विकासन्युज

नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ब्याज कति दिन्छ ?

काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँको ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पूर्ण आवेदन नपरेमा साउन ३२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

रिलायबल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक युरोमनी अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि उक्त अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दिइएको हो । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस्तो अवार्ड पाएको थियो । वर्षभरीको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मानित गर्नुको कारण रहेको उल्लेख गरेको छ ।

कोशी प्रदेशमा कृषि क्षेत्रको वित्तीय पहुँचका लागि सानिमा बैंकले सघाउने

काठमाडौं । कोशी प्रदेशको कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने गरी सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य रहेको सानिमा बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कृषि कर्जाको प्रक्रियालाई प्रबिधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने उद्देश्य रहेको बताइएको छ । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले उक्त सहकार्यले कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने सानिमा बैंकको पहललाई सुदृढ बनाउन सहयोग मिल्ने बताएका छन् ।

होन्डा नेपालले सार्वजनिक गर्यो सिटी इ–एच इभी

काठमाडौं । होन्डाले सिटी इ–एच इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । होन्डा सिटी हाइब्रिड भेरिएन्टमा आएको कम्पनीले बताएको छ । द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीसहित पर्यावरण मैत्री सवारीकोरूपमा सिटी इ–एच आएको कम्पनीले बताएको छ । उक्त सवारीमा एडभान्स सेनसिङ्ग स्वीट रहेको र यो सवारीचालक तथा पैदलयात्रीलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी भएको कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्रविधिअन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्ने बताइएको छ । सिटी इ–एच इभीको टेस्ट ड्राइभका लागि नजिकको होन्डा कार शोरूममा सम्पर्क सकिने कम्पनीले बताएको छ ।

ज्योति विकास बैंकले मनायो १५औं वार्षिकोत्सव, नख्खुमा नयाँ शाखाको उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १५ औं वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिएको थियो । बैंकले वार्षिकोत्सवको अवसर पारेर नख्खुमा नयाँ शाखा पनि सञ्चालनमा ल्याएको छ । अब उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम सहितको सञ्जाल विस्तार भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष तथा १५ वर्षदेखि अनवरत कार्यरत रहेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा १५ रुपैंयाँमा ‘सुपर स्मार्ट सेभिङ अकाउन्ट’ पनि सार्वजनिक गरेको छ । त्यसैगरी, साउन १४ सम्म ज्योति विकास बैंकको खाता इ–सेवामा लिङ्क गर्ने ग्राहकलाई १५० रुपैयाँ र खल्ती एपसंग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकलाई १०० बोनस दिने बैंकले बताएको छ ।

मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र

काठमाडौं । आन्दोलनरत नेपाल निर्माण व्यवसायीका प्रदेश महासंघहरूले सातै प्रदेशका मुख्यमन्त्री र ७७ जिल्ला संघहरूले जिल्ला जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन् । सबै निर्माण कार्यको भुक्तानी पाउनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे मागसहित नेपाल निर्माण व्यवसायी महासंघले आन्दोनल गरिरहेको छ । सोहीक्रममा प्रदेशमा मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यलयमार्फत केन्द्रीय सरकारलाई ज्ञानपपत्र बुझाइएको निर्माण व्यवसायीहरुले बताएका छन् । उनीहरुले बजारमा भएको अत्याधिक मूल्यवृद्धिलाई सम्बोधन गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने माग गरेका छन् । त्यसैगरी, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुअकरको कट्टी रकम समयमै राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित् सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग महासंघले अघि सारेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले साउन १० देखि १३ सम्म विभिन्न राजनीतिक दलका नेताहरू तथा सम्बन्धित संघीय सरकारी निकायहरूमा आफ्ना मागहरू बारे जानकारी गराउने भएको छ ।

उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डबाट हिमालयन डिस्टिलरी सम्मानित

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन– २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन– सिल्भर अवार्ड हिमालयन डिस्टिलरीलाई प्रदान गरेको हो । अवार्ड वितरण कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुबेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेका छन् । हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य उत्कृष्ट तरिकाले प्रस्तुत गरेको भन्दै यस्तो अवार्ड दिइएको हो । उक्त अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबेदीले बताए । कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेड्रेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।