विकासन्युज

तेह्रथुम पावरले हकप्रद सेयर ब्रिक्री गर्ने, ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । तेह्रथुम पावरको सञ्चालक समितिको निर्णय बमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद सेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो । यससम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ । तेहूथुम पावरले आफ्ना शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेको छ । सम्झौतामा नबिल इन्भेस्टमेन्टले तेह्रथुम पावरको सर्वसाधारणमा हकप्रद शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ ।

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडाै‌ रकम भित्र्याइ रहेका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो । यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि सङ्कलकहरु आएको यार्सा सङ्कलन छोर्तेन लामाले बताए । उनका अनुसार वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन् । असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उनको भनाइ थियो । छायाँनाथ रारा नगरपालिका–१२ लुम्सका कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेर रू साढे चार लाख आम्दानी गरेका बताए । गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले रू दुई लाखबढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै ३० देखि ५० रुपैयाँलाखसम्म रकम भित्रिएको उनले अनुमान गरे । वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा एक करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । उनका अनुसार मुगालीहरु वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन् । व्यापार, खेतीपाती र नोकरीभन्दा महिनादिनभित्र यार्सा टिपेर बढी आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन् । यार्सा व्यापारी पाटनमै पुगेर यार्सा सङ्कलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न सङ्कलकलाई बजारको समस्या हुँदैन । पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन् । पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी रू आठ सय र मध्यमलाई प्रतिबुटी रू चार सय ५० सम्म दिएका सावतले बताए । उनका अनुसार खाल्वा यार्सा एक केजी पुग्न तीन हजार दुई सय बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सय बुटी आवश्यक पर्दछ । यार्सा बेचेर मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्ती तथा छायाँनाथ रारा नगरपालिकाका केही बस्तीमा सबैभन्दा बढी रकम भित्रिएको यार्सा सङ्कलक बताउँछन् । त्यस्तै, मह गाउँमा मात्रै चार करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको स्थानीय बताउँछन् । माग्री, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा ५० लाख रुपैयाँदेखि एक करोडसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले जानकारी दिए । उनका अनुसार मुगु गाउँमा मात्रै रू तीन करोडभन्दा बढी रकम भित्रिएको छ । नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, र्याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीय पनि यार्सा बेचेर मनग्य आम्दानी गरेका छन् । मुगुम कार्मारोङ्गस्थित पुअ गाउँका छेवाङ्ग लामाका छोराबुहारीसहित चार जनाले यार्सा बेचेर २१ लाख रुपैयाँ कमाएका छन् । यो सिजनमा एक करोड रुपैयाँ भन्दा बढी रकम यार्सा बेचेर गाउँमा भित्र्याएको उनले जानकारी दिए । किम्री गाउँका कार्मा सेराप लामा भने, ‘भगवान्ले हाम्रा लागी हिमालमा यार्सा होइन हिरा उमारी दिएका हुन् । यार्सा नभइदिएको भए घर खर्च चलाउने, बालबच्चाको पढाइलगायत अन्य खर्चको जोहो गर्न गाह्रो हुन्थ्यो । यहाँ काम तथा रोजगारी पाउन गाह्रो छ । खेतीपाती राम्रो उब्जनी छैन, वर्षेभरि एक बाली उब्जन्छ, आफूजस्ता गरिबका लागि यार्सागुम्बा बरदान साबित भएको छ ।’ प्रत्येक वर्ष परिवारका चारसदस्य यार्सा टिप्न पाटन जाने र छ/सात रुपैयाँलाखसम्म आम्दानी हुने गरेको उनले बताए । कोरोनाकालमा दुई वर्ष यार्सा टिप्न नपाउँदा जीविकोपार्जन गर्न निकै कष्ट भएको तीतो व्यथा उनले सुनाए। ‘हिमालको हिरा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र ?’, मह गाउँका राप्के तामाङले भने, ‘हिउँ/पानीसँग खेल्नुपर्ने, चिसोबाट बेचेर भोक, प्यासको पर्वाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरुमा यार्सा खोज्दै चहार्नुपर्ने हुन्छ । पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन । यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बेचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको एउटा ठूलै युद्ध जिते जस्तै हो ।’ मुगुका माजिङ्ग थान, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, टाँके, रिमाड, हङ्गदङ्ग खोला, च्यार्कुलेख, छुमुरु, छुङ्गडुङ्ग, भावर खोला, असी पाटन, नयाँ वन, टाङ्गवाक, झोवा लेख, वाङ्गरी रमाना, धोवार खोला, च्याङ्गजी लगाएर दुई दर्जनभन्दा बढी पाटनहरुमा यार्सागुम्बा पाइन्छ । प्रत्येक वर्ष यार्सा टिप्न जाँदा हिउँ पहिरामा परेर, लेक लागेर र अन्य बिमारी भएर, लुटेरा सङ्कलकबीच झडप हुँदा ज्यानसम्म गुमाउनुपर्ने अवस्था आउने तामाङले बताए । यस वर्ष मात्रै पाटनमा हिउँपहिरा परेर, नदीमा खसेर र बिरामी परेर पाँचजनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ । यार्सा टिप्न पाटन जानेसँगबाट प्रवेश शुल्कबापत गाउँपालिकाले ४५ लाख रुपैयाँसम्म राजस्व उठ्ने गरेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए । बर्सेनि पाटनहरुमा कोही न कोही यार्सा सङ्कलनको मृत्यु हुने गरेकाले यस वर्षदेखि मृतकका परिवारका भरणपोषणमा सहयोग गर्ने उद्देश्यले पालिकाले प्रवेशबापत उठ्ने शुल्कबाट यार्सा सङ्कलकको पाँच लाख रुपैयाँ बराबरको ‘यार्सा दुर्घटना बीमा’ गरिदिएको उनले जानकारी दिए । रासस

ऋण तिरेको भन्ने मन्त्री किरातीलाई सञ्‍चय कोषको जवाफ : नियमित किस्ता नै आएको छैन

काठमाडौं । नेपाल वायुसेवा निगमले ऋण तिरेको भनेर गरेको प्रचार जुटो भएको कर्मचारी सञ्चय कोषले दावी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले केही दिनअघि सार्वजनिक रूपमै वायुसेवा निगले धमाधम ऋण तिरिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । नेपाल वायुसेवा निगमको दुई वटा जहाज किन्ने बेलामा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रूपैयाँ ऋण लिएको थियो । अहिले उक्त ऋणको साँवा र ब्याज गरेर २९ अर्ब पुगेको कोषका प्रशासक जितेन्द्र धितालले बताए । ‘वायुसेवा निगमका चार वटा विमानमध्ये तीन वटामा हामीले ‘फाइनान्सिङ’ गरेका छौँ, हामीले २२ अर्ब रूपैयाँ जति लगानी गरेका छौँ, त्यो ऋण बढेर २९ अर्ब जति पुगेको छ’, धितालले भने, ‘कोरोनाका कारण उसले ऋण तिर्न सकेन, पछिल्ला दिनमा निगमले तीन पटक हाम्रो ऋण तिरेको छ, निगमको दायित्व लगातार बढीरहेको छ, हामीले छलफल गर्दा तिर्न सक्दैनौँ भन्नुहुन्छ, अर्कातर्फ नयाँ जहाज खरिदमा लाग्नुभएको छ, यो अलिक मिल्दो भएन ।’ नेपाल वायुसेवा निगमले पनि विज्ञप्ति नै प्रकाशन गरेर ऋण तिरेको बताएको थियो । निगमले जहाज खरिद गर्ने बेलामा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट सरकारको जमानीमा ऋण लिएको थियो । निगमले साउन १ गते जारी गरेको विज्ञप्तिमा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई ८३ करोड नौ लाख ५५ हजार रुपैयाँ ऋण तिरेको बताएको थियो । मन्त्री किरातीले भने निगमको आर्थिक अवस्था सुधार भएको र ऋण तिर्न सक्ने अवसथामा पुगेको बताउने गरेका छन् । तर, कर्मचारी सञ्‍चय कोषका प्रशासक धिताल भने नियमितरुपमा पूरा किस्ता नआएको बताउँछन् । ‘पछिल्ला दिनमा हामीले ऋण तिर्‍याैं भनेर जसरी उहाँहरुले प्रचार प्रसार गरिरहनु भएको छ, त्यसमा मलाई अचम्म लागेको छ । हामीलाई नियमितरुपमा पूरा किस्ता तिर्नुभएको छैन । अर्कोतर्फ हामीले तिर्‍याैं भनेर प्रचार गराउनुभएको छ’, धितालले भने । किस्ता तिरेको प्रमाण सुरक्षित छ : निगम नेपाल वायुसेवा निगमले भने किस्ता तिरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको भन्दै कर्मचारी सञ्चय कोषलाई गलत प्रचार नगर्न भनेको छ । निगमका प्रवक्ता रमेश पौडेलले निगमले किस्ता तिरेको प्रमाण सुरक्षित रहेको बताए । ‘हामीले गतल प्रचार गरेका छैनौँ, कोरोना कालमा किस्ता रकम भुक्तानी नभएकै हो, तर अहिले अवस्था सहज भएसँगै भुक्तानी गर्दै आएका छौँ’, उनले भने, ‘हामीले कोषको बैंक खातामा रकम जम्मा गरेका हौँ, भन्नेले के भने तर हामीसँग किस्ता भुक्तानी गरेको प्रमाण सुरक्षित छ ।’ गत आर्थिक वर्ष २०७९/०८० मा निगमले दुई कोषलाई झन्डै चार अर्ब बक्यौता रकम भुक्तानी गरिएको पौडेलले बताए । ‘हामीले गत आर्थिक वर्ष केही नाफा गरेका थियाै‌ं, निगमले नाफा गरेसँगै लामो समयदेखि रोकिएको बक्यौता रकम हामीले भुक्तानी गरेका हौँ’, उनले भने, ‘कोरोना कालमा हाम्रो विजनेश नै थिएन, उक्त समयको ब्याज नलिन हामीले दुबै कोषसँगै सरकारलाई पनि अनुरोध गरेका छौं ।’ सम्बन्धित समाचार वायुसेवा निगमले ऋण तिरेको प्रचार गर्यो तर किस्ता तिरेको छैन : प्रशासक धिताल

