विकासन्युज

भोली सार्वजनिक विदा

काठमाडौं । जेठ १५ गते सोमबार अर्थात भोली सार्वजनिक विदा हुने भएको छ । सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

बीमा कम्पनीले कृषिको बीमा लेख र दाबी भुक्तानी बन्द गरे

काठमाडौं । । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले अनुदानबापतको रकम भुक्तानी नगरेपछि बीमा कम्पनीहरुले कृषि बीमा लेख जारी गर्न बन्द गरेको बताएका छन् । अध्यक्ष दंगालले एक विज्ञप्ति जारी गर्दै निर्जीवन बीमा कम्पनीहरुले बीगत ३ वर्षदेखि बीमा अनुदान बापतको सरकारबाट पाउनु पर्ने भुक्तानी नपाएको र दावी बापत २ अर्ब ९४ करोड ५८ लाख रुपैया बढि रकम भुक्तानी नगरेको कारण बीमा लेख जारी गर्न र दाबी भुक्तानी बन्द गरेको बताएका हुन् । जसबाट कृषि बीमाको सेवाबाट कृषकहरु प्रत्यक्ष रुपमा प्रभावित भएको उनको भनाइ छ । ‘पशु र बाली बीमा नीति किसानमैत्री भएपनि ग्रामीण समुदायका साना र सीमान्तकृत किसानहरुको पहुँच पुग्न सकेको छैन, किसानले महशुस गर्ने गरी बाली र पशु बीमा कार्यक्रमको स्थानीयकरणसहित बीमा गर्न र भुक्तानी प्राप्त गर्न पाउने अधिकारको रक्षा गर्दै अबिलम्ब बीमा कार्यक्रम शुरु हुने वातावरण निमार्ण गर्नु पर्छ,’ उनले भने । उनका अनुसार कृषि क्षेत्रमा बीमा सकारात्मक कार्यक्रम भएता पनि सफल कार्यान्वयनमा चुनौति रहेका छन् । दुरदराजका किसानसम्म बीमाको सूचना तथा पहुँच पुग्नै सकेको छैन भने विस्तारै बीमा सेवा शुरुवात भएको क्षेत्रमा समेत बीमा भुक्तानी नपाउने झन्जटिलो बीमा प्रक्रियाका कारण समस्या आइरहेको उनले बताए । साथै, दुग्ध विकास बोर्ड खारेज प्रक्रियामा अघि बढाएकाले दुग्धजन्य व्यवसाय धराशयी बन्ने उनले बताए । सरकारले खारेजीको प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गर्नु दुध उत्पादन गर्ने किसान माथि ठुलो अन्याय हुने उनको भनाइ छ । दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिन अखिल नेपाल किसान महासंघले माग गरेको छ । ‘नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ, यो व्यवसायमा ३५ लाख घरपरिवार प्रत्यक्ष रुपमा जोडिएका छन्, नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा धान पछि दुधको योगदान छ र सो क्षेत्रलाई नियमन र व्यवस्थित गर्ने एक मात्र संस्था दुग्ध विकास बोर्ड हो, बोर्ड गठन भएकै कारण व्यवसायको रुप लिएको हो,’ अध्यक्ष दंगालले भने, ‘बोर्ड खारेज भयो भने दुग्ध क्षेत्रनै धरासायी हुने भएकाले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिनु पर्छ ।’ यसैगरी हाल देशैभर पशुपंक्षिमा देखा परेको लम्पी स्किन रोग नियन्त्रणको लागि पशुपालक कृषकहरुलाई ठुलो नोक्सानी भएको उनले बताए । सो रोगको नियन्त्रण गरी तत्काल राहत प्याकेजको घोषणा गर्न माग गरेको छ ।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सन्दकपुरको पानी इलाम बजारमा

इलाम । इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ । आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो । काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो । आयोजनाको काम रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानीय उपभोक्ताले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए। आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ । आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो । आयोजनाअन्तर्गत सुरुमा दुई हजार आठ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो । पछि थप भएर तीन हजार तीन सय ४४ घरमा आयोजनामार्फत नै खानेपानी वितरण भएको छ । पुनः तीन सय बढी उपभोक्ताको सङ्ख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताको घर–घरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ । हालसमेत दैनिक दुईपटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इञ्जीनियर कपिलदेव यादवले बताए । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भए पनि यसलाई आफूहरूले मर्मतको काम गरिरहेको उनको भनाइ छ । गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ । उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ । निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमनसमेत गरिएको छ । जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । रासस

घुस खाएको प्रमाणित गरे मन्त्री पद छाडिदिन्छु : मन्त्री किराती 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गरे मन्त्री पद छाडिदिने बताएका छन् । मन्त्री किराती सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै घुस खाएको प्रमाणित गरे एक मिनेट पनि मन्त्री पदमा नबस्ने बताएका हुन् । उनले घुस खाएको र खुवाएको प्रमाणित गर्न चुनौती समेत दिएका छन् । घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको उनको भनाइ छ । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन,’ उनले भने ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के–के छन् एजेण्डा

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, भोलि संसदमा पेस हुने बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् ।

यामाहा नेपालले ल्यायो पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड

काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले स्मार्ट मोटर जेनेरेटर सहितको नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड सार्वजनिक गरेको छ । सो स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिमहरुमा उपलब्ध छ । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा १२५ सीसीको शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड अर्थात एफआई ब्लुकोर इन्जिन रहेको छ । हाइब्रिड भेरिएन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् । साइलेन्ट स्टार्टर समेत भनेर चिनिने यो प्रविधिकै कारण इलेक्ट्रिक मोटरको रुपमा दोब्बर क्षमता हुन्छ । शुरुमा पिकअप लिदा इन्जिन र ब्याट्री पावर दुवै प्रयोग हुने हाइब्रिड प्रविधिको स्कुटर भएकाले यो अहिले धेरैको रोजाइमा पर्ने गरेको छ । यसले इन्धनको बचत गर्नुका साथै समग्र सवारी अनुभवलाई पनि बढाउछ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोग्राम मात्र तौल भएको सो स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कटअफ फङसन र २१ लिटर अन्डर सिट स्टोरेज लगायतका सुविधा छन् । रे जेडआर १२५ हाइब्रिड पुनः डिजाइन गरिएको, पूर्ण रुपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र स्ट्यान्डर्ड एलईडी हेडल्याम्प सहितको विशेषताले सुसज्जित छ, जसले अधिकतम भिजिबिलिटी र सुविधा सुनिश्चित गर्छ । यसमा आइडियल स्टार्टरस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ । साथै पावर एसिस्टको प्रयोग गरिएकोले उकालो बाटोमा चलाउँदा पनि यसले ठूलो आवाज गर्दैन । यामाहा नेपालका सीईओ राजु क्षेत्रीले अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवात पछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ लन्च गर्न पाएकोमा खुसी व्यक्त गर्दै ग्राहकलाई अत्याधुनिक उत्पादनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । रे जेडआर १२५ हाइब्रिड स्ट्यान्डर्डको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कञ्चनपुरका महिला तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै, दिन्छन् श्रीमानलाई पकेट खर्च

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर गतिलो आम्दानी हात पार्न थालेका छन् । व्यावसायिक तरकारी खेती, बंगुरपालन, बाख्रापालन, माछापालनलगायत गरेर महिलाले आम्दानी गर्दै आएका हुन् । गाउँका महिला एकजुट भएर पहिला समूह निर्माण गरी रकम बचत गर्दै आएका थिए । समूहको रकम बढ्दै गएपछि महिलाले कलश महिला कृषि सहकारी संस्था विधिवत रूपमा दर्ता गरी सञ्चालन गर्दै आएका छन् । ५ वर्षअघिदेखि सञ्चालनमा आएको सहकारीको सम्पूर्ण व्यवस्थापनको कार्य महिलाले गर्दै आएका छन् । सहकारीको सञ्चालक, सेयर सदस्यदेखि व्यवस्थापक महिला रहेका छन् । सहकारीमा आबद्ध १ सय ५० महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि चारवटा समूहमा विभाजन गरिएको छ। समूहमा भएको छलफलका आधारमा व्यावसायिक कार्य गर्नका लागि ऋण प्रवाहको कार्य हुने गरेको छ । व्यावसायिक कार्यमा संलग्न महिलाले आम्दानीको रकम जम्मा गरी घर खर्च चलाउने कार्यसँगै पक्की घर निर्माणमा खर्च गर्दै आएका छन् । सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाले श्रीमान्ले मजदुरी गरी ल्याएको रकममा भर पर्नु पर्दथ्यो । एकजुट भएर सहकारीमा आबद्ध भएपछि बेलडाँडी गाउँका महिलाको दिनचर्या नै फेरिएको छ। ‘पहिला घर खर्च चलाउन श्रीमानसँग पैसा माग्नु पर्दथ्यो,’ सहकारीका सदस्य राधा चौधरीले भनिन्, ‘हाल श्रीमान्को पकेट खर्च हामीले धान्ने गरेका छौं।’ तरकारी खेती, बाख्रापालन गरी खेत जोत्नका लागि ट्रयाक्टर खरिद गरेको उनले बताइन् । उनकाअनुसार व्यावसायिक कार्यबाट वर्षमा सात लाखदेखि १० लाखसम्मको आम्दानी हुने गरेको छ। सहकारीका अध्यक्ष मीनादेवी डगौराले सहकारीमा आबद्ध महिलालाई आवश्यकताका आधारमा ऋण उपलब्ध गराउने व्यवस्था रहेको बताइन् । ‘ऋण माग गर्ने सहकारीमा आबद्ध महिलाको घरमै पुगेर आवश्यकता भए नभएको यकिन गर्छौं,’ उनले भनिन्, ‘त्यसपछि मात्रै ऋण दिन्छौं, गाउँका सबै महिलालाई आत्मनिर्भर बनाउनका लागि प्रयासरत रहेका छौं ।’ सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाको कच्ची घरमात्रै थिए । सहकारीमा आबद्ध भएर कृषिजन्य व्यावसायिक कार्य गर्न थालेसँगै आम्दानी बढ्दै गएपछि सबै जनाले पक्की घर ठड्याएका छन् । सहकारीमा आबद्ध बिना चौधरीले व्यावसायिक तरकारी खेतीबाट घर निर्माणसँगै परिवारको खर्च, बालबालिकालाई पढाउँदै आएको निजी विद्यालयको खर्च धान्दै आएकी छ । उनले खेत जोत्नका लागि पावरटिलर, तरकारी बजारसम्म पुर्याउनका लागि अटो र धान कुटने मेसिन खरिद गरेका छन् । ‘घरका पुरुष पहिला मजदुरी गर्दथे,’ उनले भनिन्, ‘महिलाले घरायसी चुलोचौका र मेलापातमै सीमित हुनु पर्दथ्यो, सहकारीमा आबद्ध भएपछि व्यावसायिक कार्य गर्न थालेपछि आर्थिक रूपमा सवल बन्दै गएका छौं ।’ पहिला साहुसँग कर्जा माग्न जाने गरेको उल्लेख गर्दै उनले व्यावसायिक तरकारी खेती गर्न थालेपछि पैसा अभाव खेप्नु नपरेको बताइन् । सहकारीका सम्पूर्ण सदस्य व्यावसायिक कार्यमा संलग्न छन् । व्यावसायिक कार्य गर्नेलाई मात्रै सहकारीको सदस्यता दिइने गरेको छ । सहकारीमा आबद्धमध्ये ९६ महिला व्यावसायिक कार्यमा संलग्न छन् । छयालीस व्यावसायिक कृषि कार्यमा र ५० महिला व्यावसायिक पशुपालनमा संलग्न छन् । अन्य सहकारीमा आबद्ध महिलाले थोरै जग्गा भए पनि तरकारी खेती गर्दै आएको सहकारीका सचिव रुपाकुमारी चौधरीले बताइन् । सचिव चौधरीले माछा, बंगुर, बाख्रा र हाँसपालन गर्दै आएकी छ । व्यावसायिक तरकारी खेती र पशुपालनका लागि सहकारीबाट २ लाखसम्म कर्जावापतको रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । व्यावसायिक कार्यमा संलग्न महिलाले तरकारी खेती र पशुपालनको बीमासमेत गरेका छन् । तरकारी खेती र पशुपालनमा आकस्मिक रूपमा क्षति भएमा बीमाबाट रकम क्षतिपूर्तिका रूपमा महिलाले पाउने गरेका छन् । बीमा गरेवापतको रकममध्ये ८० प्रतिशत बीमा कम्पनीले र २० प्रतिशत रकम कृषिजन्य कार्यमा संलग्न महिलाले व्यहोर्ने गरेका छन् । क्षतिको यकिन गर्न सहकारीमा आबद्ध महिलाकै नेतृत्वमा बीमा समिति गठन गरिएको छ। सोही समितिले क्षतिको अवस्था निर्धारण गरेको आधारमा क्षतिपूर्तिको रकम पाउने गरेका छन् । सहकारीमा आबद्ध आसमती चौधरी बीमा गर्ने व्यवस्था सुरु भएसँगै ढुक्कसँग तरकारी खेती गर्न सकिएको उनको भनाइ छ । ‘तरकारी बालीमा क्षति भए बीमाबाट रकम आउँछ,’ उनले भनिन्, ‘पहिलाजस्तो तरकारी खेतीमा लगानी डुब्ने अवस्था छैन ।’ सहकारीमा आबद्ध महिलाकै कारण चुरे फेदीको बेलडाँडी अहिले तरकारी खेती हुने गाउँका रूपमा परिचित भएको छ । जागरुक महिलाको प्रयासले घर खर्च चलाउनका लागि भारतीय बजारमा दरवान र कुल्ली भएर काम गर्ने पुरुष अहिले महिलासँगै तरकारीका बिरुवा रोप्ने, गोडमेल गर्ने, तरकारी टिपेर बजारसम्म बिक्री गर्न जाने गरेका छन् । रासस