विकासन्युज

जडीबुटीको ७५ प्रतिशत बजार भारतमा, वार्षिक एक अर्बको कारोबार

नेपालगञ्ज । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ । पहाडबाट मोटरगाडीमा नेपालगञ्ज आइपुग्ने जडीबुटी बिक्रीका लागि पहिले जस्तो हाटबजार लगाउनुपर्ने अवस्था पनि छैन । २० वर्षदेखि जडीबुटीको कारोबारमा संलग्न नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंक शर्माका अनुसार पछिल्लो समय जडीबुटीको व्यायसायिक खेती पनि बढ्न थालेको छ । खासगरी टिमुर, तेजपत्ता, रिठा, अमला, मेन्था लेमनग्रास अशोगन्धा, पिपलाको व्यावसायिक खेती हुन थालिसकेको छ । जडीबुटीको बजारको सम्भावनालाई हेर्दा यसको उत्पादन, प्रशोधन र निकासीबाट मात्रै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको बुझाइ छ । हाल जडीबुटी सङ्घमा देशभरका तीन सय ५० व्यवसायी आवद्ध छन् । जसमध्ये नेपालगञ्जमा मात्रै एक सय २० जना व्यवसायीले मात्रै वार्षिक एक अर्ब रुपैयाँको कारोबार गर्दै आएका छन् । ‘जटीबुटीको अपार सम्भावना छ, यसलाई नीति निर्माण गरेर व्यवस्थित गर्न सकिन्छ’, शर्माले भने, ‘हरेक वर्ष जडीबुटीको माग बढ्दो छ । पछिल्लो एक वर्षमा मात्रै चार सयदेखि सात सय टन जडीबुटीको उत्पादन र बजारीकरण भएको छ ।’ कर्णालीको हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, रोल्पा, रुकुम, जाजरकोट, डोटी, अछाम, डडेल्धुरा, बैतडीमा उत्पादन भएका जडीबुटी नेपालगञ्ज ल्याएर विभिन्न बजारमा पुर्याउने गरिएको छ । ‘यहाँ उत्पादन हुने जडीबुटीमध्ये आन्तरिक बजारमा पाँच प्रतिशत मात्रै खपत हुने गरेको छ भने ७५ प्रतिशत भारतीय बजारमा र बाँकी २० प्रतिशत युरोप र अमेरिकालगायतका मुलुकमा खपत हुने गरेको छ’, उनले भने । उनका अनुसार भारत निकासी हुनेमा जटामसी, कुडकी, पमदचाँल, अमलावेद, बिख, चिराइतो, शेतकचिनी, रिठा, दालचिनी, तेजपत्ता, सुगन्धवाल, घुच्ची च्याउ, यर्सागुम्वा लगायत ८० प्रकारका जडीबुटी पर्छन् । त्यसमा पनि विशेष गरी ३० प्रकारका जडीबुटीको माग बढी हुने गरेको उनको भनाइ छ । अध्यक्ष शर्माले कोरोनाकालमा जडीबुटीको वास्तविक पहिचान भएको उल्लेख गर्दै अदूवा, बेसार, मेथी, गुर्जो लगायतका जडीबुटीको सबैले उपभोग गरेको बताए । उनले सरकारले यसको व्यावसायिक खेतीका लागि नीतिगत तहबाटै प्रोत्साहन गर्नुपर्ने बताउँछन् । जडीबुटीको व्यावासयिक खेती गर्न सके यसबाट राम्रो आर्थिक लाभ लिन सकिने उनको बुझाइ छ । पहाडी जिल्लाका किसानसँग सङ्कलन गरिएका जडीबुटी वन कार्यालयको अनुमति लिइ व्यावसायीले नेपालगञ्जसम्म ल्याउँछन् । यसका लागि निश्चित मूल्य तोकिएको हुनाले किसानले पनि सोही अनुसार मूल्य प्राप्त गर्ने उनको भनाइ छ । यसरी विभिन्न जिल्लाबाट सङ्कलन गरिएका जडीबुटी खजुरा गाउँपालिका–४ मा रहेको छ हजार पाँच सय टन क्षमताको गोदाममा भण्डारण गरिन्छ । तर वन कार्यालयसँग अनुमति लिनका लागि कहिलेकाहीँ समस्या हुने भन्दै सल्यानका व्यवसायी हरि न्यौपानेले यसका लागि नीति नभएको गुनासो गरे । जसका कारण बिक्रीमा पनि समस्या हुने गरेको उनको भनाइ छ । उनका अनुसार सल्यानबाट मात्रै वार्षिक एक करोड ५० लाख रुपैयाँ बराबरको जडीबुटीको कारोबार हुने गरेको छ । न्यापाने १८ वर्षदेखि यस व्यवसायमा संलग्न छन् । ‘जडीबुटी सङ्कलन गर्न मात्र तीनदेखि चार महिनासम्म लाग्छ’, जडीबुटी सङ्घ सल्यानका महासचिवसमेत रहनुभएका न्यौपानेले भने, ‘निकासीमा समस्या आउँदा दररेटमा समेत असर पर्छ ।’ सल्यानका किसान मोहन न्यौपाने जडीबुटीको गुणस्तरीय उत्पादनका लागि ग्रेडिङ आवश्यक भएकोमा बताउँछन् । त्यसो भएमा किसानले पनि लाभ लिन सक्ने उनको बुझाइ छ । उनले सल्यानबाट टिमुर, अदुवा, सूठोलगायतका जडीबुटीको कारोबार हुने गरेको उल्लेख गर्दै जिल्लाको छत्रेश्वरी गाउँपालिकामा टिमुरको व्यावसायिक खेती भएको क्षेत्रका रुपमा परिचित भएको बताए । जडीबुटी विकास बोर्ड गठनको माग गणतन्त्रको स्थापना भएको पन्ध्र वर्ष पूरा भइसक्दा पनि यसबाट जडीबुटीको क्षेत्रमा तात्विक परिवर्तन नभएको व्यवसायीले गुनासो गर्दै आएका छन् । जडीबुटी सङ्घका अध्यक्ष शर्मा विसं २०४५ मा बनेको ऐन अनुसार नै अहिले काम भइरहेको बताए । उनले भारतीय बजारमा निकासी गर्न अझै पनि सहज अवस्था नरहेको बताउँदै जडीबुटी निकासी नीति खुकुलो नहुँदा व्यवसायीले सास्ती खप्नु परेको बताए । जडीबुटी प्रशोधनका सम्बन्धमा पनि नीति नभएको र व्यवसायीले कोरा निकासी गरिरहेको उनको भनाइ छ । अध्यक्ष शर्मा सरकारलाई यसको विकास र विस्तारका लागि जडीबुटी विकास बोर्ड गठन गर्न आग्रह गरे । जसमा समावेशी प्रतिनिधित्व हुने गरी नीतिगत तहका विज्ञसमेत समावेश हुनुपर्ने उनको बुझाइ छ । शर्माले जडीबुटीको सम्भावना, अध्ययन र अनुसन्धान केही नभएको गुनासो गरे । पश्चिम क्षेत्रका किसानलाई अनुदानसम्बन्धी नीति कार्यान्वयन नभएको र जडीबुटीमा बीमा कार्यक्रम पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको उनको बुझाइ छ । उनले बाँके, बर्दिया, दाङ, प्यूठानलगायतका जिल्लामा पकेट क्षेत्र निर्धारणमा जडीबुटी खेतीको सम्भाव्यता अध्ययन भएको र त्यसबाट किसानले सामान्य लाभ लिएको बताए । नेपालमा करिब ८५ प्रतिशत जडीबुटी जङ्गली बासस्थानबाट सङ्कलन हुने गर्दछ । भएको जडीबुटी पनि बिना प्रशोधन, बिना मूल्य अभिवृद्धि निर्यात हुने गरेको व्यवसायीको भनाइ छ । जैविक विविधताको हिसाबले नेपालमा ११८ प्रकारका परिस्थितिकीय प्रणाली, ७५ प्रकारका वनस्पति वर्ग, ११ हजार नौ सय ७१ वनस्पति प्रजाति भएकोमा करिब सात सय प्रकारका औषधिजन्य जडीबुटी पाइन्छन् । नेपाल व्यापार सूचना पोर्टलले नेपालबाट एक सयभन्दा धेरै प्रकारका वनस्पति वार्षिक रुपमा व्यापार भइरहेको देखाए पनि जडीबुटीबाट राष्ट्रिय आयमा भएको योगदान सन्तोषजनक देखिएको छैन । रासस

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

काठमाडाैं । बागमती प्रदेशकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएकाे छ । प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरेकाे छ । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

कारोबार रोक्का रहेको युनियन लाइफको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । दोस्रो बजारमा कारोबार रोक्का रहेको साविक युनियन लाइफ इन्स्योरेन्सको सेयर खरिद बिक्री भएर सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५.८० रुपैयाँ बढेर ३९३.८० रुपैयाँ पुगेको छ । कम्पनीको १९० कित्ता सेयर १२ पटक खरिद बिक्री हुँदा ७२ हजार ५५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफबीच मर्जर भएर वैशाख २६ गतेबाट एकीकृत कारोबार गरेका थिए । यी तीनै कम्पनीबीच मर्ज भएर हिमालयन लाइफ इन्स्यारेन्सको नामबाट एकीकृत कारोबार सुरु हुनु पर्ने हो तर, आइतबार साविककै युनियन लाइफको नामबाट कारोबार सुरु भएलगत्तै सकारात्मक सर्किट लागेको हो । नेप्सेले कसरी कम्पनीको सेयर कारोबार भएको हो भनेर अध्ययन गरिरहेको बताएको छ । रोक्का रहेकै अवस्थामा कम्पनीको कारोबार भएको हुँदा कसरी भयो प्राविधिक टोलीले हेरिरहेको नेप्सेले जनाएको छ । अध्ययनपछि मात्र के भएको हो भन्न सकिने बताइएको छ ।

संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु

काठमाडौं । ‘सङ्घीय संसद्को संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस् भनि प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै नियमावलीको मस्यौदा माथिको छलफल सुरु भएको हो । सङ्घीय संसद्को संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई मर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो । नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधि सभाबाट १६ जना सदस्य रहेका थिए । त्यस्तै, जेठ ५ गतेको राष्ट्रियसभाको बैठकले तीन जना सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो । सङ्घीय संसद्को संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम शुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुगे । आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाले । विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो । इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिए । सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सरे । गर्मीयामका छ महिना खप्तड लेक र छ महिना खप्तडछान्नाकै दारूगाउँ गरेर खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा साधना गरेर बिताए । लामो समय खप्तडमा बिताउनुभएका खप्तड बाबाले आफ्ना नाम भने खुलाएनन् । युगपुरूष भन्दै धेरैले उनको नाम ‘श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वती’ राखिदिए । स्थानीयले भने छोटो नाम ‘खप्तड बाबा’, ‘खप्तड स्वामी’ राखे र सोही नामले सर्वत्र चिनिए । उहाँकै कारण अहिले पनि खप्तडले प्रसिद्धि कमाइरहेको छ । खप्तड बाबासँग राजपरिवारको निकटता विसं २०३८ को वैशाख महिनामा तत्कालीन राजा वीरेन्द्र हेलिकोप्टरमा सुदूरपश्चिम भ्रमणमा निस्किए । कर्णाली नदी हुँदै बाजुराको आकाश भएर खप्तड पुग्नुभएका राजालाई पहिलोपटक खप्तड बाबाले नै स्वागत गरे । रानी ऐश्वर्यासँगै खप्तड पुगेका राजा वीरेन्द्रले बाबासँग लामो भलाकुसारी र विचार मन्थन गरे । खप्तड बाबाबारे जानकार प्राध्यापक शिवगोपाल रिसालले लेखेको श्रीखप्तड बाबा महाकाव्यमा उल्लेख भएअनुसार राजा वीरेन्द्र हरेक वर्ष बाबालाई भेट्न सपरिवार, सहयोगीसहित खप्तड गइरहन्थिए । आफूलाई केही तनाव भए, मुलुकमा केही सङ्कटजन्य परिस्थिति आए राजा वीरेन्द्र खप्तड बाबासँग सल्लाह लिन आइहाल्थिए । खप्तडमा जडीबुटीबारे अनुसन्धान गर्दै ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’सहित करिब डेढ दर्जन पुस्तक लेख्नुभएका खप्तड बाबा र राजा वीरेन्द्रबीच निकटता बढेपछि उनी काठमाडौंसमेत जान थाले । प्राध्यापक रिसालका अनुसार राजा वीरेन्द्रले खप्तड बाबाका लागि बुढानीलकण्ठमा एउटा आश्रमसमेत बनाइदिएका थिए । उनको निधन हुनुभन्दा साता दिन अगाडि पनि बुढानीलकण्ठमै थिए भन्ने जानकारहरू बताउँछन् । लामो समय खप्तडमा साधना गरेकाे बाबाको आश्रममै बिरामी भएपछि हेलिकोप्टरमा काठमाडौं ल्याउने क्रममा कालीगण्डकी नदीमाथिको आकाशमा २०५३ वैशाख २७ गते ब्रह्मलीन भएको इतिहासकार शास्त्री बताउँछन् । उनका अनुसार बाबाको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्य खप्तड आउन छाडेका थिए । ‘जीवित छँदा भने गङ्गादशहरामा दर्शन गर्न हरेक वर्ष पूर्वराजा वीरेन्द्र खप्तड पुग्ने गर्नुहुन्थ्यो’, उनले भने । स्वामी खप्तड पस्नुअघि भने त्यो क्षेत्र लेकमात्रै थियो । घना जङ्गल हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दासमेत पाटनमा आवतजावत खासै गर्दैनथे । खप्तडसँग स्वामी गासिएपछि भने खप्तडले आफ्नो सौन्दर्यताको प्रचार पायो । ‘उच्चपदस्थका व्यक्ति’को भ्रमणपछि बाक्लिए पर्यटक विसं २०७३ असारमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणि पौड्यालसहितको टोलीले खप्तड भ्रमण गरेका थिए । त्यसभन्दा अघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदासमेत गङ्गादशहरा मेलामा मन्त्री, सचिवसहित जम्बो टिम हेलिकोप्टरमा खप्तड पुगेको थियो । पूर्व युवराज पारस शाहसँग स्व धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, पूर्वप्रहरी प्रमुख हेमबहादुर सिंहका छोरा प्रवनजङ्ग सिंह (आध्यात्मिक नामः योगी व्याग्र वेदनाथ) सहित १५–२० जनाको टोली खप्तड पुगेको थियो । वेदनाथ ‘बाबा’ बनेकै कारण साधनाका गर्न खप्तड पुगेका थिए । त्यसबेलामा खप्तडमा असुविधाका कारण सबै आवश्यक सरसामानको चाँजोपाँजो मिलाएर भरियासहित खप्तड गएका थिए । पूर्वराजा वीरेन्द्रले उच्च अधिकारीका लागि बनाएको पाहुनागृहमा बसेर पारसको टोलीले एक साता बिताएका थिए भने पौड्यालको टोली दुई दिनमै फर्किएको थियो । विसं २०७३ मङ्सिर २३ मा तत्कालीन प्रधानमन्त्री (वर्तमानसमेत प्रधानमन्त्री) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडको अवलोकन गरेका थिए । दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाको अनुगमनमा गएका प्रधामन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका थिए । खप्तडमा उनले केही समय बिताएर फर्किएका थिए । यसरी उच्चपदस्थका व्यक्तिको भ्रमणपछि खप्तडमा पर्यटकको सङ्ख्या बढ्दै गएको हो । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार उच्चपदस्थका व्यक्तिको भ्रमणपछि हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक र १०–१५ जना विदेशी पर्यटक थपिँदै गएका छन् । योग शिविरमै बाक्लो उपस्थिति गत वर्ष खप्तड क्षेत्रमा पहिलोपटक योग शिविर सञ्चालन हुँदा सहाभागीको सङ्ख्या बाक्लो रह्यो । योग जागरणका लागि ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक शिविर तीन दिनसम्म चलेको थियो । जसमा अढाइ सयभन्दा बढी योग साधक सहभागी थिए । नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अड्डा राजपुर ब्यारेक दिपायल, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा चिन्तामणिनाथ योगी, योगगुरू पुष्पराज पुरूषसहितको टोली एक सातासम्मै खप्तड बसेका थिए । खप्तडमा बाबा व्याग्र वेदनाथ भने साधनाका लागि पटक–पटक खप्तड पुगिरहन्छन् । खप्तडमा रहेको नेपाली सेनाका अनुसार खप्तड बाबापछि धेरैपटक खप्तडमा आएर साधाना गर्नेमा वेदनाथ नै पर्छन् । गङ्गादशहरा मेलामा आउने बाबाहरू भने दुई–तीन दिन धर्मशालामा बसेर फर्किने गरेको दर्शनार्थीको बुझाइ छ । खप्तड अध्यात्मको केन्द्र बन्ने विश्वास स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योगगुरू हुनुहुन्छ । योगासन र प्राणायामको सरल विधि सिकाएर योगमा क्रान्ति ल्याएका रामदेव अबको दुई सातापछि खप्तड आउन लागेका छन् । खप्तडमा हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन २३ जेठदेखि तीन दिनसम्म चल्नेछ । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सुदूरपश्चिम प्रदेश र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलनको प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्षनेता, जगत्गुरू कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जना सहभागी हुने समितिका कार्यकारी निर्देशक खड्काले जानकारी दिए । ‘सम्मेलनको उद्घाटनपछि योगी रामदेवले ध्यान गराउने र प्रवचन दिने कार्यक्रम तय गरिएको छ’, खड्काले भने, ‘त्यसपछि योगाभ्यास गरिने, खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय भएको छ ।’ सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्याउन मद्दत पुग्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिं ओलीले बताए । उनले भने, ‘भारतीय पर्यटकमात्रै भए पनि खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’ खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको तथ्याङ्कानुसार पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा बढी चालु आर्थिक वर्षमा ६३ विदेशी पर्यटकले खप्तडको अवलोकन गरेका छन् । यो सङ्ख्या बढाउनका लागि पनि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन अनिवार्य भएको प्रदेशसभा सदस्य ओलीले बताए । मुख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन यही जेठ २३–२५ सम्म सञ्चालन हुने अध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधि आयोजक समितिमा छन् । सम्मेलन आयोजनाको लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ भने सम्मेलन सफल पार्न १५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । खप्तडको ऐतिहासिकता पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ । संस्कृतिका जानकार खप्तडछान्ना गाउँपालिका–६ का ज्ञानबहादुर खड्काका अनुसार खप्तडमा रहेको केदार ढुङ्गा पनि भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको कपडाको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएका थिए भन्ने कथन छ । ‘त्रिवेणी पाटनमा केदारढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ’, उनले भने । घायलका अनुसार खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँको छुट्टै पौराणिकता रहेको र तत्ठाउँमा स्थानीयले शिवको पूजा गर्दै आएका छन् । खप्तडको स्वरूप धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँट, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ । वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूले खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम नभएको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानको आ–आफ्नै महत्व र पौराणिकता छ । खप्तड ‘२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) को सङ्गम’ भनेर पनि परिचित छ । समुद्र सतहबाट २४–३७ सय मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर, सयौँ पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना (२०४२) भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको थियो । के–के पाइन्छ खप्तडमा ? बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र एक सय ९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि नौ र झाडी बुट्यान दुई दशमलव आठ वर्गकिमीमा फैलिएको छ । खप्तडमा तीन सय ८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइने गरेको तथ्याङ्कले देखाएको छ । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात दुई सय तीन, लहरा आठ र उन्यु १९ प्रजातिका रहेका छन् । तथ्याङ्कानुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । सोमबारबाट गङ्गादशहरा हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गङ्गादशहरा मेलामा हजारौँ तीर्थालु खप्तड पुग्ने गर्नुहुन्छ । यस वर्ष तीर्थालुको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गङ्गादशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गङ्गादशहरा मेला खप्तडको प्रमुख आकर्षण बनेको हो । मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म लम्बिने गरेको छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गरेर सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने गर्छन् । शुक्रबारबाटै विभिन्न कार्यक्रम हुने खप्तडमा दशहरा मेला भने मङ्गलबार