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश : ‘पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु’

काठमाडौं । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो । आदेशमा भनिएको छ, ‘आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीको कारणले पीडित आठ महिनाको बच्चा आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको छ ।’ श्वासप्रश्वासमा समस्या भएर उक्त अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पु¥याइएका आठ महिनाका ती बालक आलोकलाई गलत खोप दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन भनिएको हो । विसं २०७३ असार २२ गते ती बालकलाई उपचारका लागि उक्त अस्पतालको इमर्जेन्सीमा पु¥याइएको थियो । पीडित बालकका बुबा ध्रुवकुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । सोही राति शम्भु विक नामका अर्कै बालकका लागि ल्याइएको खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनाका साथै दिसा, पिसाब चुहिनेजस्ता लक्षण देखिएको थियो । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट डा आयुष्मा रेग्मीले तयार पारेको प्रतिवेदनबमोजिम ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपबाट साइड इफेक्ट भएको प्रमाणित भएको अदालतको ठहर थियो । फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘उक्त लक्षण इन्जेक्सन मोन्टाजको साइडइफेक्टको लक्षणसँग मिलेको पाइयो, यसरी अस्पतालको लापर्बाहीका कारण गलत औषधिको अधिक मात्रा प्रयोग गरी आठ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिकलगायत असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो ।’ आफ्नो बच्चाको स्वास्थ्यप्रति अस्पतालले लापर्बाही गरेकाले क्षतिपूर्तिको माग गर्दै उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । उक्त विवाद उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । रासस

२५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

काठमाडौं । राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको सवारी कर्जामा जोखिम भार घटाएको छ । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारी साधनको कर्जामा जोखिम भार घटाएको हो । अब २५ लाख रुपैयाँसम्मका् सवारी खरिद गर्न कर्जा लिँदा १ सय प्रतिशत मात्रै जोखिम भार लागू हुनेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् जोखिम भार घटाउने घोषणा गरेको थियो । यसअघि २५ लाखमुनिका गाडी कर्जामा जोखिमभार १५० प्रतिशत थियो । अब बैंक तथा वित्तीय संस्थाहरु २५ लाख रुपैयाँसम्मका सवारी खरिद गर्नका लागि कर्जा प्रवाह गर्न प्रोत्साहित हुने छन् । साथै, महँगा गाडी खरिद गर्न भने निरुत्साहित गर्न खोजेको देखिन्छ ।

बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा, कुन विभागमा को ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा भएको छ । प्राधिकरणको उच्च व्यवस्थापनले बुधबार अर्थात साउन १० गतेदेखि लागू हुने गरी चार जना निर्देशकहरुको सरुवा तथा विभाग हेरफेर गरेको हो । यसअघि व्यवस्थापन सूचना प्रणाली र इजाजतपत्र विभागको प्रमुखमा रहेका कमल प्रसाद रेग्मीको सरुवा भएको छ । सरुवा भएर निर्देशक रेग्मीले कानुन तथा नियमन महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि उक्त महाशाखाको प्रमुखमा निर्देशक दिनेश कुमार लाल थिए । उनी हाल व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारीमा सरुवा भएका छन् । त्यसैगरी, यसअघि व्यवस्थापन महाशाखाको जिम्मेवारी निर्देशक पुजन ढुंगेल अधिकारीले सम्हाल्दै आएकी थिइन् । अब भने उनले बीमा विकास तथा प्रवर्द्धन महाशाखासँगै थप कृषि र लघुबीमा पनि हेर्ने भएकी छिन् । त्यस्तै, प्राधिकरणको सुपरीवेक्षण महाशाखामा निर्देशक शुशिलदेव सुवेदी रहेका छन् । यसअघि कृषि र लघुबीमाको पनि महाशाखा प्रमुख रहेका उनले अब सुपरीवेक्षण र रि इन्स्योरेन्स तथा रिसर्च विभाग सम्हाल्ने छन् ।

सहकारीलाई सुत्केरी व्यथा लागेको छ, अप्रेसन गर्नुपर्ने हुनसक्छ : रजिस्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले अहिले सहकारीलाई सुत्केरी व्यथा लागेको टिप्पणी गरेका छन् । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले तयार गर्ने प्रतिवेदनमा सुझाव दिनका लागि शुक्रबार आयोजना गरिएको कार्यक्रममा रजिस्ट्रार घिमिरेले सहकारीलाई व्यवस्थित गर्नका लागि कठोर निर्णय लिनुपर्ने बताएका हुन् । ‘सहकारीलाई सुत्केरी व्यथा लागेको छ, यो प्रशव व्यथा जटिल छ । अपरेशन गर्नुपर्ने अवस्था हुनसक्छ’, घिमिरेले भने । सहकारी क्षेत्रमा गम्भीर सुधारको आवश्यकता रहेको र त्यसका लागि कठोर निर्णय गर्नु पर्ने उनले बताए । ‘सहकारी सापटीको लागि हो, ऋणको लागि हो । सापटीमा धितो हुँदैन र करोडौं ऋण पनि हुँदैन । सहकारीबाट सापटी लिएर गर्जो टार्ने हो व्यवसाय गर्ने होइन’, घिमिरेले भने । सहकारीमा अहिलेको जस्तो अवस्था आउनुमा को कति जिम्मेवार छन् ?सञ्चालकबाट के कति गल्ती भयो ? नियामकको के कति कमजोरी भयो ? भन्ने विषयको खोजी गरिनुपर्ने उनले बताए । ‘सहकारीमा यस्तो अवस्था आउन हुँदैनथ्यो । सहकारीका बचतकर्ता र सञ्चालकबाट पनि आन्दोलन गर्ने अवस्था आउनु हुन्थेन । यसको सिद्धान्तले यस्तो परिकल्पना गरेको पनि छैन । सहकारीलाई कुन भूमिकामा राख्नुपर्छ भन्ने ढंगबाट काम गर्नु पर्नेछ’, घिमिरेले भने । सहकारीका नियामकहरु पुनरावलोकनको लागि सोचिरहेको र यस विषयमा सुझाव माग गरिरहेको उनले बताए ।

ह्याप्पी चिल्ड्रेन होमलाई आर्थिक सहयोग

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखि सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि डिष्ट्रिक्ट ३२५ जे को रिजन १२, जोन ३ र ४ अन्तर्गत रहेका क्लबहरुले चामल, ग्याँस, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न र स्टेशनरी सामाग्रीहरु प्रदान गरेका हुन् । जोन चेयरपर्सन लायन रोशन कुमार श्रेष्ठले आगामी दिनहरुमा संस्थासंग मिलेर सांगितिक कार्यक्रम गरी ह्याप्पी चिल्ड्रेन होममा सहयोग गर्ने बताए । रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठ, जोन चेयरपर्सनहरु लायन रोशन कुमार श्रेष्ठ, लायन बद्रीनाथ ढकालको सक्रियतामा ४० हजार बराबरको सहयोग गरिएको हो । यो कार्यमा लायन्स क्लब अफ काठमाडौं अटो नेपाल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल, लायन्स क्लब काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं बनस्थली, लायन्स क्लब अफ काठमाडौं न्यू इन्नोभेटिभ र जामाचो टोखा लियो क्लबको साथ थियो । आवश्यकता भएको स्थानमा सहयोग गर्ने लायन्स क्लबको उद्देश्य अनुरुप ह्याप्पी चिल्ड्रेन होमलाई सहयोग गरिएको रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठले बताइन् ।