विकासन्युज

वैज्ञानिक खोज : कार्ड–८ सेन्सर, जसले भाइरस पत्ता लगाउँछ र लड्छ

काठमाडौं । मानिसको शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ जस्ता धेरै भाइरस तथा रोगहरुसँग लड्न मद्दत गर्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ की शरीरको प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ? यसको पछाडि कार्ड–८ नामको सेन्सर रहेको छ । यही नै शरीरको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण रहेको छ । कार्ड–८ ले शरीरमा हुने भाइरस संक्रमण र रोग पत्ता लगाउने काम गर्छ । क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको अनुसन्धानमा यस्तो खुलासा भएको हो । कार्ड–८ ले पहिला भाइरस र रोगको पहिचान गर्ने काम गर्छ । अनुसन्धानअनुसार यसले भाइरस विरुद्ध लड्नभन्दा अगाडि भाइरसको विषयमा इम्युनोलोजिकल रेस्पोन्स दिने गर्छ । भाइरस पहिचान भएपछि मात्रै यसले काम गर्न शुरु गर्छ । कार्ड–८ ले विभिन्न भाइरसहरुको विषयमा कसरी प्रतिक्रिया जनाउँछ भनेर वैज्ञानिकहरुले मानव कोषको अध्ययन गरेका छन् । कार्ड–८ को आनुवंशिक विशेषताबारे थाहा पाउन वैज्ञानिकहरुले मानिस बाहेक अन्य स्तनधारी जीवहरुमाथि समेत अध्ययन गर्ने काम गरे । कार्ड–८ ले तीन प्रकारको भाइरस पत्ता लगाउने काम गर्छ अनुसन्धानका अनुसार कार्ड–८ शरीरमा हुने संक्रमणको विरुद्धमा लड्न अनिवार्य हुन्छ । यसमा कम्तिमा तीन प्रकारको भाइरस पत्ता लगाउने क्षमता रहेको हुन्छ । जसमा कोरोनाभाइरडे, पिकोरोनाभाइरडे र रेट्रोभाइरडे रहेका छन् । यी मानिसमा खतरनाक रोग फैलाउने भाइसहरु मध्ये पर्दछन् । अध्ययनका अनुसार कार्ड–८ ले छिट्टो उत्परिवर्तन हुनसक्ने र नक्कल गर्नसक्ने क्षमता भएका आरएनए भाइरस पनि पत्ता लगाउन सक्छ । मानिस र अन्य प्रजातिमा कार्ड–८ को क्रम फरक–फरक रहेको हुन्छ । एजेन्सीहरुको सहयोगमा ।

बिपीको सालिक अनावरण

काठमाडौं । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् । इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

बैंकिङ सूचना र अनुशासनमा सघाउने बीएन घर्तीको पुस्तक : ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’

काठमाडौं । देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ । बैंकिङ क्षेत्रमा लामो समय काम गरेका यस विषयका जानकार बीएन घर्तीको यो पुस्तक बैंकिङ क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी हुन सक्छ । झन्डै तीन दशक बैंकिङ क्षेत्रमा काम गर्नुभएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख रचना पनि पुस्तकमा समावेश गरेका छन् । बैंकमा कर्मचारीहरूलाई बिक्री लक्ष्यको भारी बोकाउने गरिएको हुन्छ र यसका कारण यस क्षेत्रभित्र अस्वस्थ प्रतिस्पर्धा पनि हुने गर्दछ भनिएको छ । यसरी लक्ष्य दिँदाका फाइदा र बेफाइदा के हुन् रु पारिश्रमिक दिनेगरी व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण के हो ? बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुँदाको प्रभाव के कस्तो हुन्छ ? यी विषयहरु पनि सो पुस्तकमा समावेश छन् । त्यसैगरी फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायतका सामग्रीहरु यसमा संलग्न छन् । पूर्व बैंकर सशिन जोशीले पुस्तकको भूमिकामा वीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ क्षेत्रको एक ज्ञानबद्र्धक खजाना हो भन्नुभएको छ । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिकरुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकका लागि पुस्तक उपयोगी रहेको जोशीको टिप्पणी छ । लेखक घर्तीले सो पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीमा केही न केही परिवर्तन आउने विश्वास राख्नुहुन्छ । पुस्तकमा व्यवस्थापन सङ्कायका विद्यार्थीका लागि पनि पाठ्यसामग्री समेटिएको छ । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन सङ्कायका प्राध्यापक प्रा डा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीलाई सरल तरिकाले कुरा बुझाउन पुस्तक सहयोगी हुने बताए । पुस्तकका बारेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले लेखक घर्ती आफैँ बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मको जिम्मेवारी सम्हालेको र अनुभव भएको व्यक्ति भएकाले उनका अनुभव, अनुसन्धान र सिकाइ बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि उपयोगी हुने भएकाले यो पुस्तक मार्गदर्शक बन्ने बताउँछन् । बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि (विआइएम) द्वारा प्रकाशित सो पुस्तक चार सय ४४ पृष्ठको छ ।

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् । उनले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताइन । उनले समाजवादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने बताइन् । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने बताइन् । ‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर बिडम्वना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ । तर एकता कामय भइरहन सकेनौँ । तर हामी अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ । हामीले समाजावादी मोर्चा बनाएका छौं । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो’, उनले भनिन् । उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक वहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउने भुमिका निभाउने बताइन् । उनले कम्युनिष्टहरु एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरुको उदय हुने बताइन् ।

सडक ऐन संशोधन र सडक वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरानो सडक ऐन संशोधन गर्नुका साथै सडक वर्गीकरण गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौतीस्थित चौटकमा आज समाजवादी प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू मन्त्री हुनेबित्तिकै गरेको पहिलो निर्णय नै यही दुई बुँदा रहेकाले त्यसलाई छिट्टै प्रक्रिया अगाडि बढाउने बताए । अहिले सङ्घीय सडक, प्रदेश सडक र स्थानीय सडक कुन हो भनेर छुट्याउने अवस्था नरहेकामा अब छिट्टै त्यसको व्यवस्था गर्न मन्त्रालयले गर्ने तयारी गरिरहेको उनले बताए। मन्त्री ज्वालाले सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणलाई तत्कालका लागि प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरी कामलाई अगाडि बढाउने निर्णय भएको र पछि व्यवस्थित गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेर अगाडि बढ्ने विषयमा मन्त्रालयले योजना बनाएको जानकारी गराए । उनले सडक सुरक्षा मापदण्ड बनाउने विषयमा गम्भीर भएर छलफल भइरहेको र भौतिक यातायात तथा पूर्वाधारमन्त्रीकै अध्यक्षतामा रोड सेफ्टी काउन्सिल गठन गर्ने बताए। ‘सडक सुरक्षाको विषय अत्यन्त महत्वपूर्ण छ’, उनले भने, त्यसमा गम्भीरतापूर्वक काम गर्न लागिरहेको छु ।’ सो क्रममा मन्त्री ज्वालाले सूर्यविनायक–धुलिखेल सडकखण्डका लागि अहिले भएको बजेटबाट काम सञ्चालन भइरहने र काममा अवरोध नहुने गरी रकमान्तर गरेर भए पनि बजेटको व्यवस्थापन गरेर कामलाई टुङ्गोमा पुर्याइने बताए । उनले छिट्टै स्मार्ट सवारी सञ्चालक अनुमतिपत्र उपलब्ध गराउने विषयमा छलफल भइरहेको जानकारी गराए ।

उपत्यकामा थुप्रिएको फोहर उठ्न थाल्यो

फाइल फोटो काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए । केही दिन अघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्‍याउन थालेको छ । शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुईदिनभित्रै उठाइसक्ने उनको भनाइ छ । फोहर बोकेका गाडीलाई ल्याण्डफिल्डसाइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले वताए ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड उन्नाइसौँ वर्षमा प्रवेश

