विकासन्युज

तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का

तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो । कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए । उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोही अनुरुप बैंक दाता रोक्का गरिएको बताए । उनका अनुसार तनहुँमा २८, लमजुङमा तेह्र र गोरखामा छ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ । दश अर्ब बढी राजस्व सङ्कलन  आर्थिक वर्ष २०७९/८० मा दश अर्ब ८० करोड राजश्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ ।  ११ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरुप राजस्व सङ्कलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा  नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको उनले बताए । उनका अनुसार उक्त वर्ष  नौ अर्ब २४ करोड राजस्व सङ्कलन भएको थियो । ७२ हजार बढी करदाता  तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन् । गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्वि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । पछिल्ला समय नागरिकमा पान नंम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने सचेतनाको वृद्वि हुँदै गएकाले करदाताको सङ्ख्या बढेको कार्यालयले जनाएको छ । रासस

चार दिनमा १०० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भए यताको चार दिनमा सेयर बजार राताम्मे छ । यो चार दिनमा नेप्से सुचक १०० अंकले घटेको छ । बिहीबार नेप्से सूचक २९.७१ अंकले घटेर २१२६.४८ अंकमा झरेको छ । पछिल्ला चार कारोबार दिनमा सेयर बजार पुँजीकरण एक खर्ब ४७ अर्ब रुपैयाँले घटेको छ । पछिल्ला तीन दिनमा किसान लघुवित्तको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो तर, बिहीबारको बजारमा भने ८.६८ प्रतिशतले घटेको छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ । त्यसैगरी, वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौंं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार ज्ञानबहादुर भुजरलले दिएको जाहेरीका आधारमा पौडेललाई कार्यालयबाट खटिएको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको उनले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री थापा अपदस्थ

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ । अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको बन्दी प्रदेशसभा बन्न नजाओस भनि प्रदेशसभामा हुने निर्णयमा मत बराबर भएमा निर्णायक मत मात्रै प्रदान गर्न पाउने अधिकार नेपाल संविधानको धारा १८६ मा व्यवस्था रहेको स्मरण गराइएको छ । “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु बाञ्छनीय देखिएको, उक्त धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न मिल्ने अवस्था नै रहेकोमा र जुन विन्दुबाट संविधानको प्रयोग र पालना त्रुटीपूर्ण हो”, अदालतको आदेशमा भनिएको छ, “सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नु भनि प्रत्यर्थी कोशी प्रदेशका प्रदेश प्रमुखका नाममा समेत परमादेश हुने ठहर्छ ।” कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्नेगरी काम नगर्न आदेश गर्दै लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुगत परिषदले आयोजना गरेको कार्यक्रममा उनले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा राखे । वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले कार्यक्रम राखेको हो । कार्यक्रममा अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन सदस्य वस्तुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे । ‘हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्वा हुन् । आफैँ सक्षम पनि छन् । तपाईंहरू आफ्ना मुद्दा आफैँ पनि अगाडि बढाउन सक्नुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ,’ उनले भने, ‘तपाईंहरूका इस्युका साथमा महासंघ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं ।’ कार्यक्रममा ढकालले नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीलाई सम्मानसहित बधाई दिएका थिए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए । सदस्यहरुसँग नियमित बसेर उनीहरुका इस्युमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजेपछि महासंघमा जम्मा भएर काम गरिरहेको उनले जानकारी गराए । कुनै समस्या भयो, कुनै इस्यु छन् भने महासंघमा आएर छलफल गर्न पनि उनले आग्रह गरे । सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूणर् रुपमा प्रतिबद्ध रहेको श्रेष्ठले बताए । वस्तुगत परिषदका सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुगत परिषदले नयाँ सोच र फरक ढंगले काम गर्न लागेको जानकारी गराए । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुझावअनुसार सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन् ।

वार्षिकोत्सवमा ज्योति विकास बैंकले गर्‍यो सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौं । ज्योति विकास बैंकको १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तीकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्‍याउने हेतुले ती कार्यहरु गरिएको हो । शारीरिक तवरले फरक बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई थ्री डी प्रिन्टेड प्रोस्थेटिक ह्यान्ड्स प्रदान गर्नेछ । यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य काम गर्न मद्दत पुर्‍याउनेछ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ । फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रम बैंकले गर्ने प्रतिबद्धतासहितको सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा फेक्टका कार्यकारी निर्देशक गौरी प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । वार्षिकोत्सवका अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवृधनका लागि वृक्षरोपण कार्यक्रम पनि आयोजना गरेको छ । धनगढी उपमहानगरपालिकासँगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो । सोही वार्षिकोत्सवका अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिक वडा नम्बर ५, ६ र ७ का सार्वजनिक स्थानका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो । सोही अवसरमा बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७५ जनाले रक्तदान गरे । वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ संरक्षण समाजसँगको साझेदारीमा अपांगता भएका व्यक्तिलाई विभिन्न सहायता सामग्री प्रदान गरेको छ । बेँसीसहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामग्री वितरण गरेको हो । खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदालाई सधैं उच्च प्राथमिकतामा राखेको बैंकले जनाएको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे । ’अपराध  र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ’, उनले भने । सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए । ’अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ’, उनले भने, ’सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।’

‘व्यवसायिक वातावरण सुधार्न राष्ट्र बैंक जिम्मेवार भएन’

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिपछि निजी क्षेत्रमा निराशा छाएको छ । नेपाल राष्ट्र बैंकले गत आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले निजी क्षेत्रका माग सम्बोधन नगरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदर घटाएर व्यवसायिक वातावरण सुधार गर्ने अपेक्षा गरेको तर, बैंक दरमा कुनै परिवर्तन नगरी निक्षेप संकलन दर र नीतिगत दर ०.५ प्रतिशतले मात्रै घट्नुले राष्ट्र बैंक ब्याजदर घटाउने पक्षमा नरहेको सन्देश दिएकोे व्यवसायीहरुको आरोप छ । निजी क्षेत्रका तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षले संयुक्तरुपमा विज्ञप्ति नै प्रकाशन गरेर मौद्रिक नीतिको विरोध गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको अपेक्षाअनुसार मौद्रिक नीति आउन नसक्दा निजी क्षेत्रमा निराशा छाएको बताए । उच्च ब्याजदर, न्युन माग, नगद प्रवाहमा भएको समस्या, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगन लगायतका विद्यमान अर्थतन्त्रका चुनौतिहरुको सामना गर्नेगरी मौद्रिक नीति नआएको उनीहरूले बताएका छन् । पुँजीबजार लगानीकर्ताहरुले पनि धितोपत्र बजारलाई निरुत्साहित गर्ने मौद्रिक नीति आएको भन्दै बिरोध जनाएका छन् । लगानीकर्ताहरुले शेयर कर्जामा १५० को जोखिम भार १०० मा ल्याउन र १२ करोडको सीमा खारेज गर्न दिएको सुझाव सम्बोधन नभएको भन्दै निराशा प्रकट गरेका छन् । अटोमोबाइल व्यवसायीहरुले पनि मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन् । नेपाल होटल संघले पनि होटल तथा पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्नेगरी मौद्रिक नीति आउन नसकेको दाबी गरेको छ । बैंकर्स संघले भने मौद्रिक नीतिको स्वागत गरको छ । संघले मौद्रिक नीति वर्तमान परिवेशमा सन्तुलितरुपमा सकारात्मक आएको बताएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको भनिए पनि यसले लिएका प्रावधानले त्यसलाई पुष्टि गर्न नसक्ने निजी क्षेत्रको दाबी छ । गत आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने ऋण प्रवाहको लक्ष्य १२.५ प्रतिशत राखेकोमा चालु आर्थिक वर्षमा ११.५ प्रतिशतको लक्ष्यमा झारेको भन्दै निजी क्षेत्र असन्तुष्ट छ । निजी क्षेत्रमा हुने कर्जा बिस्तार ११.५ प्रतिशतमा संकुचित गर्दा बजेटमार्फत सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत हासिल गर्न कठीन हुने निजी क्षेत्रको निष्कर्ष छ । एफएनसीसीआईका अध्यक्ष ढकालले बजेटले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने हिसाबले मौद्रिक नीति नआएको बताए । राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएको भने पनि नीतिहरू हेर्दा लचिलो नदेखिएकोे ढकालको दावी छ । सरकारको लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न मौद्रिक नीतिले राखेको साढे ११ प्रतिशत कर्जा बिस्तारको लक्ष्य सान्दर्भिक नभएको ढकालले बताए । ‘मौद्रिक नीतिले कर्जा बिस्तारलाई ११.५ प्रतिशत गर्ने लक्ष्य राखेको छ । जसमा गत वर्षको मौद्रिक नीतिको लक्ष्य भन्दा पनि कम हो । सरकारको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सक्दैन’, ढकालले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पनि निजी क्षेत्रले अपेक्षा गरेअनुरूपको मौद्रिक नीति नआएको बताए । निजी क्षेत्रले दिएका सुझावहरु राष्ट्र बैंकले सम्बोधन नगरेको अग्रवालको भनाई छ । ‘निजी क्षेत्रले अपेक्षा गरेअनुरूपको मौद्रिक नीति आएको छैन । अहिले अर्थतन्त्रको समस्या समाधान गर्न ब्याज घटाउनेतर्फ मौद्रिक नीति केन्द्रित हुनुपर्दथ्यो । त्यसका लागि बैंकदर घट्ने अपेक्षा गरेका थियौं’, अग्रवालले भने, ‘नीतिगत दर केही घटाएको छ । त्यसबाट बैंक दरमा कुनै प्रभाव पर्दैन र ब्याजदर घट्दैन । निजी क्षेत्रले वर्तमान अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्छ भन्ने माग थियो । मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका वर्तमान आर्थिक समस्या समाधान गर्न सक्दैन ।’ नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीतिले निजी क्षेत्रमा चरम निराशा छाएको बताए । अहिलेको मुख्य समस्या नै बैंकको ब्याजदर चर्को भएको भन्दै मौद्रिक नीतिमा आधार दर (बेस रेट)मा कुनै सम्बोधन नभएको मल्लले बताए । राष्ट्र बैंकले विगतका वर्षको जस्तै संकुचित मौद्रिक नीतिलाई निरन्तरता दिएको बताएका छन् । मौद्रिक नीतिले चालुपुँजी कर्जालगायत धेरै विषयहरू पुनरावलोकन गर्ने भनेपनि त्यसबारे अस्पष्टता छोडेको व्यवसायीहरुले बताएका छन् । परिसंघका अध्यक्ष अग्रवालले पनि विगत एक वर्षदेखि मौद्रिक नीतिको कारण मागको कमी भएर बजारमा मन्दी छाउँदा समेत राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संकुचित नीति अपनाएको गुनासो गरेका छन् । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले पनि ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी मौद्रिक नीति नआएको बताएका छन् । निजी क्षेत्रमा जाने कर्जालाई संकुचन गर्दा अर्थतन्त्र चलायमान हुन नसक्ने थापाको भनाई छ । शेयर बजार, घरजग्गा कारोबार तथा अन्य व्यापार व्यवसाय चलायमान भए मात्रै अटोमोबाइल व्यवसाय चलायमान हुने थापाको भनाई छ ।