मौद्रिक नीतिमा राष्ट्र बैंकले यी व्यवस्थालाई यथावत राख्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको विभिन्न व्यवस्थालाई यथावत राखेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्स खातामा थथ १ प्रतिशत ब्याज पाउनेदेखि लिएर अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको हो । ‘बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखिएको छ,’ मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । साथै, बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । यस्तै, नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यको रुपमा यथावत राखिएको छ ।
म्याग्दीमा १३ पक्की पुल निर्माण, गाउँगाउँमा मोटर गुड्न थाले
म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका अनुसार छ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन् । अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए । उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन् । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा ११ करोड २४ लाख २५ हजार ५२ लागतमा निर्माण भएको पुलबाट यातायातका साधन सञ्चालन भइरहेका छन् । विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कोरोना सङ्क्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुल ८० मिटर लम्बाइको छ । त्यस्तै, १० करोड ७२ लाख १२ हजार लागतमा बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ । उक्त पुलको लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका–७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा एक करोड ९३ लाखमा पक्की पुल निर्माण भएको छ । उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो । बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो । म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन् । अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका–६ का प्रेम सिउथानीले बताए । गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ । रासस
अब विदेशी ऋण भुक्तानी डलरमै गर्नु पर्ने
काठमाडौं । विदेशी ऋण भुक्तानी अब डलरमै गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा यसअघिको व्यवस्थालाई हटाएर डलरमै भुक्तानी गर्नु पर्ने व्यवस्था लागु गरेको हो । ‘कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने छ’, मौद्रिक नीतिमा भनिएको छ । सरकारले कोरोनाका कारण भन्दै विदेशी ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्ने सुविधा दिएको थियो । कोरोना महामारी साम्य भएको लामो समयपछि सरकारले उक्त व्यवस्था हटाएको हो ।
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, ५ जनाले पाए पल्सर एन १६०
काठमाडौं । खल्तीको वार्षिक अफर, ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार गते सफलतापूर्वक सम्पन्न भएको छ। यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा छ वटा पल्सर एन१६०, २ वटा आईफोन १४, वानप्लस ११, डाइमण्ड रिंग तथा अन्य उपहारहरु समावेश थियो। यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट स्मार्टवाचहरू, इयरबडहरू, चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो । पाँच वटा पल्सर बाइकका विजेताहरू यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ । यसका विजेताहरू बिटु साह कल्वार (राउण्ड १), प्रदिप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउण्ड) रहेका छन् । अन्तिम लाइभमा २ वटा पल्सर १६० – राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरू बम्पर उपहारका भाग्यशाली विजेता घोषणा भएका थिए । यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तैः स्क्र्याच कार्ड मार्फत २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन् ।
सहकारीको नियमनमा राष्ट्र बैंकले सहयोग गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहयोग गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहजीकरण गर्ने उल्लेख छ । ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।
सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको जोखिमभार घट्ने
काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालुआर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो । ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ माौद्रिक नीतिमा भनिएको छ । निजी क्षेत्रले घरजग्गा, सवारी तथा सेयर धितो कर्जाको जोखिमभारलाई १५० प्रतिशतबाट ७५ प्रतिशतमै झार्नुपर्ने सुुझाव दिएका थिए । राष्ट्र बैंकले यो जोखिमभार ङटाउने भनेको छ तर कति घटाउने भन्ने विषय खुलाएको छैन ।
अब विदेश भ्रमणमा जाँदा २५ सय डलरसम्म साट्न पाइने
काठमाडौं । विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब २५ सय डलरसम्मको सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा डलर सटहीको सुविधा थप गरेको हो । ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ । यसअघि वर्षमा २ पटक विदेश भ्रमणमा जाने नेपालीले १५ सय डलरसम्म मात्रै सटही सुविधा पाउने गरेका थिए ।
यस्ता छन् मौद्रिक नीतिका ७ लक्ष्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिमा टेवा पुग्ने गरी व्यवस्था गरेको हो । यस्तै, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गर्ने भएको छ । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अङ्कुशका रुपमा यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यका रुपमा यथावत राखिएको छ । मौद्रिक नीतिले सञ्चालन लक्ष्यको स्थितिको आधारमा सक्रिय रुपमा खुला बजार कारोबार सञ्चालन गरी अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरभित्र राख्ने लक्ष्य राखेको छ । यस्तै, मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । सरकारको चालु आवको वार्षिक बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता केन्द्रीय बैंकले तय गरेको छ । यस्तै, चालु आवमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।