विकासन्युज

म्याग्दीमा केराखेती फस्टाउँदै, वार्षिक १३ लाख आम्दानी

गलेश्वर । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ । उनीहरुले वार्षिक छ लाखदेखि १३ लाखसम्म आम्दानी गरेका छन् । बेनी नगरपालिका–२ खबराका सोभित सापकेटा कृषि फार्म दर्ता गरी केराखेती थालेको बताए । चौध रोपनी जग्गामा लगाएको केराखेतीबाट वार्षिकरुपमा १० लाखसम्म आम्दानी हुने गरेको उनी बताउछन् । सापकोटाको केराखेतीबाट प्रभावित बनेर गाउँका अन्य किसान पनि व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । ‘उत्पादन भएको केरा सहजै बिक्री हुन्छ, बजारको समस्या छैन’, सापकोटा बताउछन् । केराखेतीमा लागेपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आएको छ । खबराका एक सय ६० परिवार केराखेती गर्दैआएका छन् । खबरामा दुई दशकअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले व्यावसायिकरुपमा केराखती थालेका हुन् । दुवैजनाको सिको गरेर हाल सबैले केराखेती थालेका छन् । उनीहरु अधिकांशले हजारी जातको केराखेती गरेका छन् । खबराका किसानबाट प्रभावित भएर बगरफाँटका बासिन्दा पनि व्यावसायिक केराखेतीमा लागेका छन् । “धान, कोदो, मकै र गहुँभन्दा केराबाट पर्याप्त आम्दानी गर्न सकिन्छ”, कार्कीले भने। उत्पादित केरा घरबाटै बिक्री हुने गरेको उनले बताए । ‘केरा किन्न बेनीदेखि व्यवसायी घरमै आउँछन्, प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ’, उनले भने । खबराकै अर्का किसान हरि कुँवरले पनि १० रोपनी जमिनमा केराखेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक छ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । आम्दानी हुन थालेपछि अहिले गाउँ नै केराखेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केराखेती गरिएको कार्कीले बताए । बेनी–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ र मकैबालीको विकल्पमा उनीहरुले केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन् । बेनी–२ खबरा र बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारी केराखेतीको पकेट क्षेत्रका रुपमा चिनिएको छ । रासस

नागढुङ्गा सुरुङमार्ग ब्रेक-थ्रुकाे ब्यग्रता, पाँच सय २५ मिटर सुरुङ मात्रै खन्न बाँकी

काठमाडौं । मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । काठमाडौँ उपत्यका प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ । सुरुङमार्गको मुख्य टनेल निर्माण हुन अब पाँच सय २५ मिटर बाँकी छ भने आपत्कालीन अवस्थामा उद्धारका लागि निर्माण गरिएको ‘रेस्क्यू टनेल’को ७४ मिटर खन्न बाँकी छ । यो विवरण गत असार २९ गतेसम्मको भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर रहेकामा  पूर्वतर्फबाट नौ सय ६९ मिटर र पश्चिमतर्फबाट एक हजार एक सय ९३ मिटर गरी कूल दुई हजार एक सय ६३ मिटर बराबर सुरुङ निर्माण भइसकेको छ । यसैगरी आकस्मिक उद्धारका निर्माण गर्न लागिएको ‘रेस्क्यू टनेल’को कुल दुई हजार पाँच सय ७५ मिटरमध्ये हालसम्म पूर्वतर्फबाट एक हजार तीन सय एक मिटर र पश्चिमतर्फबाट एक हजार दुई सय मिटर सुरुङ खनिएको छ । यस्तै मुख्य र सहायक सुरुङ जोड्ने क्रस प्यासेज एक सय १५ मिटर खनिएको छ । त्यसको लम्बाइ एक सय २८ मिटर बराबर छ । हालसम्म सुरुङ निर्माणको भौतिक प्रगति ८९ दशमलव २० प्रतिशत बराबर छ । समग्रमा आयोजनाको कूल भौतिक प्रगतिक ५५ दशमलव १३ प्रतिशत र वित्तीय प्रगति ५८ दशमलव ७० प्रतिशत बराबर छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री गङ्गालाल तुलाधर, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत उच्चस्तरीय टोलीले आज आयोजना स्थल निरीक्षण गरेको हो । स्थलगत निरीक्षणपछि मन्त्री ज्वालाले आयोजनाको काम तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै सानाभन्दा साना समस्या समाधानका लागि मन्त्रालयले अधिकतम प्रयास गरिरहेको उल्लेख गरे । आयोजनाका अनुसार अबको केही दिनमा ‘रेस्क्यु टनेल’ निर्माण सम्पन्न गर्ने र निकट भविष्यमै मुख्य सुरुङसमेत खनिसक्ने तयारी छ । आगामी एक वर्षभित्रमा सवारी साधन नै चलाउन सकिने गरी तीव्ररूपमा काम अगाडि बढेको सम्बद्ध अधिकारीले जनाएका छन् ।  सुरुङमार्ग विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि थप गरिएको छ । पछिल्लो पटक थपिएको समयअनुसार विसं २०८१ को असोजसम्म पूरा गर्नुपर्ने छ । मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ–मुग्लिन–नौबिसे–काठमाडौँ खण्डमा पर्ने नागढुङ्गा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो । सरकारले २०६९ माघमा विभिन्न चरणको सर्वेक्षणको काम सम्पन्न गरेको थियो । सुरुङमार्गले सडकमार्गको अवस्था सुधार हुने अपेक्षा गरिएको छ । देशका अन्य स्थान तथा प्रमुख सहरसँगको यातायात सम्पर्क भरपर्दो हुने, समय यातायात सञ्चालन खर्चमा बचत हुनाका साथै यात्रासमेत सुरक्षित हुनेछ । आयोजनाको कूल लागत  २० अर्ब ६० करोड बराबर छ । त्यसमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट ( १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट ( चार अर्ब ८० करोड बराबर उपलब्ध गराइएको छ । जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको सो ऋणको ब्याजदर शून्य दशमवल शून्य एक प्रतिशत छ । सुरुको १० वर्षपछि मात्रै ब्याज लाग्ने गरी चुक्ता समय ४० वर्ष तोकिएको छ । नेपाल सरकार र जापान सरकारबीच २०१७ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो । जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । आयोजनामा हाल बलम्बुमा ‘फ्लाईओभर’ निर्माण भइरहेको छ । साथै पूर्व र पश्चिमतर्फको पहुँच सडक निर्माण भइरहेको छ । पश्चिमतर्फको पहुँच सडकमा हेवा पर्खाल निर्माण र अन्य काम जारी छ । आयोजनाको पूर्वतर्फ करिब ६० वटा घरमा दरार देखिएकाले स्थानीयले पटक पटक काममा अवरोध गर्ने गरेका छन् । सो समस्या समाधानका लागि भवन विभागले आवश्यक अध्ययन सुरु गरेको छ । विभागले दिने प्रतिवेदनका आधारमा क्षतिपूर्तिको रकम निश्चित गरी समााधान गर्ने तयारी छ । यसैगरी आयोजनाको पश्चिमतर्फ पहिरो रोकथामका लागि केही स्थायी प्रकृतिका संरचना निर्माण गर्नुपर्नेछ । सो कार्यका लागि स्थानीयवासीले पटक पटक आग्रह गर्दै आएका छन् । पहिरो नियन्त्रणका लागि आवश्यक जग्गा अधिग्रहण गर्नुपर्नेछ । मुआब्जा वितरणका लागि आयोजनाले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको छ । त्यस्तै, बलम्बुमा एउटा घर भत्काउने विषयमा सहमति हुन सकेको छैन । घरको मुआब्जा र स्वामित्व विवादका कारण समस्या उत्पन्न भएको छ । नक्सा र लालपुर्जामा जग्गाको क्षेत्रफल फरक परेको, मुआब्जा अस्वीकार गरेको तथा मुआब्जा बुझेर पनि घर भत्काउन अटेर गरेको पाइएको छ । जग्गा सडक र राजकुलोको मापदण्डमा परेकाले थोरै मात्र जग्गा बाँकी रहने भएकाले स्थानीयले पूरै जग्गाको मुआब्जा माग गरेको अवस्था छ । सरकारले आयोजनालाई प्रमुख प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री ज्वालाले आवातजावतमा सहजताका निम्ति कुनै पनि कसर बाँकी नराखिने बताए । सो आयोजनाले नेपालको समृद्धिमा योगदान पुर्‍याउने र सुरुङ युगमा लगेको समेत उनको भनाइ छ । रासस

मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ। नेपाल एयरलाइन्सको ९एन-एकेडब्लू न्यारोवडी जहाज मंगलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ। क्वालावम्पुरको स्थानीय समयअनुसार बिहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटि देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ । जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सोको पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको  निगमको भनाइ छ । निगमले उडान ढिलो भएकोमा आगामी दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफी समेत मागेको छ । निगमले गत जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर-भैरहवा-काठमाडौँ रुटमा उडान सुरु गरेको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि कार्यसूची तय गरेको थियो । केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीमाथि छलफल हुनेछ । यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको महामन्त्री शर्माले बताए । त्यसपछि बैठकमा अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए ।

अब विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने, यस्तो छ कार्यविधिको व्यवस्था

काठमाडौं ।  आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । ‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ’, कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ।’ प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन् । कार्यविधिअनुसार शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन । प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले संकलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ । रासस

होटल मेरियटले ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गर्ने

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको होटल मेरियट काठमाडौंले रात्रीकालीन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गर्ने भएकाे छ । आगामी शुक्रबार हुने पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो पार्टी अविष्मरणीय र नौलो हुने होटलले जनाएको छ । सो कार्यक्रममा देशकै चर्चित डिजेहरूको प्रस्तुती रहनेछ । यसकिसिमको रात्रीकालीन पार्टी यसअघि नभएको समेत होटलले जनाएको छ । बिपीएम, वाईएनजेडएन, ओ मान्शी लगायतका डिजेहरूले कार्यक्रममा मनोरञ्जन दिलाउनेछन् । कार्यक्रममा विभिन्न पेय पदार्थहरूको स्वादसँगै झुम्न सकिने होटलको भनाइ छ । होटलले विभिन्न किसिमका पेय पदार्थको समिश्रणमार्फत ककटेल स्वाद समेत दिलाउने बताएको छ । जसले दर्शकहरूलाई पार्टीको थप मज्जाको अनुभूति दिनेछ । होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराले सो रात्रीकालीन पार्टी विर्षनै नसकिने प्रकृतिको हुने बताए । उनले भने, ‘हामी हाम्रा पाहुनाहरूलाई नौलो तथा अद्भुद् अनुभूति प्रदान गर्नका लागि प्रतिबद्ध छौँ ।’ शुल्क कति लाग्छ ? पार्टीमा जो कोहीले सहभागीता जनाउन सक्नेछन् । अहिले सहभागीताका लागि सीमित टिकट रहेको होटलले जनाएको छ । सहभागीताका लागि प्रतिव्यक्ति ९ सय ९९ रुपैयाँमा टिकट बुक गर्न सकिनेछ । सो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने होटलले जनाएको छ । साथै, होटलले भिआईपी प्याकेज समेत उपलब्ध गराएको छ, जुन ७५ हजार रुपैयाँबाट सुरू हुन्छ । जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् ।

नवलपुरमा उठ्यो २६ अर्ब रुपैयाँ बढी राजस्व

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा २६ अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए । उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ २५ अर्ब १६ करोड ९१ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर ६३ करोड ९८ लाख ५५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ३८ करोड २५ लाख ६५ हजार रुपैयाँ, ब्याज छ करोड १३ लाख ७३ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर चार करोड ३० लाख २० हजार रुपैयाँ, घर बहाल कर एक करोड ५३ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए । आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले  कूल ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम९रु२६ अर्ब ३१ करोड १२ लाख ७४हजार ९८१ दशमलब ८९ प्रतिशत० राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत पन्थीले बताए । कूल लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्क सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए । ‘अर्थतन्त्रमा आएको सङ्कुचनले आम्दानीमा कमी, घरजग्गालगायत कारोबारमा कमी  हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व सङ्कलनमा समेत केही कमी देखिएको छ’, प्रमुख कर अधिकृत पन्थीले भने । लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा २४ अर्ब ११ करोड १२ लाख एक हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा गत आर्थिक वर्षमा दुई अर्ब २० करोड ७२ हजार रुपैयाँ राजस्व बढी सङ्कलन भएको थियो । रासस

प्रभु महालक्ष्मी लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले साउन २ गते उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको हो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहको जिम्मेवारी लिइ अनुभव हासिल गरेकी छिन् । असार २९ गतेबाट एकिकृत कारोबार शुरु गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यीय संचालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् । यता स्वतन्त्र संचालक भने मनोनयन हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ ।