विकासन्युज

घरजग्गा र सेयरको कडाइ यथावत, नीतिगत दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिएको छ । यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यो नीतिमा कुनै परिवर्नत गरिएको छैन । ‘बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको बजारमूल्य बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ,’ गत सालको मौद्रिक नीतिमा उल्लेख थियो । यस्तै, नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । “आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ ६.५ प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीतिमा भनिएको छ, “बैंकदरलाई साढे ७ प्रतिशतमा यथावत राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।” राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रुपमा लिने भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने जनाएको छ । त्यस्तै, बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिने जनाएको छ । बैंक तथा वित्तीय संस्थाको विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । [pdf id=425996]

डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न

काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुक्रवार भव्यरुपमा सम्पन्न भएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । साथै भारतीय चर्चित कलाकार द्वय सौँन्दर्या पानापिल र शशि रमेशले बेजोड प्रस्तुती दिएका थिए । डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यमिक तहका विद्यार्थीहरुले क्रमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे । भरतनाट्यम प्रशिक्षक द्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीहरूसँगै प्रस्तुत भएका थिए । कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए । उक्त साँस्कृतिक साँझ सुशीला आर्ट्स एकेडेमी काठमाडौँ, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौं र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन् । सुशीला आर्ट्स एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिँदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिइन् । त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशीला आर्टस एकेडेमी र डिएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफु निकै हर्षित भएको बताइन् । उनले सम्पूर्ण विद्यार्थीहरूलाई भरतनाट्यम विधा लगायत आ–आफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा क्रियाशिल रहन प्रेरित समेत गरिन् । उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारी समेत गराइन् । कार्यक्रमकी मुख्य अतिथि अभिनेत्री मनिषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशीला कोइरालाको स्मरण गर्दै भावुक बनिन । उनले स–साना बालबालिकाहरूको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन् । साथै सुशीला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामना  दिइन् । उक्त कार्यक्रममा डिएभी विद्यालयका अध्यक्ष, अनिल केडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्र्छे आइ बी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटील एन्जल्स स्कुल, ए.पी विनोद कुमार प्रिन्सिपल केन्द्रिय विद्यालय र सुबाश न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुल लगायत भरतनाट्यम साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थित रहेको थियो । सोही अवसरमा  विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । निम्न माध्यमिक कोअर्डिनेटर कृष्ण जोशीले शास्त्रीय साँझलाई भव्य एवं सभ्यरुपमा सम्पन्न गराउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम औपचारिक रुपमा समापन भएको जानकारी गराएका थिए ।  

दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध

मुगु । मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।  विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । अहिले जिल्ला  सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् । विसं २०६८ मा स्थापना भएकोे सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार एक सय घरधुरी  प्रत्यक्ष मारमा परेका छन् । विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भाम बताए । विद्युत्गृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुरीदिँदा नहरमा पानी प्रवाह नभएपछि विद्युत् उत्पादन बन्द भएको जनाइएको छ । पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि वर्षात्को समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ । यसका कारण विद्युत् उत्पादनमा समस्या भएको गमगाढ साना जलविद्युत् आयोजनाका प्राविधिक छिरिङ लामाले जानकारी दिए । चार सय किलोवाट विद्युत् उत्पादन क्षमता भएको आयोजनामा रहेका विद्युत् उत्पादन गर्ने दुई मेसिनमध्ये एक लामो समयदेखि चालु अवस्थामा छैन भने चालु रहेको मेसिनले जेनतेन एक सय ६० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । हरेक वर्ष वर्षाको समयमा गमगाढ वितरण केन्द्रको मुहान, पावरहाउसमा पटक–पटक समस्या आउने र विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । समस्या समधानका लागि काम त गरिन्छ । त्यो प्रभावकारी र दिगो हुनसकेको छैन । दीर्घकालीन समाधानको योजना विद्युत् प्राधिकरणले नबनाउँदा हरेक वर्ष पानी र हिउँ पर्दा विद्युत् सेवाबाट नागरिकले सास्ती खेप्नु परिरहेको छायाँनाथ रारा नगरपालिका–६ का स्थानीय धनबहादुर भामले बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुगुमा राष्टिय प्रसारण लाइन  असारमा पुर्याउने घोषणा गरेका थिए । विद्युत् सेवा अवरुद्ध भएपछि नहरको बालुवा हटाउन सशस्त्र प्रहरीदेखि प्राधिकरणका कर्मचारी दिनरात काममा खटिँदै आए पनि साँघुरो नहर, एक जनामात्र भित्र पस्न सक्ने अवस्था भएकाले बालुवा र लेदो हटाउन समस्या भएको जनाइएको छ । गमगाढ खोला सिधैँ नहरमा जोडिएकाले पनि प्रत्येक वर्षामा बालुवा तथा लेदो थपिँदै जाने गरेको छ । रासस

