशैंमा लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले असोज १३ गतेदेखि देखि १५ सम्म फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको हो । कम्पनीले मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि दिने जनाएको छ । नेपाल ल्युब आयल नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनी हो ।
तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौं उडान सुरु गर्दै
काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौ पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो । उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौँ–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौँ उडान पुनः सञ्चालन हुने छ ।’ कोभिड–१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौँ–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौँका लागि योजना बनाएको बताइएको छ । रासस
मुटुरोगीको सङ्ख्या बढ्दै
चितवन । जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् । मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्रिया कार्यक्रममा उनीहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकामा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धूमपान, व्यायामको अभाव, मदिरा, सुर्तीजन्य पदार्थको बढी उपभोगका कारण हुने गरेको बताए । उनले भने, ‘नेपालमा २८ देखि ३० प्रतिशत धूमपान गर्दछन् त्योभन्दा बढी सुर्ती खाने गर्दछन् ।’ वर्ष दिनमा एक पटक ७२ दशमलव आठ प्रतिशत नेपालीले मदिरा सेवन गर्ने गरेको अध्ययनले देखाएको भन्दै उनले ४८ दशमलव आठ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको जानकारी दिए । पन्ध्र वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्य दिएको भन्दै उनले समयमा नियन्त्रण गर्न नसकेमा भविष्यमा समस्या जटिल बन्दै जाने बताए । नौ दशमलव एक प्रतिशत नेपालीमा मधुमेह रहेको भन्दै उनले थप १० प्रतिशत मधुमेहको जोखिममा रहेको बताए । उनले भने, ‘मधुमेहका बिरामीलाई मुटु रोग हुने उच्च सम्भावना हुन्छ ।’ विश्वका १७ प्रतिशत मधुमेयी भारतमा रहेको चर्चा गर्दै नेपाल र भारतको खानपान र जीवनशैली एउटै खालको भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा गौतमले बताए । मुटु रोगका लागि बलियो कारक उच्च रक्तचाप बन्दै गएको उनको भनाइ छ । उनले थपे, ‘वयस्कमा २४ दशमलव पाँच प्रतिशत उच्च रक्तचाप रहेको छ ।’ नेपालमा मोटोपन र मोटोपन नभए पनि पेट ठूलो हुने हुँदा यो मुटुरोगका लागि जोखिम हुने चिकित्सकले बताएका थिए । सो अवसरमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको समस्या बढ्दै गएको बताए । समयमा उपचार गर्न सकेमा जीवन बचाउन सकिने उल्लेख गर्दै उनले भने, ‘विश्वस्तर र काठमाडौँमा रहेका मुटुरोगमा उपयोग हुने प्रविधि अहिले चितवनमा नै छ ।’ काठमाडाैको गङ्गालाल हृदयरोग केन्द्रमा १० वर्ष अनुभव हासिल गरेर विगत १० वर्षदेखि चितवनमा उपचारमा सक्रिय डा रेग्मीले उपचारका सबै सुविधा यहाँ भए पनि आम नागरिकलाई विश्वास दिलाउन अझै नसकिएको बताए । उनले भने, ‘काठमाडौका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क एउटै छ, प्रविधि उही छ, तर मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिच्किचाउँछन् ।’ हृदयघात भएका बिरामीलाई ३० देखि ९० मिनेटभित्र भल्व खोल्नुपर्ने भन्दै उहाँले यहाँ आधा घण्टाभित्रमा नशा खोल्न सकिने बताए । मुटुको उपचारको सेवा राजधानी बाहिर सुरु गरेसँगै धेरैको जीवन बचेको छ । डा रेग्मीका अनुसार कृत्रिम मुटु प्रत्यारोपण जस्ता प्रविधि विकास भएको भए पनि नेपालमा त्यो आइनसकेको बताए । चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले मृत्यु भएका चार जना नेपालीमध्ये एक जनाको कारक मुटुरोग हुने गरेको भन्दै खानामा चिल्लो र गुलियो बस्तु घटाउन आग्रह गरे । पछिल्लो समय प्रदूषण पनि मुटुरोगको कारण बन्ने गरेको चर्चा गर्दै डा लौडारीले भने, ‘हावा प्रदूषणले २५ देखि २७ प्रतिशत मुटुका रोग निम्ताउँछन् ।’ प्रदूषणले मुटुदेखि क्यान्सरसम्मका रोग निम्त्याउने उनको भनाइ थियो । तनाव मुटुरोगको अर्को कारण रहेको भन्दै उनले तनाव व्यवस्थापनमा लाग्न सुझाव दिए । जनचेतना जागृत गराउन विश्वभर मुटु दिवस मनाउने गरेको भन्दै उनले सबै मिलेर जनचेतना जगाउनुपर्नेमा जोड दिए । नारायणी सामुदायिक अस्पतालका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले छाती दुख्नु, रिंगटा लाग्नु, बेहोस् हुनु जस्ता मुटुरोगका लक्षण भएको बताए । छाती दुख्यो भनेर आउनेको मोटोपन, तनाव, पेसा आदि बुझेर मुटुरोगको शङ्का लागेमा थप परीक्षण गरिने जनाउँदै उनले भने ‘मुटुरोगको शङ्का लागेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।’ मुटुरोगको आशङ्कामा आउने बिरामीलाई गरिने उपचार पद्दतिका बारेमा बताउँदै उहाँले मुटु रोगको आशङ्का लागेमा हेलचक्र्याइ गर्न नहुने बताए । मुटुरोग जन्मजात पनि हुने भन्दै उनले ४० वर्षपछि मुटुरोग हुने जोखिम बढ्दै जाने बताए । सरकारले मुटुरोगका बिरामीलाई गर्ने सहयोग अपुग भएको भन्दै उपचारमा निःशुल्क गर्नुपर्ने बताए । उनले भने, ‘कम्तीमा मुटु रोगको आकस्मिक बिरामीलाई चाहिने औषधि र उपकरण निःशुल्क गर्नुपर्छ ।’ कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठले वंशाणुगत बाहेक मुटुरोगबाट बच्न सकिने बताए । उनले नेपालमा खानपान मुख्य समस्या रहेको भन्दै रातो मासु, चिल्लोयुक्त खाना, तेलमा भुटेको तारेका तयारी खाना खान नहुने बताए । उनले भने ‘खानामा फलफुलु र तरकारीको मात्रा बढाउनु पर्छ ।’ शारीरिक व्यायाम गर्न सुझाव दिँदै उनले हप्तामा पाँचदेखि छ दिन २० देखि ३० मिनेट हिँड्न सुझाव दिए । उनले भने, ‘दश मिनेट जति दौडिँदा मुटुलाई धेरै राम्रो हुन्छ ।’ उचाइका आधारमा तौल हुनुपर्ने भन्दै उनले धूमपान र मध्यपानबाट बच्नुपर्ने बताए । जिल्लामा मुटुरोग उपचारका लागि अत्याधुनिक उपकरणसहितका क्याथल्याब सञ्चालनमा छन् । यससँगै मुटुको शल्यक्रिया गरेर यही उपचार हुँदै आएको छ । उपस्थित चिकित्सकले मोफसलमा रहेर मुटुको राम्रो उपचार गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् । रासस
ठमेल रेमिट एनपीएस प्रणालीमा : अब अमेरिकाबाट पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा पाइने
काठमाडाैं । ठमेल रेमिट नेपाल क्लियरिङ् हाउस (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ । याेसँगै अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ । एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिकाबाट पठाएको पैसा अब केहि सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ । ठमेल रेमिटका सह-संस्थापक बालके जोशीले यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैरकार्डमा आधारित, बैंक-टू-बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बन्ने बताए । ‘यस प्रकारको रियल टाईम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन्। अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रुपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौं भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने । संयुक्त राज्य अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडीएको भएको यो पहिलो पटक भएकाे उनले बताए । अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछ । यस अन्तर्गत ठमेल रेमिटले एनसीएचएल, आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना ग्राहकका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । साथै, यस सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको छ ।
इसेवाको सीइओमा जगदिश खड्का नियुक्त
काठमाडौं । इसेवाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाएका छन् । सीइओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् । उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट ग्रुप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आवद्ध थिए । इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त सीइओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ, डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छु, मैले इसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु ।’ इसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रेहका सुभास सापकोटालाई सीइओका रूपमा बाहिर रहेपनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन् । सीइओबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।