विकासन्युज

जग्गाधनी र मोहीले जग्गाको बाँडफाँड गरी सक्नु पर्ने अवधि बढ्यो, कसको स्वामित्व कति हुन्छ ?

काठमाडौं । सरकारले मोही भएको जग्गाको बाँडफाँडको समयावधि बढाएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै मोही लागेको जग्गाको जग्गावाल र मोहीबीच बाँडफाँड गरी कारवाहीको टुङ्गो लगाई सक्नु पर्ने अवधि २०८३ साल असार मसान्तसम्म तोकेको हो । नेपाल सरकारले भूमी सम्बन्धि ऐन २०२१ को दफा २६ घ १ र २६ घ ३ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको दफा २६ ग र २६ घ ले दिएको अधिकार प्रयोग गरी सो ऐनेको दफा २६ ग र २६ घ को प्रयोजनाका लागि मोही लागेको जग्गाको जग्गावाला र मोहीले त्यस्तो जग्गा बाँडफाँड गरी लिन निवेदन दिनु पर्ने तथा त्यस्तो जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँड गरी टुङ्गो लगाई सक्नु पर्ने अवधि विभिन्न समयमा निर्धारण गरिएको थियो । सो ऐनको दफा २६ को ‘ग’ मा जग्गावाला र मोहीले आपसी सहमतिद्वारा मोही लागेको जग्गा बाँडफाँड गरी लिन दिन चाहेमा वा त्यसरी आफूले लिन मञ्जुर गरेको जग्गा वापतको प्रचलित दरभाउले हुने मूल्य बराबरको रकम लिई जग्गावाला वा मोही मध्ये कसैलाई पूरै जग्गा छाडी मोही लागत कट्टा गर्न चाहेमा सो कुराको सम्पूर्ण विवरण खुलाई आफूसंग भएको प्रमाणहरू संलग्न गरी तोकिएको अधिकारी समक्ष संयुक्त निवेदन दिनु पर्ने व्यवस्था छ । सोही दफाको उपदफा २ मा कुनै निवेदन पर्न आएमा तोकिएको अधिकारीले निवेदन साथ संलग्न प्रमाणहरू जाँचबुझ गर्दा निवेदकको माग बमोजिम जग्गा बाँडफाँड गर्न वा पूरै जग्गा जग्गावाला र मोही मध्ये कुनै एकजनाको नाउँमा कायम गर्न मनासिव देखेमा तदनुरूप जग्गा बाँडफाँड गरिदिन वा पूरै जग्गा एकजनाको नाउँमा कायम गरी मोहीको लागत समेत कट्टा गरिदिन सक्ने व्यवस्था छ । सोही ऐनको दफा २६ को ‘घ’ मा जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्नु पर्ने व्यवस्था छ । सो दफाको उपदफा १ मा संयुक्त निवेदनको लागि जग्गाधनी र मोही दुवै थरी आपसमा मन्जुर हुन नसकी जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी वा मोहीलाई झिकाई आवश्यक प्रमाण बुझ्नु पर्ने भए सो समेत बुझी असल कमसल मिलाई बाँडफाँट गर्नु पर्ने जग्गाको क्षेत्रफल वा मूल्याङ्कनको आधारमा आधा–आधा हुने गरी जग्गा बाँडफाँड गरी मोही लागत कट्टा गरिदिनु पर्ने व्यवस्था गरेको छ । सोही दफाको उपदफा २ मा मोही र जग्गाधनीबीच जग्गा बाँडफाँड गर्दा निजी गुठीको हकमा जग्गाधनीको पूर्जामा मात्र निजी गुठी जनाई दिनु पर्नेछ उल्लेख छ ।

दशैंको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दशैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ । सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन् । अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् । सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन् । दशैं तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ । चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो । उनले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताए । ‘वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो’, जैशीले गुनासो गरे । सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताए । वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उनको भनाइ छ । सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ । प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताए । विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो । हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए । सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ । बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ । अम्कोटमा २०७७ भदौमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो । चार वर्षदेखि साँफे–मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताए । अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ । बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ । रासस

चितवनमा चौध हजारले जोडे फाइबर इन्टरनेट

  भरतपुर । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ । भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ । यस्तै भरतपुर एक्सचेन्जअन्तर्गत पश्चिम चितवनका केही ठाउँ पनि बाँकी छन् । भरतपुरमा अब एक हजार ९७ मात्र पुराना ग्राहक रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए । उनले २०४५ सालमा निर्माण गरिएको भरतपुर एक्सचेन्जअन्तर्गतको पुरानो प्रविधिको टेलिफोन नेटवर्क विस्थापनको अन्तिम चरणमा रहेको बताए । सामग्री अभावका कारण अहिले काम गर्न नसकिएको मिश्रले बताए । ‘सामान पर्खेर बसेका छौँ, चीनबाट आउने तयारीमा रहेको बुझिएको छ,’ उनले भने । माग गरेअनुसार आएर मङ्सिरसम्म भरतपुर एक्सचेन्जअन्तर्गतका सबै ठाँउमा फाइबर इन्टरनेट पु¥याउने उgको भनाइ छ । अहिले राप्ती नगरपालिकाको भण्डारमा फाइबर जडानको काम भइरहेको छ । रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा पनि फाइबर इन्टरनेट पुगेको छ । पूरानो प्रविधि विस्थापित गरी नयाँ प्रविधि जडानलाई प्राथमिकतामा राखेर कार्यालयले काम गरिरहेको मिश्रले बताए । ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ । यस कारण ग्राहक आकर्षित छन्’, उनले भने । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको उनले बताए । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको प्रमुख मिश्रले जानकारी दिए । कनेक्ट सर्भर काठामाडौ‌ र हेटौँडामा राखिएकाले पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामार्फत गुगल, युट्युब र फेसबुक छिटो चल्ने उनको भनाइ छ । भरतपुर शाखामार्फत ३१ हजार फाइबर इन्टरनेट वितरण गर्ने क्षमता रहेको मिश्रले जानकारी दिए । रासस

कृषि विकास बैंकका सीईओ उपाध्याय ‘बैंक तथा वित्तीय विशेष सम्मान’बाट सम्मानित

काठमाडौं । कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय ‘बैंक तथा वित्तीय विशेष सम्मान’बाट सम्मानित भएका छन् । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले बैंकर उपाध्यायलाई सो सम्मान प्रदान गरेको हो । उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमका माझ उनलाई सम्मान गरेका थिए । उपाध्यायले बैंक तथा वित्तीय क्षेत्र मार्फत देशको अर्थतन्त्रलाई समृद्धतर्फ अघि बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरिएको हो । ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै बैंकको सीईओ बनेका उपाध्याय एक सफल बैंकर्स भनेर पनि परिचित छन् । वि.स २०४४ सालमा अधिकृतस्तरबाट बैंकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने । बैंकमा उपमहाप्रबन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालिसकेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित २०७५ पुस १० गते सीईओ बनेका हुन् ।  

नेपाली पर्यटन व्यवसायी एसियन टुरिजम फेयरमा सहभागी

काठमाडौं ।  नेपाली पर्यटन व्यवसायीहरुले नर्वौ एसियन टुरिजम फेयर (एटीएफ)मा सहभागिता जनाएको छ । उक्त फेयर बंगलादेशको ढाकामा आज(बिहीबार)बाट सुरु भएकाे छ । कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसाय पुनः सुचारु तथा नेपालमा पर्यटन सिजन शुरु हुन लागेको समयमा नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)सँग आवद्ध नेपाली पर्यटन व्यवसायीहरूले सो फेयरमा सहभागिता जनाएको हो । एशियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम हो । उक्त कार्यक्रममा विश्वका विभिन्न देशहरूबाट पर्यटन व्यवसायीहरुले आ–आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न प्रदर्शन गर्ने, विटुवि तथा विटुसि सञ्चालन हुनेछ । उक्त कार्यक्रमको आयोजना बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बसुन्धरा बंगलादेशमा गर्ने गरिएको छ । यस वर्षको प्रदर्शनीमा नेपालबाट १२ पर्यटन व्यवसायीहरु सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन् । नाट्टाका तर्फबाट कार्यक्रम संयोजन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल तथा सह संयोजन कार्यसमिति सदस्य श्रद्धा जोशीले गरेका छन् । बंगलादेश प्रस्थान गर्ने नेपाली टोलीको नेतृत्व वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले गरेको हो । कार्यक्रममा सहभागीताको लागि नाट्टाले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रदर्शनी गरिने भएको छ । यस वर्षको कार्यक्रममा आयोजकले नेपाललाई पार्टनर कन्ट्रीको रूपमा स्थान उपलब्ध गराएको छ । कार्यक्रम अन्तर्गत: बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाली व्यवसायी लगायत विभिन्न देशका पर्यटन व्यवसायीको प्रतिनिधी तथा कार्यक्रम आयोजक र पत्रकारलाई रात्रीभोजसहित नेपाल नाइटको आयोजना गर्नेछ ।