मौद्रिक नीति : अनुुत्पादक क्षेत्रको कर्जामा अझै कडाइ, सेयरमा लगाइएको १२ करोडको सीमा के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार दिउसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । नेपाल राष्ट बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गरिसकेको छ । दिउसो ३ बजे नेपाल स्टक एक्सचेञ्ज बन्द हुने बित्तीकै राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्नेछ । राष्ट्र बैंकको नीतिले सेयर बजारमा प्रभाव नपरोस् भन्ने मनसायले बजारको समय सकिएपछि वा शुक्रबार मौद्रिक नीति जारी गर्दै आएको छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिलाई धेरैले चासोका साथ हेरेका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुुस्ततालाई चलायमान गर्ने र मूल्यवृद्धिको चापलाई सम्बोधन गर्ने किसिमले मौद्रिक नीति सार्वजनिक हुनुपर्ने राय धेरैको छ । राष्ट्र बैंकले पनि सोही ढंगले काम गरिरहेको स्रोतको भनाइ छ । अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार भइरहेकोले पनि राष्ट्र बैंकलाई खेल्न सक्ने ठाउँ छ । तर, त्यसलाई धेरै चलाउने पक्षमा राष्ट्र बैंक छैन । सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने र मुद्रास्फीति साढे ६ प्रतिशतभित्रै कायम गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले सोही लक्ष्य भेट्टाउने किसिमले मौद्रिक नीति ल्याउने स्रोतको भनाइ छ । राष्ट्र बैंक मौद्रिक नीतिमार्फत् नीतिगत दर हेरफेर गर्न सक्ने अवस्थामा पुुगेको छ । राष्ट्र बैंक स्रोतका अनुसार वित्तीय प्रणालीमा तरलता अवस्था सहज रहेकाले बैंक दर केही घट्न सक्नेछ । यसको संकेत गभर्नर महाप्रसाद अधिकारीले पनि गरिसकेका छन् । गत बिहीबार संघीय संसद अन्तर्गतको अर्थसमिति बैठकमा उनले पछिल्लो एक वर्षको अवधिमा बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएको तर बैंकको कर्जा असुलीमा समस्या देखिएको बताउँदै व्यवसायमा शिथिलता आएकाले यस्तो अवस्थालाई पनि सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए । यस्तै, राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जामा भने कडाइ नै गर्ने स्रोतको दाबी छ । राष्ट्र बैंकले सेयर र घरजग्गा क्षेत्रलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै आएको छ । यी दुुई क्षेत्रमा सहज नीति बनाउँदा अझै पहिलेको जस्तो समस्या सिर्जना हुने भन्दै यो क्षेत्रमा कडाइ यथावत राख्ने स्रोतको दाबी छ । यस्तै, सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा यथावत हुन सक्ने स्रोतको भनाइ छ । ‘कर्मचारीहरुको तहबाट १२ करोडको सीमामा कुनै हेरफेर भएको छैन, यो सञ्चालक समितिको पनि कन्सर्नको विषय हो, अर्थमन्त्रीले पनि यस विषयमा चासो दिइराख्नुभएको छ, सञ्चालक समितिले चाहेको खण्डमा हेरफेर पनि गर्न सक्छ, तर यो नीति पुुनरावलोकनमा गभर्नर सकारात्मक हुनुहुन्न,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

वन मन्त्रालयका आठ सहसचिवको सरुवा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिएपछि महानिर्देशक पद रिक्त थियो । सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ । यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा. सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ । निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य–सचिवमा सरुवा गरिएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ । रासस

 राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच शनिबार सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहकाबीच ३४ औं वार्षिकोत्सब मुल कार्यक्रमको समुदघाटन गरे । सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरुका कर्मचारीको सेवा सुविधा बृद्धिमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताए । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्ने बताए । सो कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो । कर्मचारी संघ नेपालका महासचिव रबिन्द्रप्रसाद चौलागाईंले संचालन गरेकाे सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक, संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए । संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ठ भएबापत रनिङ्ग शिल्ड प्रदान गरिएको थियो । साथै, सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता संचालन गरिएको थियो । सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय भावना शर्मा र तृतीय गंगा भुर्तेल भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सक्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन् । छलफलबाट प्रसारण लाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ । छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह गर्न सजिलो हुने उल्लेख गरे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये २३४ वटा निर्माण सम्पन्न भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ । पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब ७ किलोमिटर तार नान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट ९मल्टी सर्किट० लाइनका लागि टावरहरु निर्माण सम्पन्न गरी करिब ८ किलोमिटर डबल सर्किट तार तानिएको छ । कालीगण्डकी रयसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ । प्रसारण लाइनका टावर र मार्गधिकार ९राइट अफ वे० लागि ५०.३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका ५ हजार ८ सय रुख हटाउनु पर्ने छ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत २७ करोड ९९ लाख ४९ हजार रुपैयाँ वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत ३ करोड ५१ लाख रुपैयाँ कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो । २१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्ने छ । यसमध्ये २१ वटाको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरणहरु आयोजना स्थलमा आपूर्ति भइसकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नु पर्ने डबल सर्किट तार तान्न सुरु गर्न निर्देशन दिए । आयोजनाअन्तर्गत भुमहीमा २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।