जाजरकोट बारेकोटको खाद्य डिपो रित्तै, खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या
जाजरकोट । बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन् । स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट –५ का विवेक सिंहले बताए । उनले भने ‘दसैँको समयमा बढी नै चामलको आवश्यकता पर्छ, त्यही समयमा खाद्य डिपोमा चामल छैन ।’ पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन् । सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन् । स्थानीय बजारमा चामल महँगो हुँदा आफूहरु मर्कामा परेको अर्का रमिता सिंहले बताए। जिल्लाको सबैभन्दा ठूलो भू–भाग बारेकोटमै रहेको छ । अन्न कम उत्पादन हुने बारेकोटमा दुईवटा खाद्यका डिपो स्थापना गरिएको थियो । चामल नभएका ती डिपो सर्वसाधारणले चामल कहिले आउँछ भनेर सोध्ने काममात्र भएको छ । दसैँअघि चामल लिन प्रयास गरे पनि सफल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । जिल्लाभरि १० बिक्री केन्द्र र डिपो छन् ।
गुड्दागुड्दै बसमा आगलागी, ३२ यात्रु सवार सकुसल
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ । बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिए । उनीहरूलाई गन्तव्यसम्म पुर्याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए। गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।
खाद्यले नवमीको दिनसम्म खसीबोकाको बिक्री गर्ने
काठमाडौं । सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी बोका तथा पाँच सय बढी च्याङ्ग्रा काठमाडौँ भित्र्याएको छ । ‘केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन्’, उनले भने, ‘केही आउँदै छन्, दसैँसम्म लक्ष्यअनुसारको खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्छौं ।’ कम्पनीले जीउँदो खसीको मूल्य प्रतिकेजी छ सय ८० र च्याङ्ग्राको मूल्य जीउँदो प्रतिकेजी एक हजार दुई सय ६० तोकेको छ । यसमा प्रतिकेजी १० छुट दिइएको छ । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खसी बोका तथा दार्चुलाको अपि क्षेत्रबाट च्याङ्ग्रा ल्याएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार काठमाडौं । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ । दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडौँमा मात्रै चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आगामी कात्तिक १५ गतेसम्म चल्नेछन् । अन्य बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। ‘काठमाडौँसहित अन्य जिल्लामा रहेका कम्पनीको ‘आउटलेट’मा उपभोक्ताको भीड छ’, उनले भने, ‘सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण छ, देशभर उत्साहजनकरुपमा उपभोग्य वस्तु बिक्री भइरहेको छ । कम्पनीले एक महिनाको अवधिमा पाँच करोड ४० लाखको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । पन्ध्र दिनका अवधिमा एक करोड ५० लाखको सामान बिक्री भएको र एक हजार क्विन्टल बढी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ । आउटलेटबाहेक कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र निःशुल्क होम डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीले गोगो २०, दराजलगायत अनलाइन सेवा प्रदायक संस्थाबाट घरघरमै निःशुल्करुपमा खाद्य वस्तु पु¥याइरहेको नायब महाप्रबन्धक खनालले बताए । काठमाडौँ, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा सञ्चालनमा छ । सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्य वस्तु उपलब्ध छन् । कम्पनीसँगै दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङले पनि सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री गरिरहेका छन् ।
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ ।
बागलुङको बरेङ गाउँपालिकाले रोजगारी गुमाएकालाई अनुदानमा दियो अटो रिक्सा
बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन् । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाएका हुन् । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो । रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उहाँसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन । गाउँपालिकाभित्रै सञ्चालन गर्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटोरिक्सा उपलव्ध गराएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले ल्याएको थियो । शुक्रबार एक कार्यक्रममा धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीमा सञ्चालन हुने छन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पु¥याउने दुवै योजना हो,’ अध्यक्ष शर्माले भने, ‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’ पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादरसमेत गाउँपालिकाले तोकेर अटो रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताए । अनुदानमा अटो रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको चिकित्सकको कागज, १८ देखि ४० वर्षभित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उनीहरुलाई अनुदान उपलब्ध गराएको शर्माले बताए । गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुने छन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो रिक्सा सञ्चालन, मर्मत संहार र इन्धनको प्रबन्ध अटो रिक्सा सञ्चालक आफैँले गर्नेछन् । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो रिक्साका लागि व्यवसायीले एक लाख ४७ हजार चार सय ७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ । रासस
प्रमाणमा आधारित नीति निर्माण गर्न निम्बस र दायित्वबीच सम्झौता
काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्न निम्बस र दायित्वबीच सहकार्य गर्ने सम्झौता भएको छ । निम्बस र दायित्वबिच भएको सम्झौता अनुसार निम्बसले दायित्व नेपाल जन नीति फेलोशिप कार्यक्रम अन्तर्गत २०२३ मा ३ जना फेलोहरुलाई स्पन्सर गर्नेछ । सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानिय तहमा ७४ सरकारी संस्थाहरु र २४ सांसदहरुसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पुर्याउन विभिन्न ३० वटा देशबाट प्रशिक्षित कुल १६४ दायित्व फेलोहरुको ११ वटा समूहलाई परिचालन गरिसकेको छ । विश्वव्यापी प्रतिस्पर्धा मार्फत छनोट गरिने रिसर्च फेलोहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका अधिकारीहरु र विभिन्न नीति तथा अनुसन्धन विज्ञहरुको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तिकरण, मूल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्नेछन् । हस्ताक्षर पश्चात बोल्दै निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारियाले दायित्व फेलोसिप जस्ता कार्यक्रमले युवा र सरकार बीचको अर्थपूर्ण कुराकानीको ढोका खोलेर देशमा अझ प्रगतिशील युवा परिवर्तनहरू ल्याउन सक्छ बताए । त्यस्तै, दायित्वका संस्थापक तथा अध्यक्ष डा पुकार मल्लले दायित्व फेलोसिपले युवा, सरकार र निजी क्षेत्रबीचको सहकार्य र विश्वासलाई सुदृढ गर्दै देशलाई नवप्रवर्तन, सुशासन र आर्थिक समृद्धिको साझा यात्रामा परिचालन गरेको बताए । ‘एक दशकभन्दा लामो समयको प्रयास र अनुभवहरु मार्फत पोख्त दायित्व फेलोशिप नेपाली युवाहरुका लागि एउटा अतुलनीय अवसर हो । नीति निर्माणको प्रक्रियामा प्रत्येक्ष योगदान पुर्याउनुको साथै फेलोहरुले नेपाल सरकारको नजिक रहेर काम गर्ने सुनौलो अनुभव प्राप्त गर्दछन्,’ उनले भने ।
कोरियाबाट सिटी एक्सप्रेसमा पैसा पठाउँदा रीनाले जितिन् १ तोला सुन
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ुविदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायोु योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जितिसकेका छन् । साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भु बहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी, मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जितेका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ३ दिन सम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ ल्याएको हाे । यस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।
दशैंको विदामा पनि लुम्बिनी जनरल इन्स्योरेन्सले सेवा दिने
काठमाडाैं । लुम्बिनी जनरल इन्स्याेरेन्सले दशैंको विदामा पनि बीमा सेवा दिने भएकाे छ । कम्पनीले असाेज १५ गतेदेखि २२ गतेसम्म विदा रहेपनि बीमाकाे सुविधा फाेनमार्फत दिने भएकाे हाे । कम्पनीले यसकाे लागि १२ जना कर्मचारीकाे फाेन नम्बर उपलब्ध गराएकाे छ । कम्पनीले दावी विभागकाे करुण मानन्धर र सचिन मल्ल, अन्डरसाइटिङकाे परमाेत्तरमान तुलाधार र बजार विभागकाे सन्जिव शाह अनमाेल रत्न तुलाधार सबिन श्रेष्ठ अभिषेक बराल निशान्त लामिछाने विष्णुराज पाैडेल विश्वदिपक नेपाल यज्ञ सापकाेटा र धर्मराज बडुकाे सम्पर्क नम्बर उपलब्ध गराएकाे छ ।