सहकारीका बचतकर्ताको पैसा ठग्ने मेयर विदेश भाग्ने चिन्ता, पक्राउ गर्न सीआईबीलाई पत्र
काठमाडौं । बचतकर्ताका बचत हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्नका लागि केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पत्राचार गरिएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका मेयर नेपालीलाई देश बाहिर जान सक्ने भन्दै तत्काल खोजतलास गर्न र पक्राउ गर्न भन्दै सिआईबीलाई पत्र पठाइएको हो । उनलाई बागलुङ जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई देशबाहिर जान रोक लगाउन पत्र पठाएको बताएको हो । प्रशासनले गृह मन्त्रालयलाई समेत जानकारी गरिसकेको छ । नेपालीलाई देश बाहिर जान रोक लगाउन भन्दै अध्यागमन विभागलाई समेत त्र पठाइसकेको बुझिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङले संघीय सहकारी विभागलाई पनि पत्राचार गरेको विभागले जनाएको छ । विभागले इमेज सहकारी आफ्नो क्षेत्राधिकार भित्र नपर्ने जनाएको छ । तर, समन्वय गर्ने काम भने गरेको छ । अहिले मेयर नेपाली सम्पर्कविहिन छन् । मेयर नेपालीले तनावले केही दिन आराम गर्न सम्पर्कबाहिर रहेको बताएका थिए । आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा पत्र लेख्दै उनले आराम गर्न सम्पर्कबाहिर रहेको बताएका थिए । आफन्तमार्फत प्रहरीलाई चिठ्ठी पठाएका उनले आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने सम्पर्कबाहिर रहेको उल्लेख गरेका थिए ।
साढे १७ खर्ब हाराहारीको बजेटको ड्राफ्ट तयार, करका नीति हेरफेर गर्न कोर टीम छुट्टै बस्ने
काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको बजेट निर्माण टिमले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको ड्राफ्ट तयार पारेको छ । बजेट लेखन टिमले तयार पारेको बजेटको ड्राफ्ट अर्थमन्त्री डा. प्रकाश शरण महतलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको छ । मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा रहेको ६ सदस्यीय टिमले शुक्रबार साँझसम्म अर्थमन्त्रीलाई बजेट लेखन टुंग्याएर हस्तान्तरण गर्न लागेको हो । शुक्रबार रुजु गरेर हस्तान्तरणको तयारी भएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘बजेटको ड्राफ्ट लगभग तयार भैसक्यो, अन्तिम रुजु गरेर आज साँझसम्म अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गर्ने तयारीमा छौँ, उहाँलाई हस्तान्तरण भएसँगै राजश्वका नीतिहरु माथि छलफल सुरु हुन्छ,’ स्रोतले भन्यो । राजश्वको नीति हेरफेरका लागि अर्थमन्त्रीसहित दुई सचिव (अर्जुन प्रसाद पोखरेल र राम प्रसाद घिमिरे), आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र भन्सार विभागका महानिर्देशक बस्दैछन् । उनीहरु बसेर करका विषय हेरफेर गर्नेछन् । आगामी आर्थिक वर्षको बजेटमा राख्नु पर्ने कर बाहेकका अन्य सबै कार्यक्रमको जिम्मा बराल नेतृत्वको ६ सदस्यीय समूहलाई छ । मन्त्रालयल स्रोतका अनुसार साढे १७ खर्ब बराबरको बजेट सार्वजनिक गर्ने तयारी भएको छ । अन्तिम समयमा थपिने केही नयाँ योजना र राजश्वका दरका कारण केही फरक परेपनि मन्त्रालय सवा १७ देखि साढे १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारीमा छ । यसअघि नै राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई १६ खर्ब ८८ अर्बको सिलिङ दिएको थियो । दोस्रो चरणमा आयोगले उक्त रकममध्येमा १० प्रतिशत कटौती गर्दै १५ खर्ब १९ अर्बभित्रि बजेटको सिलिङ दिएको थियो । तर, चालू आर्थिक वर्षको तुलनामा धेरै कम सिलिङ तोकिएपछि अर्थमन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले नै २० प्रतिशत बजेटको सिलिङ बढाउन निर्देशन दिएको आयोगले बताएको थियो । चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । आगामी आवको बजेट चालू आवकै हाराहारिमा आउने अनुमान गर्न सकिन्छ । अर्थमन्त्री डा। महतको चैत २४ को मन्त्रीस्तरीय निर्णय गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ । उक्त समितिको सदस्यहरुमा सहसचिवहरु उत्तरकुमार खत्री सहित धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन् । सुनसान अर्थ, बन्द ढोका हेर्दै फर्कन्छन सेवाग्राही बजेट लेखनको तयारी अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले गत सोमबारदेखि मन्त्रालयको ढोका नै बन्द गरेको छ । बजेट लेखन अन्तिम चरणमा पुग्दा बजेटका सिद्धान्त तथा प्राथमिकता बाहिरिनेभन्दै ढोका बन्द गरिएको हो । मन्त्रालयको ढोका बन्द भएसँगै अर्थमा आएका सेवाग्राहीहरु बन्द ढोका हेर्दै फर्कने गरेका छन् । शुक्रबार दिउँसो मन्त्रालय सुनसान थियोे भने काम विशेषले आउने सेवाग्राहीहरु ढोकामा राखिएको सूचना हेर्दै फर्किरहेका थिए । केही दिन यता अर्थमन्त्रालयको प्राङगण पनि सुनसान जस्तै बनेको छ । मन्त्रालय परिसर सुनसान भएतापनि मन्त्रालयको क्यान्टिनमा भने केही भिड देखिएको थियो । गत सोमबारदेखि सेवाग्राहीसँगै मन्त्रालयका कर्मचारी बाहेक अन्य कर्मचारीलाई मन्त्रालय प्रवेशमा रोक लगाइएको छ । भीड हुने भन्दै मन्त्रीको सचिवालयमा रहेका तीनरचार जना बाहेक अन्य कर्मचारीहरुलाई समेत प्रवेशमा रोक लगाईएको छ ।
लाइसेन्स प्राप्त सर्भेयरलाई नेको इन्सुरेन्सले निकाल्यो ३५ दिने सूचना
काठमाडौं । नेको इन्सुरेन्सले बीमा सर्भेयरहरुलाई सूची दर्ता गर्न आव्हान गरेको छ । जेठ ११ गते एक सूचना जारी गर्दै इन्सुरेन्सले इजाजत प्राप्त सर्भेयरलाई ३५ दिनभित्र दर्ता गर्न आव्हान गरेको हो । इन्स्योरेन्सले बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नको लगि बीमा प्राधिकरणबाट सर्भेयर ईजाजत पाएका सर्भेयरलाई दर्ता गर्न आग्रह गरेको हो । यससँगै इच्छुक सर्भेयरले सूचि दर्ताको निवेदन दिँदा विभिन्न कागजात बुझाउनु पर्ने छ । इन्सुरेन्सका अनुसार सर्भेयरले बीमा प्राधिकरणबाट प्राप्त सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि (संस्थाको लागि मात्र), स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत तथा फर्म वा कम्पनीको अधावधिक विवरण र नागरिकता प्रमाणपत्रको प्रतिलिपि इन्स्योरेन्सको केन्द्रिय कार्यालय ज्ञानेश्वरस्थित बीमाभवनमा वा शाखा कार्यालयमा बुझाउनु पर्ने छ ।
राष्ट्रपति कार्यलयले फिर्ता पठायो रेशम चौधरीको आममाफीको फाइल
काठमाडौं । राष्ट्रपति कार्यालयले कैलालीको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदका सजाय भोगिरहेका रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृहमन्त्रालय पठाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको बताए । यसैगरी, सोही घटनामा निधन भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमै कायार्थ पठाएको छ ।
पर्यटकको पर्खाइमा रातो रङको पानी भएको अनौठो गाईखर्क ताल
दाङ । दाङ खोलाको सिरान र थाप्ले पहाडको काखमा जङ्गलको बीचमा रहेको म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको गाईखर्क ताल पर्यटकको पर्खाइमा रहेको छ । हाडिस खोलाको छेवैमा रहेको यस तालमा वरिपरिका रुखबाट कहिल्यै पनि पात खसेर पर्दैनन् भने बिहान र साँझमा पानीको रङसमेत फेरिने गरेको छ । देख्दै आश्चर्य लाग्ने रातो रगत जस्तो रङको पानी भएको अनौठो गाईखर्क तालमा पर्यटकीय पूर्वाधार विस्तार भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आउन नसकेका स्थानीयले बताएका छन् । गाईखर्क तालमा कतै पानीको मुहान देखिँदैन । जङ्गलको बीचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो । यो ताललाई म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिन्छ । मालिका गाउँपालिका वडा नं ५ देविस्थानका वडाध्यक्ष मिम पुनले हावाहुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहर नहुने यसको विशेषता भएको बताए । उनका अनुसार यस तालको सबैभन्दा ठूलो विशेषता वर्षामा निलो र हिउँदमा यसको पानी पूर्णरूपमा रगत जस्तै रातो रङको हुन्छ । एल्गी र ब्याक्टोरीयका कारण हिउँदमा तालको पानी रातो हुने अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकका अनुसार उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सका कारणले पानीलाई रातो बनाउने गर्दछ । सोही कारण यो तालको पानी रातो भएको हुनसक्ने वडाअध्यक्ष पुनले बताए । यो ताल समुन्द्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा ताल रहेको छ । ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको वडाअध्यक्ष पुनले जानकारी दिए । मालिका गाउँपालिकाको पाँच लाख रुपैयाँ आर्थिक सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । चालु आर्थिक वर्षमा ताललाई व्यवस्थित गरी पूर्वाधार निर्माणका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष पुनले जानकारी गराए । देविस्थानको घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन । बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । यो ताल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । यो तालको अर्को विशेषता भनेको वरिपरि वाख्लै रुख हुँदाहुँदै पनि रुखका पात झरेर यो तालमा पर्दैनन् । ’रुखबाट पात त झर्छन् तर हावाले तालमा पातलाई पर्नै दिँदैन’, वडा सदस्यसमेत रहनुभएका घनबहादुर फगामीले भने, ’स्थानीयले दैवि शक्तिका कारण यस्तो भएको भनेर विश्वास गर्छन् र तालको छेउमा वराहा देवताको मन्दिर निर्माण गरी पूजाआजा गर्दै आइरहेका छन् ।’ मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो । सेभेन ए साइड फुडसल तथा वनभोजका लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको वडाअध्यक्ष पुनले बताए । गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमालको छायाँ प्रतिविम्ब स्पष्टरुपमा देख्न सकिन्छ । स्थानीयवासी एवं शिक्षक डोल्पा शिउथानी मगरका अनुसार तालमा हिमाल पौडी खेलिरहेको जस्तो दृश्य यहाँ देख्न सकिन्छ । यहाँबाट प्राचीन पहाड, सेताम्य हिमाल, पहाडी बस्ती स्पष्टरुपमा देख्न सकिन्छ । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटीपौवा, चौतारा, सानासाना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ । यहाँ गाईखर्क ताल, खोरिया दह, ठूल दह, जङ्गले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा, धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिच्न सक्ने प्रशस्तै सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा यस्ता अमूल्य र आश्चर्य लाग्दा सम्पदा ओझेलमा परेका वडाअध्यक्ष पुनले बताए । यो तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नसके यहाँ पर्यटकको आगमन बलिया सम्भावना रहेका स्थानीयको भनाइ रहेको छ यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरी पर्यटन विकास गर्नसक्ने हो भने ग्रामीण वस्तीको मुहार फेर्न सकिने वडा सचिव धर्मकान्त पौडेलले बताए । रासस
काठमाडौंमा पानीको हाहाकार
काठमाडौं । विगत चार वर्षदेखि काठमाडौंमा कोठा भाडा लिएर बस्दै आएका भोजपुरका रमेश खड्काले विगत एक सातादेखि पानीको समस्या भोग्नु परेको छ । काठमाडौंको घट्टेकुलो क्षेत्रमा बस्ने खड्कालाई घरधनीले आधा महिनासम्म पानी नआउने जानकारी गराएपछि उनी एक सातादेखि समस्यामा छन् । उनी अहिले नुहाउन, लुगा धुन, भाडा माझ्न र खाना पकाउन लगायतका काम गर्न जारको पानी प्रयोग गर्छन् । यति धेरै काम गर्नको लागि उनले दैनिक पानीकै लागि दैनिक तीन/चार सय रुपैयाँ खर्च गर्नु परेको गुनासो गरे । ‘एक साता भइसक्यो पानी आएको छैन, घरवेटीलाई सोध्दा पानी नै आएको छैन भन्ने जवाफ सुनिन्छ,’ उनले गुनासो गर्दै भने, ‘अब त जारको पानी पनि किन्न सकिँदैन ।’ उनका अनुसार उनले दैनिक प्रतिजारको ५० रुपैयाँमा खरिद गर्छन् । उनले दिनमा तीन/चार सय रुपैयाँ खर्च गर्नुभन्दा होटलमा खाना खान सजिलो भएको भन्दै केही दिनदेखि होटलमा खाना खाने गरेको सुनाउँछन् । काठमाडौंको मैतीदेवीमा बस्दै आएका चित्रराज भण्डारी पनि पानीको समस्या भएको बताउँछन् । उनले पानीको अभावले शौचालयमा जान पनि समस्या भएको सुनाउँछन् । उनले समस्या के भएको भन्ने विषय जानकारी नभएको बताए । उनले पानी नभएकै कारण लुगा ड्राइक्लिनरमा दिनु पर्ने बाध्यता रहेको सुनाए । यसै गरी धादिङका कपिल श्रेष्ठ पनि अहिले पानीको समस्यामा नै छन् । उनी बस्ने घरमा पनि पानी नआएको एक साता भइसकेको छ । पानी नहुँदा ठूलो समस्या भोग्नु परेको उनको गुनासो छ । यी त केही उदाहरण मात्रै हुन् । अहिले काठमाडौंमा बस्ने सबैलाई पानीको समस्या छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका धारामा जेठ १ गतेदेखि दुई हप्तासम्म मेलम्चीको पानी रोकेका कारण काठमाडौंवासीलाई पानीको समस्या भएको हो । मेलम्ची खानेपानीको मुहान र टनेल मर्मत/सम्भारको काम गर्नु पर्ने भएकोले पानी रोकेको बुझिएको छ । सोही कारणले काठमाडौंमा पानीको समस्या भएको हो । सुरुङको रेक्टिफिकेसन र २०७८ को बाढीले क्षतिग्रस्त हेडवक्र्सको मर्मतका लागि पानी वितरण रोकिएको हो । उक्त मर्मतपछि सामान्य बाढीको समयमा समेत पानी पठाउने सकिने बताइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा पानीको समस्या भएको स्वीकार गरे । ‘मेलम्चीको पानी दिनमा १६ करोड लिटर आउँथ्यो, जेठ ५ गतेदेखि पानी वितरण रोकिएको छ, हामीलाई १० देखि १५ दिन भित्र त्यहाँको मर्मत सम्भार भएर पानी आउँछ भन्ने सूचना छ,’ उनले भने । केयूकेएलले भएको पानी आम नागरिकलाई उपलब्ध गराइ राखेको पनि उनले बताए । उनका अनुसार अहिले केयूकेएलले ९/१० करोड लिटर पानी दैनिक वितरण भइरहेको जानकारी दिए । मेलम्चीको पानी आउन छाडेपछि केयूकेएलले पानी वितरणको तालिका पनि बनाएको छ । सोही तालिका अनुसार नै पानी वितरण भइरहेको उनको भनाइ छ । उक्त तालिका शाखा तथा केन्द्रीय कार्यालयको सामाजिक सञ्चालनमा पनि राखिएको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले मेलम्ची हेडबक्समा आवश्यक मर्मतको काम भइरहेकोले पानी वितरण रोकेको बताए । उनका अनुसार वैकल्पिक प्रणालीको गेट नम्बर एकमा सुधारको काम भइरहेको छ । बर्खाको समय नजिकिँदै गरेको कारण बर्खा लाग्नु पूर्व नै सुरक्षाको काम गरिएको हो, हेडबक्सको स्थायी समाधान नहुञ्जेलसम्म यो समस्या समाधान हुँदैन, उक्त समस्या समाधान गर्न केही समय लाग्छ, त्यसैले पानी रोकेका हौं, अहिले वैकल्पिक रुपमा पानी वितरण भइरहेको छ,’ उनले भने । उनका अनुसार एक साता भित्र मर्मत तथा सुधारको काम सकिनेछ ।
घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रकृया अघि बढेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आज एक कार्यक्रममा दुई कम्पनीबीच बिक्री प्रबन्धकको सम्झौता सम्पन्न भएको छ । सो सम्बन्धी समझदारी पत्रमा घलेम्दी हाइड्रोपावरको तर्फबाट अध्यक्ष किशोर सुवेदी र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जाद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा पन्त नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । जेठ १० गते दिउँसो ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थापक सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदमा लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे थिइन् । निजले व्यक्तिगत कारणले सञ्चालक पदमा रहि निरन्तरता दिन नसक्ने भएसँगै इन्स्योरेन्सले उक्त पदमा डा. राजेश पन्तकी छोरी शर्मा (ललितपुरको भक्तपुर निवासी) लाई नियुक्त गरेको हो । साथै, इन्स्योरेन्सले हाल लक्ष्मी बैंकको तर्फबाट कसैलाई पनि प्रतिनिधिको रुपमा सञ्चालक मनोनय नगर्ने जानकारी गराएको छ ।