विकासन्युज

दशैंको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ–‘कुत्सित : ऊष्मा कुष्मा–त्रिविधतापयुत : संसार :, स अण्डे मांसपेश्यामुदररुपायां यस्या : सा कुष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रुपमा चिनिनुहुन्छ । नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । रासस

प्रस्तावित लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधारण सभा

काठमाडौं । सिटिजन्स बैंकले आगामी कार्त्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १६औं वार्षिक साधारण सभा कार्त्तिक ४ गते शुक्रबार गर्ने निर्णय गरेको हो । उक्त सभाले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा हुने छ । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित लाभांशलाई पारित गर्दै छ । सभाले सञ्चालक समितिको प्रस्ताव गरेबमोजिम ९ प्रतिशतका अर्थात १ अर्ब २७ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) लाई पारित गर्ने एजेण्डा रहेको छ । साथै, सभामा उक्त आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल हुने छ । यससँगै गत आवको सभा आव्हान गर्ने वाणिज्य बैंकमध्ये सिटिजन्स पहिलो बैंक बन्न सफल भएको छ । बैंकले हाल १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सनराइज क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सनराइज क्यापिटलले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई कम्पनीको आगामी १२औं वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । क्यापिटलले हाल सेयर निष्काशन, १८ वटा कम्पनीको सेयर रजिष्ट्रारको रुपमा काम गरिरहेको छ । साथै, लगानी व्यवस्थापन सेवा (पीएमएस), सेयर प्रत्याभूति लगायत सनराइज सामूहिक लगानी कोष अन्तर्गत सनराइज फष्ट म्युचुअल फण्ड र सनराइज ब्लूचीप फण्ड गरी २ वटा बन्दमूखी योजना सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात थप १ बन्दमूखी योजना अर्थात सनराइज फोकस्ड इक्यूटी फण्ड सञ्चालन गर्ने छ ।

शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतको तलब एक लाख रुपैयाँ हुनुपर्ने बताएका छन् । बुधबार बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको भन्दै उनले सो बताएका हुन् । साथै, उनले मुलुकको आम्दानी कम भएकाले नेपालमा सरकारी कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको प्रष्ट पारेका छन् ।

माछापुच्छ्रे बैंकको दशैं अफर : भाटभटेनीमा क्युआरबाट कारोबार गर्दा क्यासब्याक पाइने

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केटमा क्युआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । बैंकले एनसीएचएलसंगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि उक्त अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो । यो अफर यहि असोज ८ गतेदेखि असोज १४ गतेसम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्युआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै, बैंकसँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशतसम्मको छुट संचालनमा ल्याएको छ । बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने ( मुद्धती खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

ब्याजदर ट्रेण्डले बढेको हो, आत्तिनु पर्दैन : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजदर बढ्दा नआत्तिन आग्रह गरेका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड भएकाले ब्याजदर बढ्दा धेरै आत्तिनु पर्दैन,’ उनले भने । रुस र युक्रेन युद्धका कारण विदेशका केन्द्रिय बैंकले पनि ब्याजदर बढाएको हुँदा यसले नेपालमा प्रभाव पारेको उनको भनाई छ । साथै, चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीति पनि सकारात्मक आउने उनले बताए । ‘अहिले विभिन्न सूचकमा रेमिटान्सले ठूलो योगदान गरेको छ, हरेक महिना यो तथ्यांक बढी रहेको छ, पर्यटकको संख्या बढेको छ, नेपाल राष्ट्र बैंकले रेमिटान्स र पर्यटकबाट अर्थतन्त्र सहज हुने ठूलो अपेक्षा गरेको छ,’ उनले भने । अहिले नेपाल के के मा आत्मनिर्भर छ भनेर आयात र निर्यातको तथ्यांकले नदेखाएको बताउँदै उनले आगामी दिनमा लसुन, प्याज, आलु लगायत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । उनले आयात प्रतिस्थापन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । ठूला छिमेकी देशमा जनसंख्या धेरै भएकाले निर्यात गर्दा ठूलो बजार रहेको बताउँदै उनले अर्बौं जनसंख्या भएका छिमेकी देश रहेकाले निर्यातको लागि बजारको चिन्ता गर्नु नपर्ने उनको भनाई छ । नाफिजको कार्यक्रममा बोल्दै उनले आर्थिक पत्रकारिताको इतिहास धेरै लामो नभएको र यो पत्रकारिता प्रोफसनल रूपमा विकास हुनुपर्ने बताए ।

ग्लोबल आइएमई बैंकले पहिलो पटक पायो क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विश्वमै पहिलो पटक आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा पाएको छ । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकलाई उक्त सुविधा दिएको हो । यो सम्बन्धमा बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आईएफसीले विश्वमै पहिलो पटक ग्रीन ट्रेड फाइनान्स लाइन सुविधा दिएको हो । यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यस कार्यक्रममा रहेको ‘हरित’ कम्पोनेन्ट बैंकको लागि जलवायु अनुकूल व्यापार व्यवसायको लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असर लाई समेत सम्बोधन गर्दछ । यो कार्यक्रमले ग्लोबल आइएमई बैंक र यसका ग्राहकहरूको लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ्ग सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैंक तथा तिनीहरुका ग्राहकहरुबीच नयाँ सम्बन्धहरु विस्तार गर्न सहयोग गर्नेछ । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए । उनले ग्लोबल आइएमई बैंकलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायको लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवाद समेत व्यक्त गरे । ‘यो आईएफसीको जीटीएफपी लाइनले ग्लोबल आइएमई बैंकलाई अझ राम्रो क्षमताका साथ थप अन्तर्राष्ट्रिय बैंकहरूसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्नेछ र बैंकलाई आफ्ना विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकहरूका लागि थप कारोबार गर्न मद्दत गर्नेछ,’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए, ‘वास्तवमा, यो हाम्रो रणनीतिक एजेन्डामा फिट हुन्छ किनकि यसमा जलवायुको विषय समावेश छ ।’ ‘जीटीएफपीको सहयोगले बैंकको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत गर्नेछ,’ बाबाकर एस फाये, नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधिले भने, ‘यो कार्यक्रमले नेपालको वित्तीय अभावलाई सम्बोधन गर्नुका साथै ऊर्जा मितव्ययी प्रविधि, सञ्चालनको दिगोपन र कार्बन उत्सर्जनलाई कटौति गरेर जलवायु परिवर्तनको असर कम गर्नमा केन्द्रित रहेको छ ।’ ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

थप तीन कम्पनीले मागे लघु बीमाको लाइसेन्स, समिति भन्छ : अझै थपिन सक्छ

काठमाडौं । बीमा समितिमा थप तीन वटा कम्पनीले लघु बीमा व्यवसाय सञ्चालनको लागि लाइसेन्स माग गरेका छन् । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार बुधबार थप तीन वटा कम्पनीले लाइसेन्सको लागि आवेदन दिएका हुन् । ‘बुधबार मात्रै तीन वटा आवेदन परेको छ, भोलिसम्म अझै थपिन्छ होला,’ विकासन्युजसँग बोल्दै अध्यक्ष सिलवालले बताए । यससँगै लघु बीमाको व्यवसाय गर्नको लागि १० वटा कम्पनी इच्छुक देखिएका छन् । मंगलबार ७ र बुधबार ३ वटाकाे आवेदन गरी १० वटा कम्पनी लघुबीमा व्यवसाय गर्न इच्छुक देखिएका हुन् । त्यस्तै, असोज ११ गते ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीले आवेदन दिएका थिए । जसमा नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् । असोज १२ गते थप ३ वटा कम्पनीको आवेदन परेको भनिए पनि नाम भने खुलाइएको छैन । यससँगै लघुबीमा कम्पनी खोल्न इच्छुकले आगामी असोज १३ गतेसम्म बीमा समितिमा आवेदन दिन सक्नेछन् । उनीहरुले सो दिन अर्थात बिहीबार दिउँसो १२ बजेसम्म समितिको कार्यालयमा आवेदन दिन सक्ने समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी गराए । समितिले बीमालाई सहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म ‍‌पुर्याउन भन्दै गत भदौ १० गते लघुबीमाको आवेदन खुला गरेको थियो । जसको लागि ३५ दिनको म्याद तोकेको थियो । जुन भोलि दिउँसो १२ बजेसम्म रहेको छ । बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।