बजेटको मुखमा १७ अंकले घट्यो नेप्से, साढे दुई अर्बको कारोबार
काठमाडौं । बजेट सार्वजनिक हुनु एक दिन अगाडी सेयर बजार १७.३८ अंकले घटेको छ ।बिहान उकालो लागिरहेको नेप्से बजार बन्द हुने समयमा भने घटेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार घटेर १९४१.७४ विन्दुमा पुगेको छ । यद्यपी बजार घटेपनि ७० लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोड रुपैयाँको भएको छ । यस्तै, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था रहको छ । युनियन लाइफको सेयर मूल्य प्रतिकित्ता ३५.८० रुपैयाँ र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १५०.३० रुपैयाँले वृद्धि भएको छ । सरकारले भोली अर्थात जेठ १५ गते सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ ।
खुम्चियो आर्थिक वृद्धिदर, २.१६ प्रतिशत हुने प्रक्षेपण
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने बताएका छन् । सांसदको दुवै सदनलाई आईतबार सम्बोधन गर्दै उनले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्र समेत प्रभावित भएको र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको बताएका हुन् । आइतबार संघीय संसद्मा आर्थिक सर्वेक्षण, २०७९/८० को प्रतिवेदन सार्वजनिक गर्दै उनले वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आई वित्तीय व्यवस्थापनमा समस्या आएको बताए । विश्व बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण समग्र आयातसँगै वस्तुको मूल्यमा दबाब परेको समेत अर्थमन्त्री डा.महतले बताए । विगतमा विदेशी मुद्राको सञ्चिति जोगाउन गरिएको आयातको कडाइ, रेमिट्यान्स सुधार र अन्य पक्षहरूले अर्थतन्त्रको बाह्य क्षेत्र समेत सुधारात्मक रहेको उनले बताए । पर्यटन क्षेत्रको सुधारले हौसला प्रदान गरेको समेत अर्थमन्त्री डा. महतले बताए ।
२५ सार्वजनिक संस्थान नाफामा हुँदा १७ घाटामा, सरकारलाई सवा ६ अर्ब लाभांश
काठमाडौं । सरकारी स्वामित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा संस्थान नाफा रहेको बताइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै २५ वटा संस्थान नाफामा र १७ वटा संस्थान घाटामा रहेको बताएका छन् । उनले सरकारले लगानी गरेको निकायबाट सवा ६ अर्ब लाभांश प्राप्त भएको पनि बताएका छन् । उनले सञ्चालन गर्न आवश्यक नठानेको संस्थानहरुलाई थप पूँजी र प्रविधि भित्र्याएर निजीकरण गर्ने गरी सरकारले अध्ययन गरिरहेको पनि बताएका छन् । सरकारको संस्थनहरुमा असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ ।सार्वजनिक संस्थानको संचालन आय ३६.२ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय सार्वजनिक संस्थान तथा बोर्डहरु खारेजी तथा मर्जरको पनि चर्चा छ । सोमबार प्रस्तुत हुने बजेटमार्फत् सो विषय उल्लेख हुने सम्भावना पनि छ । प्रशासनिक खर्च घटाउन दुई दर्जन संस्थान तथा बोर्ड मर्जर तथा खारेजीको प्रक्रियामा लैजाने तयारी गरेको बुझिएको छ ।
