विकासन्युज

कांग्रेसको रूपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहनुभएका नेताहरुले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता रञ्जीत कर्णले जानकारी दिए । अभियानअन्तर्गत नेताहरुले सातै प्रदेशमा विभिन्न चरणको छलफल तथा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्नुभएको थियो । प्रतिवेदनमा पार्टीलाई समयसापेक्ष सुधार गरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ । यसैगरी पार्टीका मूल्यमान्यता, आदर्श र सिद्धान्तलाई कुनै पनि शर्तमा कहिले पनि कोहीसँग पनि सम्झौता गर्न नहुने, लोकतान्त्रिक समाजवाद उन्मुख राष्ट्र निर्माणका सुत्र अगाडि सार्नुपर्ने, चुनावी घोषणापत्र कार्यान्वयनलाई अर्जुनदृष्टि बनाउनुपर्ने, विधानमा भएअनुसार पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्नेलगायत सुझाव प्रतिवेदनमा उल्लेख छन् । पार्टी रूपान्तरणका लागि प्राप्त सुझावलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । सो अवसरमा पार्टीका नेता मधु आचार्य, गुरुराज घिमिरे, जगदिशनरसिंह केसी, भरतबहादुर खड्का, रीता शाहीलगायत थिए ।

शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्‍यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन् । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताए । प्रधानमन्त्री दाहालले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गरे । उनले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताए । ’सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्’, प्रधानमन्त्री दाहालले भने । उनले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उनले बताए । नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक  र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको भन्दै प्रधानमन्त्री प्रचण्डले बताए । ’शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ’, उनले भने, ’कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।’ उनले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गरे । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो ।

विमानस्थलबाट १० हजार डलरसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको एक सय रुपैयाँ दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ । रासस

अधिकमास अर्थात् मलमास सुरु : के गर्ने, के नगर्ने ?

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उक्त समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउँछन् । चान्द्र मासमा दुईवटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासका बारेमा गरेकाे चर्चामा भनिएको छ– ‘असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् । द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।’ अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेकाँही मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलको भनाइ छ । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरे पनि प्रायः मङ्सिर र पुसमै पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ । क्षयमास हुने वर्षमा दुई अधिकमास नियमित पर्छ । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयमासभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासका देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे । सो गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ । अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ? मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने परम्परा छ । मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता कर्म गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नु हुँदैन । मच्छेनारायण (मत्स्यनारायण) मेला सुरु रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासको अवधिभर मच्छेनारायणमा टाढाटाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी बताउँछन् । यो महिनामा भगवान् नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ । भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गर्नुभयो । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ । यसअघि २०७७ साल असोज महिनामा अधिकमास परेको थियो । यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घर घरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्दै आएका छन् । रासस

न्यु योर्कमा स्थापित नेपाल टि कलेक्टिभ अब नेपाली बजारमा

काठमाडौं । न्यु योर्कमा स्थापित नेपाल टि कलेक्टिभले नेपाली बजारमा अर्थाेडक्स चियाको बिक्री सुरु गरेको छ । सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । विश्वका विभिन्न देशमा बिक्री हुँदै आएको सो चिया कम्पनीले नेपाली बजारमा बिक्री सुरु गरेको हो । ललितपुरको जावलाखेलमा कार्यालय नै राखेर कम्पनीले सुरुवाती चरणमा अनलाईनबाट चियाको बिक्री सुरु गरेको हो । सात वर्षको अबधिमा नेपाल टि कलेक्टिभले ४२ भन्दा बढी देशमा १ करोड कप चिया बिक्री गरेको दाबी गरेको छ । विश्वका अन्य देशले रुचायको चिया नेपाली बजारमा बिक्री गर्दा निकै उत्साहित भएको कम्पनीका सहसंस्थापक निश्चल बाँस्कोटा बताउँछन् । चिया उत्पादकका दोस्रो तथा तेस्रो पुस्ताका प्रतिनिधि निश्चल बाँस्कोटा र प्रतिक रिजालको नेतृतवमा नेपाल टि कलेक्टिभ उद्योग स्थापना भएको हो । हजारौँ विदेशी ग्राहकले विशिष्ट नेपाली चियाको ताजगी र दुर्लभ स्वादहरू अनुभव गर्न पाएका भएपनि नेपालका धेरै चिया प्रेमीले नेपालले दिन सक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर नपाएको कम्पनीको भनाई छ । ‘नेपाली चियालाई विश्वभर नै यसको समृद्ध र नौलो स्वादका लागि निकै प्रशंसा गरिन्छ’, सहसंस्थापक निश्चल बाँस्कोटा भन्छन् ‘विशिष्ट गुणस्तरको प्रमाण स्वरुप हाम्रा लुज–लिफ चिया र अर्गानिक मिश्रणले बाह्र वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्, न्यु योर्क टाइम्स र फोर्ब्समा प्रस्तुत भएसँगै हामीले नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौँ ।’ सहसंस्थापक अमिगो खड्का नेपाली अर्थाेडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट चियाका पारखीहरु टाढा भएको भन्दै नेपाल टि कलेक्टिभले नजिक ल्याउने बताउँछन् । ‘हामी नेपाली चिया प्रेमीसँग पनि यस्तै सम्बन्ध बनाउन चाहन्छौँ, हाम्रो संस्कृतिमा सिटिसि चिया हावी भएको छ र धेरै नेपाली नेपालका अर्थोडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट टाढिएका छन्, अब नेपाली चिया जगतलाई उकासेर हाम्रो आफ्नो चियाको स्वादको सराहना गर्न सिक्ने बेला आएको छ’, उनले भने । नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको चियाहरु बिक्री गर्दै आएको छ । कम्पनीसँग कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाश जस्ता पुरस्कृत सेतो चिया सम्मका चिया रहेका छन् ।

