काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोबाट चापागाँउ जाने सडको छेउमै छ ‘उद्यमी घर’ । ४ तल्ले घरमा रहेको उद्यमी घर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र बेग्लै छ । बाहिरिबाट हेर्दा सजावटका सामग्री पाइने पसलजस्तो देखिएपनि भित्र पस्नासाथ आकर्षक हस्तकलाका सामग्री देखिन्छन् ।
अहिलेसम्म खासै नदेखिएका सामग्रीहरु आकर्षक तरिकाले राखिएको देख्दा जोसुकैको मन पनि फुरुङ्ग हुन्छ । ती सामग्रीहरुले मन आकर्षित बनाउँछन् । त्यहाँ भित्र पस्दा हातैबाट पनि यस्ता सामग्री बनाउन सकिन्छ र भन्ने जिज्ञासा बढ्छ ।
यो प्रश्नको सामना उद्यमी घरका सञ्चालक दिपक कार्कीले पटक-पटक गर्छन् । उनले ग्राहकले राख्ने जिज्ञाशालाई प्रष्ट पार्दै भन्छन्, ‘यी सबै हातैले बनेका हुन्, यहाँ यस्तै प्रकारका ३ सयभन्दा बढी हस्तकलाका सामग्री छन् ।’
कार्की गैरसरकारी संघसंस्थामार्फत् गाउँ–गाउँमा पुगेर जीविकोपार्जन, उद्यमशीलता, आयआर्जन, महिला सशक्तिकरण र युवा रोजगारीका क्षेत्रमा तालिम तथा गोष्टी सञ्चालन गर्ने गर्थे ।
२० वर्षभन्दा बढी समय उक्त तालिममा बिताएका उनले उद्यमीको सपना साकार पार्न नै उद्यमी घर सञ्चालनमा ल्याइएको बताए । ‘म तालिमका क्रममा ४२ भन्दा बढी जिल्लामा गैसकेको छु, तालिम दिएर उद्यमीहरुले उत्पादन गरेको सामग्रीको बिक्रीकै लागी मैले उद्यमी घर सञ्चानलमा ल्याएको हुँ, यसमा सबै योगदान उहाँहरुकै छ, उहाँहरुको माग सम्बोधनका लागि उद्यमी घर नाम राखेको हुँ,’ उनले भने ।
कसरी स्थापना भयो उद्यमी घर ?
उद्यमी घरमा हाल ५० भन्दा बढी जिल्लाका ३ सय उद्यमी जोडिएका छन् । ‘नेपाल भर छरिएर रहेका कृषि, हस्तकला तथा नेपाली उत्पादनहरु एकै स्थानमा पाउने भन्ने उदेश्यका साथ हामीले उद्यमी घर सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘अहिलेसम्म ५० भन्दा बढी जिल्लाका ३ सयभन्दा बढी उद्यमीहरु उद्यमी घरमा जोडिनुु भएको छ ।’
सबै जिल्लामा रहेका हस्तकलाका उद्यमीलाई समेटेर नेपालमा नै पहिलो पटक हस्तकलाको डिपार्टमेन्ट स्टोरका रुपमा उद्यमी घरलाई राखिएको सञ्चालक कार्की बताउँछन् ।
सञ्चालक कार्की, उनकी श्रीमति सोभा घिमिरे तथा भाइ रुपक उद्यमी घर सञ्चालन गर्नुपूर्व विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय मार्फत जिल्ला–जिल्लामा उद्यमशीलताको कार्यक्रम लिएर जाने गर्थे ।
यसरी उद्यमशीलताको तालिम दिँदै जाँदा उनीहरूबाट तालिम लिएर धेरै मानिसहरू उद्यमी बने । विशेषतः यसरी उद्यम गर्न सुरूवात गरेका उद्यमीहरूले हस्तकला, चित्रकलाका थुप्रै सामानहरू बनाए तर उचित बजार भने भेटेनन् । उद्यमीले बजार नपाउँदा धेरैले आफ्नो व्यवसाय नै छाडेको र कतिले व्यवसायको आकार घटाएको दिपक दम्पतीलाई थाहा भयो । त्यसपछि यी दम्पतीलाई सोच पलायो उद्यमीले बनाएका समानहरूलाई बेच्ने एउटा बेग्लै ठाउँ बनाउन पर्छ । फलतः उनीहरूले उद्यमी घर भनेर छुट्टै कम्पनी दर्ता गराए । र, उद्यमी घर सञ्चालनमा आयो ।
उद्यघी घर सञ्चालनको योजना बनेको करिब २ वर्षपछि मात्र उद्यमी घर सञ्चालनमा आएको हो । ‘सीप विकास तालिम पश्चात् सहभागीको योजना अनुसार बजारसम्मको पहुँच कसरी पुर्याउन सकिन्छ भनेर हामीले एउटा अध्ययन पनि गरेका थियौँ, उक्त अध्ययन पश्चात् उद्यमी घर सञ्चालनमा ल्याइएको हो’, उनले भने ।
सबै उद्यमीको साझा उद्यमका रुपमा उद्यमी घर सञ्चालनमा ल्याइएको बताउँदै उनले विस्तारै उद्यमीहरु थपिने क्रममा रहको जानकारी दिए ।
अनलाइन मार्फत् पनि बिक्री
सुरुवाती चरणमा चापाँगाउँ दोबाटोमा रहेको स्टोरबाट उद्यमी घर सञ्चालनमा ल्याएका दीपकले अनलाईन मार्फत् समेत हस्तकलाका सामग्री बिक्री भएको बताए ।
उनले उद्यमी घरकै वेबसाइट सञ्चालनमा ल्याइने बताउँदै अहिले अधिकाशं सामग्री दराज अनलाइन मार्फत बिक्री भइरहेको बताए । दराज बाहेक अन्य अनलाईन डिपार्टमेन्टल स्टोरमा समेत बिक्री गर्ने तयारी रहेको उनको भनाइ छ ।
‘हाल खुद्रा तथा होलसेल रुपमा बिक्री भइरहेको छ । हाम्रो योजना नेपाली उत्पादन नेपालमै बिक्री गर्ने र दोस्रो बजारका रुपमा विदेशमा निर्यात गर्ने हो, अहिले आन्तरिक तथा बाह्य दुबैमा बिक्री भैरहेको छ’, उनले खुशी हुँदै सुनाए ।
परालले बनेका सामग्री बढी निर्यात
उनले पछिल्लो समय विदेशबाट समेत राम्रो माग आउने गरेको बताए । केही समय अघि ठूलो परिमाणमा अमेरिका निर्यात गरिएकोमा पछिल्लो समय जर्मन, युके तथा सार्क राष्ट्रका विभिन्न देशबाट माग आएको बताए ।
विभिन्न देशमा रहेका नेपालीहरुले अन्य सामग्रीभन्दा बढी परालले बनेका ढकिया, बाँसले बनेका सजावटका सामग्री, बाबियोले बनेका चकटी, ढाँकाका साडी, खादाहरु, नेपाली झल्कने टिसर्ट, टोपी तथा घासले बनेका ढकियाहरुको माग बढी आउने गरेको बनाए ।
उनका अनुसार पछिल्लो समय उद्यमी घरमा रहेका ३०० भन्दा बढी सामग्रीमध्ये २५ भन्दा बढी सामग्रीको निर्यातको माग भइरहेको बताए । कतिपय सागम्रीको माग उच्च हुँदा केही समय पर्खन लगाएर निर्यात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘हामी कहाँ थोरै मात्र सामग्रीको स्टक हुन्छ, हातैले बनाउने हुँदा एउटा सामग्री तयार गर्न केही समय लाग्छ, विभिन्न सामग्रीको माग एकैपटक उच्च हुँदा हामीले केही समय पर्खन आग्रह गरेर भएपनि निर्यात गरिरहेका छौँ, हस्तकलाका सामग्री स्टक राख्नै समस्या हुने’, उनले भने, ‘यति सामग्रीको माग आयो रातारात बसेर भएपनि पठाउनुस् भनेर हामीले उद्यमीहरुलाई आग्रह गर्ने गरेका छाँै, माग आए अनुसार रातारात गरेर भएपनि उहाँहरुले हामीकहाँ पठाउने गर्नुभएको छ ।’
उनले सामग्री ल्याउना साथ रकम भुक्तानी गर्ने गरेको बताए । ‘हामी फिल्डमै गएर ल्याउने सामग्रीको उतै भुक्तानी गर्ने गरेका छौँ, हामीलाई खोज्दै आउनेहरुको सामग्री ल्याएपछि भुक्तानी दिन्छौँ’, उनले भने, ‘हामीकहाँ १६ वर्षको युवादेखि ७० वर्षसम्मका बृद्ध आमाहरु जोडिनुभएको छ, उहाँहरुको मेहनत खेर जान दिँदैनौं ।’
विभिन्न गाउँपालिका तथा नागरपालिकाका प्रमुख तथा उपप्रमुखहरुले आफ्ना स्थानीय तहका उद्यमीलाई जोड्न आग्रह गर्ने गरेको उनको भनाइ छ । ‘हामीले तल्लो तलामा राखिएका हस्तकलाका सामग्री देखेर यहाँ आउने धेरैजसो ग्राहकहरु चकित पर्नु हुन्छ, नेपालमा नै यस्तो सामग्री बन्ने गरेको रैछ हामीलाई त थाहा नै थिएन भन्दै उहाँहरुले प्रशांसा गर्ने गर्नुभएको छ’, उनले सुनाए ।
उनले स–साना लगानीबाट व्यापार व्यवसायी सुरु गरेका उद्यमीलाई बिक्री भएन भनेर निराश नभई उद्यमी घरलाई सम्पर्क गर्न आग्रह गरे । उनले कतिपय स्थानमा उद्यमी घर आफैले सामान लिने गरेको, केहीले उद्यमी घरमै ल्याउने गरेका छन् भने केहीले फोन मार्फत सम्पर्क गरेर सामग्री पठाउने गरेको बताए ।
विस्तारै काठमाडौं उपत्यका सहित प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापनाको तयारी भइरहेको उनले बताए । ‘हाल उद्यमी घरमा रहेका सामग्रीमध्ये ८० प्रतिशत सामग्री हामीले विभिन्न जिल्लामा तालिम दिएका उद्यमीहरुले निर्माण गरेका सामग्री छन् भने बाँकी २० प्रतिशत अन्य उद्यमीहरु जोडिनुभएको छ’, ‘उनले भने केही उद्यमी व्यक्तिगत रुपमा जोडिनुभएको छ भने अधिकांश उद्यमी सामूहिक रुपमा हामीसँग जोडिनुभएको छ ।’
सञ्चालक कार्कीले १० देखि ३० प्रतिशतसम्म मार्जिन राखेर बिक्री गर्ने गरेको बताए । गाउँ–गाउँका उद्यमीले ल्याएका सामग्रीलाई फिनिसिङ, लेबलिङ र प्याकेजिङका लागि मार्जिन राखिने गरेको बताउँदै खाद्यान्नका सामग्रीको मार्जिन कम राखिएको बताए ।
हस्तकलाका सामग्री गिफ्टका रुपमा बढी जाने हुँदा आकर्षक प्याकेजिङ राख्नुपर्ने बताए । २ करोड रुपैयाँ बढीको लगानीमा गत पुसदेखि ललितपुरको चापागाउँ दोबाटोमा उद्यमी घर सञ्चालनमा आएको हो । सञ्चालनमा आएदेखि नै हस्तकलाका सामग्रीको माग उच्च भएको उनको भनाइ छ ।
पुसदेखि उद्यमी घर सञ्चालनमा आएतापनि सामग्रीको माग उच्च हुँदा औपचारिक उद्घाटन गर्न नै पाँच महिना लागेको उनी बताउँछन् । ‘हामीले अवसर धेरै देखेर नै ठूलो लगानीमा उद्यमी घर सञ्चालनमा ल्याएका हौँ, अहिले आर्थिक मन्दीको बीच केही सामग्री कम बिक्री भएतापनि अब छिट्टै हामीलाई भ्याई नभ्याई हुने हाम्रो अनुमान छ,’ उनले भने ।
३ सयभन्दा बढी उद्यमी जोडिएको उद्यमी घरले हाल १५ जनालाई रोजगारी दिएको छ ।
के के पाइन्छन् सामग्री ?
उद्यमी घरमा गाँजाको रेशाबाट तयार गरेका कपडा, बाँसबाट बनेका हस्तकलाका सामाग्रीहरू, काठबाट बनेका विभिन्न सामग्री, माटोका भाँडाकुँडा, स्वदेशी ब्रान्डका गुन्द्री सुकुल, मिथिला चित्रकलाका सामाग्रीहरु राखिएको छ ।
यस्तै, मखमल, ढाका, गाँजा र अल्लोबाट बनेका जुत्ताचप्पल, ब्याग र पर्स/वालेट, बच्चाका लागि बाँसबाट बनेका खेलौना मोटरसाइकल र गुडिया, गरगहना, सजावटका सामग्री, राडीपाखी, गलैंचा र काष्ठकलाका अनेक सामग्री छन् ।
बाँस, निगालो र बेतबाट बनेका कुर्सी, मुडा र अन्य उपयोगी सामग्री,फोटो फ्रेम, मायाको चिनो, सम्मानपत्र, प्रमाणपत्रहरु समेत राखिएको छ ।
यस्तै, ढाका, पश्मिना, सिस्नो, गाँजा (हेम्प), केरा, बाँसको रेसा र रेशम (सिल्क) बाट बनेका लुगा ¬(साडी, कुर्तासुरूवाल, लेहेंगा, दौरासुरूवाल, कोट र जातीय-सांस्कृतिक वेशभूषा), तयारी लुगादेखि तन्ना र रूमालसम्म पाइन्छ ।