सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले तिनकुने, काठमाडौंमा अवस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट पाउनेछन् । यसैगरी भैसेपाटी, ललितपुरमा अवस्थित अर्बन स्माइल डेन्टल क्यरका सेवाहरुमा अधिकतम २५ प्रतिशत सम्म छुट पाउने छन । साथै न्युरोड, काठमाडौंमा अवस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरुमा पनि अधिकतम २५ प्रतिशत सम्म छुट पाउने छन । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
डिशहोममा नयाँ २१ वटा फिल्मको मेला
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, भिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने जनाइएको छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । तीन महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको दुई वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नम्बर १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
‘दृश्य प्रदुषण’ गरेको भन्दै काठमाडौं महानगरले असुल्यो ५० हजार जरिवाना
काठमाडौं । फिल्मको पोस्टर टाँसेर ‘दृश्य प्रदुषण’ गरेको भन्दै काठमाडौं महानगरपालिकाले एउटै संस्थालाई ५० हजाररूपैयाँ जरिवाना गरेको छ । काठमाडौं–२९ मा रहेको नेपाली बेभसाइट मिडिया हाउस प्रालिले काठमाडौंको भित्ताहरुका फिल्मको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो । उक्त कम्पनीले मंगलबार महानगरको कार्यालयमा गएर ५० हजाररुपैयाँ जरिवाना बुझाएको महानगरले बताएको छ । महानगरले १७०००१ नम्बरको रसिद जारी गरेर उक्त जरिवाना असुलेको हो । उक्त कम्पनीले फिल्मको पोस्टर टाँसी दृश्य प्रदुषण र फोहोर मैला गरे वापत प्रशासनिक दण्ड, जरिवाना र जफत गरेको बताएको छ ।
तातोपानी कुण्डको एक वर्षको आम्दानी एक करोड ३७ लाख रुपैयाँ
म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने– ‘बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।’ गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए । बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार रुपैयाँ र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको छ । चन्दाबापत चार लाख सोह् हजार रुपैयाँ, मन्दिरको भेटी पाँच लाख ३० हजार रुपैयाँ, आजीवन सदस्यताबाट तीन लाख आठ हजार रुपैयाँ तथा ब्याजबाट १७ हजार रुपैयाँ आम्दानी भएको छ । प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० रुपैयाँ शूल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् । अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार रुपैयाँ उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा ११ लाख ३३ हजार रुपैयाँ, संरचना निर्माण र मर्मतमा दश लाख ८९ हजार रुपैयाँसहित कूल एक करोड ३६ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक करोड १७ लाख २२ हजार रुपैयाँ, आव २०७७/७८ मा ७८ लाख एक हजार रुपैयाँ, आव २०७६/७७ मा एक करोड १३ लाख ४९ हजार रुपैयाँ, आव २०७५/७६ मा ९९ लाख ४२ हजार रुपैयाँ तथा आव २०७४/७५ मा ६५ करोड छ लाख रुपैयाँ आम्दानी भएको थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा २६ लाख ५७ हजार रुपैयाँ, आव २०७५/७६ मा ९६ लाख १० हजार रुपैयाँ, आव २०७६/७७ मा एक करोड १४ लाख २३ हजार रुपैयाँ, आव २०७७/७८ मा एक करोड १४ लाख ५२ हजार रुपैयाँ तथा आव २०७८/७८ मा एक करोड ९० लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । रासस
सेयर बजारमा सामान्य सुधार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार चार सय ३८ कित्ता शेयर तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ मूल्य बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार चार सय ४३ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार शिवम् सिमेन्ट १७ करोड ९८ लाख ६१ हजार तीन सय चार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ६३ लाख ९० हजार तीन सय ३३ रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ११ करोड ६६ लाख ११ हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स १० करोड २३ लाख ७१ हजार नौ सय ७३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । शुभम् पावर आठ दशमलव ८९, युनिलिभर नेपाल आठ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले छ दशमलव ७८ प्रतिशतले कमाएका छन् । नेप्सेका अनुसार सानिमा लार्ज क्याप पाँच दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो चार दशमलव ११, सानिमा ग्रोथ फण्ड तीन दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।
संघीय संसद सचिवालयलाई चीनद्वारा ८ वटा विद्युतीय सवारी साधन सहयोग
काठमाडौं । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो । अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए । करिब तीन करोड रुपैयाँ मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो । हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो । विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो । रासस
राहदानी बनाउनेको सङ्ख्या बढ्यो
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ । उक्त सङ्ख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो सङ्ख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको सङ्ख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो । विदेश अध्ययन गर्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा आफन्त भेट्न विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको थापामगर बताउछन् । आव २०७९/८० को साउनमा एक हजार ८२ महिला र एक हजार चार सय ७८ पुरुष, भदौमा ६ सय ५० महिला र एक हजार एक सय ४६ पुरुष, असोजमा चार सय १८ महिला र सात सय १२ पुरुष, कात्तिकमा चार सय २१ महिला र सात सय ९१ पुरुष, मङ्सिरमा चार सय ८ महिला र सात सय ८८ पुरुष तथा पुसमा छ सय १५ महिला र एक हजार एक सय ५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ । यस्तै माघमा ६ सय ५२ महिला र एक हजार एक सय तीन पुरुष, फागुनमा ६ सय ५८ महिला र एक हजार एक सय ८८ पुरुष, चैतमा आठ सय ९५ महिला र एक हजार पाँच सय ३३ पुरुष, वैशाखमा सात सय ६७ महिला र एक हजार दुई सय ६३ पुरुष, जेठमा एक हजार ६३ महिला र एक हजार पाँच सय ६३ पुरुष तथा असारमा सात सय ८३ महिला र एक हजार एक सय ७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको थियो । यस्तै एक सय ९८ नाबालकको सिफारिस गरिएको तथ्याङ्क छ । आव २०७९/८० मा राहदानी सिफारिसबाट अघिल्लो आवको भन्दा झण्डै दोब्बर राजस्व सङ्कलन भएको थियो । आव २०७९/८० मा आठ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने आव २०७८/७९ मा चार करोड ४२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस
सलिकोले उठायो साढे ४ अर्ब प्रिमियम, ग्राहकलाई विश्वसनीय सेवा दिने प्रण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म कम्पनीले ३ लाख ११ हजार ३५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । कम्पनी हाल स्थापनाकालको २७औं वर्ष पार गरी २८औं वर्षमा प्रवेश गरेको छ । यो अवधिसम्म कम्पनीले देशभरका ११३ वटा शाखाका ६३७ जना कर्मचारीमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ । साथै, २७औं वर्षको अवसरमा सलिकोले आफ्ना ग्राहकहरुलाई थप सशक्त, सबल, गतिशील र विश्वसनीय बीमा सेवा दिने प्रतिवद्धता गरेको छ ।