अर्थमन्त्रीले राजश्वका दर मन्त्रालय बाहिरै तयार पारे, कस्तो आउँदैछ बजेट ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गर्नु पर्ने राजश्व नीतिहरु मन्त्रालय बाहिरैबाट तयार पारेको बुझिएको छ । सोमबार संसदको दुबै सदन (प्रतिनिधि तथा राष्ट्रिय सभा) लाई संयुक्त रुपमा सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका उनले बजेटमा करका दरहरु मन्त्रालय बाहिरैबाट तयार पारेको बुझिएको हो । बजेट मार्फत् एसेम्बलिङ उद्योगमा दिँदै आएको छुट हटाउने विषय चर्चामा आएसँगै अर्थमन्त्री डा महतले राजश्वका नीतिहरु बाहिरै तयार पारेर बजेटमा समेटेको स्रोतको भनाइ छ । ‘उहाँले राजश्वमा सबै नीतिहरु बाहिरै तयार पारेरै ल्याउने गर्नुभएको छ, उहाँले तयार पारेर ल्याएका नीतिहरु बजेट निर्माणको कोर टिमलाई सामान्य ब्रिफिङ गरेर राख्ने गर्नु भएको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘कर्मचारीको विश्वास नगरी बाहिरैबाट तयार पारेर ल्याउँदा स्वार्थ समूहको हाबी हुने हो की भन्ने चिन्ता थपिएको छ ।’ अर्थमन्त्री महतले आफु विवादमा नपर्ने भन्दै आन्तरिक तयारी गर्दा स्वार्थ समूहको हाबी हुनसक्ने आशंका बढेको स्रोतको भनाइ छ । तर, घरबाटै करका दर हेरफेर हुनुलाई बजेट लेखन समूहले नै आश्चर्यको विषयका रुपमा लिएको बुझिएको छ । डा. महतले सोमबार बेलुका सवा ४ बजे आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्ने कार्यतालिका छ । उनले बजेट सार्वजनिक गर्नु पूर्व अहिले आम मानिसलाई कस्तो खालको बजेट आउँदैछ भन्ने चासो पनि बढेको छ । अहिले सबैमा कस्तो बजेट आउँछ, कर्मचारीको सेवा सुविधा के हुन्छ (तलब), बृद्धा भत्ता बढ्छ कि बढ्दैन, करका विषय के कति हेरफेर हुन्छन्, के कस्ता आयोजना तथा कार्यक्रमलाई प्राथमिकता पाउँछन् भन्ने लगायतका विषयप्रति सबैको चासो बढेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब साढे १७ खर्बको बजेटको ड्राफ्ट तयार भइसकेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दिएका छुटमा परिमार्जन हुने कर्मचारीको महँगी भक्ता तथा पोशाक कटौती गर्ने तयारी भएको छ । आगामी बजेटमा सरकारले अतिआवश्यक बाहेकका खर्च कटौती गर्ने, सरकारी तथा सार्वजनिक संस्था खारेज तथा मर्ज गर्ने, नेपालमै सवारी साधान उत्पादन (एसेम्बल) गर्ने उद्योगलाई दिदैँ आएको भन्सार तथा अन्तशुल्कको छुट हटाउने, डिजेल तथा पेट्रोलबाट सञ्चालित सवारी साधनको भन्सार तथा अन्तशुल्क बढाउने, स्पञ्ज आइरनमा दिएको अन्तशुल्क तथा कर छुट हटाउने लगायतका विषय सम्बोधन हुने अर्थ मन्त्रालय स्रोतको दाबी छ । यस्तै, रोजगारीका नाममा अनुत्पादक लगानी भएको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा पनि भारी कटौती गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार माथि खर्च कटौती गरी स्रोतको परिचालन गर्ने दबाब छ । स्रोतको दबाब अनुसार लीलामणि पौडेल नेतृत्वको उच्चस्तरीय तलब सुविधा आयोग र डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएका सुझावलाई आधार बनाएर खर्च कटौतीकोे तयारी भएको हो । मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा रहेको ६ सदस्यीय बजेट लेखन गत शुक्रबार नै अर्थमन्त्रीलाई बजेट लेखन टुंग्याएर हस्तान्तरण गरिसकेका छन् । बजेटको ड्राफ्ट पाएपछि राजश्वका नीति हेरफेर गरेर सोमबार अर्थमन्त्रीले बजेट सार्वजनिक गर्दैछन् । राजश्वको नीति हेरफेरका लागि अर्थमन्त्रीसहित दुई सचिव (अर्जुन प्रसाद पोखरेल र राम प्रसाद घिमिरे), आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र भन्सार विभागका महानिर्देशक बस्दैछन् । यस्तै, राजश्वकै लागि खानेपानी मन्त्रालयमा रहेका (आन्तरिक राजश्व विभागको समेत महानिर्देशक भइसकेका) शोभाकान्त पौडेललाई अर्थमन्त्रालयमा तानेका छन् । आगामी बजेटको प्राथमिकता गत शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रमले पनि प्रष्ट्याउँछ । यस पटकको बजेटले यसअघिका कतिपय पपुलिष्ट कार्यक्रमहरुलाई कटोती गर्ने र केही नयाँ कार्यक्रमहरु थप्ने स्रोतका भनाइ छ । करका दर हेरफेरको विषयलाई पनि धेरैले चासोका साथ हेर्छन् । नाडा अटोमोबाइल्स एशोसिएशनले सरकारले आउँदो बजेटमार्फत् सवारी साधन एसेम्बलिङ्ग उद्योगको महशुलमा छुट कटौती गर्न लागेको विषयमा आपत्ती जनाएको थियो । गत मंगलबार विज्ञप्ती जारी गर्दै नाडाले नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्नेका साथै रोजगारी सृजना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने अवस्थामा छुट कटौती गर्नु नाजायज भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । बजेटमा एसेम्बलिङ्ग उद्योगको महसुलमा छुट कटौती गर्न लागेको विषय चुहिएपछि नाडाले यस्तो विज्ञप्ति जारी गरेको थियो । योसँगै मोटरसाइलमा लाग्ने करको दर पनि बढाउन लागेको चर्चा छ ।
कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ । सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो । कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ । आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तिब्रता पाएको बताए । देशभरका निर्माणका काममा ढिलासुस्ती भएपनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै उनले खुशी व्यक्त गरे । ‘राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको छ, कालीगण्डकी करिडोर धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्गका रुपमा महत्वपूर्ण हुनेछ, देशले अब त्रिदेशीय मार्गको उचित लाभ लिन सक्नुपर्छ, कालीगण्डकी करिडोरको सम्पूर्ण काम ढिलोमा तीन वर्षसम्म पूरा गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, राष्ट्रिय सभा सदस्य राजेन्दलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रुपमा राम्रो भएपनि पुल निर्माणमा भने समस्या देखिएको बताए । गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ ।
अस्पताल पुर्याए बाँच्छन् सर्पदंशका बिरामी
राँझा । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन । बिहान जिब्रो बाक्लो हुँदै गएको र केही पनि निल्न सक्ने अवस्था नभएपछि स्वास्थ्य उपचारका लागि आचार्य नजिकैको मेडिकल हुँदै शिक्षण अस्पताल कोहलपुर पुगे । बिहान ७ बजे शिक्षण अस्पताल पुगेका आचार्यको स्वास्थ्य अवस्था बिग्रिएको सर्पदंशका कारण हो भन्ने एकीन नभएकाले शिक्षण अस्पतालका चिकित्सकले नाक, कान, घाँटी, आँखा विभागमा जाँच गर्दा गर्दै बिरामीको श्वास प्रश्वास प्रणालीमै समस्या भयो । सास फेर्न नसकेर ढलेपछि बिरामीको सघन उपचार कक्षमा उपचार सुरु भयो । सघन उपचार कक्षमा राखेर उपचार गर्ने क्रममा पुगेका सर्पदंश व्यवस्थापन तालिम लिएका चिकित्सकले बिरामीको लक्षणअनुसार सर्पदंश भएको अनुमान गरे पश्चात बिरामी १४ घण्टापछि राति ९ बजे शिक्षण अस्पताल कोहलपुरबाट भेरी अस्पताल नेपालगञ्ज प्रेषण भए । पूरै बेहास अवस्थामा भेरी अस्पताल पुगेका बिरामीको राति १० बजेर ३० मिनेटबाट मात्रै उपचार सुरु भयो । मस्तिस्क पनि सुस्त अवस्थामा पुगिसकेका बिरामीलाई भेरी अस्पतालमा सर्पदंशको उपचारमा संलग्न डा कृष्ण आचार्यको टोलीले सघन उपचार कक्षमा राखेर ‘क्रिटिकल केयर’सहित सर्पदंशको उपचार सुरु गर्यो । नौ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बिरामीले नयाँ जीवन पाएको डा आचार्यले बताए । ‘बिरामीको हिस्टोरी र लक्षण हेर्दा सर्पले टोकेको पुष्टि भए पनि भेरी अस्पताल पुग्दा बिरामीको अवस्था अत्यन्तै गम्भीर भएकाले क्रिटिकल केयरमा राखेर उपचार सुरु गरे बिरामी बाँच्ने सम्भावना देखियो’, डा आचार्यले भने, ‘यस्तो अवस्थामा एनटीस्न्याक भेनमको कुनै भूमिकानै थिएन, बिरामीलाई क्रिटिकल केयरको आवश्यकता थियो ।’ भेरी अस्पतालको पचास/साठी जनाको नर्सिङ स्टाफको टोलीले अनवरत रुपमा भेन्टिलेटरमा राखेर उपचार गरेपछि नौ दिनमा भेन्टिलेटरको ट्यूब निकालिएको थियो । यो एउटा उदाहरण मात्र हो । सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामी भेरी अस्पतालमा आएपछि नयाँ जीवन पाएका धेरै घटना छन् । डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्याए बिरामीको ज्यान जोगिने बताए । सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने प्रेषण अस्पतालमा ल्याउन उनको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले ८० प्रतिशत बिरामीको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताए । ‘सर्पले टोकेमा प्रि हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ, समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनुपर्दैन’, उनले भने । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँ सर्पले टोकेमा सरकारी अस्पतालमा एन्टिस्नेक भेनम निःशुल्क भए पनि भेन्टिलेटर र अरु उपचारका साथै औषधि महँगो पर्ने भएकाले विपन्न व्यक्ति मारमा परिरहेको बताए । नेपालमै पहिलो पटक सर्पदंशको उपचार गरेका नवलपरासीस्थित कालीगण्डकी अस्पतालका डा छविलाल थापा मगरले अस्पताल ल्याएका सबै सर्पदंशका बिरामीलाई भेन्टिलेटर आवश्यक नरहेको अनुभव सुनाउँदै विषालु सर्पले टोकेका व्यक्तिले समयमै एन्टिस्नेक भेनम पाएमा निको हुने बताए । ‘धामीझाँक्री कहाँ लगेर ल्याउँदा ढिलो हुन्छ, बाटोमै मृत्यु हुनसक्छ, सर्पले टोकेका व्यक्तिले समयमै उपचार पाए निको हुन्छ’, उनले भने । तराईका विभिन्न स्थानमा सर्प डसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेकाले त्यसबाट बचाउन सर्पदंशबाट कसैको मृत्यु नहोस् भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा नेपालका २५ जिल्लामा चार वर्षे सर्पदंश रोकथाम अभियान सुरु भएको छ । अभियानका क्रममा नेपाली, थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबारे मिथिला कलामा आधारित पाँच भाषाको पोस्टर, रेडियो कार्यक्रम र पीएसएमार्फत जनचेतना जगाउने काम भइरहेको रोटरी क्लब काठमाडौं मिड–टाउनका अध्यक्ष डा निर्मल रिजालले जानकारी दिए । रासस
सोमबार सवा ४ बजे बजेट सार्वजनिक हुने
फाइल फाेटाे काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सोमबार अपराह्न सवा ४ बजे मात्रै सार्वजनिक हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न सवा ४ बजेसम्मका लागि संसद बैठक स्थगित हुने घोषणा गरेका छन् । सोमबार साँझ ६ बजे संसद बैठक बस्ने भएसँगै बजेट भाषण पनि अपराह्न ४:१५ बजे नै सार्वजनिक हुने भएको छ ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस