नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको नयाँ स्वाप रेसियो तोकियो
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि स्वाप रेसियो तय भएको छ । दुवै लघुवित्तको संयुक्त सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले मर्जरमा जान लागेका दुबै लघुवित्तबीच स्वाप रेसियो निर्धारण गरेको हो । दुबै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदनमा उल्लेख भएको सेयर स्वाप रेसियो निर्धारण गरिएको हो । सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघसवित्तको ७३ कित्ता सेयर कायम हुनेछ । मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताको तुलनामा डीडीए रिपोर्ट पश्चात् स्वाप रेसियो घटेको हो । प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेसियोमा कायम हुने सहमति भएको थियो । दुवै लघुवित्तले गत असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।
प्रधानमन्त्रीले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा स्पष्ट पार्ने, एमालेले अवरोध नगर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि एमालेले अवरोध नगर्ने भएको छ । शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको हो । बैठकमा प्रधानमन्त्री दाहालले जलहरीबारे सदनमै सम्बोधन गर्ने, माओवादी सांसद लेखनाथको दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । एमालेले अब संसद् अवरोध नगर्ने पनि प्रमुख सचेतक गिरीले बताए ।
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
दमौली । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना सम्झौता भएका, एक सय तीन योजना सम्झौता हुन बाँकी रहेका र चार सूचना प्रकाशनमा गएको छ । न्यौपानेले भने, ‘यो एक वर्षको अवधिमा ५६ प्रतिशत योजना सम्पन्न भइसकेको छ भने ३६ प्रतिशत योजना सम्झौता भई नौ प्रतिशत योजना सम्झौता हुन बाँकी छ ।’ यो अवधिमा पूर्वाधारतर्फ केही महत्वपूर्ण कार्य भएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा दमौली केशवटार मार्ग कालोपत्र गर्न एक करोड ३० लाखको योजना निर्माण प्रक्रियामा रहेको छ । सङ्घ सरकारसँगको समपूरक योजनाअन्तर्गत खड्गकाली मार्ग कालोपत्र थप निर्माणका लागि टेन्डर भएको न्यौपानेले बताए । विश्व बैंकको सहयोगमा नेपाल सहरी शासकीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत परासर मार्ग (घाँसीकुवा–फराकचौर–पोख्रेलफाँट–माँझफाट–नरङ्गा–कलेस्ती) विस्तृत परियोजना प्रतिदेन पुनरावलोकन भइरहेको उनले बताए । साथै यही अवधिमा वडा नं ६, १३ र १४ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण सुरु भएको जनाइएको छ । नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षको अवधिमा व्यास–११ पोल्याङमा शीतभण्डार निर्माण कार्यसम्पन्न भएको, व्यास–१० वैरेनीमा एकीकृत जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग जग्गा सम्झौता भई पूर्वाधार निर्माणका लागि जग्गा सम्याउने कार्य भइरहेकालाई मुख्य उपलब्धिका रुपमा मानेको छ । सङ्घ सरकारसँगको विशेष योजनाअन्तर्गत व्यास–५ मानुङकोट लिफ्टिङ खानेपानी आयोजना, व्यास–१४ केशवटार लिफ्टिङ खानेपानी योजना, (गजौडे पुल) को दुई अर्ब ८२ करोडको टेन्डर प्रक्रिया अगाडि बढेको नगरप्रमुख न्यौपानेले जानकारी दिए । शिवपञ्चायन क्षेत्रमा एक सय फिट उचाइको व्यास मूर्ति निर्माण कार्य, व्यास–३ बिपी वनवाटिका खेलमैदान, व्यास–११ कोलढुङ्गा क्रिकेट मैदान, व्यास–५ परासर खेलमैदान र चिन्तुटार खेल मैदानलगायत खेलमैदान निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । व्यास–१० मा नारेश्वर ताल निर्माण कार्य प्रारम्भ भएको र नगरपालिकाको पहलमा मादीनदी तटबन्ध कार्यमा प्रदेश सरकारको सहयोगमा तटबन्ध कार्यलाई अघि बढाइएको जनाइएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाभित्र दुई ३३ घर नक्सा पास, तीन सय ६० सम्पन्न, चार सय डिपिसी सम्पन्न, छ घर कायम, दुई सय ६५ नयाँ घरदर्ता, एक सय ३० नक्सा नामसारी, ५५ नक्सा नवीकरण भएको छ । चालु आर्थिक वर्षको कूल बजेट एक अर्ब ७१ करोड ६५ लाख नौ हजार रहेकामा हालसम्मको कूल आय एक अर्ब १३ करोड १३ लाख ८६ हजार नौ सय ८९ रहेको छ । चालुतर्फ ६८ दशमलव २ र पुँजीगततर्फ ३३ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाले आन्तरिक आयतर्फ हालसम्म ११ करोड नौ लाख तीन हजार सात सय ४४ सङ्कलन गरेको छ । नगरपालिकाले विगत एक वर्षमा नौ वटा विधेयक, १२ कार्यविधि, दुई निर्देशक पारित गरी लागू गरेको जनाएको छ । शिक्षातर्फ ४३ जना अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधा प्रदान गर्न विद्यालय सञ्चालन गरिएको, नेपाल सरकार शिक्षा विभागबाट काटिएको ५३ प्रावि दरबन्दी मिलान गरिएको, शिक्षक दरबन्दी काटिएपछि दरबन्दी अभाव भएका विद्यालयमा ४० जना स्वंयसेवक शिक्षक नियुक्ति गरिएको जनाइएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइ सफाइ केन्द्रको स्थायी प्रबन्ध नहुँदासम्म वडा नं १३ र ३ का स्थानीयवासीसँग समन्वय गरी फोहर विसर्जन कार्य दैनिकरुपमा गरिँदै आएको नगरपालिकाले उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा सङ्घ, प्रदेश सरकारले समानीकरण बजेटअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरेको र आन्तरिक आम्दानी ५० प्रतिशत मात्रै भएकाले क्रमागत योजनाको चाप र दबाबले लक्षित गरिएका योजना सम्पन्न गर्न कठिनाइ भएको नगरप्रमुख न्यौपानेले बताए । रासस
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए । ‘मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ’, उनले भने, ‘झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ । अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौा ।’ आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए । उनका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ । ‘अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौँजस्ता ससाना भाग देखिन्छन्’, उनले भने, ‘रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन् ।’ वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गरेका थिए । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन् । सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट सङ्कलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि तीन मिटरसम्म हुन्छ । यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए । विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । अरु अन्य मुलुकमा पनि पाइन्छन् । रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रङको हुन्छ । रासस
सिंहदरबारमा शीर्ष नेताहरु छलफलमा
काठमाडौं । प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी छन् । सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ । हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमालेका अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा बैठक प्रभावित भएको छ ।
सेलायो कास्की र बागलुङ सुरुङ मार्गको चर्चा, बजेट छुट्याएर पनि भएन काम
गण्डकी । कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । समयमै अध्ययन नहुँदा आयोजना निमार्ण धकेलिँदै गएको छ । वर्षौँअघि घोषणा भएका सुरुङ मार्ग गतिहीन बनेपछि अहिले चर्चासमेत हुन छाडेको छ । सडक विभागले हेम्जा–नयाँपुल सुरुङ मार्गको चार वर्ष पहिले नै प्रारम्भिक अध्ययन थालेको थियो । उक्त सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन हुनै बाँकी छ । पोखरा–बागलुङ राजमार्गमा पर्ने हेम्जा–नयाँपुल सुरुङ मार्ग बनेमा डेड घण्टाको सडकमार्ग १५ मिनेटमा छोटिनेछ । अहिले हेम्जा–नयाँपुलको दुरी ४० किमि छ । सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किमिमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरिका चारै जिल्लालाई जोड्छ । पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले सरकार सुरुङ मार्ग अध्ययनकै प्रक्रियामा अलमलिएको बताए । ‘यो सुरुङ मार्ग बनाउनुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै माग हो, अध्ययनका लागि बजेट पनि छुट्टिने गरेको छ, तर आयोजनामा खासै प्रगति भएको देखिन्नु,’ उनले भने, ‘गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा यो सुरुङ मार्ग कोशेढुङ्गा बन्छ, यसलाई अगाडि बढाउनुपर्छ ।’ चीन जोड्ने कालीगण्डकी करिडोरसमेत यस क्षेत्रमा पर्ने हुँदा सुरुङ मार्गले अन्तरदेशीय पारवहन र पर्यटनमा उल्लेख्य टेवा पुग्ने अध्यक्ष अधिकारीले बताए । सुरुङ मार्गबाट नयाँपुलमा जोडिएपछि पर्वतको सदरमुकाम कुश्मा हुँदै जाने लोकमार्ग बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गामा करिडोर काटेर पश्चिम लाग्छ । दक्षिणबाट गुल्मी हुँदै आएको कालीगण्डकी करिडोर बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै उत्तर कोरोला नाका जोडिन्छ । सडक विभागका सुरुङ मार्ग हेर्ने इञ्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जानकारी दिए । ‘पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ, अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छु,’ उनले भने, ‘अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुप¥यो, सुरुङ मार्ग निर्माण कहिले र कसरी सुरु हुन्छ यसै भन्न सकिँदैन ।’ उक्त सुरुङ मार्ग अध्ययनका लागि सरकारले चालु आवमा एक करोड ५० लाख बजेट छुट्टाएको थियो । सुरुङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट गरिसकेको विभागले जनाएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, पोखराका प्रमुख ललिजन खनालले सुरुङमार्गबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत सुरुङमार्ग अध्ययनको काम हुँदै आएको छ । लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्गको त प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन । सरकारले गत वर्ष नै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा उक्त सुरुङ मार्गका लागि रु ५० लाख बजेट छुट्टाएको थियो । बिहुँ–नरेठाँटी सुरुङ मार्ग आयोजनाबारे बेलाबेला चर्चा चल्ने गरे पनि पहिलोपटक बजेटमा समेटिएको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा पनि आयोजना अध्ययनको काम सुरु हुन सकेको छैन । बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताए । ुरातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छु, उनले भने, ुयसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।ु सांसद पौडेलले उक्त सुरुङ मार्ग निर्माण हुन सके मध्यपहाडी लोक मार्ग भएर यात्रा गर्ने कैयन जिल्लाका सर्वसाधारणदेखि पर्यटकसम्मलाई लाभ पुग्ने बताए । काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्गले लोकमार्गमा घण्टौँ लाग्ने यात्रालाई केही मिनेटमै सीमित गर्नेछ । गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बजेटमै पर्दा पनि सुरुङ मार्गको काम अघि नबढ्नु दुःखद् भएको उल्लेख गरे । उनका अनुसार केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन भने गरेका थिए । ‘एकपटक ठाउँ हेर्ने काम भएको थियो, त्यतिबेला केही आशा पलाएको थियो, त्यसपछि फर्केर कोही आएका छैनन्,’ अध्यक्ष भण्डारीले भने, ‘अध्ययनसमेत हुन नपाइ आयोजना सुस्ताउने स्थिति देखिएको छ ।’ उक्त सुरुङ मार्गले यातायातसँगै त्यस क्षेत्रको आर्थिकरसामाजिक विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ । सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माणको नीति लिएको छ । चालु आवमा २४ सुरुङ मार्ग आयोजनाका लागि सरकारले एक अर्ब १९ करोड ६० लाख बजेट छुट्टाएको थियो । सडक विभागले ‘सुरुङ मार्ग विकास कार्यक्रम’ मार्फत सुरुङकमार्गको निर्माण र अध्ययनलाई अगाडि बढाएको छ । रासस
विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा
काठमाडाैं । विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानैदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो । कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हाे । प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वसम्म निषेधित क्षेत्र तोकिएको छ । गत फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ । कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उहाँका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ । लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।