अब कुकुर पाल्न दर्ता अनिवार्य

बागलुङ । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो । नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ । कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । उनकाअनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख विनियोजन गरेको छ । नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताए । घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उनको भनाइ थियो । उनका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ । पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि दुई सय तिर्नुपर्नेछ भने नवीकरणका लागि एक सय रुपैयाँ तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा एक हजारभन्दा बढी सेवासुविधा दिने उनले बताए । ‘घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ । दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौं’, प्रमुख सापकोटाले भने, ‘नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नं सहितको बेल्ट घाँटीमा बाँधेर पठाउँने गरेका छौँ ।’ घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने उनले बताए । सापकोटाका अनुसार घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको सङ्केतका आधारमा कुकुर धनी पत्ता लगाइने उनको भनाइ थियो । जिल्ला सदरमुकाम बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिई कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको रहेको छ । कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘नगरपालिकाले कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ, नगरबासीको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो’, उनले भने, ‘घरपालुवा कुकुर नै रोगी भएर वा मानासिक असन्तुलन भएर छाडा छोड्ने गरेकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्ने व्यवस्था गरेका छौँ ।’ उनले यसरी घरपालुवा कुकुर छाडा भएमा कुकुरधनीसँग जानकारी लिन सहज हुने बताए । नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ । रासस

सहकारी बैंकका सबै शाखा मार्फत अब सहजै रेमिट्यान्स् प्राप्त गर्न सकिने

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौँ सहकारीका सदस्यहरूले विभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी पाउन सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले हस्ताक्षर गरे । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने ‘रेमिट्यान्स् बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढि गौरवको विषय हो । यसबाट विभिन्न सहकारीमा आवद्ध सदस्यहरूले आफु आवद्ध सहकारी मार्फत नै रेमिट्यान्स् भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ’ । यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले भने ‘नेपाल रेमिटजस्तो लामो इतिहाँस भएको रेमिट्यान्स् कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुशीको कुरा हो । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ’ । नेपालको पुरानो र विश्वसनिय रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनलका नायब महाप्रबन्धक देव बहादुर थापाले जानकारी दिए । राष्ट्रिय सहकारी बैंकमा हाल ७५ जिल्लाका करिब ७ हजार ३ सय सहकारी संघ संस्था सेयर सदस्य छन् । ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट ६६ करोड भन्दा बढी सेयर पूँजि संकलन, ८ अर्ब निक्षेप संकलन, करिब ५ अर्व कर्जा लगानी र करिब १० अर्बको कारोबार भैरहेको छ । बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ ।

दुई दिनमा दुर्गा प्रसाईको ४१ सन्देश, सुन्दरी देखाएर पत्रकार फसाउने प्रयास

शुक्रबार साँझ घर फर्कनेक्रममा गाडी चलाईरहेको थिएँ । फोनको रिङ बज्यो । ब्लुट्युथबाट फोन रिसिभ गरेँ । फोन गर्ने दुर्गा प्रसाई रहेछन् । आफूलाई जीतबहादुर, लक्ष्मीबहादुर, चण्डिराज ढकाल, पिउसबहादुर अमात्य लगायतका व्यवसायीसँग तुलना गरेर विकासन्युजले समाचार टिप्पणी प्रकाशन गरेकोमा उनले आक्रोस व्यक्त गरे । साथै, आफू विरुद्ध लाग्नेलाई सिध्याउँदै आएको बताउँदै मलाई पनि सिध्याउन सक्ने धम्की दिए । एउटा सामन्तीले निमुखालाई हप्काए जस्तो । उनले मुख छाड्न थाले । दुर्गा प्रसाईसँग संगत गर्नेलाई पक्का थाहा छ उनको दिमाग कस्तो चल्छ, कस्तो बोल्छन् । सुन्न लायक हुन्छ कि हुन्न । उनको धम्की र हप्काई सुन्ने धैर्यता ममा भएन । करिब ३ मिनेट सुनेपछि मैले फोन काटेँ । उनले फेरि फोन गरे, मैले उठाइन । घरमा पुगेपछि विकासन्युजका सम्पादकीय टिमलाई प्रसाईले दिएको धम्कीबारे जानकारी गराएँ । उक्त धम्कीबारे विकासन्युजमा शुक्रबार साँझै समाचार प्रकाशित भयो । प्रसाईको धम्कीबारे प्रकाशित समाचार पढेर धेरै साथी शुभेच्छुकहरुको बेलुकादेखि नै फोन आउन थाल्यो । फाेहाेर चलाएर दुर्गन्ध । मौन बसेको भए हुन्थ्यो भन्ने साथीहरुको सुझाव पनि रह्यो । मैले भने- दुर्गा प्रसाईको अगुवाईमा देशभर बैंकका कर्मचारीहरु आतंकित पार्ने काम भएका छन् । कयौंले पिटाई खाएका छन्, केहीको टाउको फुटेको छ । कैयौलाई कालोमोसो दलिएकाे छ । ती घट्नाहरुबारे हामीले निरन्तर  समाचार प्रकाशित गर्दै आएका छौं । दुर्गा प्रसाईको अराजकताले सीमा नाघ्दै गएको देखिरहेका छौं । यस्तो परिवेशमा उनको धम्कीले मलाई, अफिसका साथीहरुलाई, मेरो परिवारलाई डर पैदा भएको छ । त्यसैले यो विषय सार्वजनिक गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । जो कोहीलाई ज्यान मार्ने धक्की उसको स्वतन्त्रता, मानवअधिकार र शान्ति सुरक्षाका विपरित हो। तसर्थ यो समाचारको विषय हो । सञ्चारकर्मीलाई त्यस्तो प्रेस स्वतन्त्रताको विषय पनि जोडिन्छ ।  तसर्थ यो समाचारको विषय हो र हामीले प्रकाशित गर्‍यौं । शनिबार दुर्गा प्रसाईले समाचारको खण्डनमा सामाजिक सञ्जालमा लेख्दै आफूले ज्यान मार्ने धम्की नदिएको दावी गरे । सँगै, विकासन्युजका प्रधान सम्पादकले बार्गेनिङ गरेको झुटो आरोप लगाए । कुतर्क गर्नमा दुर्गा प्रसाईलाई कसैले जित्न सक्दैन । उनले कसलाई के भन्न बाँकी राखेका छन् र ! प्रचण्ड, केपी ओली, ज्ञानेन्द्र शाहलाई त सार्वजनिकरुपमा मनपरी ढंगले झूटो आरोप लगाउने प्रसाईले एउटा पत्रकारबारे झुटो बोल्नु स्वभाविक पनि थियो । उनलाई मैले गरेको एसएमएसको गलत ब्याख्या गर्दै केही पत्रकारलाई स्क्रीनसट पठाएका रहेछन् । उक्त स्क्रीनसट के हो, एक एक गरी व्याख्या गर्न चाहन्छु । ५ दिनको अन्तरालमा मैले प्रसाईलाई ४ पटक एसएमएस गरेको रहेछु, ती सबै फरक फरक मितिमा र फरक फरक सन्दर्भमा लेखिएका छन् । पहिलो म्यासेज-इमेल आईडी दिएको छ । असार १८ गते साढे ११ बजेतिर अपरिचत नम्बरबाट फोन आयो । उनले शुरुमै परिचय दिए- ‘म दुर्गा प्रसाई । मैले केही पत्रकारहरुसँग भेटघाट कार्यक्रम राखेको छु । विष्णु तारुके, सीताराम बिलासी, रामराजा श्रेष्ठ लगायत आर्थिक पत्रकार बोलाएको छु । एकछिन भेटेर कुरा गर्नु छ, तपाईं आउनु पर्‍यो।’ ‘केही विशेष छ र ?’ मैले जिज्ञाशा राखेँ । ‘मलाई बैंकहरुले दुःख दिए, माडेहरुले देश डुबाउने भए, हामी मिलेर बचाउनु पर्‍यो, मलाई आर्थिक पत्रकारहरुको सहयोग चाहियो’, उनले आफ्नो शैली प्रदर्शन गरिहाले । मैले मित्र रामराजासँग कुरा गर्ने प्रयास गरेँ, फोन उठेन । पुरोहितले जजमानको घरमा पूजा पाठ मात्र गराउँछु भन्न मिल्दैन, किरिया पनि गराउनुपर्छ, श्राद्ध पनि गराउनुपर्छ । पत्रकारले पुलिस, वकिलको मात्र होइन, फटाहा र अपराधिक पृष्ठभूमिका मान्छेहरुको कुरा पनि सुन्नुपर्छ, तथ्यपरक रिपोर्टिङ गर्नको लागि । बैंकर्सको कुरा मात्र सुनेर हुँदैन, ऋणीको पनि कुरा सुन्नुपर्छ भन्ने मनमा लाग्यो । म गएँ । प्रसाईले ७/८ जना आर्थिक पत्रकारलाई बोलाएका रहेछन् । ‘मलाई लखेट्न धेरै लागेका छन् । त्यसमा मुख्य पात्र केपी ओली, प्रचण्ड, ज्ञानेन्द्र र रत्नराज बज्राचार्य हुन्’ उनको आक्रोस एकतर्फी पोखिन थाल्यो । ‘आज बैंकहरुले कुल ५५ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । ३८ खर्ब रुपैयाँ ५५ जना माडेले चलाएका छन् । माडेले सबै पैसा विदेश लगिसके । विष्णु पौडेलले घुस खाएको पैसा जति विष्णु अग्रवालमार्फत बिजनेशमा लगानी गर्दै आएका छन् । सबैभन्दा खतरनाक मान्छे पवन गोल्यान हो । गोल्यानले कृषि कर्जा लिएर होटल ह्यात बनायो । उनीहरुले राजनीतिक संरक्षण पाए, मलाई घेराबन्दी गरे । यो कुरा पत्रकारले लेखेनन् । तपाईंहरुले मलाई सघाउनु पर्‍याे । देश बचाउनु पर्‍यो ’, उनी धाराप्रवाह बोलिरहे ।  बीच बीचमा फलानो मान्छे यस्तो, फलानो मान्छे उस्तो भनेर अमर्यादित शब्दमा टिप्पणी गरे । बैंकविरुद्ध आफूले हालेका मुद्दाहरु, अदालतले दिएको अन्तरिम आदेशहरु, हिन्दु राष्ट्र अभियानमा आफूले गरेका काम, झापामा स्कूल, मन्दिर बनाइदिएको, ठूला परियोजनामा लगानी गरेको, त्यसमा बैंकहरुले असहयोग गरेको विषयहरु सुनाए । त्यसबारे समाचार लेखिदिन आग्रह गरे । आजै एउटा प्रेस विज्ञप्ती जारी हुँदै छ भनेर उनले सबै साथीहरुसँग इमेल आइडी मागे । त्यहि बेला मैले उनलाई इमेल ठेगाना एसएमएस गरिदिए । उनको सम्पर्क नम्बर पनि सोही दिन मैले पाएको हुँ । दोस्रो म्यासेज- एस आई गट । असार १९ गते साढे चार बजे दुर्गा प्रसाईले फेरि फोन गरे । ‘हिजो प्रेस विज्ञप्ती जारी गरेका थियौं, त्यसबारे समाचार विकासन्युजमा आएन’ भने । मैले इमेल नपाएको जानकारी दिएँ । ‘म केटाहरुलाई फेरि भनेर इमेल गर्न लगाउँछु, इमेल पाएदेखि पाएको भन्नु, नपाए मलाई फोन गर्नु है’ उनले भने । मैले ‘हुन्छ’ भने । लगत्तै प्रसाईको सहयोगी गृमेश गिरीले फोन गरे । इमेल पनि पठाए । मैले दुर्गा प्रसाईलाई एसएमएस गरेँ- ‘एस आइ गट’ । तेस्रो म्यासेज- खोइ त ? नाम दिएँ, खबर आएन ? हामीलाई तौलन मात्र कुरा गरेको हो ? असार २१ गते यो म्यासेज मैले गरेको छु । १८ गतेको भेटघाटमा आफूले बनाएका परियोजनाबारे जानकारी गराउन पत्रकारलाई स्थलगत देखाउन चाहेको र त्यसबारे सत्यतथ्य समाचारहरु प्रकाशन हाेस् भन्ने चाहेको प्रसाई बताएका थिए । एउटा स्कूल बनाएको र त्यसको उद्घाटन कार्यक्रम पनि रहेको उनले बताएका थिए । ‘तपाईंहरु गएर स्थलगत रिपोर्टिङ गरिदिनु पर्‍यो’ उनले भनेका थिए । १९ गते गृमेश गिरीले विकासन्युजबाट को को जानुहुन्छ, नाम दिनु भनेर फोन गरेका थिए । मैले अफिसका साथीहरुसँग सल्लाह गरेर एक मित्रको नाम पठाएको थिएँ । उताबाट जानकारी आएन । जसको नाम पठाएको थिएँ, ती साथी अफिसको सबै व्यवस्थापन मिलाएर तयारी अवस्थामा बसेका थिए । दुर्गा प्रसाईको व्यवस्थापनमा एक टोली पत्रकार झापा हिडेपछि हाम्राे साथीलाई नलगिएको थाहा पायौं । त्यही दिन अर्थात असार २१ गते मैले दुर्गा प्रसाईलाई म्यासेज गरेँ- ‘हामीलाई तौलन मात्र कुरा गरेको हो ?’ चौथो म्यासेज- प्लिज टेक्स्ट मी । असार २२ गते २ः३५ बजे विकासन्युजमा एउटा समाचार प्रकाशित भयो- ‘अर्बमा ठगी, करोडमा दान’ शीर्षकमा । दुर्गा प्रसाईले फोन गरेर उक्त समाचार हटाउन भने । प्रकाशित समाचार हटाउन मिल्दै नमिल्ने मैले बताएँ । समाचारमा उनका भनाईहरु पनि राखिएका थिए । उनले फेरि पटक पटक फोन गरे । मैले त्यति बेला भनेको हुँ- प्लिज टेक्स्ट मी’ त्यसपछि उनले म्यासेज गरे ‘साह्रै राम्रो लेख्नु भो ।’ होटलमा भेट्न अस्वीकार प्रसाईले असार २३ गते शनिबार बिहानदेखि बेलुकासम्म ९ पटक फोन गरे । मैले उठाइँन । फेरि २४ गते आइतबार बिहानै प्रसाईले फोन गरेर भने- ‘तपाईंसँग भेटेर कुरा गर्न चाहान्छु ।’ मैले दिउँसो अफिसमै आउन भनेँ । उनले मलाई होटलमा आउन प्रस्ताव गरे । ‘होटलमा आउँदिन’ मैले भनेँ । त्यसाेभए बिहान  ९ बजे अघि नै मेरो अफिसमा आउने कुरा गरे । मैले १० बजे मात्रै अफिस पुग्छु भने । ‘१० बजे बैंकमा मिटिङ छ, मिटिङ सकेपछि तपाईंको अफिसमा आउँछु’, प्रसाईले भने । आइतबारको नियमित सम्पादकीय बैठकमा दुर्गा प्रसाईले बारम्बार फोन गरेको, समाचार हटाउन दवाब दिएको विषय जानकारी गराएँ । ‘आज उनी अफिसमा आउन सक्छन्, ती मान्छे अराजक छन्, उनले जे पनि गर्न सक्छन्, सबै जना सचेत रहनु होला’ मैले सबै साथीहरुमाझ यो कुरा राखेको थिए । प्रसाईं अफिस आएनन् । मैले पनि वास्तै गरिन । मैले उनलाई थर्काउने, धम्क्याउने, वार्गेनिङ गर्ने केही पनि गरेको छैन । विकास मिडियाको १७ वर्षको इतिहासमा व्यवसायिक सहकार्यको बारेमा पनि उनीसँग कहिल्यै कुरा