विकासन्युज

क्‍वीन्टल सुन प्रकरणमा सरकारको जवाफ माग्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको एमालेका एक सांसदले जानकारी दिए । गृहमन्त्रीको संलग्नताबिना क्वीन्टलभन्दा बढी सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको ती सांसदले जानकारी दिए । एमालेको संसदीय दलको बैठकले सुन प्रकरणबारे संसदीय वा न्यायिक छानबिन समिति गठन गर्न माग गर्न निर्णय पनि गरेको छ । अघिल्लो मंगलबार १०० किलो सुन बरामद भएपछि एमालेले सो प्रकरणमा सरकारको संरक्षणविना आयात गर्न नसकिने भन्दै जवाफ माग्ने निर्णय गरेको हो ।

क्रेस्टको लघु जीवन बीमा सेवा सुरु, तल्लो तहसम्म बीमा सेवा पुर्याउने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पु¥याउन कम्पनीलाई सुझाए । प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताए । समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले भच्र्युअल सम्बोधनमार्फत समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए । परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स–सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उनले बताए । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पु¥याउने पनि बताए । लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पुँजी निमार्णमा योगदान गर्न सकिने धारणा अध्यक्ष मोरले व्यक्त गरे । कम्पनीमा चुस्त दुरुस्त संस्थागत सुशासन तथा पारदर्शिता कायम राखी प्रभावकारी काम कारबाहीमार्फत कम्पनीको प्रतिष्ठा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष मोरले कम्पनी स्थापनाको क्रममा प्राप्त सहयोगका लागि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिए । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिए । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । विद्यमान र आगामी दिनमा आउन सक्ने चुनौतीप्रति लक्षीत गर्दै उनले भने, ‘प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ ।’ उनले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीको जनशक्तिमा लगानी गर्नुका साथै प्रोत्साहित गर्ने, निरन्तर सिक्ने तथा कारोबारको आकार बढाउने संस्कारलाई प्रोत्साहित गरेर प्रभावकारी समूह निर्माणमा आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  

गैरहाजिर रहेका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैरहाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आग्रह गरेको हो । गैरहाजिरी रहेका एक हबल्दार, पाँच सहायक हबल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन उक्त सूचनामार्फत प्रहरी प्रधान कार्यालयले निर्देशनसमेत दिएको छ । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

आयो एन्ड्रोइड मोबाइलमा पनि च्याटजिपिटी

काठमाडौं । ओपन एआईको चर्चित च्याटबट च्याट जिपिटीको एन्ड्रोइड मोबाइल लक्षित एप्लिकेसन सार्वजनिक भएको छ । केही समय अगाडि देखि नै प्ले स्टोरमा देखिएको सो एप नेपालका प्रयोगकर्ताहरुले भने तत्काल डाउनलोड गर्न नपाएर रजिस्टर मात्रै गर्न पाउनेृृछन् । शुरुमा अमेरिका, भारत बंगालादेश र ब्राजिलमा सो एप चल्नेछ भने अन्य देशमा केही दिनपछि मात्रै डाउनलोड गर्न सकिनेछ । एक हप्ता अगाडि आइओएस भर्सनमा उपलब्ध भएको सो एप एक हप्तापछि मात्रै एन्ड्रोइड भर्सनमा उपलब्ध भएको हो । यहाँ क्लिक गरेर तपाईंले च्याटजिपिटी एन्ड्रोइड भर्सनमा डाउनलोड गर्न सक्नुहुनेछ ।

भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताए । उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ । महानगरले भ्रमण वर्ष २०२४ मा दुई लाख विदेशी र सात लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको हो । हाल यहाँ वार्षिकरुपमा औसतमा ३० हजार विदेशी र चार लाख आन्तरिक पर्यटक आउने गरेको महानगरको भनाइ छ । नगर प्रमुख दाहालले नेपाल र विदेशमासमेत भरतपुर भ्रमण वर्षको प्रचारप्रसार गर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिए । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्ष, २०२४ लाई सफल बनाउन नगरप्रमुख दाहालको संयोजकत्वमा पाँच सदस्यीय निर्देशन समिति र ५०१ सदस्यीय मूलसमिति गठन गरिएको छ । निर्देशन समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्यसचिवमा पर्यटन विज्ञ रहेका छन् । साथै नगरउपप्रमुख अधिकारीको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । समितिका संयोजकले १५ दिनभित्र कार्ययोजना तयार गरी पेस गरेपछि कार्यक्रमलाई अन्तिम रुप दिइने महानगरको भनाइ छ । भ्रमण वर्षको तयारीस्वरुप महानगरभित्रका ३३ पर्यटकीय गन्तव्यको जानकारी दिने उद्देश्यले मोबाइल एप पनि तयार गरिएको छ । महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीका अनुसार सातवटा मुख्य पर्यटकीय गन्तव्यसहित ३३ गन्तव्यको जानकारी र तस्वीर एपमा समावेश छन् । यससँगै छोटो भिडियो, वृत्तचित्त तयार गरी एपमा राख्ने काम जारी छ । उक्त एपमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, नारायणीसीबीच मोडल, ज्ञानेश्वर ब्लक र चौकीडाँडा यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्यबारे जानकारी समावेश गरिएको छ । भ्रमण वर्षका अवसरमा भारत र चीनमासमेत आवश्यक प्रचारप्रसार गरी भ्रमणवर्षको प्रबद्र्धन गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चितवनलाई लिने गरिन्छ । यहाँको चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि परिचित छ । निकुञ्जको धेरै भाग महानगरसँग जोडिएको छ । महानगरका विभिन्न ठाउँबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ । साथै पवित्र तीर्थस्थल देवघाट, सूर्योदय हेर्न सकिने चौकीडाँडा, सूर्यास्त अवलोकन गर्न सकिने गोलाघाटलगायतका रमणीय पर्यटकीय गन्तव्य पनि यही छन् । नारायणी र राप्ती नदीको काखमा भरतपुर महानगरपालिका पर्दछ । रासस

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरि उक्त एसईई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ । छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ सय रुपैयाँ र तेश्रो हुनेलाई २५ सय रुपैयाँ उपलब्ध गराउने छ । साथै, सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेजमा गइ उल्लेखित क्युआर कोडमा स्कान गरी फारम भनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको फारम बुझाउने अन्तिम मिति श्रावण २१ गते तोकिएको छ ।

नापतौलमा अनियमितता गर्ने व्यावसायिक प्रतिष्ठान कारबाहीमा

वाग्मती । नापतौलयन्त्रको  तोकिएको समयमा  नवीकरण नगराउने  र  तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक  तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा  नापतौल कार्यालयले जनाएको छ । उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना  व्यवसायीसमेत परेका  छन् । वारा, पर्सा,  रौतहट, मकवानपुर तथा चितवन  कार्यक्षेत्र रहेको सो कार्यालयले  आव२०७९/८० मा गरेको विशेष अनुगमन तथा  नियमित  नापतौल जाँचको क्रममा  अनियमितता गर्ने ब्यावसायिक संस्था तथा व्यक्तिलाई  कारबाही गरेकोे निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिए । सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच  र नवीकरण गरेको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पाँच सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई  नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा  तीन हजार तीन सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उनले  बताए । गत आर्थिक वर्षमा नौ सय दुई पम्पको नोजल जाँच, चार सय  ३५ भेहिकलको ट्याङ्क जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि  एकल अनुगमन ३२ पटक तथा  संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठान बिरुद्ध  अभियोगपत्र दायर गरिएको जनाइएको थियो ।साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट  एक करोड ४० लाख २३ हजार दुई सय ६८ राजस्वसमेत सङ्कलन गरेको  पनि बताइएको थियो । कार्यालयले डिजिटल नागरिक वडापत्र तथा  डिजिटल गुनासो सुनवाइको व्यवस्था गरेकामा उक्त कार्यको सेवाग्राहीले  प्रशंसा थिए । रासस

परासीका उद्योगमा पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने छ । नेपाल विद्युत प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन चालू अवस्थामा छन् । सुनवल सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरहरुमध्ये एउटा सञ्चालनमा आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरेका छन् । घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको बताए । उनले निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरहरुको निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिए । सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरहरुबाट त्यस क्षेत्रमा सञ्चालित सिमन्ट, स्टील उद्योगसहित स्थानीय रुपमा विद्युत् आपूर्ति भइरहेको थियो । साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ । परासी क्षेत्रमा सञ्चालित सिमन्ट, स्टीललगायतका ठूला तथा साना उद्योगहरुले अहिले करिब ७५ मेगावाट विद्युत् खपत गरिरहेका छन् । सञ्चालित उद्योगहरुको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगहरुका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा एक सय १५ मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरिएको छ । साथै, रुपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुने अनुमान छ । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने छ । कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । साथै, हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुने छ । त्यस क्षेत्रमा विद्युत् आपूर्ति र नेपाल–भारतबीच विद्युत् व्यापारका लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्ने छ । हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिम (बुटवल)तर्फ विद्युत् प्रवाहका लागि समस्या छ । हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुनेछ ।