सहकारीबाट ऋण लिँदा राखेको धितो बिक्री गरेपछि..
काठमाडौं । सम्झना बहुमुखी सहकारी संस्थाले ऋण चुक्ता गर्न ताकेता गरेको छ । सहकारी संस्थाले कमला अंगाईलाई १५ दिनभित्र ऋण चुक्ता गर्न ताकेता गरेको हो । गोरखाको साविक बुंकोट गा.वि.स. ८ कुवापानी घर भई हाल तारकेश्वर नगरपालिका लोलाङ्ग हाईट काठमाडौँ बस्ने कमला अंगाईले संस्थाबाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनले वि.सं. २०७३ असार ३१ गते संस्थाबाट ऋण लिँदा सेयर धितो राखेकी थिइन् । तर, संस्थालाई झुक्काई गलत नियत राखी उक्त धितो बिक्री गरेको संस्थाको भनाइ छ । साथै, लामो अवधीदेखि भाखा नाघेको ऋण तिर्न बारम्बार लिखित तथा मौखिक ताकेता गर्दा पनि वेवास्ता गरेको संस्थाको आरोप छ । अबका १५ दिनभित्र ऋणको साँवा, व्याज, हर्जाना र अन्य दस्तुर चुक्ता नगरे कानून र संस्थाको नियम अनुसार कारवाही अगाडी बढाईने संस्थाले चेतावनी दिएको छ । ऋणी कमला अंगाई यूरो किड्स किन्डर गार्डेनकी प्रिन्सिपल तथा संस्थापक हुन् ।
नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मल्टीपर्पस फाइनान्स र सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य समायोजन गरेको हो । दुवै कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत र सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो । समायोजनपश्चात मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ३१८.३७ रुपैयाँ र सिजर्नी पावरको २०३.३३ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार मल्टीपर्पस फाइनान्सको सेयर प्रतिकित्ता ३९४.८० रुपैयाँ र सिनर्जी पावरको सेयर प्रतिकित्ता २५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
युरोपेली केन्द्रीय बैंकले फेरी बढाउन थाल्यो ब्याजदर
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउन थालेको छ । ईसीबीले बिहीबार ब्याजदर बढाएर सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको हो । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाई प्रतिशत बिन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याज दर ३.७५ प्रतिशत कायम गरेको हो । यो सन् २००१ को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम विन्दु बराबर पुगेको हो । मुद्रास्फितिसँग जुध्न बैङ्कको एक वर्ष लामो ब्याजदर वृद्धिको चक्रमा ऋणको लागत अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढेको छ । युक्रेनमा रूसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४.२५ प्रतिशत बिन्दुले बढेको छ । ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले भने, ‘गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च बिन्दुबाट तल झरेको छ, मूल्य मापन अझै पनि ‘धेरै लामो समयसम्म धेरै उच्च’ रहने अपेक्षा गरिएको छ ।’ युरोजोनमा उपभोक्ता मूल्य जुनमा ५.५ प्रतिशतले बढेको छ तर ईसीबीको २ प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका ३ जना पक्राउ
काठमाडौं । अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको जनाएको छ । गैरकानुनीरूपमा अवैध गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा ब्यूरोको टोली, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले छापा मारेर तीन जनालाई पक्राउ गरेको जनाएको छ । ४ महिनादेखि भारतीय र नेपाली नागरिक मिलेर भाडाको घरमा नेपाल टेलिकमको एसआइपी पिविएक्स कनेक्सन गरी कल वाइपास गर्दै आएका थिए । कल वाइपास गर्ने उपकरणसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ । पक्राउ परेकाबाट कल वाइपास गर्ने कार्यमा प्रयुक्त ल्यापटप दुई थान, कम्प्युटर मोनिटर, लाइन केबुल दुई थान, मोबाइल सेट तीन थान, युपिएस र ब्याट्री नेपाल टेलिकमको ल्यान्डलाइन नम्बर ०९९५९७००० को ६० लाइन क्षमता भएको एसआइपी पिविएक्स कनेक्सन लाइन एक, गेटवे सर्भर सिपियु एक थान, एनटिसी एफटिटीएच वाइफाइ राउटर एक थान, वर्डलिङ्क वाइफाइ राउटर एक थानलगायत बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक थापाले जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार तीनै जनालाई साउन १० गते पक्राउ गरिएको हो ।
लुम्बिनी विकास बैंकले गर्यो ६१ करोड रुपैयाँ नाफा, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । लुम्बिनी विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.८८ प्रतिशत बढेर ६१ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेर १५ करोड ४१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेर २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ, सञ्चालन नाफा ७.७० प्रतिशत घटेर ८६ करोड ९३ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ । असारसम्म बैंकको चुक्ता पूँजी ३ प्रतिशत बढेर ३ अर्ब ३८ करोड रुपैयाँ, जगेडा कोष २०.२२ प्रतिशत बढेर २ अर्ब ७७ करोड रुपैयाँ, निक्षेप संकलन १४.६० प्रतिशत बढेर ४९ अर्ब १३ करोड २० लाख रुपैयाँ र कर्जा प्रवाह ९.१८ प्रतिशत बढेर ४१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १.३० रुपैयाँ घटेर १८.११ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९.४० रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ । बैंकको खराब कर्जा १.३३ प्रतिशत बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको आधार दर १२.०२ प्रतिशत, कस्ट अफ फण्ड ८७ प्रतिशत र सीडी रेसियो ८८.७१ प्रतिशत छ ।
निजी क्षेत्र बलियो बन्न व्यावसायिक एकता हुनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासङ्घ बलियो हुने बताएका छन् । महासङ््घको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले महासङ्घ व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा व्यक्त गरेका हुन् । ‘कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ, तपाईंहरूका मुद्दाका साथमा महासङ्घ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौँ,’ उनले भने । वस्तुुगत सङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मानमा महासङ्घले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई अध्यक्ष ढकालले बधाईसहित कार्यकालको सफलताको शुुभकामना दिए । उनले सदस्यहरूको समस्या समाधानमा महासङ्घले सदैव साथमा रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सही तथ्याङ्कको अभावका विषयमा महासङ्घले काम गर्ने बताउनुुभयो । उहाँले तथ्याङ्क उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयाँ सोच र फरक ढङ्गले काम गर्न लागेको उनले जानकारी गराए । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुुझावअनुसार सहयोग गर्न महासङ्घ तयार रहेको विश्वास दिलाए । नेपाल जग्गा विकास सङ्घका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको सङ्कटलाई नयाँ मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको बताए । नेपाल शैक्षिक परामर्श सङ्घका अध्यक्ष शेषराज भट्टराई, नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुुमुदकुमार दुुगड, नेपाल गलैँचा उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष ई तेन्जिङ शेर्पा, नेपाल कफी व्यवसायी महासङ्घका अध्यक्ष ओमनाथ अधिकारी, नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुुमनमान ताम्राकारलगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
सिटिजन्स बैंकको नाफामा छलाङ, वितरणयोग्य नाफा १ अर्ब बढी
काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले गत वर्ष करिब सवा २ अर्ब रुपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेर ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९९ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ०.८८ प्रतिशत बढेर ८७ करोड ६७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत बढेर ६ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ, सञ्चालन नाफा १३.३९ प्रतिशत बढेर ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष ६ अर्ब ७४ करोड रुपैयाँ, निक्षेप संकलन १०.५० प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह ६.९० प्रतिशत बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.४७ रुपैयाँ बढेर १५ रुपैयाँ ५९ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ । तथ्याङ्क अनुसार बैंकको खराब कर्जा ३.१९ प्रतिशत पुगेको छ । गत वर्ष बैंकको एनपीएल २.२२ प्रतिशत थियो । यस्तै, बैंकको सीडी रेसियो ८२.४० प्रतिशतमा झरेको छ । बैंकको लागत ८.३४ प्रतिशत र आधार दर १०.५१ प्रतिशत छ ।
ह्वासिन सिमेन्ट उद्योग परिसरमा सानिमाको एटीएम
काठमाडौं । सानिमा बैंक लिमिटेडले ह्वासिन सिमेन्ट उद्योग परिसरमा एटीएम बुथको स्थापना गरेको छ । धादिङको रोराङ गाउँपालिकाका स्थानीयहरुलाई वित्तीय पहुँच पुर्याउने उद्देश्यले बुधबार एटीएम बुथको स्थापना गरिएको बैंकले बताएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ का अध्यक्ष हेमराज भुजेल र ह्वासिन सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक सियाङ चाङ होङसहित सानिमा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले उक्त एटीएम मेसिनको आरम्भ गरेका हुन् । एटीएको सुरुवातपछि बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले त्यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गरेको बताइन् ।