आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा मनसुनी वायुका साथै भारतको उडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका केही स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
सानिमा बैंकको नयाँ एटिएम धादिङको बुथ ताल्तीमा
काठमाडौं । सानिमा बैंकले रोराङ गाउँपालिका, धादिङमा नयाँ एटिएम काउन्टर विस्तार गरेको छ । त्यहाँका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले यहि साउन १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित होक्जिन सिमेन्ट नारायणी उद्योगको परिसरमा एटिएम बुथको स्थापना गरेको बैंकले जनाएको छ । उक्त एटिएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर छियाङ छाङ हङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरिएको थियो । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर छियाङ छाङ हङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए । त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गरिन् । एटिएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए ।
कर नतिरेपछि ४६ व्यवसायीको बैंक खाता रोक्का
दमौली । तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए । ‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ,’ उनले भने । कार्यालयले २०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनले बताए । उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ । बहत्तर हजार बढी करदाता तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७९÷८० मा करिब १० प्रतिशत करदाता वृद्वि भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए । पछिल्लो समय नागरिकमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतनाको वृद्वि हुँदै गएको छ । प्यान नम्बर लिनेमा कर्मचारीतर्फ ४४ हजार दुई सय ८४ र व्यापारीतर्फ २३ हजार चार सय ३७ जना रहेका छन् । रासस
हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै रिट दायर
काठमाडौं । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो । नाट्टाका अध्यक्ष रमेश थापाले पर्यटन व्यवसायीले हवाई क्षेत्रमा लगाएको भ्याटले हवाई सेवा महँगो हुने भएकाले सरकारले गरेको प्रावधान सच्याउन पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएकाले न्यायको ढोका ढकढक्याउन बाध्य हुनुपरेको बताए । ‘नाट्टाका पूर्वअध्यक्ष परिषद्, नाट्टाका सदस्य, कानुन व्यवसायी, कर परामर्शदाताको सल्लाह र नाट्टा बोर्डको निर्णयबाट कानुनी उपचारमा जाने निर्णयानुसार रिट दायर गरेका हौँ’, उनले भने । सरकार र निजी व्यवसायीको सहकार्यले मात्र पर्यटन क्षेत्रको दिगो विकास हुने नाट्टाले जनाएको छ ।
सेती नदीमा डुबेर बालक बेपत्ता
दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ । बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवै जना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।
मान्छेको मस्तिस्क पढ्ने न्युरोटेक्नोलोजी, मस्तिस्कको तथ्यांक बिक्री गर्दै कम्पनीहरु
काठमाडौं । यदि तपाईको दिमागमा के भइरहेको छ त्यो कम्प्युटर स्क्रिनमा लेखियो भने तपाईंले कस्तो अनुभव गर्नुहोला त्यो बेला ? यस्तो विषय न्यूरोटेक्नोलोजी उपकरणहरू अर्थात् दिमाग पढ्ने मेसिनहरू मार्फत सम्भव छ। यसबाट कसैले के सोचिरहेको छ भनेर थाहा पाउन सकिन्छ। यो सुन्दा जति राम्रो लाग्छ, त्यति नै खतरनाक पनि रहेको छ । पछिल्लो समयमा यस्ता उपकरणहरूको संख्या विश्वव्यापी रूपमा बढ्दै गएको छ। कानून बनाएर नियमन गरिएन भने मानवता र विशेषगरी मानिसको गोपनियताका लागि यो प्रविधि सबैभन्दा ठूलो खतरा हुने विज्ञहरुले बताएका छन् । कोलम्बिया विश्वविद्यालयका स्नायु वैज्ञानिक राफेल युस्टेले न्युरोफाइट्स फाउन्डेसन स्थापना गरेका छन्। १८ कम्पनीले आफ्ना उपभोक्तालाई उनीहरुको ब्रेन डाटा लिनको लागि कम्पनीलाई पूर्ण अधिकार दिन दबाब दिइरहेको वैज्ञानिक युस्टेले बताएका छन् । ती मध्ये एक कम्पनीले सो डाटा कुनै तेस्रो व्यक्तिलाई दिने अधिकार पनि लिएको छ । न्यूरोटेक्नोलोजीमा सरकारको ध्यान केन्द्रित नभएको र तिव्र गतिमा बढिरहेका यस्ता उद्योगले मनमानी रवैया अपनाएकोले यो सबै भइरहेको ती वैज्ञानिकको दाबी छ । यिनलाई अहिले नै नियन्त्रण गर्न सकिएन भने आगामी दिनमा मानव दिमागलाई नियन्त्रण गर्न थाल्ने उनले बताएका छन् । मानिसको सोच र व्यवहार नियन्त्रण गर्न सक्छ मानिसहरूलाई उनीहरूको सोच र व्यवहार परिवर्तन गर्नबाट रोक्ने न्यूरोटेक्नोलोजिकल उपकरणहरूले मानिसहरूको सोच र व्यवहार दुवै परिवर्तन पनि गराउन सक्छ। त्यसैले मस्तिष्क निगरानी उपकरणहरू नियन्त्रण गर्न आवश्यक भएको वैज्ञानिकहरुको भनाइ छ । नर्थ क्यारोलिनाको ड्यूक विश्वविद्यालयकी नैतिकताविद् नीता फरहानीले नीति निर्माताहरू विशेष गरी राजनीतिमा संलग्नहरूले मानिसहरूलाई आफ्नो पक्षमा पार्न न्यूरोटेक्नोलोजिकल उपकरणहरू प्रयोग गर्नसक्ने बताएकी छन् । ठूला न्यूरोटेक्नोलोजिकल कम्पनीहरूदेखि स्टार्टअपहरूसम्मले मानव मस्तिस्क गतिविधिको रेकर्ड गर्न सक्ने हेडसेट, इयरबड लगायत प्रविधि बनाइरहेका छन् । यी कम्पनीहरूले प्रविधिको माध्यमबाट मानव मस्तिष्कको डाटाबेस बनाएर अन्य कम्पनीहरूलाई यो डाटा बेचिरहेका छन्। यस्तो कामले मानिसको व्यक्तिगत गोपनियता जोखिममा पर्दै गएको छ । अन्य कम्पनीहरूले यी डाटाको आधारमा नयाँ उत्पादन सिर्जना गरिरहेका छन्। युनेस्कोको न्यूरोटेक्नोलोजी प्रतिवेदनका अनुसार सन् २०१५ देखि २०२० सम्मको ५ वर्षमा विश्वभर न्यूरोटेक्नोलोजीसँग सम्बन्धित पेटेन्ट लिनेको संख्या दोब्बर भएको छ । सन् २०१० देखि २०२० सम्ममा न्यूरोटेक्नोलोजीको क्षेत्रमा २२ गुणाले बढेको छ । हाल विश्वभर न्यूरोटेक्नोलोजीको व्यापार ४२० लाख करोड रुपैयाँभन्दा बढीको भएको छ । कम्पनीहरूले जुन गतिमा सो क्षेत्रमा अनुसन्धान र लगानी गरिरहेका छन् त्यसबाट यो क्षेत्रको विकास निकै तिव्र हुने अनुमान गरिएको छ । यही जुलाई महिनामा युनेस्कोले पेरिसमा न्यूरोटेक्नोलोजीका फाइदा र खतराहरूका बारेमा छलफल गर्ने उद्देश्यले सेमिनारको आयोजना गरेको थियो । सो सेमिनारमा धेरै देशका स्नायु वैज्ञानिक, नीति निर्माता र मन्त्रीहरुको सहभागिता रहेको थियो । सेमिनारमा बोल्दै युनेस्कोका सामाजिक तथा मानवशास्त्रीय विज्ञानका सहायक महानिर्देशक ग्याब्रिएला रामोसले यो प्रविधिको विषय भन्दापनि सामाजिक कानूनी विषय भएकाले छिट्टै कानून बनाउन आवश्यक भएको बताएका थिए । एजेन्सीको सहयोगमा ।
एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा
काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा गरिएको छ । एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सहभागिता फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९÷७० का नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल सहभागिता फण्का इकाइधनीहरुलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ११ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । क्यापिटलका अनुसार इकाइधनीहरुले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने छन् । यसअघि यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाइ पठाइने पनि क्यापिटलले जनाएको छ ।
सोल्टी होटलका सेयरधनीले लिएनन् लाभांश (नामावलीसहित)
काठमाडौं । सोल्टी होटलले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । होटलले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो । कम्पनीका अनुसार चालु आर्थिक वर्षसम्म ३ हजार ९४१ जना सेयरधनीहरुले लाभांश रकम लिन बाँकी छ । यी सेयरधनीहरुले ६२ लाख ७० हजार रुपैयाँ बराबरको लाभांश रकम नलिएको कम्पनीले जनाएको छ । सो लाभांश रकममा हालसम्म पनि लिन नआएको र हकदावी समेत नपरेकोले बाँकी लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गर्नु पर्नेछ । साथै, सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि)मा सम्पर्क गर्नुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश रकम सो बैंक खातामा रकमान्तरण गरिने कम्पनले जनाएको छ । ५ वर्षसम्म दाबी हुन नआएमा लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले बताएको छ । [pdf id=426990]