विकासन्युज

माछापुच्छ्रे बैंक २३औं वर्षमा प्रवेश, ल्यायो छुट र उपहारको बहार

काठमाडौं । माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकले २२ वर्ष पुरा गरेर २३ औं वर्षमा प्रवेश गरेको हो । बैंकले ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बताएइको छ । २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसै सञ्चालक समितिका सदस्य रोशन के.सीले बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे । साथै कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिनेछ । उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमाण्डूमार्फत् बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत पहिलो पटक मोबाईल टपअप गर्दा १०% वा अधिकतम १०० रुपैयाँ, एमबीएल एम स्माटमार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२% वा अधिकतम २२२ रुपैयाँ, सीजी डिजिटल मार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजार मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम १००० रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२२२ रुपैयाँ सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् । स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६५ वटा शाखाहरु लगायत १७४ शाखा रहित बैंकिङ्ग , १० वटा एक्सटेन्सन काउण्टर गरी जम्मा ३४९ स्थानवाट १६०० भन्दा बढि कर्मचारी मार्फत ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०५ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ । २२ वर्षअघि क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ । बैंकले २२ औँ वार्षिकोत्सवको अवसरमा आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधि मैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २२ वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकले कृतज्ञता प्रकट गरेको छ ।

मर्जर पश्चात् यस्तो बन्नेछ साना किसान आरएमडीसी लघुवित्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गत भदौ ३१ गते मर्जर सम्झौता भएको थियो । दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र प्रमुख कार्यकारी अधिकृत पछिको कार्यकारी पदमा ज्योति चन्द्र ओझा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २÷२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । चुक्ता पुँजी गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार साना किसान विकास लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ र आरएमडीसी लघुवित्तको १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । दुवै संस्था एक आपसमा गाभिएपछि चुक्ता पूँजी २ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । जगेडा कोष साना किसानको जगेडा कोष १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ रहेको छ भने आरएमडीसीको जगेडा कोष १ अर्ब ३ करोड ५० लाख ९२ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् लघुवित्तको जगेडा कोष २ अर्ब ७१ करोड ६८ लाख ८२ हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।

प्रतिनिधिसभाको चुनाव लड्नेले बढीमा ३३ लाखसम्म खर्च गर्न पाउने, यस्तो छ खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले उआसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो । आयोगले मतदाताको संख्यालाई ६० प्रतिशत भार, मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले आगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार मानेर खर्च निर्धारण गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार सबैभन्दा बढी खर्च गर्न पाउने उम्मेदवारले २५ लाख रुपैयाँ सम्म खर्च गर्न पाउनेछन् । आयोगको निर्णयअनुसार सबभन्दा कम काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । यस्तै १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म र ५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् । यस्तै, सबैभन्दा धेरै ३३ लाख रुपैयाँसम्म भने २६ निर्वाचन क्षेत्रका उम्मेदवारहरुले चुनावी खर्च गर्न पाउने भएका छन् । समानुपातिकको हकमा दलहरुले पेश गरेको बन्दसूचीमा सूचिकृत संख्याअनुसार प्रति उमम्मेदवार २ लाख खर्च गर्न पाइनेछ । प्रदेशसभाका समानुपातिक उम्मेदवारहरुको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । [pdf id=356042]  

लगानी कोषहरुले बजार हिस्सा मात्रै ओगटे, अब पुनरविचार आवश्यक छ : गुणाकर भट्टको लेख

