कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन
काठमाडौं । कैलालीका भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनन् । २ वटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको हो । कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने ८ अर्ब २९ करोड ६३ लाख रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७.४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । लक्ष्यअनुसार राजस्व उठ्न नसकेको र विगतको तुलनामा कम राजस्व संलन भएको उनले बताए । टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न नसकेको उनको भनाइ छ । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९÷०८० मा १६ करोड ९४ लाख, ४२ हजार रुपैयाँ राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोे थियो । सत्ती भन्सारले ७ करोड, ३८ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए । ‘आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुँदा राजस्व कम उठेको हो, सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि भन्सारबाट लक्ष्यअनुसारको राजस्व नउठेको हो,’ उनले भने ।
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा.महतको आह्वान
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भारतसँग १० हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए । नेपालमा जलविद्युत् १२ महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उल्लेख गरे । नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको, प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न अनुरोध गरेका छन् । नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्नसक्ने, भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा बताए । गुजरात उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसको लागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे । कार्यक्रममा अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालमा लगानी क्षेत्र तथा सम्भावनाका विषयमा भारतीय उद्योगी व्यवसायीलाई जानकारी गराएका थिए ।
प्राइम बैंकले एकैपटक साढे १३ लाख कित्ता सेयर बेच्दै, प्रतिकित्ता कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे १३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको आज साउन ३ गतेदेखि १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकेको छ । बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् । बैंकको सेयरमा साउन १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा प्रभु क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।
आरएसडिसी लघुवित्तको नाफा बढ्यो, ईपीएस सामान्य घट्यो
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.७१ प्रतिशत बढेर ११ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २३ करोड ९० लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी जरेको थियो । लघुवित्तको कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत बढेर ३१ करोड १ लाख १५ हजार रुपैयाँ, सञ्चालन नाफा ५.८८ प्रतिशत बढेर १५ करोड ९२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ८ करोड ८ लाख १८ हजार रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत बढेर ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ, जगेडा कोष १२ प्रतिशत बढेर २० करोड ३९ लाख रुपैयाँ, सापटि २५.३७ प्रतिशत बढेर ५ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ र कर्जा २४.४४ प्रतिशत बढेर ६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्ष लघुवित्तको खराब कर्जा बढेर १.२२ प्रतिशत पुगेको छ । साथै, लघुवित्तको लागत १२.१८ प्रतिशत, आधार दर १३.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.४९ प्रतिशत थियो । लघुवित्तको प्रतिशेयर आम्दानी २८ पैसा घटेर १२ रुप्ैयाँ ८४ पैसामा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।
अस्पतालमा निःशुल्क पार्किङ गर्न निर्देशन
Underground Garage काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् । अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेल, चितवन मेडिकल कलेजकाका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका अध्यक्ष डा.विजय न्यौपानेलाई टेलिफोन सम्पर्क गरी पार्किङ निःशुल्क गर्न भनेका हुन् । अस्पतालमा आउने बिरामी र आफन्तसँग पार्किङको नाममा लिइने शुल्कका विषयमा जनगुनासो बढेकाले मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्री जोशीको भनाइ छ । शुल्क लिने व्यवस्था हटाइ सवारीसाधनको सुरक्षा अस्पतालले गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले असार १५ गते नै सबै अस्पताललाई निर्देशन गरेको भन्दै उनले साउन महिनाबाटै यसको कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । कतिपय अस्पातलले बिरामी र तिनका आफन्तबाट पार्किङ शुल्क लिँदै आएका छन् ।
स्वीस टुरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट
काठमाडौं । काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्णायक समितिले कामपलाई अवार्डका लागि छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । कामपा प्रमुख बालेन्द्र साहलाई पत्र पठाउँदै आयोजक संस्थाले भनेको छ, “यस क्षेत्रको आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यको विशिष्ठतालाई प्रवद्र्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।” काठमाडौँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदा, मूर्त÷अमूर्त सम्पदा र जीवन्त सहरी रमाइलो वातावरणका कारण आगन्तुकलाई मोहित बनाउने पत्रमा उल्लेख छ । यो अवार्ड वितरण विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्नेछन । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नु र पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यको सञ्चार र बजारीकरण गरेर सोखिन पर्यटकसमक्ष सूचना पुर्याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो । अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मूल्य र पेसाका विषयमा चर्चा गरिन्छ । स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवद्र्धक कार्यक्रममा सहभागी हुनेछन् ।
फोहरमा शुल्क नलिन ककनी गाउँपालिकालाई अन्तरिम आदेश
फाइल फाेटाे काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले शुल्क लिनु संविधानको धारा २२८ (२) धारा २३६, फोहरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ विपरीत देखिएको उक्त आदेश गरेको हो । ककनी गाउँपालिकाले गत असार १९ काठमाडौँबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर लिएर सानो गाडीसँग प्रतिखेप १ हजार रुपैयाँ र ठूला गाडीसँग १५ सय रुपैयाँ लिने निर्णय गरेको थियो । आदेशमा भनिएको छ, ‘‘ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयनमा ल्याइएमा फोहरमैला व्यवस्थापनमा जटिलता पैदा हुन जानेसमेत देखिएको हुँदा सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मिति २०८० असार १९ को गाउँपालिकाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु ।” ककनी गाउँपालिकाको उक्त निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।
राष्ट्र संघको फोरममा श्रेष्ठको सम्बोधन– नवप्रवर्तनमा ठूला देशको सहयोग अत्यावश्यक
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ)मा अल्पविकसित देश (एलडीसी)हरुको तर्फबाट सम्बोधन गरेका हुन् । फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागीता छ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकाश पार्दै अल्पविकसित राष्ट्रहरूमा दीगो विकास लक्ष्य (एसडीजी) को कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताए । उनले अल्पविकसित देशहरुका लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न, नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न विश्व समुदायको सहयोग आवश्यक रहेको बताए । बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा पनि श्रेष्ठले जोड दिएका छन् ।