विकासन्युज

५ वर्ष पुरानो लाभांश लिन नबिल बैंकको आग्रह

काठमाडौं । नबिल बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले (साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंक समेत)को ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको हो । बैंकका अनुसार आर्थिक वर्ष २०७३÷७४ सम्मको नगद लाभांश केही सेयरधनीहरुले भुक्तानी लिन बाँकी रहेकाले लैजान आग्रह गरेको हो । सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम लैजान भनेको हो । बैंकले एक महिनाभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

हिमाल दोलखा हाईड्रोले साउन २२ गतेदेखि अवितरित हकप्रद बिक्री गर्ने, प्रतिकित्ता १ सय

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले साउन २२ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत जेठ २२ गतेदेखि असार १५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले साउन २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, लक्ष्मी सनराइज बैंकका विरानगर, बिर्तामोड, विरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, वाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, घोराही दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका हुन् । ‘पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ, निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ,’ उनले भने । निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे । पहिले तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरे पनि पछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उनको भनाइ छ । त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोमा यसले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा.महतले उल्लेख गरे । बढी भ्याट छुट दिइरहेकोमा अहिले सरकारले त्यसलाई खारेज गरेर कर विस्तारको नीति लिएको उनको भनाइ छ । लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरूपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराए । मन्त्री महतले लेखापरीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताए । अहिले लेखापरीक्षण व्यवसायमा आबद्ध हुनेको सङ्ख्या बढिरहेको र यो शिक्षा लिनेहरूको सङ्ख्या बढिरहेकाले नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने अर्थमन्त्री डा.महतको भनाइ छ ।

किन बन्द भयो हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ?

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन आजदेखि बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब २ हप्ताभित्र ल्याएको र प्रथम चरणमा १ हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब ८ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको उल्लेख गरे । महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले २ लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौँलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए । उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको आगामी एक हप्ताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक कर्णले जानकारी दिए । करिब ४ दशक पुरानो हेटौँडा सिमेन्ट उद्योगबाट वि.सं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको हो ।

३० महिनामै बन्यो ४० मेगावाटको अपर चमेलिया, आज उद्घाटन हुँदै

काठमाडौं । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ । कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युत्गृहमा पानी खसालेर शुक्रबार परीक्षण सुरु गरिएको हो । उनले भने, “आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ । शुक्रबार विद्युत्गृहमा पानी खसालेर मेसिनको परीक्षण सुरु गरिएको हो ।” शनिबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब २ सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए । निर्माण कम्पनीका अनुसार ८ अर्ब रुपैयाँ लागतमा ३० महिनामै निर्माण कार्य सम्पन्न भएको हो ।

३ दिनभित्र काठमाडौंको फोहोर उठाइसक्ने

काठमाडौं । गत साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन ३ दिनभित्र पूरा भइसक्नेछ । उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार १ सय ५२ गाडी र शनिवार १ सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए । उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मङ्गलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ । एक वर्षअघि काठमाडौँ महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए । महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो । अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए । सामान्यतया काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको ३ सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ । विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो ।  

निफ्रा बैंकले नाफामा छलाङ मारेपछि ईपीएस पनि बढ्यो, १०३ प्रतिशत बढायो निक्षेप

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४२.७१ प्रतिशत बढेर १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब २ करोड २५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४४.७४ प्रतिशत बढेर २ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड २८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको कर्जा लगानी वृद्धि भएको र शहरी पुर्वाधार, औधोगिक पुर्वाधार र उर्जाका परियोजनाहरुमा छलफल र अध्ययन अघि बढाएको बैंकले जनाएको छ । गत असार मसान्तसम्म बैंकको सञ्चालन नाफा ४२.६८ प्रतिशत बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेर २ करोड २७ ालख रुपैयाँ, कुल सञ्चालन नाफा ४५.२१ प्रतिशत बढेर २ अर्ब ७४ करोड ८० लाख रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष ३१.७२ प्रतिशत बढेर २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ, निक्षेप रकम १०३.५७ प्रतिशत बढेर ८९ करोड १६ लाख ७० हजार रुपैयाँ र कर्जा २९.६१ प्रतिशत बढेर २० अर्ब १४ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २.०२ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष ४.७३ रुपैयाँ रहेकोमा बढेर ईपीएस ६.७६ रुपैयाँ पुगेको हो । बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।

आँखुखोला जलविद्युतको नाफासँगै ईपीएस पनि ऋणात्मक

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा ४४ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको हो । साथै, कम्पनीको कर्मचारी खर्च र आयोजनाको टर्बाइन मर्मत लगायतका कारण कम्पनीको खर्च बढेको हुँदा नाफामा असर परेको कम्पनीले जनाएको छ गत असार मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी १३.८० प्रतिशत घटेर १९ करोड २२ लाख १६ हनार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २९ लाख ८२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । कम्पनीको नाफा ऋणात्मक भएसँगै प्रतिसेयर आम्दानी पनि ५६ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ ६१ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ र अन्य इक्विटी २४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।