बैंकहरुको तरलता अनुगमनमा कडाइ गर्ने
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले वित्तीय सङ्कटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ । ‘हामीले बैंकहरूलाई सेप्टेम्बरमा साप्ताहिक आधारमा जानकारीको लागि अनुरोध पठाउने निर्णय गरेका छौँ । हामीलाई तरलता वृद्धिको पछिल्ला धेरै तथ्याङ्क पाउन र राम्रो निगरानी गर्न अनुमति दिनको अनुरोध भएअनुसार यूरो क्षेत्रमा तरलताबारे अनुगमन अनुगमन लागि अभियान शुरू गरिएको हो,’ यूरोपमा बैंकहरूको पर्यवेक्षणका लागि प्रभावकारी निकायका अध्यक्षले भने । एन्ड्रिया एनरियाले इसीबीको वेवसाइटमार्फत् जारी जानकारीमा भने, ‘बैंकहरूले हामीलाई मासिक रुपमा पठाउने तरलतासम्बन्धी सूचना नियमितरूपमा पठाउनु पर्नेछ ।’ यस तथ्याङ्कमा बैंकको खातामा तरलताको परिपक्वता र ईसीबीसँग पुनरकर्जा लेनदेन जस्ता विवरणहरू समावेश हुनुपर्नेछ । मार्चमा संयुक्त राज्य अमेरिकामा क्रेडिट सुइसको पतन पछि क्षेत्रीय बैंकहरूको आर्थिक सङ्कट आएको र यसले विश्वव्यापी वित्तीय सङ्कटको डरलाई उजागर गरेको थियो । यस क्षेत्रको नियामक युरोपियन बैंकिङ अथोरिटी (एबीई)ले जुनमा गरेको सिफारिसअनुसार यो कदम चालिएको हो । सन् २००८ को वित्तीय सङ्कटको पुनरावृत्ति हुन नदिन यूरोपेली सङ्घले यसै बर्षको जुनको अन्त्यमा बैंकहरूमा नयाँ कडा नियमहरू अपनाएको थियो ।
सार्वजनिक यातायातका चालक र सहचालकलाई अब ड्रेस र परिचय पत्र
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीहरुलाई ड्रेस, परिचयपत्र र सवारी साधनको सफाई अभियान शुरु गरेको छ । मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गरेका छन् भने भने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाईको प्रतिबद्धता जनाएको छ । राजधानी काठमाडौंमा रहेका सबै सवारी साधनमा अव ड्रेस र सफाई अभियान सञ्चालन हुने भएको छ ।
मौद्रिक नीति ३ बजे सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आईतबार दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए । मौद्रिक नीति पारित गर्न केन्द्रिय बैंक बालुवाटारमा आइतबार बिहान सञ्चालक समितिको बैठक बसिरहेको छ । बोर्ड बैठकले स्वीकृति दिएपछि आज ३ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने उनले बताए ।
जुम्लामा नुनको अभाव छैन, १७ सय क्विन्टल नुन मौज्दात छ : कर्पोरेशन
जुम्ला । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रमुख मल्लले भने,’जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ । ‘ गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ । गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए । तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए । रासस
आन्तरिक पर्यटकको गन्तव्यमा टोखाको वौडेश्वर झरना
काठमाडौं । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो । शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौँ भक्तजनले मेला अवलोकन गरेको वडा नं १ का वडाध्यक्ष रमेश लामिछानेले जानकारी दिए । पछिल्लो समय टोखा नगरपालिका–१ वौडेश्वर झरना तथा मन्दिरमा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । वौडेश्वर मन्दिर क्षेत्रको विकासका लागि टोखा नगरपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको छ । वौडेश्वर संरक्षण समितिले वौडेश्वर मन्दिर तथा झरनामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि मन्दिरसम्म जाने सिँढी निर्माण गर्ने, भक्तजनलाई सहज दर्शनको व्यवस्थाको वातावरण बनाउनेलगायतको काम गरिरहेको छ । टोखामा वौडेश्वरसहित सपनतीर्थ, चण्डेश्वरीलगायतका महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर रहेका छन् भने टोखा बजारमा नेवार समुदायले विभिन्न जात्रा मनाउँदै आएका छन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको सांस्कृतिक संरक्षणका लागि हरेक आर्थिक वर्षमा बजेटसमेत विनियोजन गर्दै आइरहेको जानकारी दिए ।
कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, धेरै विद्यार्थी अध्ययन गर्न विदेश जाने
भरतपुर । नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आंङ्गिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा पुण्य रेग्मी विद्यार्थीलाई देशमै भविष्य देखाउन नसके विदेसिनेको सङ्ख्या बढेर जाने बताउछन् । उनले कृषि क्षेत्रमा विद्यार्थीको आकर्षण कम भएको बारे गम्भीर बनेको जनाउँदै नीतिगत तहमा छलफल भइरहेको बताए । उनले भने, ‘विश्वविद्यालय सुधार गरेर विद्यार्थी र अभिभावकलाई आकर्षण गराउने खालको बनाउनुपर्छ, बन्द हड्ताल र समयमै पढाइ नसकिने परिपाटीको अन्त्य हुनुपर्छ ।’ विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक डा ईश्वरी लौडारीका अनुसार क्याम्पसमा आवश्यक सिटभन्दा पाँच सय ८४ विद्यार्थी कमी रहेका छन् । ‘विगतमा प्रवेश परीक्षा दिने विद्यार्थीको चाप थाम्न मुस्किल हुन्थ्यो । कुनै वर्ष पाँच हजारसम्मले प्रवेश परीक्षा दिएको तथ्याङ्क छ’, उनले भने, ‘अहिले विद्यार्थी नभएर कोटासमेत पूरा भएको छैन ।’ नेपालमा ‘बिएससी एजी’ पढाइ हुने क्याम्पस १६ छन् । त्यसमा नौ सरकारी र सातवटा निजी क्याम्पस छन् । त्यसमध्ये सबै क्याम्पसमा कोटा खाली छ । सातै निजी क्यामपसमा विद्यार्थीको सङ्ख्या शून्य छ । सरकारी क्याम्पसमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको उनले बताए । कृषि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १६ क्याम्पसमा नौ सय ३४ विद्यार्थीको कोटा छ । त्यसमध्ये सरकारी क्याम्पसमा पाँच सय ५४ र निजी क्याम्पसमा तीन सय ५० रहेको छ । तर हाल तीन सय ५० विद्यार्थीले मात्र अध्ययन गरिरहेका छन् । हाल पढिरहेका विद्यार्थी पनि सरकारी क्याम्पसकै हुन् । अझै सरकारी क्याम्पसमा पनि दुई सय ३४ विद्यार्थीको कोटा खाली रहेको उनले बताए । नवलपरासीको गैँडाकोटस्थित हिमछाया क्याम्पसमा स्नातक तहको कृषि र वन विषयको पठनपाठन हुन्छ । आठ वर्षअघि स्थापित यो क्याम्पसमा यस वर्ष कृषिमा विद्यार्थी नै भर्ना भएनन् । वन विषय अध्ययन गराउने ५० जनाको कोटा रहेकामा चार जनामात्रै भर्ना भए । अघिल्लो वर्ष भने २५ विद्यार्थी भर्ना भएका थिए । कलेजका निर्देशक छविलाल कँडेल विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा ५० प्रतिशत पनि विद्यार्थी उत्तीर्ण नभएका कारण विद्यार्थी भर्ना हुन नसकेको बताउछन् । कठिन प्रश्नावली, कृषि प्राविधिकको क्षेत्रमा सरकारले लामो समयसम्म विज्ञापन नखुलाउनु र कक्षा १२ पास भएपछि विद्यार्थीलाई विदेश पठाउने गरेका कारण नेपालको शिक्षा प्रणाली धरासायी बन्दै गएको उनको भनाइ छ । चौवन्न जनाको कोटा रहेको दैलेखको दुल्लुमा स्नातक तहको पहिलो वर्षमा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या शून्य छ । यो क्याम्पस सरकारी हो । कृषि वन विज्ञान विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत आवश्यक सिट सङ्ख्या पुग्न सकेको छैन । एक सय ७६ सिट सङ्ख्या रहेको क्याम्पसमा एक सय २७ जनाले मात्र पढिरहेका छन् । कास्कीको पुरन्चौरमा रहेको कृषि क्याम्पसमा कृषि पढ्ने विद्यार्थीको सिट सङ्ख्या ५४ थियो । त्यहाँ ४८ जनाले मात्र पढेका छन् । चौवन्न सिट सङ्ख्या रहेको महोत्तरीको बर्दिबासमा २२ जनामात्र विद्यार्थी छन् । चौवन्न सिट सङ्ख्या रहेका धनकुटा र कैलालीमा क्रमशः ३२ र ३१ विद्यार्थीले पढिरहेका छन् । उनान्चास सिट सङ्ख्या रहेको खजुरामा २९ र रोल्पामा २१ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये पनि बीचमै छाड्ने विद्यार्थीको सङ्ख्या बढी नै रहेको छ । वीरेन्द्रनगर, ललितपुर, नवलपरासी, झापा, सुनसरी, बाँके र नवलपुरमा रहेका सातवटा क्याम्पसले कृषि पढाउनका लागि सम्बन्धन प्राप्त गरेका छन् । यी क्याम्पसको सिट सङ्ख्या तीन सय ५० थियो । तर अहिले विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । भर्ना भएकामध्ये पनि करिब २० प्रतिशतले बीचमै छाड्ने गरेको विश्वविद्यालयले जनाएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने राजनीतिक बेथिति, विदेश मोहलगायतका कारणले पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको कृषि विज्ञहरूले बताएका छन् । नेपालमा अझै अध्ययन सँगसँगै रोजगारी गर्ने अवसर कम छ । त्यही कारण धेरै विद्यार्थी अध्ययन गर्न विदेश जाने गरेको विश्वविद्यालयका निर्देशक डा क्रृषिराम कट्टेल बताउछन्। उनले विद्यार्थी भर्ना गर्न र टिकाउनका लागि पढ्दै कमाउँदै गर्ने वातावरण बनाउनुपर्ने बताए । विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा डा अर्जुन श्रेष्ठ देशैभरि स्नातक पढ्ने विद्यार्थीको चाप घट्दै गएको बताउछन् । ‘देशमा कक्षा १२ पढेपछि बाहिर जान थाले । सबै विश्वविद्यालयमा स्नातक तह पढ्ने विद्यार्थीको सङ्ख्या घट्दो छ’, उनले भने, ‘त्रिविले अधिकांश क्याम्पस समायोजन गर्दै छ ।’ यद्यपि कृषिमा विद्यार्थीको आकर्षण बढाउने खालका सुधारका योजना विश्वविद्यालयले बनाइरहेको उनले बताए । रासस
भगवती हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन, स्थानीयलाई समय लम्बियो
काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको हो । कम्पनीको सेयरमा कास्कीको पोखरा महानगरपालिकावडा नम्बर १३, १४, २६ र २७ (साविकको पोखरा उप–महानगरपालिका वडा नम्बर १३, १४, १८ २२ र लेखनाथ नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।