नेपाल बैंकले सरकारलाई किन तिरेन १ अर्ब कर ?
काठमाडौं । मुख्य प्रवर्द्धक नेपाल सरकार नै रहेको नेपाल बैंक लिमिटेडले सरकारलाई बुझाउनु पर्ने कर नतिरेको भेटिएको छ । बैंकले राजश्व विभागलाई झण्डै १ अर्ब रुपैयाँ बराबरको आयकर नतिरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । बैंकले सेयर प्रिमियमबापत तिर्नु पर्ने ९७ करोड ७२ लाख ५० हजार रुपैयाँ आयकर नतिरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंकले वि.सं. २०७५ साउनमा थप सार्वजनिक निष्कासन (एफपीओ) सेयर निष्काशन गरेको थियो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गरेको भएपनि ९७ लाख ८६ लाख कित्ताका लागि २ अर्ब ७४ करोड रुपैयाँको मात्र आवेदन परेको थियो । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरमा प्रतिकित्ता १ सय ८० रुपैयाँ प्रिमियम थप गरी २८० रुपैयाँमा एफपीओ बिक्री गरेको थियो । सोबापत संकलन भइ आम्दानी गरेको रकमको कर नतिरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको हो । ‘लेखापरीक्षकले वार्षिक प्रतिवेदन २०७८ मा औंल्याइए अनुसार ३ अर्ब २५ करोड ७५ लाख रुपैयाँ सेयर प्रिमियम खर्च गरी बोनस सेयर जारी गर्दा आयकर ऐन, २०५८ को दफा ५६ (३) बमोजिम सो रकमलाई आय मानी ३० प्रतिशतले हुने कर ९७ करोड ७२ लाख ५० हजार रुपैयाँ दाखिला गरेको छैन,’ महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । आयकर ऐनको दफा ५६ को उपदफा ३ मा कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्ने व्यवस्था गरेको छ । तर, तोकिएको कुनै अवस्थामा यो उपदफामा उल्लेख गरिएको कुरा लागू नहुने पनि व्यवस्था छ । उक्त बैंकमा सरकारको ६२ प्रतिशत स्वामित्वलाई ५१ प्रतिशतमा झारिएको थियो । बैंकले ११ प्रतिशत सेयर इस्यू गरेर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको थियो । महालेखापरीक्षकले २८० रुपैयाँमा बिक्री गरेको सेयरमा प्रिमियम मूल्य १८० रुपैयाँको ग्यापमा कर लाग्ने भनेको हो । तर, बैंकले भने कर नलाग्ने बताउँदै आएको छ । बैंकका अनुसार कर लाग्दैन भनेर नै नतिरेको हो । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएपछि अर्थमन्त्रालयले समेत यस विषयमा चासो देखाएको छ । बैंकले गत बैशाख पहिलो साता अर्थमन्त्रालयमा कर नलाग्ने भनेर पत्र पठाएको बताएको छ । ‘सरकारको अनुमति लिएर सेयर इस्यू गरेको हो, एफपीओ जारी गर्दा प्राप्त भएको आम्दानीमा कर तिर्नु पर्दैन भनेर जवाफ पठाएका छौं,’ बैंक स्रोतले भन्यो । प्रिमियममा सेयर निकाल्दा संकलन गरेको आम्दानी बैंकको भएकाले आय कर लाग्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएपनि यो विषय विवादित भएकाले समाधान हुन नसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारी बताउँछन् । उनका अनुसार यस्तै समस्या अन्य बैंकको पनि रहेको बुझिएको छ । सबै बैंकले यसलाई रोकेर राखेको उनको भनाइ छ । ‘यस विषयमा सार्वजनिक लेखा समितिमा उजुरी पनि परेको छ, कानुन सम्मत नभएकाले कुनै पनि बैंकले तिरेको छैन,’ उनले भने, ‘यो बैंकको इक्विटी हो, इक्विटीबाट लाभांश दिएको छैन, यसबाट बोनस सेयर मात्रै वितरण गरिएको छ, त्यसैले यसलाई आय कर नभएर क्यापिटलमा गणना गर्न पाउनु पर्छ भन्ने धारणा बैंकरहरुको छ ।’ सो रकम बैंकले प्रिमियमबापत प्राप्त गरेको हो । जस्तो बैंकले प्रतिसेयर १ सय रुपैयाँ पर्ने सेयरलाई २८० सय रुपैयाँ गर्याे भने १८० सय रुपैयाँ प्रिमियम हुन आउँछ । सोही प्रिमियबापत संकलन भएको रकम बैंकले रिजर्भमा राखेको थियो । त्यसैले सो रकमको कर नतिरेको उनको भनाइ छ । नेपाल बैंक स्रोतका अनुसार महालेखापरीक्षकले कर तिर्नुपर्छ भनिरहेको छ भने नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले कर नलाग्ने भनिरहेको हुँदा मत बाँझिएको छ । महालेखापरीक्षकले प्रत्येक वर्ष यस विषयलाई उठाइ रहेको छ । बैंकले महालेखापरीक्षकको कैफियत अर्थमन्त्रालय मार्फत पठाइसकेको छ । बैशाख मसान्तभित्र पठाउने तयारी गरेको भएपनि दोस्रो साता नै पठाइसकेको बैंकले जनाएको छ । ‘यो ५/७ वर्ष अगाडि प्रिमियममा एफपीओ इस्यू गरेको हो, सेयरधनीहरुको फण्ड हो, दैनिक अप्रेसनलबाट कमाएको होइन, त्यसैले कर तिर्नु पर्दैन भनेर बैंकर संघ र राष्ट्र बैंकले समेत ले समेत छुट दिएको छ भनेर लेखेर पठाएका छौं,’ नेपाल बैंक स्रोतले भन्यो ।
ट्युबेलमार्फत बाह्रै महिना सिँचाइले हराभरा खेतबारी
चितवन । चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो । सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताए । उनका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान गरिएको उनले जानकारी दिए । पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङ्बोले बताए । ‘चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ’, स्याङ्बोल भने, ‘किसान सानो समूह बनाएर आउने गर्नुभएको छ ।’ यस्तै डिप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उनले बताए । ‘ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन’, उनले भने । धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उनको भनाइ छ । चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताए । बाह्रै महिना चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन् । भरतपुर महानगरपालिका २२ गर्भेटाँडीकी इन्दिरा बोटे सिँचाइमार्फत बाह्रै महिना खेती गर्न पाउँदा निकै खुसी छन् । ‘बोरिङ नहुँदा त खेती नै हुँदैन्थ्यो । जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘आकाशबाट पानी नपरे बाँझै हुन्थ्यो । डिपबोरिङ जोेडेपछि निकै सहज भएको छ ।’ एकपटक खेत रोपेपछि आफ्नो गाउँ मरुभूमिजस्तो हुने गरेको उनले अनुभव सुनाए । पाँच कठ्ठा जमिनमा मकै लगाएकी सोही ठाउँकी कमला ढकाल विगतमा बाँझै हुने जमिनमा मकै फलेको देख्दा आफैँ दङ्ग छिन् । ‘अहिले तोरी पनि राम्रो भयो’, ढकालले भनिन्, ‘मकै यति राम्रा भएका छन् ।’ बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उनले बताइन् । भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले आफ्नो वडाका सुक्खा ठाउँ अहिले हराभरा भएको बताए। भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको बताएको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। ‘भूमिगत सिँचाइ, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाइका कार्यक्रम अगाडि बढेका छन्’, उनले भनिन्, ‘भरतपुरमा सिँचाइमा कृषिक्रान्ति नै भएको छ ।’ अबको चार वर्षभित्र महानगरपालिकाभित्रका सबै जमिनमा सिँचाइ पुग्ने उनले बताइन्। भरतपुरमा नौ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकामा हालसम्म दुई हजार एक सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ । रासस
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ । चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार पाँच सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले दिइन् । यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फर्छ्योट भएको उनले जानकारी दिइन् । प्रशासनले जारी गरेको प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो नौ महिनाको अवधिमा ११ हजार तीन सय नौ वटा राहदानी वितरण गरेको छ । त्यसै गरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । त्यसै गरी सोही अवधिमा प्रशासनमार्फत जम्मा २० लाख १३ हजार सात सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवं विपन्न परिवारका पाँच सय ३५ जनालाई कम्बल वितरण गरेको उनले बताए । सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको प्रजिअ पाण्डेले बताइन् । यता विकास आयोजनातर्फको अनुगमन शून्य छ भने सुरक्षा निकायको ३९ पटक अनुगमन गरिएको छ । यही अवधिमा जिल्लामा जम्मा एक सय १२ नयाँ संस्था दर्ता भएका छन् भने चार सय २६ वटा संस्था नवीकरण भएको प्रजिअ पाण्डेले बताइन् । रासस
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए । ‘चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ’, उनले भने, ‘पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।’ यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए । यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए । ‘हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा गर्यौँ’, उनले भने, ‘सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।’ सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ । ‘चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो’, उनले भने, ‘सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।’ पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ । ‘ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन’, उनले भने । सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताए । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ । बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ । अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । रासस
प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेश हुँदै
काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् । त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ । छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।
नेप्सेमा ८ कम्पनीको १ करोड ३० लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ ७ गते आइतबारदेखि जेठ १२ गते शुक्रबारसम्म सबैको लघुवित्त, इन्फिनीटी लघुवित्त, लक्ष्मी लघुवित्त, एलएलजी इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको गरी कूल १ करोड ३० लाख २४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सबैको लघुवित्तको १८ प्रतिशत बोनस वापतको ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, इन्फिनीटी लघुवित्तको २० प्रतिशत बोनस वापतको ८ लाख २९ हजार २६.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, लक्ष्मी लघुवित्तको १५ प्रतिशत बोनस वापतको ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस वापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस वापतको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस वापतको १३ लाख २० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, छिमेक लघुवित्तको २२ प्रतिशत बोनस वापतको ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस वापतको ८ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपाल रिपब्लिकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले बैशाख ३१ गतेदेखि बिक्री गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज जेठ १४ गते आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । जसमध्ये सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपालीहरुले ४ लाख ३५ हजार ३ सय कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम
काठमाडौं । सिएट सप नामक सिएट टायरको नयाँ शोरुम सञ्चालनमा आएको छ । सिएट टायरको आधिकारिक विक्रेता नारायणी अटो बिजनेश प्रा.लि.ले ललितपुरको बालकुमारीमा सो शोरुम सञ्चालनमा ल्याएको हो । सिएट इंडिया अन्तर्गत अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट सत्य रावले सिएट टायरको नयाँ शोरुम उद्घाटन गरेका थिए । ‘सिएट टायरको यस नयाँ शोरुमले नेपाली ग्राहकहरूको बदलिँदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने मलाई विश्वास छ, यस कम्पनीसँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक छौं,’ कार्यक्रममा बोल्दै उनले भने । यस्तै, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफूलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । उनका अनुसार नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न यो शोरुम एक कोशेढुंगा सावित हुनेछ । यसै गरी कार्यक्रममा बोल्दै एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले सिएट टायर नेपाली ग्राहकहरूको पहिलो रोजाई पर्न सफल ब्राण्ड भएको बताए । ‘हामी निरन्तर उनीहरूलाई गुणस्तरीय एवम् भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भने । कम्पनीका अनुसार सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरूप ५ देखि १५ प्रतिशतसम्म छुट दिने छ ।