मञ्जुश्री फाईनान्सको नयाँ शाखा कार्यालय कुमारीपाटीमा

काठमाडौं । मञ्जुश्री फाईनान्सले ललितपुरको कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाईनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम र फाईनान्सको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे । भदाै मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिभेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.५२ अर्ब निक्षेप संकलन गरी १०.८८ अर्ब कर्जा परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

डलरको भाउ फेरी बढ्यो, नेपाली मुद्रा हालसम्मकै कमजोर

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३० रुपैयाँ ८९ पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो ।  एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ ।

शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम अघि बढाएको छ । जनप्रतिनिधिले काम सुरु गरेको सय दिनका उपलब्धि सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख रमेश नापितले नगर क्षेत्रलाई फोहरमुक्त सफा स्वच्छ नगरपालिका बनाउने प्रक्रिया अघि बढाएको बताए । ‘पर्यटन र कृषिको माध्यमबाट समृद्धि हासिल गर्न, विकासका पूर्वाधार निर्माण गरेर नगरवासीको जीवनयापन सहज बनाउन लागिपरेका छौँ, निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउन लागेका छौँ,’ उनले भने । जर्मन सरकारको सहयोगमा वडा नं ७ कठनचोकमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । विकास साझेदारको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाइएको सो कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले सय दिनको अवधिमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको, गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी सात प्रकारका उपचार सेवा निःशुल्क तथा ११ उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको जानकारी गराए । इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको र नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुआत गरिएको उहाँले बताउनुभयो । शिक्षातर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको, स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको सामुहिक प्रयासबाट शङ्खरापुर नगरपालिकाको समृद्धि, सुशासन र विकास सम्भव रहेको बताए । बागमती प्रदेश सरकारले ५५ मेट्रिक टन रासायनिक मलको कोटा निर्धारण गरेकामा नगरपालिकाको विशेष पहलमा १७९ मेट्रिक टन मलको कोटा वृद्धि गर्न सफल भएको पनि नगरपालिकाले जनाएको छ । नगरपालिकामा ल्याण्डफिल सम्भाव्य स्थानको खोजी गरी उपयुक्त विकल्पमा फोहर व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरी तोकिएको क्षेत्रबाट मात्र ढङ्गा, गिट्टी बालुवा उठाउने व्यवस्था मिलाइएको छ । विपद् व्यवस्थापन तथा रोकथामका लागि त्रिपाल वितरण तथा आर्थिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ । बाबु आमाविहीन बालबालिकालाई पोषण शैक्षिक सामग्री र रु चार हजारका दरले उपलब्ध गराइएको छ । यस अवधिमा नगरपालिकाभित्रका सहकारी संस्थालाई वित्तीय जोखिमका क्षेत्र, लेखापाल र सहकारी संस्थाको व्यवस्थापनसम्बन्धी सघन तालिम दिई संस्थागत सुदृढीकरण गरिएको छ । जापान, चीन तथा युरोपियन मुलुकका नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पहल भएको बताइएको छ । भूमि वर्गीकरण कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सम्पदा बस्तीभित्रका घर निर्माणको लागि प्रतिघर एक लाखमा रु २५ हजार थप गरी नगरपालिकाबाट उपलब्ध गराइएको छ । नगरपालिकाका विभिन्न वडाका सार्वजनिक जग्गाको लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ । वडामा काम गर्ने इन्जिनियरिङ सेवाको प्राविधिकबाट घ वर्गको निःशुल्क नक्सा निर्माणको व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लगानीमा साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । आपराधिक तथा विविध गतिविधिको निगरानी गर्न वडाका विभिन्न क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिएको छ । रासस