काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त वाणिज्य बैंक र विकास बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएको हो । हाल बैंकहरुले प्राथमिक पूँजी कोष साढे ८ प्रतिशत र सहयाक पूँजी कोष साढे २ प्रतिशत गरी ११ प्रतिशत पूँजी कोष कायम गर्दै आएका थिए । अब काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएपछि थप पुँजी आवश्यक पर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ बमोजिम र ‘ख’ वर्गका राष्ट्रिय स्तर बाहेकका र ‘ग’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २००७ (२००८ जुलाईमा अद्यावधिक) अनुसार काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्नेछ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई कार्यान्वयन गर्न सर्कुलर जारी गर्दै २.५ प्रतिशतसम्म पूँजी थप गर्नु पर्ने देखिन्छ । हाल काउन्टर साइक्लिकल बफर अनुसार ११ प्रतिशत कायम गर्दै आएको पूँजी कोष अनुपातमा अतिरिक्त २.५ प्रतिशत पूँजी जोड्नु पर्ने हुन्छ । अब विकास बैंकहरुले कुल १३.५ प्रतिशत पूँजी कोष कायम गर्नुपर्छ ।
बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर पक्राउ
काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेललाई काठमाडौंको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
विदेश भ्रमणमा जाने नेपालीले दुई पटकमा २५ सय अमेरिकी डलर साट्न पाउने, कामदारलाई दुई सय मात्रै
काठमाडौं । राष्ट्र बैंकले विदेश जाने नेपालीका लागि सटही सुविधालाई बढाएर २५ सय अमेरिकी डलर बनाएकोे छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो सटही सुविधा वर्षमा २ पटक दिन सकिने व्यवस्था गरेको हो । यसअघि १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट त्यसलाई बढाएर २५ सय अमेरिकी डलर पु¥याउने भनेको थियो । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै भनेको छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर २,५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।’ एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई जनाउने र परिपत्र जारी भएको मिति साउन १२ देखि गणना हुने भनिएको छ । परिपत्र जारी भएको हुनु अगावै राहदानी बापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०/८१ मा प्रतिपटक अधिकतम अमेरिकी डलर २,५०० गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा नपर्ने भनिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर दुई सयसम्म मात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
आइएमई पेबाट हवाई टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक
काठमाडौं । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउने छन् । यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ । उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्नेछन् । सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।
कर्जा लिँदा ऋणीले प्यान नम्बर अनिवार्य लिएको हुनु पर्ने
काठमाडौं । २५ लाख रुपैयाँ भन्दा बढी कर्जा लिने ऋणीलाई स्थायी लेखा नम्बर (प्यान) नम्बर अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै २५ लाख रुपैयाँ वा सो भन्दा बढी कर्जा लिएका ऋणीलाई प्यान नम्बर अनिवार्य गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायीलेखा नम्बर (एब्ल्) लिएको हुनुपर्नेछ । साथै ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई २५ लाख भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, आवाजबाटै भुक्तानीको जानकारी
काठमाडौं । एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषतासहितको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । जसअनुसार बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले ल्याएको स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । यस्तै निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको बैंकले जनाएको छ । क्युआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।
कति कर्जा लिँदा जोखिम भार एक सय प्रतिशत लागू हुन्छ ? यसो भन्छ राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न प्रकृतिका कर्जाहरूमा लागू हुने जोखिम भारलाई स्पष्ट पारेको छ । सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई राष्ट्र बैंकले स्पष्ट पारेको हो । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको सेयर कर्जामा १ सय प्रतिशत जोखिम भार लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार लागू थियो । साथै, २५ लाख रुपैयाँसम्मको गाडी कर्जामा १ सय प्रतिशत जोखिम भार लागू गर्न राष्ट्र बैंकले निर्देश गरेको हो । त्यस्तै, नेपाल सरकारको स्वीकृति लिएर कार्य गरिरहेका आवासीय कम्पनीले २५ लाखसम्म कर्जा लिए भने १ सय प्रतिशत जोखिम भार कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने भनेको थियो ।
गणपूरक संख्या नपुगेपछि बस्न सकेन लेखा समितिको बैठक
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्दा बस्न नसकेको हो । २६ सदस्यीय समितिमा बैठक बस्नको लागि १४ सांसदको उपस्थिति आवश्यक पर्छ । तर, शुक्रबार साढे ११ बजेका लािग बोलाइएको बैठकमा कोरम पुग्ने गरी सांसदहरु उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।