भएको छैन । विकासन्युजको अर्काइभमा देख्न सकिन्छ की दुर्गा प्रसाईको नाम जोडेर ६८ वटा समाचार प्रकाशित भएका रहेछन् । त्यसमा उनले गरेका राम्रा काम पनि छन्, नराम्रा काम पनि छन् । पाठक जो कोहीले हेर्न सक्नुहुनेछ । राम्रा समाचार प्रकाशित हुँदा ‘मैले राम्रो काम गरेँ, पत्रकारले छापे’ भन्दै फूरुङग हुने, र आफूले गलत काम गरेको बारेमा समाचार प्रकाशित भएमा ‘बार्गेनिङ गर्‍यो, कुरो मिलेन, समाचार लेख्यो’ जस्ता लाञ्छना लगाउने अभ्यास नेता, व्यापारी, प्रशासक सबैमा मौलाउँदै गएको छ । दुर्गा प्रसाईले जानेको पनि त्यहिँ थियो, गरे त्यहिँ । सुन्दरी देखाएर फसाउने दाउँ आइतबार र सोमबार (हिजो र अस्ति) दुई दिनमा दुर्गा प्रसाईले मलाई ह्वाटस्एपमा ४१ पटक सन्देश पठाएका छन् । आइतबार ३२ वटा सन्देश पठाएका थिए, सोमबार ९ वटा सन्देश पठाएका छन् । यो लेख तयार गर्दै गर्दा मंगलबार पनि बिहानैदेखि उनका सन्देश आउने क्रम जारी छ । ती कुनै पनि सन्देशमा मैले जवाफ दिएको छैन । एकतर्फी रुपमा दुर्गा प्रसाईले पत्रकारलाई के सन्देश दिएका होलान् ? रोचक यो छ कि उनले सुन्दरीहरुको फोटो र भिडियोहरु पठाइरहेका छन् । तनावपूर्ण सम्बन्ध भएको अवस्थामा एउटा ४० वर्षे जवान पत्रकारलाई सुन्दरीहरुको फोटो र भिडियोहरु दुर्गा प्रसाईले किन पठाईरहेका छन् ? समाज र मनोविज्ञान बुझेको जो कोहीले पनि अनुमान गर्न सक्छ- ‘लोभ्याउन, फसाउन, जालमा पार्न ।′ दुर्गा प्रसाईको विवादास्पद छवि र सम्भावित जोखिम हेरेर नै उनको प्रस्तावअनुसार असार २४ गते होटलमा मिटिङ बस्न मैले अस्वीकार गरेको थिएँ । ह्वाटस्एपमा बिरालो र मुसाको भिडियोहरु पनि पठाएका छन् । सायद उनले आफूलाई बिरालो र पत्रकारलाई मुसाको संकेत गर्दै मलाई थर्काउन यस्तो सन्देश पठाएको हुन सक्छ । उनले देख्दै बलिया, आक्रामक युवाहरुको फोटो र भिडियोहरु पठाएका छन् । त्यसमार्फत दुर्गा प्रासाईले मलाई असुरक्षाको सन्देश र दवाब दिन खोजेको देखिन्छ । एकाउन्ट ह्याकको जोखिम दुर्गा प्रसाईले मलाई पठाएका सन्देशहरुमा टिकटक, फेसबुक, रिलस्का लिङ्कहरु पनि छन् । यसको अर्थ बुझ्न मैले साइबर सेक्युरिटीको विषयमा जानकार एक मित्रसँग जिज्ञासा राखेको थिएँ । उनले मलाई डरलाग्दो परिदृष्य सुनाए । ती लिङ्कहरुमा क्लिक गर्दा मेरो व्यक्तिगत सूचनाहरु उनले लिन सक्छन् । फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, टिकटकका पासवर्डहरु प्रसाईले लिन सक्छन् । त्यसको दुरुपयोग गरेर मैले उनीमाथि बार्गेनिङ गरेको रेकर्डहरु बनाउन सक्छन् । त्यसैको आधारमा मलाई फसाउने प्रयास गर्न सक्छन् । त्यस्तै, बैंक एकाउन्टको बारेमा पनि जानकारी लिन सक्ने र बैंक खाताको दुरुपयोग हुन सक्ने जोखिम हुन्छ । मूर्खदेखि दैव पनि डराउँछन् । उल्लेखित् यावत जोखिमहरुबाट मैले असुरक्षित महशुस गरेको छु । भलै अराजकतावादीसँग हार खाएर हात उठाएको छैन ।