विकासन्युज

कुमारी क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं । कुमारी क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । कुमारी क्यपिटलले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको हाे । यसका निम्ति कुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । पहिलो चरणमा क्यापिटलका इकाईधनीहरुले आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरु पनि थपिने छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएकोमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् । कुमारी क्यपिटल कुमारी बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी व्यवस्थापन देखि डिपोजिटरी पार्टिसिपेन्ट सम्बन्धी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।  

एमालेले बुधबारको संसद अवरुद्ध गर्ने, पार्टीको धारणा बनाउन बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै क्वीन्टल सुन बाहिरिएपछि एमालेले आफ्नो धारण बनाउनका लागि बुधबार दिउँसो १२ बजे बैठक बोलाएको हो । आज १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठकमा अवरोध गर्नेगरी धारण बनाउन भन्दै १२ बजे संसदीय दलको बैठक बोलाएको जनाईएको छ । एमालेले आज बस्ने संसद बैठकमा उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गर्ने तयारी गरेको छ । गत मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै बाहिरिएको अटो पार्टसबाट झन्डै क्विन्टल सुन बरामद गरेको थियो । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

टीकापुर सडक अधुरै, आवागमनमा सास्ती

कैलाली । पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की–टीकापुर सडकखण्ड समयमै निर्माण हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । सम्झौता सकिँदा पनि सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम अधुरै छाडेको छ । सडक हिलाम्य भएको छ । यात्रुलाई हिँड्दा हैरानी भएको छ । ‘दैनिक हिँड्नुपर्छ । खाल्डाखुल्डी, धुलो र हिलोले सास्ती भएको छ’, स्थानीय नरेन्द्र चौधरी भन्छन्, ‘सडक बन्ला र आवागमनमा सहज होला भन्दाभन्दै वर्षौँ बित्यो, तर सडक बनेन ।’ हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो । तर एक वर्षमै भत्कियो । सडक कालोपत्र हुँदा लम्कीबाट टीकापुर पुग्न आधी घण्टा लाग्थ्यो । तर अहिले टीकापुर पुग्न एक घन्टाभन्दा बढी लाग्ने गरेको  स्थानीयको गुनाासो छ । लम्की–टीकापुर–खक्रौरा सडकको काम समयमै सम्पन्न गर्न तीन भागमा विभाजन गरी कामको बाँडफाँड गरिएको थियो । तीनवटा निर्माण कम्पनीलाई कामको जिम्मा लगाइ पनि दुईवटाको काम अधुरै छ । तीस किलोमिटर सडकखण्ड निर्माणका लागि तीन भागमा विभाजन गरिए पनि  लम्कीबाट जानकी गाउँपालिकाको पथरैयासम्मको काम मात्र सम्पन्न भएको छ । पथरैयाबाट टीकापुर नगरपालिका–४ अस्नेहरीसम्मको सडक निर्माणको जिम्मा एपेक्स कृष्ण खड्का जेभीले पाएको छ । अस्नेहरीबाट खक्रौलासम्मको बाँकी सडक निर्माणको जिम्मा रायमाझी गाल्भा जेभीले पाएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले कालोपत्रका लागि २०७७ जेठमा सम्झौता गरेको हो । पहिलो खण्डको आठ किलोमिटरको काम रु ४० करोड १९ लाख ९१ हजारमा कुमार कालिका जेभीले पूरा गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए । उक्त कम्पनीले लम्की क्षेत्रको साढे तीन किलोमिटर चार लेनको सडक निर्माण सम्पन्न गरेको छ । ‘दुई भागको ३५ प्रतिशत मात्र काम भएको छ’, उनले भने, ‘एउटा निर्माण कम्पनीले ठेक्काको जिम्मा लिएर अर्कोलाई काम गर्न लागएका कारण काममा ढिलाइ भएको हो ।’ दोस्रो खण्डसडक निर्माणको सम्झौता २०७७ जेठमा भएको थियो । दश किलोमिटर सडक निर्माणका लागि ४० करोड ९९ लाखमा ठेक्का सम्झौता भएको थियो । चालु आर्थिक वर्षको पुससम्म समयावधि रहेको उक्त खण्डको ३५ प्रतिशत मात्र काम भएको छ । पहिलो चरणको सम्झौताको समयावधि गत वर्ष मङ्सिरमा सकिएपछि एक वर्ष म्याद थप गरिएको सूचना अधिकारी सुनारले बताए । तेस्रो खण्डको साढे ११ किलोमिटरको काम हुँदैछ । ३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको तेस्रो खण्डको पनि ३५ प्रतिशत मात्र काम पूरा भएको छ । सो कार्य आगामी पुससम्म सम्पन्न गर्नुपर्ने समयावधि छ । सम्झौताको समय सकिन छ महिनामात्र बाँकी रहेका बेला ६५ प्रतिशत काम अझै बाँकी छ । टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले सडकको काम समयमै सम्पन्न गर्नका लागि आयोजना कार्यालय र निर्माण कम्पनीलाई ताकेता गर्दै आएको बताए । सडककै समस्याका कारण टीकापुरले कयौँ सम्भावनासमेत गुमाएको उनको गुनासो छ । उनले भने, ‘ताकेता गर्दै आएका छौँ । सुनवाइ भएको छैन । टीकापुर आउने व्यक्ति सडकको अवस्था देखेरै फर्कने गरेका छन् ।’ रासस

भ्रष्टाचार र बेथिती शुन्य पार्छु, जनताको सहयोग चाहियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताउनुभयो । “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उनले भने । प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उनले भने । नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताए । पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उहाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताए । “हामीले नेपालमा राजनीतिक परिवर्तन राजनीतिका लागि मात्र ल्याएको होइन, राष्ट्र र जनताको वृहत्तर हित हुने गरी पविर्तन ल्याउने भनेका हौँ”, उनले भने, “यदि जनताको जीवनस्तरमा परिवर्तन हुँदैन भने यसको दिगोपन र औचित्य पनि इतिहासमा सिद्ध हुँदैन ।” आफूले यसपटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प लिएको उल्लेख गर्दै उनले सोही सङ्कल्पअनुसार मुलुकको अवस्था बदल्न लागि परेको बताए । “जसले परिवर्तन ल्याउन लड्यो, त्यही पार्टी, विचार र नेतालाई चिन्ता हुन्छ”, उनले भने, “यो परिवर्तनले जनतालाई राम्रो गर्यो कि गरेन । यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा गरेको सङ्कल्प त्यही नै हो ।” ७ दशक लडेर ल्याएको परिवर्तनले राष्ट्र र जनताको हित गर्न सकेन भने त्यो दुर्भाग्य पूर्ण हुनेछ भन्दै उहाँले परिवर्तन असफल भयो भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको औँल्याए । “यो परिवर्तन असफल भयो भने राजनीतिक परिवर्तन मात्रै असफल हुँदैन, नेपाल राष्ट्र नै असफल हुने र दुर्घटनामा पर्ने खतरा रहन्छ”, उनले भने, “त्यसकारण देश र जनतालाई दुर्घटनाबाट बचाउन पनि यस पटक सरकारको नेतृत्वको हैसियतले कठोर कदम चाल्नै पर्छ भनेर महत्त्वपूर्ण काम थालिएका छन् ।” नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो । “कानूनी तथा संरचनात्मक जटिलतालाई हल गरेर यी विषयमा सरलीकरण गरिन्छ”, उनले भने । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनले आयोजना गरेको कार्यक्रमको दौरानमा इटालीका प्रधानमन्त्री र राष्ट्रसङ्घका महासचिवसँग अनौपचारिकरुपमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिँदै उहाँले आफूले औपचारिक कार्यक्रममा दिएको वक्तव्यपछिको प्रतिक्रिया पनि निकै सकारात्मक भएको पाएको बताए । “अब इटाली सरकारसँग नेपाल सरकारको सम्बन्ध अझ गहन हुने र अगाडि बढ्ने विश्वास लिएको छु”, उनले भने, “तपाईंहरु ९एनआरएन०ले उठाएका विषय सम्बोधनको पहलका लागि आधार मिलेको छ ।” इटालीमा रहेका नेपालीले यहाँ आइपुग्दा र यहाँ रहँदा भोगेका समस्या बारेमा आफूले नजिकबाट जान्ने मौका पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारकातर्फबाट सक्दो सहयोग गर्ने बताए । “मैले यहाँ बस्ने नेपालीका समस्या, यहाँ आइपुग्दा भोगेका समस्या, यहाँ पुगेपछि भोगिरहेका समस्याबारे प्रत्यक्षरुपमा बुझ्ने मौका पाएँ”, उनले भने, “इटालीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारबाट के गर्न सकिन्छ, त्यसका निम्ति पहल गर्नेछु ।”रासस

सुरु भयो लाभांश सिजन, एनआईसी एशिया क्यापिटलले घोषणा गर्यो ४६ प्रतिशत लाभांश

काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन पनि सुरु भएको छ । चालू आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो कम्पनी एनआईसी एशिया क्यापिटल बनेको छ । क्यापिटलले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले साउन ३२ गते सातौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बोलाइएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको वासलात र आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

अर्बौंको कोदो, फर्सी, फापर, तरुल आयात, तुलसा रायाको एक ट्रक फर्सी गाईवस्तुलाई खोले

काठमाडौं । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो । आर्थिक वर्ष २०७९÷८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ । यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा भारतबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ मूल्यको ४ हजार ७३३ मेट्रिक टन फर्सी आयात गरिएको छ । कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा १९ करोड ८३ लाख रुपैयाँको १२ हजार ३९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा ३१ करोड ९८ लाख रुपैयाँ बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार रुपैयाँको ११ हजार ७१७ मेट्रिक टन भिन्डी र ८ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको ५ हजार ६०५ मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिनुभयो । पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजार रुपैयाँको २५ हजार ३१२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार रुपैयाँ बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, २ करोड ७१ लाख ५२ हजार रुपैयाँको १ हजार ६९७ मेट्रिक टन घिरौला, ४ करोड ९८ लाख रुपैयाँको ३ हजार ११३ मेट्रिक टन लौका, ३ करोड १० लाख बराबर रुपैयाँको १ हजार ९३८ मेट्रिक टन तरुल र ३ करोड ४० लाख ९६ हजार रुपैयाँको २ हजार १३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्याङ्क छ । सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा ४४ लाख ८० हजार रुपैयाँको ११२ मेट्रिक टन फापर, ६ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको २ हजार ८३ मेट्रिक टन अम्बक र ३४ लाख रुपैयाँको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा १७ करोड ३१ लाख २० हजार रुपैयाँको ४ हजार ३२८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको ७ हजार २०१ मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ । पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात गरिएको छ । ३ अर्ब ३५ करोड ९ लाख ८१ हजार रुपैयाँको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजार रुपैयाँको फलफूल आयात गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाले बताए । संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको उनको भनाइ छ । इलाम नगरपालिका–१२ की तुलसा रायाले करिब एक ट्रक फर्सी बिक्री नभएपछि गाईवस्तुलाई खोले खुवाएको बताए ।

नेप्सेमा एक लघुवित्त संस्थाको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्त संस्थाको ४.७५ प्रतिशत बोनस बापत ६७ हजार ३२९.११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा सिजापति चयन, राष्ट्र बैंक समक्ष लिए शपथ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रबिन सिजापति चयन भएका छन् । लघुवित्तको नयाँ गठन भएको सञ्चालक समितिले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । साथै, अध्यक्ष सिजापतिले नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुणाकर भट्टसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । समिट लघवित्तलाई एक्विजिशन गरेपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्तको नयाँ सञ्चालक समिति गठन गरिएको थियो । लघुवित्तको नयाँ गठन भएको सञ्चालकमा रबिन सिजापति, केशब प्रसाद आचार्य, क्षितिज खड्का, नरेन्द्र सतकुटी, तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका हुन् । सञ्चालक समितिको बैठकले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष सिजापति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्छन् । उनी बैंकमा सिनियर डेपुटी जेनेरल म्यानेजर पदमा कार्यरत छन् । यसअसघ लघुवित्तको अध्यक्षको जिम्मेजारी आचार्यले सम्हाल्दै आएका थिए । तर, उनी काम विशेषले विदेशमा रहेकाले नयाँ अध्यक्ष चयन गरिएको लघुवित्तले बताएको छ । गत असार ३० गतेदेखि समीट लघुवित्तलाई गाभेर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेको हो । नेशनल माइक्रोफाइनान्सले ७३ रुपैयाँमा समिट लघुवित्तलाई गाभेको हो । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राम बहादुर यादव चयन भएका हुन् । सीईओ यादव नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्ष समेत हुन् ।