नेपालको अर्थतन्त्र व्यापक संरचनात्मक सुधारको पर्खाइमा रहेको छ । सम्हाल्नै कठिन व्यापार घाटा, वढ्दो वैदेशिक ऋणभार र बचत एवम् लगानीबीचको अन्तरले आर्थिक वृद्धि तथा दिगो आर्थिक विकासका लागि आवश्यक पर्ने पुँजी जुटाउने चुनौती थपिएको छ । एक दशक अगाडिसम्म कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशतमात्र रहेको सरकारको ऋणभार अहिले आएर ४२ प्रतिशतसम्म पुगेको छ यसैगरी नेपालको आन्तरिक बचत कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा तल नै रहेको छ । तर राष्ट्रिय लगानीको आवश्यकता वर्तमान अवस्थामा नै पनि कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत छ । लगानी र बचतबीचको अन्तर, उच्च चालु खाता घाटामा प्रतिबिम्बित भएको छ । यसैगरी शोधनान्तर घाटा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत माथि रहेको छ । साधन परिचालनमा देखिएको समस्यालाई निराकरण गर्न अर्थतन्त्रमा थप लगानी परिचालन गर्नुपर्ने भएको छ । यसका लागि परम्परागत उपायहरु जस्तैः वैदेशिक ऋण उठाउने, प्रत्यक्ष वैदेशिक लगानी भित्राउने र विकास सहायतामा भर पर्ने मात्र भन्दा पनि वैकल्पिक उपाय खोज्नु आवश्यक छ । लगानीका वैकल्पिक उपायहरुमा अन्तर्राष्ट्रिय स्तरमा देखिएका पुँजी बजारका विभिन्न उपकरण हुन सक्छन् । नेपालमा पनि धितोपत्र बोर्डले विशिष्टीकृत कोष सम्बन्धी व्यवस्था अगाडि सारेको छ । यस क्रममा विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू भई हालसम्म ८ वटा संस्थाले इजाजत समेत लिइसकेका छन् । विशिष्टीकृत लगानी कोषको मुख्य उद्देश्य नवप्रवद्र्धनसँग सम्बन्धित उद्यम–व्यवसाय सञ्चालन गर्न पुँजीको आवश्यकता परेकालाई सहज बनाइदिनु हो । नवीनतम ज्ञान, सीप र क्षमता भएकालाई वा नयाँ प्रविधिको माध्यमवाट वस्तु तथा सेवाको उत्पादन र वितरणमा संलग्न हुन चाहनेहरुलाई वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसायका लागि वैकल्पिक लगानी कोष महत्वपूर्ण मानिन्छ । वैकल्पिक लगानीका विभिन्न माध्यमहरुमध्ये प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्ड प्रमुख छन् । यसप्रकारको वैकल्पिक लगानी कोषलाई धितोपत्र बोर्डले विशिष्टीकृत कोष नाम दिएको छ । यो कोष दर्ता गर्नका लागि विशिष्टीकृतगानी कोष नियमावली, २०७५ ले तोकेका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । वैकल्पिक लगानीका लागि भेन्चर क्यापिटल फन्डको अवधारणा प्रमुख रुपमा प्रयोगमा आउन थालेको देखिन्छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ का अनुसार भेन्चर क्यापिटल फन्ड भन्नाले धितोपत्र सूचीकरण नभएका, सञ्चालनको सुरुआती क्रममा रहेका वा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेका वा सञ्चालनमा रहेका नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम–व्यवसायलाई सञ्चालन गर्न सेयर स्वामित्व पुँजी वा ऋणको स्वरुप भएको उपकरण वा ऋण लगानी गर्ने कोषलाई सम्झनुपर्छ । हार्वर्ड बिजनेस स्कुलका प्राध्यापक गोर्जेस डोरिअटलाई भेन्चर क्यापिटलको अवधारणाका प्रवत्र्तक मानिन्छ । सन् १९४६ मा उनले अमेरिकन रिसर्च एन्ड डेभलपमेन्ट कर्पोरेसन स्थापना गरी ३५ लाख अमेरिकी डलर उठाएर दोस्रो विश्व युद्धताका विकास भएका प्रविधिको व्यापारीकरण गर्ने काम गरे । अत्याधुनिक प्रविधिको हबको रुपमा मानिने अमेरिकाको सिलिकन भ्यालीमा विकास भएका प्रविधिसम्बद्ध कम्पनीहरु तथा स्टार्टअप्सको विस्तारमा भेन्चर क्यापिटलको ठूलो भूमिका रहेको मानिन्छ । सन् १९५८ मा साना व्यवसाय ऐनमा गरिएको संशोधनले भेन्चर क्यापिटलमा लगानी गर्नेलाई करमा छुट दिनु, सन १९७८ मा पुँजीगत लाभकर ४९ प्रतिशतबाट २८ प्रतिशत कायम गर्नु, सन १९७९ मा इम्प्लोई रिटायरमेन्ट इनकम सिक्युरिटी एक्टमा गरिएको संशोधनबाट पेन्सन फन्डलाई आफ्नो सम्पत्तिको १० प्रतिशतसम्म साना तथा नयाँ व्यवसायमा लगानी गर्ने सहुलियत दिनु र सन् १९८१ मा पुँजीगत लाभकरमा थप कटौती गर्दै २० प्रतिशत कायम गरेबाट संयुक्त राज्य अमेरिकामा भेन्चर क्यापिटलले फस्टाउने मौका पाएको हो । नेपालमा भेन्चर क्यापिटललाई नियमन गर्ने निकाय मुख्य रुपमा धितोपत्र बोर्ड नै हो । तथापि, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि भेन्चर क्यापिटलमा लगानी गर्न सक्ने भएका कारण नेपाल राष्ट्र बैंक र बीमा समितिको भूमिका समेत महत्वपूर्ण छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ मा लगानीको जोखिम तथा प्रतिफलको विश्लेषण गरी कोषको स्वपुँजीमा देहाय बमोजिमका संस्था वा व्यक्तिले लगानी गर्न सक्नेछन् भन्ने व्यवस्था रहेको छ । (क) बैंक तथा वित्तीय संस्था । (ख) बीमा कम्पनी । (ग) अवकाश कोष, कल्याणकारी कोष, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता प्रचलित कानुनबमोजिम मान्यता प्राप्त कोष । (घ) द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता वा विदेशी व्यक्ति वा विदेशी फर्म, कम्पनी वा विदेशी संस्थागत लगानीकर्ता वा विदेशमा दर्ता भएको कोष वा विदेशी कोष व्यवस्थापक वा अन्य यस्तै प्रकारको संगठित संस्था । (ङ) लगानी गर्न सक्ने उद्देश्य भएका प्रचलित कानुनबमोजिम नेपालमा स्थापना भएका संस्था । (छ) नेपाली नागरिक तथा गैर आवासीय नेपाली । (ज) बोर्डले समयसमयमा तोकिदिएका अन्य निकाय वा व्यक्ति । भेन्चर क्यापिटलको मुख्य विशेषता भनेको पुँजी बजार र बैंकिङ स्रोतबाट पुँजी परिचालन गर्न नसक्ने नयाँ उद्यमीहरुका लागि सहज रुपमा पु्ँजी उपलब्ध हुने वातावरण बनाउनु हो । यस्तो अवस्थामा भेन्चर क्यापिटलले उक्त नयाँ व्यवसायको इक्विटी अर्थात् स्वामित्वमा सहभागिता राख्ने हुन्छ भने पुँजीको अभाव भोगिरहेका उद्यमीहरुको पुँजीको आवश्यकता पनि परिपूर्ति हुन्छ । साथै, भेन्चर क्यापटिलले उक्त नयाँ व्यवसायलाई आवश्यक मार्गदर्शन समेत उपलब्ध गराउने भएका कारण व्यवसायको विकासमा मद्दत पुग्छ । नेपालको सन्दर्भमा बैंकिङ तथा पुँजी बजारको सेवा मूल रुपमा सहर बजार केन्द्रित रहेको सन्दर्भमा भेन्चर क्यापिटलले मोफसलका उद्यमी तथा व्यवसायीलाई वित्तीय सुविधा उपलब्ध गराएर उद्यमशीलता विकासमा टेवा पु¥याउन सक्ने सम्भावना पनि छ । भेन्चर क्यापिटललगायतका वैकल्पिक कोषहरुले नवीनतम अवधारणासहित व्यवसाय गर्न चाहनेलाई नेटवर्किङमा समेत मद्दत पु¥याएर आफ्नो उपस्थिति सार्थक बनाउन सक्छन् । नेपालको सन्दर्भमा हेर्दा हाल अनुमतिप्राप्त विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरु मुख्यतया बैंकिङ क्षेत्रको स्वामित्वसँग अन्तरसम्बन्धित छन् । यी कोष व्यवस्थापकहरुले केवल बजार हिस्सा ओगट्ने, फस्ट मुभरको लाभ लिने तर बैंकिङ क्षेत्रको भन्दा भिन्न कार्य पद्दति अवलम्बन नगर्ने अवस्था आएमा यो अवधारणा नेपालको सन्दर्भमा सार्थक नहुन सक्छ । अर्कोतर्फ भेन्चर क्यापिटलले नवप्रवत्र्तक फर्महरुमा इक्विटी सहभागिता कायम गर्ने सम्भावना पनि भएका कारण केही समयको अन्तरालपछि सुरुको विचार प्रवत्र्तन गर्ने समूह नै विस्थापित हुने जोखिम पनि रहन्छ । प्राध्यापक डोरियटको अवधारणा नै के थियो भने, स्टार्टअपहरुलाई वित्तीय साधन उपलब्ध गराउने, मार्गदर्शन गर्ने र अन्य उद्यमीसँग जोड्ने काम नै भेन्चर क्यापिटलको हो । असल भेन्चर क्यापिटलिस्टहरुले उद्यमीलाई बजारमा स्थापित गराएर केही समयपछि बजारवाट निस्किन्छन् र फेरि त्यस्तै सोच भएका नयाँ उद्यमीलाई बजारमा प्रवेश गर्ने र व्यवसाय विस्तार गर्ने अवसर दिन्छन् । संयुक्त राज्य अमेरिकाको सफल अभ्यास र अनुभवपछि हाल आएर संसारका अन्य मुलुकमा समेत साना उद्यमीको विकास र विस्तारमा भेन्चर क्यापिटलको भूमिकालाई महत्वका साथ हेर्न थालिएको छ । संसारभरि दर्ता भएका उद्यममा करिब ९५ प्रतिशत साना–मझौला रहेका छन् । यस क्षेत्रमा ५० प्रतिशत रोजगारी साना–मझौलाबाट प्राप्त भएको र कुल गार्हस्थ्य उत्पादनमा साना–मझौलाको योगदान ३५ प्रतिशतको हाराहारीमा रहेको तथ्यांक विश्व बैंकको छ । नेपालमा पनि ठूलो संख्यामा साना–मझौला उद्यम रहेका छन् र यस्ता उद्यमहरुको विकास तथा विस्तारको एउटा महत्वपूर्ण व्यवधान भनेकै वित्तीय पहँुच नहुनु हो भन्ने अनुमान छ । अल्प विकसित मुलुकहरुमा करिब ४१ प्रतिशत साना–मझौला फर्महरुले आफ्नो विकास र विस्तारको बाधक नै वित्तीय पहुँच नहुनु हो भन्ने अनुमान समेत अन्तरराष्ट्रिय वित्त निगमको छ । मध्यम आय भएका मुलकहरुमा ३० प्रतिशत र उच्च आय भएका मुलुकमा १५ प्रतिशतमात्र फर्महरुले यस्तो अवस्था रहेको प्रतिक्रिया दिएका थिए । राष्ट्रिय आर्थिक गणना २०७५ ले नेपालमा दर्ता भएका ९ लाख २३ हजार ३ सय ५६ फर्ममध्ये ९५.४ प्रतिशत लघु र ४.२ प्रतिशत साना फर्म भएको देखाएको छ । यसैगरी लघु, साना र मझौला उद्यमले २५ लाख मान्छेलाई रोजगारी दिएको तथ्याङ्क छ । युनेस्क्यापका अनुसार यस्ता फर्महरुको पूरा हुन नसकेको वित्तीय आवश्यकता करिब ३ अर्ब ६० करोड अमेरिकी डलर छ । यस्तो अवस्थामा साना–मझौला व्यवसायको लगानीको आवश्यकता पूरा गरिदिन वैकल्पिक लगानीका स्रोतको उल्लेख्य भूमिका रहन सक्ने देखिन्छ । नेपाल आज वित्तीय साधनको अप्रर्याप्तताको अवस्थाबाट गुज्रिँदै छ । सामाजिक तथा भौतिक पूर्वाधार निर्माणका लागि मात्र नभएर संघीयता कार्यान्वयनका कारण सरकारको आकार बढ्दै गइरहकोले आन्तरिक साधन वा सरकारले परिचालन गर्ने वैदेशिक ऋण सहयोगले मात्रै साधनमा देखिएको अभाव पूर्ति गर्न सक्ने अवस्था छैन । अर्थतन्त्रका पछिल्ला परिसूचक हेर्दा पनि वाह्य क्षेत्र सन्तुलनमा देखिएकोले दबाब चाडै न्यून हुने र बैंकिङ क्षेत्रले भोगिरहको तरलता अभाव तत्काल हट्ने सम्भावना छैन । देशका बैंकहरुले नै स्थापना गरेका विशिष्टीकृतगानी कोषले अन्तरराष्ट्रिय प्रचलन अनुसार थप साधन परिचालन गर्ने र स्टार्टअपको विकासमा योगदान पु¥याउन सक्ने कुरा ठोकुवा गर्न सकिँदैन । यस्तो परिस्थितिमा वाह्य साधन परिचालन गर्ने क्षमता विकास गर्न सक्ने वैकल्पिक लगानी कोष व्यवस्थापकहरुलाई देशमा भित्राउन थप मेहनत गर्नुपर्ने हुन्छ । संसारभरि नै ग्रिन फाइनान्सिङ र डिजिटाइजेसनको बहस एकातिर चलिरहेको छ भने अर्कोतिर रुस–युक्रेन युद्धको प्रभाव कसरी कम गर्ने भन्ने विषय मुख्य चुनौतीको रुपमा रहेको छ । यस्तो स्थितिमा नेपालजस्तो प्राकृतिक स्रोत र साधनले सम्पन्न देशमा कृषि, वन, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा काम गर्ने चाहना भएका नवप्रवत्र्तकलाई प्रोत्साहित गर्न भेन्चर क्यापिटललगायतका वैकल्पिक लगानी कोषको भूमिका महत्वपूर्ण हुन सक्छ । अन्तर्राष्ट्रिय सीप, दक्षता र कटिङ एज टेक्नोलजी भित्राउन सक्ने उद्यमीलाई वित्तीय पहँुच सुनिश्चित गर्न पुँजी बजारले मुख्य भूमिका निर्वाह गर्नुपर्ने भएको छ । यस क्रममा वैकल्पिक लगानी कोषको उपयोगलाई के–कसरी आय आर्जन, रोजगारी सिर्जना र उद्यमशीलता विकासतर्फ उन्मुख गर्ने भन्ने विषय महत्वपूर्ण छ । गतिशील अर्थतन्त्रले नवप्रवत्र्तन र आविष्कारको माग गरिरहेको हुन्छ । नेपालजस्तो दुई ठूला अर्थतन्त्रको चेपुवामा रहेको सानो अर्थतन्त्रले आफ्नो तुलनात्मक लाभ भएका क्षेत्रको विकासमा नवीनतम अवधारणाको उपयोग गर्न नयाँ सोच र विचारलाई स्वागत गर्दै अगाडि बढ्नुपर्ने र यसका लागि वैकल्पिक लगानीका स्रोतको अधिकतम उपयोग गर्नुपर्ने हुन्छ । नेपालमा हाल अनुमति पाएका वैकल्पिक लगानीका फर्महरुले पनि कति उद्यमीलाई प्रवद्र्धन गरेर केही समयपछि साधन परिचालनका परम्परागत माध्यम पुँजी बजार वा बैंकको जिम्मा लगाउन समर्थ हुन्छन्, त्यसैमा भेन्चर क्यापिटललगायतका विशिष्टीकृत कोषको सफलता मापन हुनेछ । (नाफिजको अर्थचित्रबाट–लेखक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।)

