विकासन्युज

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो । उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै बि।स।२०६३ मा यो हाँस्य टेलिशृङ्खला बन्द भयो । दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे । लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन । सोह्र देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन । अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटाएका छन् । उनकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन् । अभिनेता सन्तोष भन्नुहुन्छ, ‘पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ ।’ फिल्ममा हिजो आजकै भइरहेका कुरा देखाइएको उनले बताए । फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ । टेलिशृङ्खलाको रुपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ । ‘यसलाई टिभीकै शृङ्खला नबुझियोस् भनेर मुभी नै लेखेका हौँ । टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ’, अभिनेता पन्तले भने । फिल्ममा उनको जोडी टेलिफिल्ममा झैँ रमा थपलिया छन् । ‘फिल्ममा अभिनय गर्दा टेलिफिल्मका दिन सम्झिए । निकै रमाइलो भयो । रिलको जोडीसँग फेरि सहकार्य भयो’, रमाले भनिन् । हिजो आजका कुरालाई फिल्मको रुप दिन पाउँदा साकार उत्साहित छन् । ‘हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउने ठूलो पर्दामा पाउँदा पक्कै खुसी हुनेछन् । हामीले साख झर्ने काम गरेका छैनौँ । मेरो लागि यहीँ शीर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ’, साकारले भने । फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ । रासस

यी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको तीव्र दबाब, कुनको कोसँग हुँदैछ छलफल ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरका लागि दबाब दिएको विषय नौलो होइन । यसअघि पनि विभिन्न समयमा बैंकका प्रमुख कार्यकारी अधिकृत वा अन्य पदाधिकारीहरुलाई राष्ट्र बैंकमै बोलाएर मर्जरका लागि दबाब दिइरहेकाे थियाे । तर, यसपटक भने केही बैंकरहरुलाई निरन्तर राष्ट्र बैंकमा बोलाएर मर्जरका लागि तीव्र दबाब दिइरहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकले दबाब दिएका दुई बैंक एनसीसी र कुमारी बैंकले मर्जरमा जाने सम्झौता गरिसकेका छन् । कुमारी र एनसीसी बैंकले सोमबार १ः१ स्वाप रेसियो हुने गरी सम्झौता गरिसकेका छन् । राष्ट्र बैंकले सँगै मर्जरका लागि ताकेता गरिरहेका कुमारी र एनसीसीले बैंक मर्जरका लागि सम्झौता गरेसँगै अन्य बैंकहरु पनि दबाबमा परेका छन् । नेपाल राष्ट्र बैंकले सनराइज, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, सिद्धार्थ र सानिमा बैंकलाई मर्जरका लागि दबाब दिइरहेको बुझिएको हो । यी बैंकहरुलाई आगामी पुस मसान्तसम्म मर्जरको सम्झौता गर्न राष्ट्र बैंकले ताकेता गरिरहेको स्रोतको भनाइ छ । सिद्धार्थ, सिटिजन्स बैंक र सानिमा बैंकले भने खासै मर्जरमा चासो नदेखाएको बुझिएको छ । अन्य बैंकहरु मर्जरका लागि पाटर्नर खोजिरहेका छन् । एकअर्काबीच मर्जरका लागि निरन्तर छलफल भइरहेको बुझिएको छ । राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जर सम्झौता गरिसक्न निर्देशन दिएकोले पनि बैंकहरुलाई दबाब बढेको स्रोतको भनाइ छ । नेपाल राष्ट्र बैंकले गतवर्ष मौद्रिक नीति सार्वजनिक गर्दै बिग मर्जरमा जाने बैंकहरूलाई दिने छुट सुविधा सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले यही आर्थिक वर्षभित्र वाणिज्य बैंकहरू गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भइ एकिकृत कारोबार सञ्चालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०७९ असार मसान्तसम्म प्रदान गरिने उल्लेख गरेको थियो । अहिले यसलाई पुस मसान्तसम्म पुर्याइएको छ । वाणिज्य बैंकहरु जतिसक्दो कम होस् भन्ने चाहना राष्ट्र बैंकको छ । राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । राष्ट्र बैंककाे अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुन्छ । तत्कालीन गभर्नर चिरञ्जिवी नेपालले बैंकहरुबीच मर्जरको नीति अगाडि सारेका थिए । उनले वाणिज्य बैंकहरुको चुक्तापुँजी ८ अर्ब हुनु पर्ने नीति बनाएपछि वाणिज्य बैंक मर्जरको होडवाजी चलेको हो । अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पनि मर्जरको विषयलाई प्राथमिकता दिइरहेका छन् । राष्ट्र बैंकले सरकारी लगानीका ३ वटा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसँगै विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंकलाई भने मर्जरका लागि दबाब दिएको छैन । अहिले विशेष गरेर सनराइज बैंकले विभिन्न बैंकसँग मर्जरका लागि छलफल गरिरहेको छ । सजराइजले लक्ष्मी र एनएमबि बैंकसँग मर्जरका लागि छलफल गरिरहेको बुझिएको छ । यसअघि सनराइजले अन्य बैंकसँग पनि छलफल गरेको थियो । यस बीचमा सनराइज, माछापुच्छ्रे, सिटिजन्स इन्टरनेशनल, सिद्धार्थ लगायत बैंकहरुबीच मर्जरका लागि गहन छलफल भइरहेको बुझिएको छ । २७ वटा वाणिज्य बैंक नबिल र नेपाल बंगलादेशको मर्जर तथा प्राप्ति भएसँगै २६ वटामा झरेका छन् । त्यसपछि नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक, ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू, हिमालयन–सिभिल बैंक, प्रभु–सेञ्चुरी र एनसीसी–कुमारी बैंकबीच मर्जरका लागि सम्झौता भइसकेको छ । यी बैंकहरु पुस मसान्तभित्रै एकिकृत कारोबार गर्ने योजनामा छन् । राष्ट्र बैंक भने बैंकलाई मर्जरका लागि दबाब दिएको रुपमा लिन नहुने बताउँछ । ‘अधिकतम् १५ वटा बैंकहरु आवश्यक रहेको हाम्रो अध्ययनले देखाइसकेको छ, संख्या कम भएपछि एक किसिमको वित्तीय स्थायित्व हुन्छ, हामीले यसलाई दबाबका रुपमा लिनु हुँदैन, हामी बाटो देखाउने हो, निर्णय बैंकहरु स्वयंम्ले हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

हेलम्बुमा स्याउसँगै चिया खेती

चैतारा । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेट क्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् । गाउँका किसानले चिया खेती गर्ने योजना बनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुई हजार तीनसय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । ‘गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा छ’, अध्यक्ष शेर्पाले भने, ‘चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेको छ ।’ गाउँपालिकाको अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा नगदेबालीको रुपमा फलफूल तथा अन्य खेतीलाई प्राथमिकता दिने योजनाअनुसार गाउँपालिकामा स्याउ तथा चिया खेती गर्न थालिएको हो । यस्तो खेतीबाट गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रवद्र्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थोडक्स चिया लगाइएको हो । रासस

मट्का चियाका लागि माटोको कपको माग धेरै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै थिए । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त छन् । ‘कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन’, उनले भने, ‘बरु अहिले प्लेट र कपको माग बढेको छ ।’ अहिले उनको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उनले बताए । पछिल्लो मागअनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ । ‘माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ’, उनले भने, ‘तर हामीले माग भएअनुसार पु¥याउन गाह्रो हुने गरेको छ ।’ पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ । माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उनको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताए । ‘माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ’, उनले भने, ‘तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।’ माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उनले बताए । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् । हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । ‘हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन’, कविरामले भने, ‘त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।’ नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उनको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् । कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ । रासस

बिजी मलमा सुरु भयो दशैं तिहार अफर, हरेक हप्ता उपहारै उपहार

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए । बम्पर उपहारमा गोलाप्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मल संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । यस्तै, साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन । असोज ६ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

राजमार्ग खुलेको तीन दशकमा पनि बनेन कुश्मामा बसपार्क

कुश्मा । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाएका थिए । बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने थाहा पाएपछि दङ्ग पर्ने नै भए । बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने मुख्य नाकाको रुपमा रहेको कुश्मामा राजमार्ग बनेको तीन दशकसम्म पनि बसपार्क बन्न सकेको छैन । दोस्रो पटक पनि नगर प्रमुखमा निर्वाचित बनेपछि जोशीले तीनतले बसपार्कको काम अघि बढाइने कुरा फेरि दोहोर्याए । उनले कुश्मा नगर बहुुउद्देश्यीय बसपार्क तथा सिटी हल निर्माण गरिने कुरा बजेट वक्तव्यमा समावेश गरेकाे भए पनि धेरैले बसपार्क निर्माण हुने कुरामा भने शङ्का गर्न थालेका छन् । उसो त प्रदेश र सङ्घको चुनावमा भिडेर जितेकाले समेत बसपार्क निर्माण गर्न सकेनन् । एमालेका सांसद पदम गिरीले गएको सङ्घीय चुनावका बेलामा गाउँमा भाषण गर्दै भनेका थिए, ‘गाउँगाउँ पुग्ने बाटा चिल्ला बन्नेछन्, अर्को पटक फेरि भोट माग्न आउँदा फोरह्विल गाडीमा सकिनसकी आउने होइन, साइकलमा सररर… भोट माग्न आउने छु ।’ तर गाउँ पुग्ने बाटा आज पाँच वर्षपछि पनि लगभग जस्ताको तस्तै नै छन् । ‘बसपार्कका लागि जमिन पनि छुट्याइएको छ, सामान्य बस पार्किङ गर्न मिल्ने बिसौनी बनाइदिएको भए पनि हुन्थ्यो, बाटो चाक्लो मात्र बनाएर के गर्नु सबै गाडी बाटोमै लाइन लगाएर पार्किङ हुन्छन्,’ स्थानीय युवा विकास पौडेलले आक्रोश पोखे, ‘नेताहरुले सस्तो लोकप्रियताका लागि पूरा नहुने सपना बाँडेका छन् ।’ बसपार्क निर्माणका लागि कुश्मा नगरपालिका–६ मा शिवालय धार्मिक विकास गुठीले १२ रोपनी जग्गा छुट्याएको पनि डेढ दशकभन्दा बढी भयो । अहिले त्यहाँ वरपर फोहोर र झाडीले भरिनाका साथै ढुङ्गा, माटोको थुप्रा, निर्माण सामग्रीलगायतका वस्तु राख्ने स्थान बनेको छ । ‘हामीले सार्वजनिक जग्गा चाहिन्छ भनेर लडेर बचाएको जग्गा हो ।’, बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरीले भने, ‘नेताहरुले पहल गर्नुपर्ने हो त्यो देखिएन । तत्कालीन जिल्ला विकास समिति हुँदा धेरथोर रकम ल्याएर खन्ने सम्याउने काम गरेका थियौँ । करोडौँ रकम लाग्ने बसपार्कलाई एकलाख, दुईलाखले छिस्स पनि हुन्नथ्यो, अहिले त्यही काम पनि भएको छैन ।’ बसपार्क नहुँदा सबैभन्दा बढी मारमा चाहिँ छोटो दूरीमा गुड्ने सार्वजनिक सवारी साधन पर्ने गरेका छन् । कुश्मादेखि बागलुङ र जिल्लाका विभिन्न गाउँमा पुग्ने सवारी साधनले बसपार्कको अभावमा सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् । ‘हामीलाई पनि बीच सडकमा गाडी राखेर यात्रु चढाउने र ओरालने रहर त छैन नि,’, बस चालक हेमन्त गुरुङले भने, ‘जहाँ पायो त्यहीँ गाडी रोक्छस् भन्दै बिहान बिहानै ट्राफिकको नमिठो गाली सुन्ने मन कसलाई हुन्छ र, फेरि बाटो छेउका पसलेले पनि जहाँ पायो त्यहीँ गाडी रोकेर हाम्रो पसल छेक्ने भन्दै बाझ्न आउँछन् ।’ व्यवस्थित बसपार्क नहुँदा ट्राफिक प्रहरीलाई पनि सास्ती भएको छ । मुख्य राजमार्गमा छेउछाउँमा मनलाग्दी गरिने पार्किङदेखि बजारभित्रका साँघुरा बाटोको दुई छेउँमै गरिने पार्किङले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ थियो । ‘व्यवस्थित बसपार्क नहुँदा सवारी साधनले मनलाग्दी पार्किङ गरिरहेको भए पनि हाम्रोतर्फबाट व्यवस्थापन गर्न सक्दो प्रयास गरेका छौँ’, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेले भने, ‘जथाभावी सडकमा गरिने पार्किङबाट लामा दूरीका सवारी साधनलाई लगभग हटाइसकेका छौँ, तर लोकल रुटमा चल्ने सवारी साधनलाई हटाउनका लागि उनीहरुलाई पार्किङको विकलप दिनुपर्ने हुन्छ, जुन हाम्रो लेबलबाट सम्भव छैन ।’ पछिल्लो दिनमा कुश्मालाई साहसिक पर्यटनका लागि उपयुक्त स्थानको रुपमा लिने गरिन्छ । पर्यटकको बाक्लो चहलपहल पनि हुँदै आएको छ । अध्ययन भ्रमणदेखि घुम्न र रमाइलो गर्न आउने पर्यटकका सवारी साधन पार्किङ स्थलको अभावमा सडकमै राख्नुपर्ने अवस्था छ । ‘बसपार्क पर्वतको पहिचानसँग पनि जोडिएको कुरा हो’, पर्यटन व्यवसायी नेत्र पराजुलीले भने, ‘कुश्मा आउने पर्यटकले आफ्नो सवारी साधन सही तरिकाले पार्किङ गर्ने ठाउँ पाउँदैनन् भने जिल्लाको अवस्था कस्तो रैछ, कुश्मावासीको बुझाइ कस्तो रैछ र नेताको चरित्र कस्तो खालको रैछ भन्ने कुरा हाम्रो इज्जतसँग जोडिएको हुँदैन र ?’ मनलाग्दी गरिने सवारी साधनको पार्किङले बजारलाई डिष्ट्रव गरेको पर्वत उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर बि पौडेलले बताए । ‘व्यवस्थित बसपार्क नहँुदा बजारमा समस्या देखिएको छ’, उनले भने, ‘घुम्न आएकाले ल्याएका गाडी बसपार्कमा राखेर बजार हेर्दै कुश्मामा रहेका पर्यटकीय स्थलहरु पुग्न सक्थे यसले बजारको व्यापार व्यवसाय पनि बढ्ने थियो ।’ नगरपालिकाले तीनतले बसपार्क निर्माणका लागि तीन वर्ष पहिले रु ७७ करोडभन्दा बढी लागतको स्टिमेटसहितको डिपिआरसमेत तयार गराएको थियो । बसपार्कको तल्लो तलामा बस राख्ने, दोस्रो तलामा साना सवारी साधन राख्ने र सबैभन्दा माथिल्लो तलामा चाहिँ १२ सय अट्ने सिटी हल निर्माण गर्ने नगरपालिकाको महत्वकाङ्क्षी योजना थियो । आधुनिक तीनतले बसपार्क निर्माणको तयारी अघि बढी रहेको कुश्मा नगरपालिकाको भनाइ छ । बसपार्कको लागि लगानी बढी भएको हुँदा नगर विकास कोषसँग ऋणका लागि भेटघाट र छलफल भइरहेको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए । ‘बान्द्रविडी चौरसहित १५ रोपनी जग्गा बसपार्कका लागि छुट्याएका छौँ’, उनले भने, ‘नगर विकास कोषले चाहिँ संरचना बनाउने मात्र नभई त्यसको मुनाफा कति वर्षमा उठाउन सक्छ भन्ने मूल्याङ्कन गर्छ । तयसपछि बल्ल काम अघि बढ्ने हो ।’ आफूहरुको कार्यकालमा तीनतले बसपार्क बनेरै छाड्ने कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले बताए । ‘हामीले मेयर साहेव राष्ट्रियसभाका अध्यक्ष, इन्जिनियरसहित नगर विकास कोषको टोलीसँग छलफल पनि गरेका थियौँ’, उनले भने, ‘जग्गा टुङ्ग्याउने कामको प्रक्रिया अघि बढी रहेको छ । नगर विकास कोषले ऋण दिने कुरा भएको छ, अब तीनतलाकै बसपार्क बनेरै छाड्छ ।’ रासस

प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकमा जडान गर्यो ४५० स्मार्ट बत्ती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा वत्ति जडान गरी सञ्चालनमा ल्याइएको छ । आइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने करिब ४ सय ५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ । काठमाडौं महानगरपालिका, मध्यपुरथिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्ती महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए । ‘सडक बत्ती जडान भएपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ,यसबाट सहरी सौन्दर्यता पनि बढेको छ,’ उनले भने । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।

असोजको पहिलो सातामा निक्षेप र कर्जा दुबै बढ्यो, सीडी रेसियो कति ?

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढेको छ । नेपाल बैंकर्स संघको अनुसार असोजको पहिलो सातामा बैंकहरुको निक्षेप २६ अर्ब र कर्जा ४ अर्बले बढेको हो । असोज ७ गतेसम्ममा बैंकहरुमा ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन भदौको अन्तिम सातामा ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले भदौको अन्तिम सातामा ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८७.२१ प्रतिशत पुगेको छ ।