विकासन्युज

एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिएका हुन् । उनले भने, ‘वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् ।’ मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन  अस्पताललाई निर्देशन दिए । उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिए । ‘सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछाैं । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ,’ उनले भने । मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिएका थिए । न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर आजै बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गरेका हुन् । निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा सङ्गीता मिश्र र मन्त्रालयका अधिकारी थिए । रासस

भोली विराटनगरमा एनसेल कन्सर्ट हुँदै

काठमाडाैं । एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा भाेली (जेठ १३ गतेऽ शनिबार) कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरू रहनेछन् । विशेषगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्य, आफन्तजन तथा साथीभाइसँग सांगीतिक कार्यक्रममार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको एनसेलले जनाएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु भई बेलुका ८:३० बजेसम्म चल्नेछ । कार्यक्रममा चर्चित गायकगायिकाहरू दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनील पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ । कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी कन्सर्टको टिकट निःशुल्क पाउन सक्नेछन् । वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशमा रहेका आफ्ना परिवारसँग सुलभ दरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरूलाई आह्वान गरेको छ ।    

मोटरसाइकलमा कर बढ्न सक्ने, भत्ता कटौति हुने

काठमाडौं । सरकार बजेट निर्माणको अन्तिम चरणमा छ । जेठ १५ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्रीले सार्वजनिक गर्ने बजेटले अन्तिम रुप लिइरहेको छ । बजेटलाई अन्तिम रुप दिन अर्थमन्त्री डा. प्रकाश शरण महतदेखि बजेट लेखन टीम सक्रिय छ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब साढे १७ खर्बको बजेटको ड्राफ्ट पनि तयार भइसकेको छ । सो ड्राफ्टलाई अर्थमन्त्री महतलाई हस्तान्तरणको तयारी पनि भइरहेको बुझिएको छ । मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा रहेको ६ सदस्यीय बजेट लेखन टिमले शुक्रबार साँझसम्म अर्थमन्त्रीलाई बजेट लेखन टुंग्याएर हस्तान्तरण गर्ने कार्यतालिका रहेको स्रोतको भनाइ छ । ‘बजेटको ड्राफ्ट लगभग तयार भैसक्यो, अन्तिम रुजु गरेर आज साँझसम्म अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गर्ने तयारीमा छौँ, उहाँलाई हस्तान्तरण भएसँगै राजश्वका नीतिहरु माथि छलफल सुरु हुन्छ, स्रोतले भन्यो । ’ राजश्वको नीति हेरफेरका लागि अर्थमन्त्रीसहित दुई सचिव (अर्जुन प्रसाद पोखरेल र राम प्रसाद घिमिरे), आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र भन्सार विभागका महानिर्देशक बस्दैछन् । उनीहरु बसेर करका विषय हेरफेर हुनेछन् । साढे १७ खर्बको बजेटमा के कस्ता विषयले प्राथमिकता पायो होला भन्ने कौतुहलता सबैमा छ । अर्थतन्त्रमा एक किसिमको संकुचन आएको बजेटमा के कस्ता विषय समेटिएलान् भन्ने चासो पनि सबैको छ । आगामी बजेटको प्राथमिकता गत शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रमले पनि प्रष्ट्याउँछ । यस पटकको बजेटले यसअघिका कतिपय पपुलिष्ट कार्यक्रमहरुलाई कटोती गर्ने र केही नयाँ कार्यक्रमहरु थप्ने स्रोतका भनाइ छ । करका दर हेरफेरको विषयलाई पनि धेरैले चासोका साथ हेर्छन् । नाडा अटोमोबाइल्स एशोसिएशनले सरकारले आउँदो बजेटमार्फत सवारी साधन एसेम्बलिङ्ग उद्योगको महशुलमा छुट कटौती गर्न लागेको विषयमा आपत्ती जनाएको थियो । गत मंगलबार विज्ञप्ती जारी गर्दै नाडाले नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्नेका साथै रोजगारी सृजना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने अवस्थामा छुट कटौती गर्नु नाजायज भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । बजेटमा एसेम्बलिङ्ग उद्योगको महशुलमा छुट कटौती गर्न लागेको विषय चुहिएपछि नाडाले यस्तो विज्ञप्ति जारी गरेको थियो । योसँगै मोटरसाइलमा लाग्ने करको दर पनि बढाउन लागेको चर्चा छ । यस्तै, वृद्धभत्तालाई एकरुपता ल्याउने विषयले पनि बजेटमा प्राथमिकता पाएको बुझिएको छ । सरकारबाट दोहोरो सुविधा नलिने गरी वृद्धभत्तामा हेरफेर हुने स्रोतको दाबी छ । समितिले वृद्धभत्ता कटौतीको तयारी थाले पनि अर्थमन्त्रीलै नै तत्काल वृद्धभत्ता नहट्ने बताएपछि सरकारबाट सुविधा लिएकाहरुलाई भने वृद्धभत्ताको कटौती गर्न लागिएको स्रोतको दाबी छ । यस्तै, अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारीको महँगी भत्ता र पोसाक भत्ता पनि कटौती हुने चर्चा छ । योसँगै सरकारले दिएका विभिन्न सहुलियत तथा अनुदान समेत कटौतीको छलफल समितिभित्र चलेको चर्चा छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् विभिन्न क्षेत्रमा अनुदान तथा सहुलियतको सुविध ल्याएका थिए । शर्माले स्यानेटरी प्याड, विद्युतीय गाडी, स्पञ्ज आइरन, निर्यात लगायतमा सहुलियत तथा अनुदान दिएको सुविधा दिएका थिए । छुट तथा सहुलियतका नाममा ठूलो रकम खर्च भएको अनुमान गर्दै स्रोत माथिको दबाब कम गर्न उक्त निर्णय गर्न लागिएकोे अर्थ मन्त्रालय स्रोत बताउँछ । यस्तै, सरकारले हरेक दुई वर्षमा कर्मचारीको तलब हेरफेर गर्दै आएको छ । गत वर्षको बजेट मार्फत् कर्मचारीको तलब तह अनुसार १५ प्रतिशतले बढेको थियो । गत वर्ष कर्मचारीको तलब बढेको कारण पनि यो वर्ष नबढ्नु पर्ने हो । तर, उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब बढाउन सिफारिस गरेपछि बजेट लेखन समितिले यस विषयमा पनि सोचेको छ । समितिले कर्मचारीको तलब बढाएर महँगी भत्ता र पोसाक भत्ता कटौती गर्न सक्ने चर्चा पनि अर्थ मन्त्रालयमा छ । सो समितिले कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको थियो । पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा गठित समितिले सबैभन्दा तल्लो तहका कर्मचारीलाई ३५ हजार तलब कायम गर्नु पर्ने सिफारिस गरेको थियो । आयोगले मुख्यसचिवको तलब १ लाख २२ हजार ५०० रुपैयाँ हुने गरी व्यवस्थापन गर्न सुझाव दिएको थियो । समितिको सुझावलाई कार्यान्वयन हुन सकेमा बजेट लेखन समितिले कर्मचारीको तलब बढाउन सक्नेछ । अर्थमन्त्री डा. महत संसद बैठक र विभिन्न सार्वजनिक कार्यक्रमहरूमा साधारण खर्च र अनुत्पादक खर्च घटाउने बताउँदै आएका छन् । उनले सार्वजनिक खर्च घटाएर राजश्वको दायरा बढाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हाे । अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएको उक्त विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

हिमालय रोडिज सिजन-५ को अडिसन सुरु

काठमाडौं । हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको छ । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन ५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । जेठ १२ गतेदेखि सुरु भएकाे ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । अडिसन पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ ।

जुम्ला र कालिकोटमा टेलिकमकाे एनटी फाइबर सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । टेलिकमले जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरेकाे हो । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरेका थिए । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ । फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक ८ हजारमा उपलब्ध छ । त्यसैगरी, एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्डको सुभारम्भ

काठमाडौं । महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले आज शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उक्त क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पिओयस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । बैंकका अनुसार कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता भएको छ । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेश्नल बिच ग्राहकलाई लक्षित गरी नेपाल रेमिट इन्टरनेसनलका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिटयान्स रकम भुक्तानी गर्ने सम्झौता भएको छ ।  नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी प्रदान गर्ने सम्झौता भएको हाे । उक्त सम्झौता, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल बिच सम्पन्न भयो । साथै, नेपाल रेमिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देव बहादुर थापाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।