बाँकेमा एक सय ६० उद्योग बन्द
बाँके । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए । उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी र व्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उनको भनाइ छ । जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या पनि गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा आठ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए । उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ तीन सय ६५, उत्पादनमूलक एक सय ४०, पर्यटन सम्बन्धी एक सय ३२ र सेवामूलक दुई सय ३९ गरी कूल आठ सय ७६ उद्योग दर्ता भएका छन् । गत आवमा तीन सय १४ उद्योग नवीकरण भएका बुढाथोकीले बताए। नयाँ उद्योग दर्ता तथा नवीकरणबापत ८५ लाख ३० हजार एकसय ५० राजस्व सङ्कलन भएको उनले जानकारी दिए।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा मुक्तिनाथ विकास बैंक पुरस्कृत
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक बाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरी लगातार चौथो पटक पुरस्कृत भएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह) २. वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्तकार्य गर्ने कम्पनीहरु) ३. शक्ति र उर्जा क्षेत्र ४.निर्माण क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो । गत शुक्रबार , काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुतगरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
वैज्ञानिक खोज : आर्टिफिसियल इन्टेलिजेन्सले स्वस्थ भ्रुणसहित गर्भवती बन्न सहयोग गर्ने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले गर्भवती हुन सहयोग पुर्याउने भएको छ । इजरायलको एक कम्पनीले यस्तो एआई सफ्टवेयर बनाउन सफल भएको छ की जसले आइभिएफ उपचारको क्रममा अन्डासयमा भएको स्वस्थ भ्रुण पत्ता लगाउन सक्छ । सो प्रविधिको प्रयोगले गर्भ रहने सम्भावना ३० प्रतिशतले बढ्ने बताइएको छ । आइभिएफ उपचार पद्दतीमा एआईको मद्दतले पैदा हुने बच्चालाई ‘एआई बेबीज’ भनिने छ । डेली मेलको रिपोर्टअनुसार सो सफ्टवेयरले आइभिएफको क्रममा आनुवंशिक समस्या भएका भ्रुणको विशेषता पत्ता लगाएर सबैभन्दा स्वस्थ भ्रुणलाई पहिचान गर्ने काम गर्छ । आइभिएफ अर्थात इन भिट्रो फर्टिलाइजेसन कृत्रिम ढंगले गर्भाधान गराउने एउटा प्रविधि हो । यस प्रविधिमा महिलाको अण्डा र पुरुषको शुक्रकिटलाई प्रयोगशालमा राखेर निषेचित गर्ने काम गरिन्छ । यसपछि भ्रुण महिलाको पाठेघरमा सार्ने काम गरिन्छ । भ्रुण छनोट सबैभन्दा महत्वपूर्ण सफट्वेयर बनाउने रिप्रोडक्टिभ कम्पनी एआइभिएफका सह–संस्थापक अर्थात सिइओ डा. गिल्बोआले आइभिएफ प्रविधिको प्रयोगमा सबैभन्दा महत्वपूर्ण विषय भनेको उत्तम भ्रुणको छनोट भएको बताएका छन् । एआई सफ्टवेयरलाई उत्तम प्रकृतिको विशेषता भएको भ्रुण पत्ता लगाउने तालिम दिने गरिन्छ । जसले आनुवंशिक आसामान्यता भएको अवस्थालाई पहिचान गर्दै प्रत्यारोपणयोग्य भ्रुणलाई पहिचान गर्ने काम गर्छ । डा. गिल्बोआलेका अनुसार सामान्यतया कुनैपनि प्रविधिले सो पत्ता लगाउन सक्दैन । उनका अनुसार तालिमको क्रममा एआई सफट्वेयरको माध्यमबाट भ्रुण विकासको अवस्थालाई हेर्दा सफ्टवेयरले सबैभन्दा उत्तम भ्रुण पत्ता लगाउन भूमिका खेल्ने गरेको देखिन्छ । आइभिएफ उपचारमा एआई सफ्टवेयरको साथ गर्भाधान प्रकृयामा आइभिएफ उपचारको प्रकृया निकै सफल रहेको छ । ‘अहिलेसम्म डाक्टरहरुले भ्रुण छनोट गर्ने गरेका छन्, तर धेरैपटक छनोट गलत पनि पर्ने गरेको र आइभिएफ उपचार पनि असफल हुने गरेको छ’, डा. गिल्बोआले भने । सामान्यतया महिलाहरुले तीन देखि पाँचपटक सम्म आइभिएफ उपचार गर्नुपर्ने हुन्छ । प्रयोगशालमा १० देखि १२ भ्रुण उस्तै प्रकारका तयार भएका हुन्छन्, ती मध्ये एउटालाई डाक्टरले स्वयं छनोट गर्नुपर्ने हुन्छ । डा. गिल्बोआका अनुसार अहिलेसम्म भइरहेको छनोटको प्रकृयामा सबै काम मानिसले मात्रै गरिरहेको हुन्छ । अब एआई सफ्टवेयरको विकाससँगै सो प्रकृया सहज हुनेछ । यसो भएपछि महिलाहरुले एकैपटकको आइभिएफ उपचार पश्चात गर्भाधान गर्न सक्छन् । जसले सकारात्मक नतिजा दिनसक्छ । एआईले डाक्टरलाई प्रतिस्थापन गर्दैन एआई सफ्टवेयरको सहयोगले आइभिएफ उपचारमा कम समय लाग्नेछ, किनकी मेसिनले मानिसको तुलनामा छिटो काम गर्न सक्छ । तर, यसको मतलब यो होइन की यसले डाक्टरलाई नै प्रतिस्थापन भने गर्दैन । किनकी एआई सफ्टवेयरले उत्तम तुलनात्मक रुपमा उत्तम प्रकारको स्वस्थ भ्रुण पत्ता लगाउन मात्रै सहयोग गर्नेछ । बच्चा जन्माउनको लागि वैज्ञानिकहरुले कृत्रिम गर्भासयको विकासमा पनि अनुसन्धान गरिरहेका छन् । सन् २०२२ को डिसेम्बरमा ‘एक्टोलाइफ’ नामको कम्पनीले कृत्रिम गर्भासय तयार गरेको थियो । कम्पनीले विकास गरेको ‘आर्टिफिसियल युट्रस फेसिलिटी’ मा कृत्रिम हिसाबले बच्चा हुर्काउन सकिने बताइएको छ । यो प्रविधिबाट जन्मिने बच्चा हरेक संक्रमणबाट सुरक्षित रहने वैज्ञानिकहरुले दाबी गरेका छन् । एजेन्सीहरुको सहयोगमा ।
नेप्का र ग्वान्झाओ आर्विट्रेसन कमिशनबीच सहकार्यका निम्ति समझदारी
काठमाडौं । नेपाल मध्यस्थता परिषद् (नेप्का) र चाइनास्थित ग्वान्झाओ आर्विट्रेसन कमिशन अन्तर्राष्ट्रिय मध्यस्थताको विषयमा सहकार्य गर्नका लागि चाइनाको ग्वान्झाओमा एक कार्यक्रमबीच आपसी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो। ग्वान्झाओ आर्विट्रेसन कमिशनद्वारा आयोजना गरिएको कार्यक्रममा नेप्काका अध्यक्ष डा। राजेन्द्रप्रसाद अधिकारी र ग्वान्झाओ आर्विट्रेसन कमिशनका महानिर्देशक छेन सिमिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा ग्वान्झाओका लागिनेपालका महावाणिज्य दूत हरिशरण पुडासैनीको पनि सहभागिता रहेको थियो। उक्त कार्यक्रममा बोल्दै महावाणिज्य दूत पुडासैनीले नेपाल मध्यस्थता परिषद् र ग्वान्झाओ आर्विट्रेसन कमिशनबीच भएको यो समझदारीपत्रले दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै व्यवसायिक प्रकृतिका विवाद समाधानका लागि नेपालले गरेको प्रयासर यसका उपलब्धीहरुलाई विश्वकै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको ग्वान्झाओ सहरमा रहेको ग्वान्झाओ आर्विट्रेसन कमिशन मार्फत उजागर गर्नु प्रशंसनीय रहेको बताए। नेप्काको यस कार्यले विदेशका लगानीकर्ताहरुलाई नेपालप्रति आकर्षित गर्न र नेपालमा विदेशी लगाउन भित्र्याउनका निमित्त महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको पनि बताए । ग्वान्झाओ आर्विट्रेसन कमिशनका निर्देशक छेन सिमिङले नेपाल मध्यस्थता परिषद्सँग भएको यो समझदारीले अन्तर्राष्ट्रिय मध्यस्थताको विस्तार र सुदृढीकरणका लागि थप बल पुग्ने बताउँदै दुई देशबीचको आपसी सम्बन्धलाई मजबुत बनाउन समेत यस कार्यले मद्दत पुर्याउने बताए । सोही कार्यक्रममा बोल्दै नेपाल मध्यस्थता परिषद्का अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मध्यस्थताको निमित्त नेपाल र नेपाल मध्यस्थता परिषद् एक उपयुक्त स्थान हुने र आपसी सहकार्यबाट अन्तर्राष्ट्रिय मध्यस्थताको लागि दुबै संस्थाले मिलेर काम गर्न सक्छ भन्ने धारणा व्यक्त गरे । उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल मध्यस्थता परिषद्का महासचिव अधिवक्ता बाबुराम दाहाल, र सचिव अधिवक्ता थानेश्वर काफ्ले, महावाणिज्य दूताबासका वाणिज्य दूत कुञ्जन शाह र ग्वान्झाओ आर्विट्रेसन कमिशनका दो योङयाङ लगायतको उपस्थिति रहेको थियो।
मनाङमा यार्तुङ मेला सुरु
मनाङ । मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए । ‘लामाहरुले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ’, उनले भने, ‘यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाई सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।’ सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले बताए । यस पर्व पाँच दिन मनाउने प्रचलन छ । घोडेजात्रा सबैले खेती रोपिसकेपछि मनाउने गरिएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । ‘घोडालाई भगवानको रुपमा नै पुजिन्छ, गाउँका सबैले घोडा पालिन्थ्यो, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्तरुपमा पुजिने पर्व हो’, उनले भने, ‘घोडा मनाङको विशेष महत्वको साधनको रुपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न आवश्यक छ ।’ बौद्धको भाषामा वर्षायाममा रोगव्याधिबाट संरक्षण गरिनु नै यसको मुख्य महत्व मानिने पर्यटन व्यवसायी गुरुङले बताए । यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्ष गरेको छ । उहाँका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई समेत संरक्षण गरेको छ । यस पर्वको माध्यमबाट गाउँ, समाज र मानिस बीचमा एकापसमा सामाजिक सद्भावको विकास गरिरहेको उनको भनाइ छ । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै यार्तुङ अन्य स्थानमा सुरु गर्ने प्रचलन रहेको छ । यो पर्व पाँच दिन मनाउने गरिन्छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले रोगव्याधि नलागोस् भनेर परम्परागत रुपमा हुँदै आएको पूजाआजालाई निरन्तरता दिएको जानकारी दिए। उनले भने, ‘पहिलेको तुलनामा यस पर्वमा युवाको सहभागिता कम हुँदै गएको छ, तर पनि निरन्तरता दिइरहेका छौँ ।’ यस पर्वको आकर्षण बढ्दो भए पनि युवा विदेशिनु, अध्ययन, जागीरलगायतका कारणले गर्दा युवा कम हुँदा सहभागिता घटेको उनले बताए । ’यसले गर्दा यी सामाजिक मूल्य, मान्यताका पर्वलाई लोप हुन नदिन निरन्तरता भने दिइरहेका छौँ’, उनले भने । मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाउने प्रचलन हटेको स्थानीय बताउँछन् । ‘मनाङका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप उर्जा मिल्छ’, उनले भने । यहाँको संस्कृति अध्ययन तथा प्रवद्र्धनलाई भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उनले भने । ‘पहिले घर–घरमा दुई÷तीन घोडा पालिन्थ्यो, हरेक ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो, अहिले सवारीसाधन आएपछि घोडाको स्थान लियो, यसको कमी यार्तुङमा पनि देखिएको छ’, उनले भने । सडक नपुगेको स्थानमा घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छन् तर, सडक पुगेका स्थानमा कम हुँदै गएको छ । पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला पास जान चाहने पर्यटकलाई पु¥याउन घोडा प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रु तथा पर्यटकलाई घोडाको माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पुर्याउने गरिएको छ । हालसम्म पनि सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका स्थानीयले मुख्यरुपमा घोडाको प्रयोग गर्ने गर्छन् । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गरिँदै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेञ्जिङ लामाले बताए ।
नेपाली सेनाको संख्या घटाउनपर्छ भनेर बोलेको छैन : अध्यक्ष लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् । विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत नबोलेको बताए । उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट भएको बताए । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए । उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।
नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बाट वार्षिक रुपमा प्रदान गरिन राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्टद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन खुला
काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त भाषा परीक्षा आगामी भदौ १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ भने नतिजा प्रकाशन असोज ३ गते हुनेछ । यसैगरी इपिएस कोरिया शाखाले एक सूचना प्रकाशित गरी नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रुपमा पठाउने प्रक्रियाअनुरुप आवेदन खुला गरिएको जनाएको छ । शाखाद्वारा प्रकाशित सूचनाअनुसार आवेदश नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदार हुनुपर्ने छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने छ । फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने जनाइएको छ । यसैगरी कोरियामा इ–९ र ३–९–१ भिसामा पाँच वर्षभन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभागबाट इपिएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने जनाइएको छ । यसअघि कोरियाबाट फर्किएर आएकाले आफूले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए ।