विकासन्युज

टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखराको बतास ब्रदर्समा उपलब्ध

पोखरा । १२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुनेभएको छ । यो सँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट याे स्कुटर खरिद गर्न सक्नेछन् । नयाँ मोडलमा टिभिएस स्मार्टकनेक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टकनेक्ट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ । कम्पनीकाे अनुसार १२५ सिसि सेग्मेन्टमा १० एकभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । कम्पनीकाे अनुसार यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाउँछ जसकाे कारण स्कुटर चलाउन पनि सजिलो हुन्छ ।

दशैं बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

काठमाडौं । नेपाल आयल निगमले दशैं बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दशैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ । रासस

रवीन्द्र मिश्रले फेरि काठमाडौं-१ बाट चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं-१ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन् । मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन् । मिश्र २०७४ सालको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका उनी ८१९ मतले पराजित भएका थिए । मिश्रले १० हजार १ सय १८ मत पाउँदा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए ।

डिजिटल बैंकिङको प्रयोगसँगै २२ अर्बले घट्यो चलनचल्तीका नोट, छाप्न कति लाग्छ ?

काठमाडौं । तीन महिनाको अवधिमा चलनचल्तीका नोट २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा भदौमा २२ अर्ब ४ करोड ९५ लाख ५९ हजार नोट घटेको हो । गत असारमा ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख नोट चलनचल्तीमा रहेकोमा भदौमा भने घटेर ५ खर्ब ९४ अर्ब ३० करोड १५ लाख नोट कायम भएको हो । साउनमा ५ खर्ब ९९ अर्ब ९७ करोड ७५ लाख नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ प्राथमिकता दिएसँगै नोटहरु पनि प्रणालीबाट कम हुँदै गएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, वालेट लगायतको प्रयोग बढेसँगै नोटहरु पनि कम हुँदै गएको राष्ट्र बैंकको भनाइ छ । नोटको प्रयोग अझै घट्न सक्ने राष्ट्र बैंकको प्रक्ष्येपण छ । नोटको प्रयोग घटेसँगै राष्ट्रको लागत पनि कम हुँदै गएको बताइएको छ । राष्ट्र बैंक नोट छाप्नका लागि अख्तियारी पाएको संस्था हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको उक्त अधिकार र नोट छपाइ तथा टकमरी निर्देशिका २०६५ ले गरेको व्यवस्था वमोजिम राष्ट्र बैंकले नोट छाप्दै आएको छ । नेपालमा नोट छाप्नका लागि प्रिटिङ प्रेस नभएकाले ग्लोवल टेण्डर मार्फत छाप्ने गरिन्छ । राष्ट्र बैंकले नोट छाप्नका लागि महँगो शुल्क तिर्नु पर्ने अवस्था छ । राष्ट्र बैंकका अनुसार पाँच रुपैयाँको नोट छाप्न १.६८ रुपैयाँ, १० रुपैयाँको छाप्न १.४० रुपैयाँ र २० रुपैयाँको छाप्न १.७३ रुपैयाँ खर्च लाग्ने गरेको छ । पचास रुपैयाँको एउटा नोट छाप्न २.६७ रुपैयाँ र १०० को नोट छाप्न २.९९ रुपैयाँ खर्च लाग्छ । पछिल्लो पटक राष्ट्र बैंकलाई १,००० रुपैयाँ भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । १,००० रुपैयाँको नोट छाप्न ३.३७ रुपैयाँ र ५०० रुपैयाँको एउटा नोट छाप्न ४.६८ रुपैयाँ लागत छ । नेपालका अधिकांश नोट चिनमा छापिन्छन् । नेपालमा चलाइने सात प्रकारका नोटमध्ये पाँच प्रकारका नोट पछिल्लो समय चीनमा छापिएका छन् । राष्ट्र बैंकले करिब नौ वर्षयता चीनमा पनि मुद्राको छपाइ सुरु गरेको हो । अहिले ५० र १०० रुपैयाँ बाहेक सबै दरका नोटहरू चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ । ५० का नोट फ्रान्समा र रु १०० का नोट भने यूकेमा छापिँदै आएका छन् ।

माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर शाखा सिरहामा

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल र बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा गरेका थिए । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । माछापुच्छ्रे बैंकले याे एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी,विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान गर्ने जनाएको छ ।

बागलुङका किसानले दूध बेचेर गाउँ भित्र्याए ६ करोड

गलकोट । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै ६ करोड ११ लाख ६८ हजार तीन सय १६ रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७८/७९ मा सहकारीमार्फत दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा दीर्घकालीन रुपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले बताए । उनी सृजना दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालकसमेत छन् । काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुले मात्रै दैनिक तीन सय दूध सहकारी सङ्घलाई बजारमा पठाउने गरेको किसान बालानन्द कँडेलले जानकारी दिए । ‘दूध उत्पादन मात्रै गरेर भएन, बिक्रीका लागि बजार टाढा छ, १० लिटर दूध लिएर बजार आउने कुरा भएन सहकारीमार्फत दूध बिक्री गर्दा दूध धेरै टिकाउन सकिने, दूध प्रशोधनपछि बिक्री नभएमा अन्य दुग्धजन्य पदार्थ उत्पादन गर्न सकिने भएकाले हाम्रो दूधको बजार सुनिश्चित भयो’, उनले भने, ‘सहकारीले दूधको रकम सहकारीमार्फत भुक्तानी गर्दा सहकारीको कारोबारका आधारमा नाफासमेत आउँछ, किसानलाई दूध ढुवानी र घाँस ढुवानीमा अनुदान आउँछ । साथै पशुका लागि प्राविधिक सल्लाह र उपचारसमेत सहकारीमार्फत नै हुँदा सहज भएको छ ।’ चौध वटा सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु छ करोड बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए । चौध सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै छ करोड रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेका हुन् । ‘किसानहरुले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानहरुले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो’, अध्यक्ष गौतमले भने, ‘किसान विचौलियाको मारमा समेत पर्नाले धराशयी बन्ने अवस्था अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा दूध पु¥याउने कार्य गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको तीन हजार लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरू रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह भएको छ ।’ गौतमका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै–थोरै दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज भएका कारण किसानहरु उत्साहित बनेका हुन् । सहकारी २०५७ सालमा स्थापना गर्दा दूध सङ्कलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनाउनाका साथै १९ कर्मचारीलाई प्रत्यक्ष रोजगारीसमेत दिँदै आएको छ । दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दूधजन्य पदार्थहरु जस्तै घीउ, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी सङ्घका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिए । उहाँका अनुसार सहकारीले आर्थिक वर्ष २०७८/७९ मा मात्रै किसानलाई छ करोड ११ लाख रुपैयाँ दूध खरिद बापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घले समेत रु ७४ लाख खुद बचत गर्न सफल भएको छ । बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवद्र्धनात्मक काममा लगानी गर्ने सहकारी सङ्घले जनाएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झन्डै एक हजार पाँच सय किसानले धेरै थोरै दूध बजारीकरणका लागि पठाउछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । तीमध्ये काठमाडौँमा छुर्पी निर्यात हुँदै आएका दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/७९ मा मात्रै पाँच लाख बराबरको छुर्पी काठमाडौं निर्यात गरिएको छ । सहकारीले एक वर्षमा ८५ लाखको दही, आठ लाख ७८ हजारको घीउ, सात लाख १८ हजारको पनिरसमेत बिक्री गरेको छ । बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रुपमा परिचय दिने गरी सहकारीले छुर्पी उत्पादनमा बढी जोड दिन थालेको छ । अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकेजी एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानहरुले सहकारीमा आबद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताए । सहकारीको उपयुक्त मोडेलका रुपमा दुग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ देशकै नमूना दुग्ध उत्पादक सहकारी सङ्घका रुपमा स्थापित रहेको राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमाकुमारी जिसीले बताए । कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको उनको भनाइ थियो । रासस

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक

काठमाडौं । नेपालले हालकोभन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलालले नेपालमा निर्यात बढी गर्ने अझै सम्भावना रहेको बताए । ‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ,’ उनले भने । यसलाई गत आर्थिक वर्षको निर्यातसंग तुलना गर्ने हो भने आठ गुणा बढि सम्भावना देखिएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ । नेपालको निर्यात सम्भाव्यता एक्सप्लोरिङ्ग नेपाल एक्सपोर्ट विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकैदिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको पनि सम्भावना रहेको बताए । एउटै खालकोे भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा, लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश केही खनिज र अन्य उत्पादनहरू थिए तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो । जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिल्यो । सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्बरमा थियो । तत्पश्चात कृषि, र अन्य रसायनमा आधारित वस्तुहरु थिए । त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तुहरु विविधिकरण हुन सकेनन । ‘धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो,’ अर्थशास्त्री गोन्जालोले भने । नेपालको वृद्धि उत्पादकत्वको आधारमा देखिँदैन । नेपाली उद्योग व्यवसायले तीव्र निर्यात मार्फत लाभ लिन सकेको पाइँदैन । न्यून परिणामको निर्यात, सिमित देशहरुमा मात्र केन्द्रीत र छोटो समयको निर्यात र न्यून वाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रुपमा देखिएको कुरा उनले आफ्नो प्रस्तुुतीमा बताए । ुन्यून वाह्य लगानी प्रवाहले वृद्धिका अवसरहरू र उत्पादकत्व फैलाउने सम्भावनाहरूलाई समेत थप सीमित बनाई दियो,ु उनले भने, ‘किनभने लाओस क्याम्बोडिया जस्ता मुलुकहरुले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पदकत्व दुवै बढ्यो । नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन ।’ नेपालका सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्न उद्योग व्यवसायलाई उनीहरुको उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तराष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसंग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनले सुझाव दिए  । यस्तै, महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्धनमा काम गर्नुपर्नेमा जोड दिए । ‘हामीले हाम्रो अर्थतन्त्रको आधार मजवुत बनाउन सकेनौं भने जतिवेला पनि इन्जिन फेल हुन सक्ने खतरा छ,’ उनले भने, ‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुहरु निर्यात गर्ने क्षमता राख्नुु पर्छ, यसमा सरकारले निजी क्षेत्रले दिएका सुझावहरुको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ ।’

कवादी खोलामा साढे तीन करोडमा पक्की पुल

दमौली । तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गथ्र्यो । सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत कवादीखोलामा पक्की पुल निर्माण भएपछि यस भेगका जनतालाई राहत हुने भएको छ । विसं २०७३ माघमा ठेक्का सुरु भई अलपत्र बनेको पक्की पुल केही दिनअघि मात्रै सम्पन्न भएको हो । विसं २०७३ देखि अलपत्र परेको उक्त पुल तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कृष्णकुमार श्रेष्ठको सक्रियतामा सम्पन्न भएको हो । उक्त पुलको ठेक्का हिरा एन्ड नमिता कन्स्ट्रक्सनले पाएको थियो । ३१।५ मिटर लम्बाइ र ८।५ मिटर चौडाइ रहेको पुल रु तीन करोड ५६ लाखको लागतमा सम्पन्न भएको हो । ‘अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफँै फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,’  पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहनुभएका श्रेष्ठका स्वकीय सचिव जगत खड्काले भने । पुल अलपत्र हुँदा यस भेगका जनताले पटक–पटक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । यस्तै प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँमार्फत चारवटा पक्की पुल निर्माण सम्पन्न भएको छ । आव ०७८÷७९ मा १६ करोड रुपैयाँको लागतमा चारवटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबँेसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी एवं धनमाया मिश्रले जानकारी दिए । फेदीखोला मोटरेबल पुल चार करोड २८ लाख रुपैयाँ ३२ हजार, बुडुवा खोला पुल दुई करोड नौ लाख रुपैयाँ, रिस्ती बगुवाखोला पुल चार करोड २५ लाख रुपैयाँ र रिस्ती सोतीबँेसीको पुल चार करोड ७१ लाख ३६ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो । फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेँसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिए । उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताए । ‘सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ’, उनले भने । करिब एघार करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेबल पुल तीन करोड २१ लाख रुपैयाँ, द्रोपद खोला मोटरेबल पुल तीन करोड ८३ लाख रुपैयाँ र बरखोला पुल तीन करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ । रासस