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १८ बर्ष पुरा गरी २०८० साउन गतेबाट १९ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा साउन ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभेच्छुक व्यक्तिहरु, संघ संस्थाका पदाधिकारीहरु, बैंकका कर्मचारीहरुबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा विर्तामोड झापालाई प्रदान गरिएको थियो बैंकले जनाएको छ । त्यस्तै, साउन ६ गते वार्षिक उत्सवका दिन विहान ७.३० बजे बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरु सहित प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको थियो भने वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा विर्ता पार्टी प्यालेस, लक्ष्मण मार्केट, विर्तामोड, झापामा आयोजना गरिएको थियो । प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । उदयपुरको रामपुरमा केहिदिन भित्रमा नयाँ शाखा संचालनमा आउनेछ । बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ । सञ्चालक अमितकुमार अग्रवालको अध्यक्षतामा आयोजित प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई रहेको सो कार्यक्रममा बैंकका पुर्व अध्यक्ष हेमराज ढकाल र पूर्व प्रबन्ध संचालक खगेन्द्रनाथ ढुंगानालाई सम्मान गरिएको थियो । बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले संचालन गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्य सहित बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए । बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेती, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य उमेश डालमिया, पूर्व प्रबन्ध सञ्चालक खगेन्द्र ढुंगाना, पूर्व अध्यक्ष हेमराज ढकाल, बिर्तामोड न.पा.का नगर प्रमुख पवित्रा महतारा प्रसाईं लगायतले बैंकको उन्नती तथा प्रगतीका लागि शुभकामना मन्तव्य राखेका थिए । साथै, वार्षिकोत्सवको अवसरमा बैंकले वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने कृषि उत्पादन, वातावरण मैत्री उद्योग लगायत विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन गर्नको लागि इडिबिएल ग्रिन लोनको शुरुवात गरेको छ । यसको ब्याजदर आधारदरमा एक प्रतिशत थप प्रिमियम दरमात्र थप हुने गरी लागू गरिएको बैंकले जनाएको छ ।

इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा कुकर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

एजेन्सी । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर हिजो शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएपछि त्यो रोकिएको छ । विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार जारी गरेको वक्तव्यमा जनाइएको छ । कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नुनपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ । साथै उसले उक्त निर्णयको स्वागत गरेको छ । स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ । शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । व्यापारीले अब उप्रान्त कुकुर–बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ । कुकुर–बिरालाको मासु बिक्रीमा रोक लगाउनुपर्ने अभियानको अगुवाइ गरेका सोसाइटीका निर्देशक लोला वेब्बर व्यापारी र नगरप्रमुखबीच भएको सम्झौताले हजारौँ छाउराको ज्यान जोगिने तथा कुकुर–बिरालाको चोरी तस्करी पनि नियन्त्रण हुने बताए । उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए । पशुलाई नमरुञ्जेल कुट्ने, झन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रुर एवम् अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ । सन् २०२० मा चिनियाँ शहर वुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी बारम्बार गराएपछि मासु व्यापारी सहमत भएका बताइएको छ । यसबाट रेबिजको सङ्क्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो । तोमोहनमा २५ वर्षदेखि कुकुर–बिरालाको मासु बेच्दै आएका एल्भिनस पोनोग उचित समयमा व्यापार बन्दको निर्णय भएको बताउँछन् । हजारौँ कुकुर मारेका उनी तिनलाई मार्न जाँदा तिनका आखाँमा आफूले त्रास देखेको र त्यसबाट आफूलाई पनि नमज्जा लाग्ने गरेको बताएका छन् । बिक्रीमाथिको प्रतिबन्ध पशु र जनसाधारणको रक्षाका निम्ति अति उत्तम भएको बताएका छन् ।