काठमाडौं । निरन्तर घटिरहेको सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको परिसूचक आज दोहोरो अंकले उकालो लाग्दा बजारमा हरियाली छाएको हो ।
मंगलबारको परिसूचक १५.९२ अंकले उकालो लागेर १८३१.०५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढी हो ।
बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबारको तुलनामा मंगलबारको सेयर कारोबार ४० करोड रुपैयाँले घटेको छ । आइतबार एक अर्ब ७ करोडकोे सेयर कारोबार भएको बजारमा मंगलबार ६६ करोड ३० लाख रुपैयाँमा सीमित छ ।
सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । कम्पनीको एकैदिन २ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४८६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले बढी हो ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता ७७० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा १७.१० रुपैयाँले बढी हो ।
बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ ।
दोहोरो अंकले बढेको बजारमा टप लुजरको शीर्ष स्थानमा गरिमा डिबेन्चर २०८५ रहेको छ । जसको भाउ १० प्रतिशत अर्थात ९०.१० रुपैयाँले घटेर प्रतिथान ८१०.९० रुपैयाँ पुगेको छ ।
यता क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५४ अंकले बढेर ३५८.१४ बिन्दुमा पुगेको छ ।