ज्योति लाइफका सञ्चालक अग्रवाल बने राउण्ड टेबलको अध्यक्ष, नेपालकै पहिलो बन्न सफल
काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । गैरनाफामूलक संस्था राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । जुन शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । राउण्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो । यस संस्थाले टेबलरहरू ४५ वर्षको भएपछि युवाहरूलाई बाटो दिँदै सो दायित्वबाट बिश्राम लिने गर्दछ । त्यसैले यो सधैं जवान रहने बताइन्छ ।
बैंकहरुले बेस रेटमा जथाभावी प्रिमियम लिँदा उद्योग क्षेत्र धरासायी भयो : अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा जथाभावी प्रिमियम लिँदा उद्योग क्षेत्र धरासायी भएको बताएका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘विगतका वर्षमा बेस रेटमा प्रिमियम कम हुँदा ब्याजदर सहुलियत थियो, तर अहिले आएर बेस रेटमा जथाभावी प्रिमियम लिएका छन्, अहिले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउदा उद्योगी क्षेत्र धरासायी बनाएको छ,’ उनले भने । उनका अनुसार बढ्दो ब्याजदरले नकारात्मक स्थिति पैदा भएको छ । ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका विषयमा राष्ट्र बैंकसङ्ग छलफल गरिरहेका छौं, राष्ट्र बैंकले बैंकमा रकम आउँदा सुक्ष्म रुपमा हेर्ने भनेको छ, जसले गर्दा पनि बैंकमा रकम नआएको हुन सक्छ, अहिले काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर जस्तै भएको छ । राष्ट्र बैंकसँग कति रकम छ भनेर तथ्यांक भएपनि खोजी तलासि गर्न सकिरहेको छैन,’ उनले भने । साथै, उनले आयातलाई नियन्त्रण गरेर स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेका छन् । नेपालमा प्राकृतिक स्रोत र साधन प्रयाप्त रहेको र यसलाई भरपुर उपयोग गरेर निर्यात गरी स्वदेशमा नै उपभोग गर्ने बानी बसाल्नु पर्ने उनको भनाइ छ । नाफिजको वार्षिकोत्सवमा बोल्दै उनले पत्रकारले मुलुकको हित राखेर जनताको लागि काम गर्नु पर्ने बताए । ‘पत्रकार राज्यको चौथो अंक हुन्, उनीहरु बिना खबर पाइँदैन, खबर बिना मुलुक चल्न सक्दैन,’ उनले थपे ।
पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पश्चिम रुकुम जिल्लाको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको समुदघाट्न गरेका छन् । उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताए । उनले शाखा विस्तारले पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
काठमाडौंको ७१ ठाउँमा ट्राफिक चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष
काठमाडौं । चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ । कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए । सो कक्षबाट २ वटा गुनासो समेत सुनिएको उनले बताए । दशैँ अवधिभर १ हजार ४६८ जना ट्राफिक प्रहरी खटाइने प्रवक्ता भट्टले बताए । प्रहरी नायब उपरीक्षकको कमाण्डमा उपत्यकाका विभिन्न स्थानमा यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुने सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । उनका अनुसार ८ ठाउँबाट यान्त्रिक परीक्षण भइरहेको छ । त्यसैगरी, नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाइएको छ । उपत्यकाबाट बाहिरिने नाकामा दैनिक एक स्थानमा लागु पदार्थ सेवनको पनि चेकिङ गरिने उनले बताए । भट्टको अनुसार ट्राफिक प्रहरीले तिव्र गतिको चेकिङ ५ स्थानमा र लामो दूरीका सवारी साधनहरुलाई लक्षित गरी ९ स्थानमा विशेष चेकिङ गरिरहेको छ । उनले बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालामा सादा पोशाकमा प्रहरी परिचालन गरी बढी भाडा लिने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राखि आवश्यक कारबाही गरिने बताए ।
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ । यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ । दसैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौँका विभिन्न स्थानमा चङ्गा उडाउने कार्य तीव्ररुपमा चलिरहेको छ । रासस
भुजुङ हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । भुजुङ हाइड्रोपावरले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ ।हाइड्रोपावरले सर्वसाधरणको लागि प्रति कित्ता १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । कम्पनीले यसको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पूँजी ५० करोड रूपैयाँ जारी पूँजी ४३ करोड रूपैयाँ र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ । सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात ५.८५ करोडको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।
एनसीसी बैंकका ग्राहकलाई चितवनको सिड मेडिकल ल्याबमा विशेष छुट
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता भएको छ । बैंक र ल्याबबीच बैंकका ग्राहकहरुलाई सिड मेडिकल ल्याबरोटरिजमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा।ली मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बझाङको साइपाल गाउँपालिकामा अझै पुग्न सकेन बैंक
बझाङ । मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मितिसम्म दुई सय ९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगे । विसं २०७४ मा जारी राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘सङ्घीय संरचनाअनुसार तय भएका सात सय ५३ स्थानीय तहमध्ये २०७४ असार मसान्तसम्म वाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा वाणिज्य बैंकले अनिवार्य रूपले शाखा खोल्नुपर्नेछ । विकास बैंकले वाणिज्य बैंक र विकास बैंक दुवै नरहेका स्थानीय तहमा शाखा खोल्न सक्नेछन् ।’ राष्ट्र बैंकले निर्देशन दिएको पाँच वर्ष भइसकेको छ । तर, बझाङको साइपाल गाउँपालिकामा भने अहिलेसम्म बैंक पुगेको छैन । लामो समय बैंकबिहीन भएका धादिङको रूवीभ्याली, जाजरकोटको जुनिचाँदे गाउँपालिकाले गएको असारमा बैंक पाएका छन् भने साइपाल मात्रै बैंकविहीन पालिका भएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म बैंक नभएका स्थानीय तहको सूचीमा ६ पालिका थिए । ताप्लेजुङको मिक्काखोला, धादिङको नेत्रावती र बझाङको थलारा गाउँपालिकामा बैंकका शाखा सञ्चालन भएपछि तीन पालिका मात्रै बैंकविहीन थिए । त्यसमा पनि दुई पालिकामा असारमै बैंक पुगेपछि साइपाल मात्रै एक्लिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म सात सय ५२ स्थानीय तह वाणिज्य बैंकको पहुँचमा पुगेका छन् । राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले भने, ‘सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंक पुगेका छन् । साइपालमा भने बैंक राख्न सुरक्षित नभएको हुँदा केही ढिलाइ भएको हो ।’ प्रवक्ता भट्टका अनुसार साइपालमा बैंक पुग्न अझै समय लाग्ने देखिन्छ । ‘पक्की भवनहरू तथा सडक सञ्जालको पहुँच नहुँदा बैंक राख्न कठिन भएको जानकारी राष्ट्र बैंकले पाएको छ’, उनले भने । अहिले नेपालमा २६ वाणिज्य बैंकका शाखा सञ्जाल करिब पाँच हजार छन् । त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमै छन् । १८ विकास बैंकका मुलुकभर एक हजार बढी शाखा सञ्चालनमा छन् भने १७ वित्त कम्पनीको दुई सय ७० भन्दा बढी शाखा सञ्जाल छन् । समग्रमा मुलुकभर बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजारको हाराहारीमा छ । तर, दुर्गमको साइपाल भने वर्षौं बित्दा पनि बैंकविहीनकै अवस्थामा छ । बैंकिङ पहुँचमा नहुँदा धेरै सास्ती खेप्नुपरेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । ‘साइपालमा बैंक तथा वित्तीय संस्था नहुँदा सबै कारोबार जिल्ला सदरमुकाम चैनपुरबाटै गर्नुपर्छ,’ उनले भने, ‘गाउँमा सडक सञ्जाल जोडिएको छैन । सडक नहुँदा बैंकले पनि आउन मानेको छैन ।’ बोहराका अनुसार अहिलेको यो वर्षायाममा जिल्ला सदरमुकाम पुग्नै चार दिन समय लाग्छ । ‘खोला तर्नै पनि कठिन हुन्छ’, अध्यक्ष बोहराले भने, ‘बैंक भएको भए यति सास्ती भोग्नुपर्ने थिएन ।’ साइपालमा शाखा सञ्चालन गर्न राष्ट्र बैंकले एभरेष्टलाई निर्देशन दिएको छ । अध्यक्ष बोहराले भने, ‘हामीले पटक–पटक आग्रह गर्दा विभिन्न कारण देखाउँदै बैंक टाढिन खोजिरहेको छ’, उनका अनुसार अन्य बैंकले शाखा सञ्चालनका लागि चासो देखाउँदा एभरेष्टले भने घुमाइफिराई साइपालमा जान नसक्ने कारण तेस्र्याइरहन्छ । ‘धेरै बैंकसँग कुरा भयो’, उनले भने, ‘एनआइसी एसिया र ग्लोबल बैंकले शाखा सञ्चालनका लागि सकारात्मक प्रतिक्रिया दिँदा एभरेष्टले भने नसकिने नै अडान लियो ।’ उनले ठूलो रकम बोकेर साइपाल पुग्न आफूलाई पनि असुरक्षित महसुस हुने गरेको बताए । साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा लामा तामाङले पनि मोटो रकम बोकेर हिँडिरहन सुरक्षाको दृष्टिले अप्ठेरो भएको बताइन् । उनले भनिन्, ‘बैंकलाई सुरक्षाको चिन्ता नमानी शाखा सञ्चालन गर्न धेरै पटक आग्रह गर्दा पनि चासो दिँदैन ।’ पालिकामा बैंक सञ्चालनका लागि दुई महिनाअघि राष्ट्र बैंकलाई निवेदन दिएको उनले बताईन् । ‘पालिकामा बैंक नभएको पीडा राष्ट्र बैंकलाई सुनाएका छौँ’, उनले भनिन, ‘राज्यले हामीलाई १७ वटा चिठी पठाइसकेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलगायतका लागि पनि अनिवार्य खाता खोल्नु भनेको छ । तर, हामीले जिल्ला सदरमुकामबाट पैसा झिकेर घर–घरै वितरण गर्न जानुपर्छ ।’ एभरेष्ट बैंकले भने असुविधा भएको ठाउँमा बैंक जान नसक्ने बताएको छ । एभरेष्ट बैंकका बझाङ शाखा प्रबन्धक कविरलाल मास्केले भने, ‘साइपालमा बैंक लिन सक्ने अवस्था नै छैन । नेटवर्क, सञ्चार, सुरक्षा तथा बाटो नभएको ठाउँमा बैंक कसरी लिने ?’ उहाँले प्रश्न गरे । उनले चैनपुरमा बसेर साइपालमा बैंक सञ्चालन गर्ने भन्ने कुरा सजिलो नभएको प्रतिक्रिया दिए । उनले भने,’हामीले साइपालका जनप्रतिनिधिसँग पनि छलफल गरेका छौँ । सुविधा नभएको ठाउँमा बैंक जान नसक्ने बताएका छौँ ।’ साइपालका जनप्रतिनिधि भने मास्केको कुरा स्वीकार्ने पक्षमा छैनन् । ‘एभरेष्टले शाखा सञ्चालनका लागि विभिन्न बहाना गरिरहेको छ,’ अध्यक्ष बोहराले भने । अध्यक्ष बोहोरा भने भने सुरक्षा र नेटवर्कको कुनै चिन्ता नगर्नुस् भन्दा पनि बैंकले वास्ता नगरेको बताउँछन् । ‘म अहिले साइपालको काँडामै छु,’ अध्यक्ष बोहोराले टेलिफोनमा भने, ‘मोबाइलमा फोरजी टिपेको छ । सुरक्षाका लागि पनि प्रहरी चौकी छ । थप चाहिए सुरक्षाकर्मी पनि थप्न सक्छौँ । तर, अरू बैंकले चासो देखाउँदा पनि राष्ट्र बैंकले खटाएको एभरेष्टले किन चाँसो देखाउँदैन । अचम्ममा छौँ ।’ यस विषयमा राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले भने अरू बैंकले साइपाल जान सक्ने चाँसो राख्दा एभरेष्टले जान नमान्ने कारण बुझ्ने बताए । गाउँपालिका अध्यक्ष बोहराले एभरेष्ट बैंकका कर्मचारी अहिलेसम्म साइपाल अवलोकन गर्नसमेत नपुगेको गुनासो गरे । ‘साइपालमा असुरक्षा छ, नेटवर्क हुँदैन मात्रै भनिरहेका छन् । तर, यहाँ अहिलेसम्म कुनै कर्मचारी पनि पुग्नुभएको छैन । एक पटक साइपाल नपुगेरै बैंकका कर्मचारीको टोली धलौनबाटै फर्किएको थियो ।’ यसपटक भने बैंकका कर्मचारीले काँडासम्मै पुग्ने आश्वासन दिएको उनले बताए । ‘यो पटक भने पालिकासम्मै अवलोकनका लागि जाने भनेका छन् । खै के गर्छन् ।’ उनले भने । रासस