हुनेछ । यस वर्ष खप्तडदेखि प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी मन्दिरसम्म हाइअल्टिच्युड म्याराथन प्रतियोगिताको दोस्रो संस्करण १७ गते बिहान ६ बजेदेखि सुरु हुने उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले जानकारी दिए । उनका अनुसार पुरूष म्याराथन प्रतियोगितामा ४२ दशमलव पाँच किलोमिटर दूरी (खप्तड–डोटी शैलेश्वरी) तोकिएको छ भने झिग्रानाबाट सिलगढीको शैलेश्वरी मन्दिरसम्म महिलाका लागि हाफ म्याराथन प्रतियोगिता सोही दिन हुनेछ । पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म खप्तड क्षेत्रमै सञ्चालन गरिने भएको छ भने घोडादौड प्रतियोगिता जेठ १५ गते हुने डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । उनका अनुसार देउडा प्रतियोगिता १६ गते राति हुने भएको छ । डोटी उद्योग वाणिज्य सङ्घ, सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा, श्री भैरवप्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन् । रासस

५० जिल्लाका उद्यमीलाई जोडेको दिपकको ‘उद्यमी घर’को कथा

काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोबाट चापागाँउ जाने सडको छेउमै छ ‘उद्यमी घर’ । ४ तल्ले घरमा रहेको उद्यमी घर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र बेग्लै छ । बाहिरिबाट हेर्दा सजावटका सामग्री पाइने पसलजस्तो देखिएपनि भित्र पस्नासाथ आकर्षक हस्तकलाका सामग्री देखिन्छन् । अहिलेसम्म खासै नदेखिएका सामग्रीहरु आकर्षक तरिकाले राखिएको देख्दा जोसुकैको मन पनि फुरुङ्ग हुन्छ । ती सामग्रीहरुले मन आकर्षित बनाउँछन् । त्यहाँ भित्र पस्दा हातैबाट पनि यस्ता सामग्री बनाउन सकिन्छ र भन्ने जिज्ञासा बढ्छ । यो प्रश्नको सामना उद्यमी घरका सञ्चालक दिपक कार्कीले पटक-पटक गर्छन् । उनले ग्राहकले राख्ने जिज्ञाशालाई प्रष्ट पार्दै भन्छन्, ‘यी सबै हातैले बनेका हुन्, यहाँ यस्तै प्रकारका ३ सयभन्दा बढी हस्तकलाका सामग्री छन् ।’ कार्की गैरसरकारी संघसंस्थामार्फत् गाउँ–गाउँमा पुगेर जीविकोपार्जन, उद्यमशीलता, आयआर्जन, महिला सशक्तिकरण र युवा रोजगारीका क्षेत्रमा तालिम तथा गोष्टी सञ्चालन गर्ने गर्थे । २० वर्षभन्दा बढी समय उक्त तालिममा बिताएका उनले उद्यमीको सपना साकार पार्न नै उद्यमी घर सञ्चालनमा ल्याइएको बताए । ‘म तालिमका क्रममा ४२ भन्दा बढी जिल्लामा गैसकेको छु, तालिम दिएर उद्यमीहरुले उत्पादन गरेको सामग्रीको बिक्रीकै लागी मैले उद्यमी घर सञ्चानलमा ल्याएको हुँ, यसमा सबै योगदान उहाँहरुकै छ, उहाँहरुको माग सम्बोधनका लागि उद्यमी घर नाम राखेको हुँ,’ उनले भने ।कसरी स्थापना भयो उद्यमी घर ? उद्यमी घरमा हाल ५० भन्दा बढी जिल्लाका ३ सय उद्यमी जोडिएका छन् । ‘नेपाल भर छरिएर रहेका कृषि, हस्तकला तथा नेपाली उत्पादनहरु एकै स्थानमा पाउने भन्ने उदेश्यका साथ हामीले उद्यमी घर सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘अहिलेसम्म ५० भन्दा बढी जिल्लाका ३ सयभन्दा बढी उद्यमीहरु उद्यमी घरमा जोडिनुु भएको छ ।’ सबै जिल्लामा रहेका हस्तकलाका उद्यमीलाई समेटेर नेपालमा नै पहिलो पटक हस्तकलाको डिपार्टमेन्ट स्टोरका रुपमा उद्यमी घरलाई राखिएको सञ्चालक कार्की बताउँछन् । सञ्चालक कार्की, उनकी श्रीमति सोभा घिमिरे तथा भाइ रुपक उद्यमी घर सञ्चालन गर्नुपूर्व विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय मार्फत जिल्ला–जिल्लामा उद्यमशीलताको कार्यक्रम लिएर जाने गर्थे । यसरी उद्यमशीलताको तालिम दिँदै जाँदा उनीहरूबाट तालिम लिएर धेरै मानिसहरू उद्यमी बने । विशेषतः यसरी उद्यम गर्न सुरूवात गरेका उद्यमीहरूले हस्तकला, चित्रकलाका थुप्रै सामानहरू बनाए तर उचित बजार भने भेटेनन् । उद्यमीले बजार नपाउँदा धेरैले आफ्नो व्यवसाय नै छाडेको र कतिले व्यवसायको आकार घटाएको दिपक दम्पतीलाई थाहा भयो । त्यसपछि यी दम्पतीलाई सोच पलायो उद्यमीले बनाएका समानहरूलाई बेच्ने एउटा बेग्लै ठाउँ बनाउन पर्छ । फलतः उनीहरूले उद्यमी घर भनेर छुट्टै कम्पनी दर्ता गराए । र, उद्यमी घर सञ्चालनमा आयो । उद्यघी घर सञ्चालनको योजना बनेको करिब २ वर्षपछि मात्र उद्यमी घर सञ्चालनमा आएको हो । ‘सीप विकास तालिम पश्चात् सहभागीको योजना अनुसार बजारसम्मको पहुँच कसरी पुर्याउन सकिन्छ भनेर हामीले एउटा अध्ययन पनि गरेका थियौँ, उक्त अध्ययन पश्चात् उद्यमी घर सञ्चालनमा ल्याइएको हो’, उनले भने । सबै उद्यमीको साझा उद्यमका रुपमा उद्यमी घर सञ्चालनमा ल्याइएको बताउँदै उनले विस्तारै उद्यमीहरु थपिने क्रममा रहको जानकारी दिए । अनलाइन मार्फत् पनि बिक्री सुरुवाती चरणमा चापाँगाउँ दोबाटोमा रहेको स्टोरबाट उद्यमी घर सञ्चालनमा ल्याएका दीपकले अनलाईन मार्फत् समेत हस्तकलाका सामग्री बिक्री भएको बताए । उनले उद्यमी घरकै वेबसाइट सञ्चालनमा ल्याइने बताउँदै अहिले अधिकाशं सामग्री दराज अनलाइन मार्फत बिक्री भइरहेको बताए । दराज बाहेक अन्य अनलाईन डिपार्टमेन्टल स्टोरमा समेत बिक्री गर्ने तयारी रहेको उनको भनाइ छ । ‘हाल खुद्रा तथा होलसेल रुपमा बिक्री भइरहेको छ । हाम्रो योजना नेपाली उत्पादन नेपालमै बिक्री गर्ने र दोस्रो बजारका रुपमा विदेशमा निर्यात गर्ने हो, अहिले आन्तरिक तथा बाह्य दुबैमा बिक्री भैरहेको छ’, उनले खुशी हुँदै सुनाए । परालले बनेका सामग्री बढी निर्यात उनले पछिल्लो समय विदेशबाट समेत राम्रो माग आउने गरेको बताए । केही समय अघि ठूलो परिमाणमा अमेरिका निर्यात गरिएकोमा पछिल्लो समय जर्मन, युके तथा सार्क राष्ट्रका विभिन्न देशबाट माग आएको बताए । विभिन्न देशमा रहेका नेपालीहरुले अन्य सामग्रीभन्दा बढी परालले बनेका ढकिया, बाँसले बनेका सजावटका सामग्री, बाबियोले बनेका चकटी, ढाँकाका साडी, खादाहरु, नेपाली झल्कने टिसर्ट, टोपी तथा घासले बनेका ढकियाहरुको माग बढी आउने गरेको बनाए । उनका अनुसार पछिल्लो समय उद्यमी घरमा रहेका ३०० भन्दा बढी सामग्रीमध्ये २५ भन्दा बढी सामग्रीको निर्यातको माग भइरहेको बताए । कतिपय सागम्रीको माग उच्च हुँदा केही समय पर्खन लगाएर निर्यात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘हामी कहाँ थोरै मात्र सामग्रीको स्टक हुन्छ, हातैले बनाउने हुँदा एउटा सामग्री तयार गर्न केही समय लाग्छ, विभिन्न सामग्रीको माग एकैपटक उच्च हुँदा हामीले केही समय पर्खन आग्रह गरेर भएपनि निर्यात गरिरहेका छौँ, हस्तकलाका सामग्री स्टक राख्नै समस्या हुने’, उनले भने, ‘यति सामग्रीको माग आयो रातारात बसेर भएपनि पठाउनुस् भनेर हामीले उद्यमीहरुलाई आग्रह गर्ने गरेका छाँै, माग आए अनुसार रातारात गरेर भएपनि उहाँहरुले हामीकहाँ पठाउने गर्नुभएको छ ।’ उनले सामग्री ल्याउना साथ रकम भुक्तानी गर्ने गरेको बताए । ‘हामी फिल्डमै गएर ल्याउने सामग्रीको उतै भुक्तानी गर्ने गरेका छौँ, हामीलाई खोज्दै आउनेहरुको सामग्री ल्याएपछि भुक्तानी दिन्छौँ’, उनले भने, ‘हामीकहाँ १६ वर्षको युवादेखि ७० वर्षसम्मका बृद्ध आमाहरु जोडिनुभएको छ, उहाँहरुको मेहनत खेर जान दिँदैनौं ।’ विभिन्न गाउँपालिका तथा नागरपालिकाका प्रमुख तथा उपप्रमुखहरुले आफ्ना स्थानीय तहका उद्यमीलाई जोड्न आग्रह गर्ने गरेको उनको भनाइ छ । ‘हामीले तल्लो तलामा राखिएका हस्तकलाका सामग्री देखेर यहाँ आउने धेरैजसो ग्राहकहरु चकित पर्नु हुन्छ, नेपालमा नै यस्तो सामग्री बन्ने गरेको रैछ हामीलाई त थाहा नै थिएन भन्दै उहाँहरुले प्रशांसा गर्ने गर्नुभएको छ’, उनले सुनाए । उनले स–साना लगानीबाट व्यापार व्यवसायी सुरु गरेका उद्यमीलाई बिक्री भएन भनेर निराश नभई उद्यमी घरलाई सम्पर्क गर्न आग्रह गरे । उनले कतिपय स्थानमा उद्यमी घर आफैले सामान लिने गरेको, केहीले उद्यमी घरमै ल्याउने गरेका छन् भने केहीले फोन मार्फत सम्पर्क गरेर सामग्री पठाउने गरेको बताए । विस्तारै काठमाडौं उपत्यका सहित प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापनाको तयारी भइरहेको उनले बताए । ‘हाल उद्यमी घरमा रहेका सामग्रीमध्ये ८० प्रतिशत सामग्री हामीले विभिन्न जिल्लामा तालिम दिएका उद्यमीहरुले निर्माण गरेका सामग्री छन् भने बाँकी २० प्रतिशत अन्य उद्यमीहरु जोडिनुभएको छ’, ‘उनले भने केही उद्यमी व्यक्तिगत रुपमा जोडिनुभएको छ भने अधिकांश उद्यमी सामूहिक रुपमा हामीसँग जोडिनुभएको छ ।’ सञ्चालक कार्कीले १० देखि ३० प्रतिशतसम्म मार्जिन राखेर बिक्री गर्ने गरेको बताए । गाउँ–गाउँका उद्यमीले ल्याएका सामग्रीलाई फिनिसिङ, लेबलिङ र प्याकेजिङका लागि मार्जिन राखिने गरेको बताउँदै खाद्यान्नका सामग्रीको मार्जिन कम राखिएको बताए । हस्तकलाका सामग्री गिफ्टका रुपमा बढी जाने हुँदा आकर्षक प्याकेजिङ राख्नुपर्ने बताए । २ करोड रुपैयाँ बढीको लगानीमा गत पुसदेखि ललितपुरको चापागाउँ दोबाटोमा उद्यमी घर सञ्चालनमा आएको हो । सञ्चालनमा आएदेखि नै हस्तकलाका सामग्रीको माग उच्च भएको उनको भनाइ छ । पुसदेखि उद्यमी घर सञ्चालनमा आएतापनि सामग्रीको माग उच्च हुँदा औपचारिक उद्घाटन गर्न नै पाँच महिना लागेको उनी बताउँछन् । ‘हामीले अवसर धेरै देखेर नै ठूलो लगानीमा उद्यमी घर सञ्चालनमा ल्याएका हौँ, अहिले आर्थिक मन्दीको बीच केही सामग्री कम बिक्री भएतापनि अब छिट्टै हामीलाई भ्याई नभ्याई हुने हाम्रो अनुमान छ,’ उनले भने । ३ सयभन्दा बढी उद्यमी जोडिएको उद्यमी घरले हाल १५ जनालाई रोजगारी दिएको छ । के के पाइन्छन् सामग्री ? उद्यमी घरमा गाँजाको रेशाबाट तयार गरेका कपडा, बाँसबाट बनेका हस्तकलाका सामाग्रीहरू, काठबाट बनेका विभिन्न सामग्री, माटोका भाँडाकुँडा, स्वदेशी ब्रान्डका गुन्द्री सुकुल, मिथिला चित्रकलाका सामाग्रीहरु राखिएको छ । यस्तै, मखमल, ढाका, गाँजा र अल्लोबाट बनेका जुत्ताचप्पल, ब्याग र पर्स/वालेट, बच्चाका लागि बाँसबाट बनेका खेलौना मोटरसाइकल र गुडिया, गरगहना, सजावटका सामग्री, राडीपाखी, गलैंचा र काष्ठकलाका अनेक सामग्री छन् । बाँस, निगालो र बेतबाट बनेका कुर्सी, मुडा र अन्य उपयोगी सामग्री,फोटो फ्रेम, मायाको चिनो, सम्मानपत्र, प्रमाणपत्रहरु समेत राखिएको छ । यस्तै, ढाका, पश्मिना, सिस्नो, गाँजा (हेम्प), केरा, बाँसको रेसा र रेशम (सिल्क) बाट बनेका लुगा ¬(साडी, कुर्तासुरूवाल, लेहेंगा, दौरासुरूवाल, कोट र जातीय-सांस्कृतिक वेशभूषा), तयारी लुगादेखि तन्ना र रूमालसम्म पाइन्छ ।

कामना सेवा विकास बैंकको सीईओ थकालीले सम्हाले कार्यभार

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् । थकालीले आइतबारबाट कार्यभार सम्हालेका छन् । यसअघि उनी प्रभु बैंकमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्यरत थिए । चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए । उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकको जिम्मेवारी समालेका थिए । त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् ।

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदको सिफारिस

काठमाडाैं । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।