दशैंमा बैंक जाने सोचमा हुनुहुन्छ ? यी हुन् २६ बैंकका खुल्ने शाखा

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दशैं बिदा ६ दिन दिएको छ । यसपटकको दशैं बिदा आज असोज १६ गते फुलपातीदेखि द्धाद्धशी असोज २१ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि दशैंमा बन्द रहनेछन् । तर, बैंकहरुले भने दशैं बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै दशैंका बेलामा सेवा प्रवाह गर्ने बताएका छन् । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् । कृषि विकास बैंक बैंक अफ काठमाण्डु सेञ्चुरी बैंक सिटिजन बैंक सिभिल बैंकग्लोबल आइएमई बैंकहिमालयन बैंक कुमारी बैंक लक्ष्मी बैंक माछापुच्छ्रे बैंक मेगा बैंक नबिल बैंक नेपाल बैंक नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल एसबिआई बैंक एनएमबि बैंक प्राइम कमर्शियल बैंक सानिमा बैंक सिद्धार्थ बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक सनराइज बैंक एनआइसी एशिया बैंक एनसीसी बैंक प्रभु बैंक एभरेष्ट बैंक राष्ट्रिय वाणिज्य बैंक

कर्णालीबाट ५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

सुर्खेत । कर्णाली प्रदेशबाट यो वर्ष दशैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा रु ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।” अहिले प्रदेशका चारबटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र ह¥र्य, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन् । गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाय मासुको लागि निर्यात गरिएका थिए । तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताए । निर्देशनालयका अनुसार दुई हजारभन्दा धेरै खसीबोका र भेडाच्याङ्ग्रा फिर्ता भएको थियो । दशैं तिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ । विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ । खसीको मासुमा कर्णाली आत्मनिर्भर कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ । विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन हुँदा खसीको मासुमा प्रदेश आत्मनिर्भर भए पनि कुखुराको मासु भने अझै बाहिरबाट निर्यात गर्नुपर्ने भएको छ ।

दशैंको बेला भरिभराउ हुने सौराहाका होटल यसबेला भने सुनसान, पर्यटकको पर्खाइमा व्यवसायी

चितवन । दशैंको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष पनि पूर्ववत् अवस्थामा फर्कन सकेन । विगतको तुलनामा यतिबेला सौराहा सुनसान छ । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी पर्यटकको पर्खाइमा रहेको बताउँछन् । उनका अनुसार अहिले दैनिक १०/१५ हात्तीले मात्र पर्यटक बोक्ने अवसर पाएका छन् । ६५ बाट घटेर हात्तीको सङ्ख्या ३२ मा झरेको छ । विगत चार वर्षअघिसम्मको अवस्थालाई स्मरण गर्दै तिवारीले भने“यतिबेला हाम्रा ६५ हात्तीले दैनिक चार ट्रिप गर्दा पनि पर्यटकले पालो पाउँदैनथे । अहिले १०/१५ वटाभन्दा बढी हात्तीले एक ट्रिप पनि पाएका छैनन् ।” आफूहरु पर्यटकको आगमन हुनेमा आशावादी रहेको तिवारी बताउँछन् । क्रमशः पर्यटक बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । राप्ती किनारस्थित होटल सनसेटभ्यूका सञ्चालक दिपेन्द्र खतिवडा विगतमा दैनिक एक सयभन्दा बढी पर्यटक दैनिक रेष्टुरेन्टमा आउने भए पनि अहिले २० जना पनि पुग्न मुस्किल हुने गरेको बताउँछन् । उनले भने, “ग्राहक नै कम हुन्छन् । त्यसमा पनि पहिले जस्तो खर्च गर्ने अवस्था देखिँदैन ।” पहिले पहिले मन फुकाएर ग्राहकले खर्च गर्ने गरेको भन्दै खतिवडाले अहिले त्यस्तो अवस्था नरहेको बताए । उनले भने, “कोभिड–१९ को असर बल्ल देखिएको जस्तो लाग्छ ।” क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे घुम्ने समय परिवर्तन भएको आँकलन गर्छन् । दसैँमा मात्र नभएर अन्य समयमा घुम्न थालेकाले यतिबेला सोचे जस्तो पर्यटक नआएको हुनसक्ने उनी बताउँछन् । घिमिरेले भने, “नेपाली मात्र होइन विदेशी पनि आएका छैनन् ।” सडकको दुरावस्थाले पर्यटकलाई रोकेको हुनसक्ने उहाँको अनुमान छ । जङ्गल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरी कोभिड–१९ का वर्षमा जति पर्यटक यो वर्ष सौराहामा नआएको बताउँछन्। उनले भने, “कोभिडको वर्ष दसैँमा खुल्दै गर्दा होटल भरिएका थिए ।” यसले राम्रो सङ्केत नदेखिएको उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दिपक भट्टराई सौराहामा आन्तरिक र बाह्य पर्यटक नआएको बताउँछन् । भट्टराईको भनाइमा यतिबेला होटल ८० देखि ९० प्रतिशत भरिन्थे । यस वर्ष ३० प्रतिशतसमेत पुगेका छैनन् । तिहारसम्म राम्रो हुने अपेक्षा उनले गरे । कोभिड–१९ को समयमा भन्दा कम पर्यटक सौराहा आएपछि व्यवसायी चिन्तित छन् । भट्टराईले भने, “हाम्रो अवस्था श्रीलङ्काकोभन्दा कम छैन । खर्च गर्ने पैसा नभएर यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्छ ।” विगतमा यतिबेला सबै कर्मचारी होटलमा हुन्थे । यस वर्ष बिदा दिनुपरेको भट्टराईको गुनासो छ । उनले भने, “अहिले हामीले कर्मचारीलाई बिदा पठाउन थाल्यौँ । विगतमा यस्तो थिएन । होटलमा पर्यटक आए आउने गरी बिदा गरेका हौं ।” आफूहरु तयारी अवस्थामा रहेको उनी बताउँछन् । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि छन् । भट्टराईका अनुसार सौराहाका होटलमा आठ हजार पर्यटक अट्नसक्ने क्षमता छ ।

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

फाइल फाेटाे अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ । अन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर रु ८० र पक्की बाटोमा प्रतिकिलोमिटर रु ४० भाडा तोकिएको पालिकाले जनाएको छ ।